भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
भक्तपुर । भक्तपुरमा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठले जानकारी दिए । बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।
बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाईम फर्मास्यूटिकल्स, असार १९ मा रोड शो
काठमाडौं । टाईम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल (रोड शो) कार्यक्रम आयोजना गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई सहभागी गराई आईपीओको आशय मूल्य निर्धारणका लागि छलफल गर्न लागेको जनाएको छ । बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम सञ्चालन हुने उक्त कार्यक्रममा प्रारम्भिक विवरणपत्रमाथि संस्थागत लगानीकर्ताको सुझावसमेत संकलन गरिनेछ। रोड शो असार १९ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी संस्थागत लगानीकर्ताले खरिद गर्न इच्छुक धितोपत्रको न्यूनतम संख्या, प्रस्तावित आशय मूल्य तथा मूल्याङ्कनको आधार प्रस्तुत गर्नुपर्नेछ । साथै, प्रारम्भिक विवरणपत्रमा आवश्यक सुझाव भए सोसमेत पेश गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रोड शोका लागि आवश्यक कागजातमा प्रारम्भिक विवरणपत्र तथा पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वित्तीय विवरण समावेश छन् । टाईम फर्मास्यूटिकल्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। टाईम फर्मास्यूटिकल्स नेपालका पुराना तथा स्थापित औषधि उद्योगमध्ये एक हो । सन् १९९४ मा स्थापना भएको कम्पनीले सन् १९९७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले औषधिजन्य अणु (फार्मास्युटिकल मोलिक्युल) को फर्मुलेसन तथा विभिन्न उपचारात्मक औषधिको उत्पादन गर्दै आएको छ । सन् २०२५ को अक्टोबर मध्यसम्मको विवरणअनुसार कम्पनीमा एम÷एस अल्फा क्यापिटल लिमिटेडको करिब १५ प्रतिशत स्वामित्व रहेको छ । त्यसपछि राजु कर्माचार्य र झंकनाथ भट्टाको करिब ९–९ प्रतिशत तथा जी.नारायण बहादुर क्षेत्रीको करिब ७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी स्वामित्व अन्य संस्थागत तथा व्यक्तिगत लगानीकर्तामा रहेको छ ।
सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा सतप्रतिशत अनुदान
काठमाडौं । कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् । अन्नपूर्णले ६५ करोड ५० लाख रुपैयाँ तथा माछापुच्छ्रेले ६८ करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार: अन्नपूर्ण समृद्धिको आधार’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ । बजेटले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, युवा उद्यमशीलता प्रवर्द्धन, ‘डिजिटल’ सेवा विस्तार, पर्यटन विकास तथा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ । पूर्वाधारतर्फ सबै वडालाई मध्यपहाडी लोकमार्गसँग जोड्ने, चक्रपथ निर्माण तथा सडक स्तरोन्नतिका लागि ११ करोड २६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष चन्द्रकला अधिकारीले बताए । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६० लाख रुपैयाँ छुट्याइएको छ । कृषि तथा पशु विकास क्षेत्रमा अतिरिक्त ७० लाख रुपैयाँ विनियोजन गरिएको छ भने दुग्ध, चल्ला तथा पशुपालनमा अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा गाउँपालिका भित्रका सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा सतप्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । यसका लागि ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ । शिक्षातर्फ विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक, शैक्षिक सुधार कार्यक्रम तथा दिवा खाजा विस्तारका लागि बजेट विनियोजन गरिएको छ । यसैगरी, माछापुच्छ्रे गाउँपालिकाले ‘समृद्ध गाउँपालिका: सुखी नागरिक’ भन्ने लक्ष्यसहित प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले शिक्षा क्षेत्र अन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम विस्तार गर्न ६० लाख रुपैयाँ विनियोजन गरेको छ । अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा युवा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । स्वास्थ्य क्षेत्रमा लाहाचोक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदृढीकरणका लागि ३० लाख रुपैयाँ, पाठेघर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको उपाध्यक्ष सीता अधिकारीले बताइन् । पूर्वाधारतर्फ कोलचोक-लाहाचोक-देउराली सडक स्तरोन्नतिका लागि ४ करोड रुपैयाँ, तातोपानी सडकका लागि १ करोड २० लाख रुपैयाँ तथा अन्य रणनीतिक सडक आयोजनामा बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्र अन्तर्गत मौरी पकेट क्षेत्र विकासका लागि १२ लाख रुपैयाँ, कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना, साना सिँचाइ आयोजना तथा कृषि प्रयोगशाला सञ्चालनका कार्यक्रम समेटिएका छन् । गाउँपालिकाले स्थानीय जनताको सहभागितामा ‘माछापुच्छ्रेको ताकत, जनताको लागत’ कार्यक्रममार्फत लागत साझेदारी योजनाका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । कास्कीमा रहेका पाँच पालिकामध्ये पोखरा, मादी र रुपा गाउँपालिकाले भने यसअघि नै बजेट कार्यक्रम ल्याइसकेका छन् ।