ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन

गरिबी घटाएको उपलब्धि चुनावी हतियार

सिल्भा सन् १९८९ यता पहिलो चरणको मतदानमा पराजित भएपनि ब्राजिलको राष्ट्रपतीय निर्वाचन जित्ने पहिलो उम्मेदवार हुन् । तस्बिर : रोयटर्स

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ऐतिहासिक जित हासिल गर्दै चौथोपटक राष्ट्रपति निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा सिल्भाले आफ्ना निकटतम प्रतिस्पर्धी तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा फ्लाभियो बोल्सोनारोलाई ४० लाखभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

ब्राजिलको निर्वाचन अदालतले लुला विजयी भएको घोषणा गरेको छ । 

जनमत सर्वेक्षणका अनुमानलाई गलत साबित गर्दै लुलाले ऐतिहासिक जित हासिल गरेका हुन् । उनको जितसँगै ल्याटिन अमेरिकामा दक्षिणपन्थी शक्तिको बढ्दो प्रभावमा धक्का लागेको छ ।

यता पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन् । उनले मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतका एक न्यायाधीशको निर्णयलाई आधार बनाउँदै निर्वाचन परिणाम बदर गर्न माग गर्ने बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा अग्रता लिएका बोल्सोनारो दोस्रो चरणमा भने ठूलो मतान्तरले पराजित भए । उनको पराजयले ब्राजिलको वित्तीय बजारमा समेत हलचल ल्याएको छ । लगानीकर्ताहरूले बोल्सोनारोको जितको अपेक्षामा लगानी रणनीति बनाएका थिए ।

फ्लाभियोको प्रतिक्रिया सन् २०२२ को निर्वाचनमा उनका पिता जायर बोल्सोनारोले देखाएको व्यवहारसँग मिल्दोजुल्दो छ । जायरले पनि लुलासँगको पराजय स्वीकार गरेका थिएनन् । पछि सत्तामा टिकिरहन ‘कू’ गर्ने षड्यन्त्र रचेको अभियोगमा सर्वोच्च अदालतले उनलाई २७ वर्षको जेल सजाय सुनाएको थियो ।

विश्लेषकहरूका अनुसार फ्लाभियोको पराजयको मतान्तर उनका पिताको भन्दा दोब्बरभन्दा बढी छ । त्यसबाहेक दक्षिणपन्थी प्रभाव रहेको दक्षिणी क्षेत्रमा वर्षाका कारण मतदानको समय थप्न स्वयं उनको चुनावी अभियानले पनि माग गरेको थियो । त्यसैले निर्वाचन परिणाम बदर हुने सम्भावना अत्यन्त न्यून रहेको उनीहरूको आकलन छ ।

जोखिम परामर्शदाता संस्था रेन (आरएएनई) का ल्याटिन अमेरिका विश्लेषक मारियो ब्रागाले आगामी दिनमा दक्षिणपन्थी समर्थकहरूले प्रदर्शन गर्न सक्ने बताए । तर, त्यसले निर्वाचन परिणाम उल्ट्याउने सम्भावना निकै कम रहेको उनको भनाइ छ ।

राजनीतिक पुनरागमनका बादशाह लुला

८० वर्षीय लुलाको जित उनको उतारचढावपूर्ण राजनीतिक जीवनको अर्को ऐतिहासिक पुनरागमन हो । विश्व वामपन्थी राजनीतिका प्रभावशाली नेता लुला यस शताब्दीमा ब्राजिलको राजनीतिमा सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन् ।

भ्रष्टाचारसम्बन्धी अभियोगमा उनी सन् २०१८ देखि २०१९ सम्म जेल परेका थिए । पछि उनीविरुद्धका दोषसिद्धि खारेज भएपछि राजनीतिक पुनरागमनको बाटो खुलेको थियो । 

त्यसपछि सन् २०२२ को निर्वाचनमा उनले तत्कालीन राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका थिए ।
मतगणनाका क्रममा साओ पाउलोमा लुलासँगै रहेकी वामपन्थी सांसद एरिका हिल्टनले रोयटर्ससँग भनिन्, ‘उनी एक राजनेता हुन्, एक महान् व्यक्तित्व हुन् ।’

यसपटक भने लुलाको पुनःनिर्वाचन सहज देखिएको थिएन । वर्षौंदेखिका भ्रष्टाचार प्रकरण, बढ्दो महँगी र सत्तारूढ वर्कर्स पार्टीप्रतिको असन्तुष्टिले उनको लोकप्रियता घटाएको थियो ।

पूर्व धातु मजदुर तथा ट्रेड युनियन नेता लुलाले तीव्र गतिमा परिवर्तन भइरहेको डिजिटल अर्थतन्त्र र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको बढ्दो संख्यासँग आफूलाई अनुकूल बनाउन नसकेको आलोचनासमेत खेप्नुपरेको थियो ।

तर, अपेक्षाभन्दा बढी मतदाता मतदानमा सहभागी भएपछि लुलालाई फाइदा पुगेको जनमत सर्वेक्षणकर्ताहरूले बताएका छन् ।

थिंक पोलिसी नामक परामर्शदाता संस्थाका सहसंस्थापक लियोनार्डो ब्यारेटोका अनुसार मतदाताले बोल्सोनारोको नयाँ विकल्पभन्दा लुलाको परिचित नेतृत्वलाई प्राथमिकता दिएका हुन् ।

उनले भने, ‘मतदाताले केही आशंकासहितको परिवर्तन र निश्चित अधिकारको सुनिश्चितता गर्ने परिचित बाटोमध्ये एउटा रोजेका छन् ।’

गरिबी घटाएको उपलब्धि चुनावी हतियार

निर्वाचन अभियानका क्रममा लुलाले आफ्नो नेतृत्वमा गरिबी र आर्थिक असमानता घटेको उपलब्धिलाई प्रमुख मुद्दा बनाएका थिए ।

उनको तेस्रो कार्यकालमा बेरोजगारी, निरक्षरता र वन विनाश ऐतिहासिक न्यून स्तरमा पुगेको दाबी गरिएको थियो ।

लुलाले बोल्सोनारो विजयी भए सामाजिक सुरक्षामा हुने खर्च कटौती गर्ने, सामाजिक उपलब्धिहरू उल्ट्याउने र ब्राजिलको सार्वभौमिकता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभावमा पर्ने चेतावनी दिएका थिए ।

समाचारअनुसार ट्रम्प प्रशासनको विदेश मन्त्रालयले बोल्सोनारो परिवारलाई पुनः सत्तामा ल्याउने प्रयासको नेतृत्व गरेको थियो ।

लुलाको जितले ल्याटिन अमेरिकामा अमेरिकासँग निकट सम्बन्ध राख्ने दक्षिणपन्थी सरकारहरूको समूह विस्तार गर्ने ट्रम्पको योजनामा धक्का पुगेको छ ।

सुरक्षा र आप्रवासनका विषयमा वासिङ्टनको नीतिलाई समर्थन गर्ने दक्षिणपन्थी सरकारहरूको प्रभाव यस क्षेत्रमा बढिरहेको थियो ।

लुलाको जितबारे ट्रम्प वा अमेरिकी विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । तर, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी तथा ल्याटिन अमेरिकी नेताहरूले उनलाई बधाई दिएका छन् ।

लुलाका पूर्वविदेशमन्त्री सेल्सो अमोरिमले ल्याटिन अमेरिकामा राजनीतिक सन्तुलन कायम गर्न उनको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले रोयटर्ससँग भने, ‘ल्याटिन अमेरिकामा सन्तुलन कायम गर्न उनी निकै महत्त्वपूर्ण हुनेछन् । लुला नै त्यो सन्तुलन हुन् ।’

पहिलो चरणमा पछि परेर पनि ऐतिहासिक जित

सन् १९८० को दशकमा ब्राजिलमा लोकतन्त्र पुनःस्थापना भएपछि पहिलो चरणको निर्वाचनमा दोस्रो स्थानमा रहेर पनि अन्तिम चरणमा राष्ट्रपति निर्वाचित हुने लुला पहिलो उम्मेदवार बनेका छन् ।

यसपटक उनको चुनावी अभियानमा व्यावहारिक राजनीति र लोकप्रियतामुखी कार्यक्रम दुवै समावेश थिए ।

झन्डै पाँच दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय लुलाले श्रमिक र न्यून आय भएका नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न सुधार कार्यक्रम अघि सारेका थिए ।

चुनावी अभियानको अन्तिम चरणमा उनले सप्ताहान्तमा देशभर सार्वजनिक यातायात निःशुल्क गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रस्ताव औपचारिक रूपमा संसद्मा पेस गर्न बाँकी छ ।

त्यस्तै, उनले आफ्नो प्रमुख सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत दिइने सहायता १५ प्रतिशतले बढाउने घोषणा गरेका थिए । त्यसको कार्यान्वयन सुरु भइसकेको छ ।

लुलाले समर्थन गरेको संविधान संशोधनमार्फत दशकौंयताकै ठूलो श्रम सुधारसमेत अघि बढाइएको छ । उक्त संशोधनलाई संसद्मा व्यापक समर्थन प्राप्त भएको थियो ।

चौथो कार्यकालमा कठिन चुनौती

ऐतिहासिक जित हासिल गरे पनि लुलाको चौथो कार्यकाल अहिलेसम्मकै कठिन हुन सक्ने देखिएको छ ।ब्राजिलमा सन् १९८० को दशकमा लोकतन्त्र पुनःस्थापना भएयताकै सबैभन्दा रूढीवादी संसद् निर्वाचित भएको छ ।

बोल्सोनारोको लिबरल पार्टी र उसका सहयोगी दलहरूले तल्लो सदनमा २८० भन्दा बढी तथा सिनेटमा ५० सम्म सिट नियन्त्रण गर्न सक्ने अनुमान छ ।

यस्तो अवस्थामा दुवै सदनमा विपक्षीको सुविधाजनक बहुमत हुन सक्छ । त्यसले बजेट, महत्त्वपूर्ण कानुन निर्माण र उच्चपदस्थ नियुक्तिहरूमा राष्ट्रपतिको अधिकार सीमित गर्न सक्नेछ ।

पछिल्ला वर्षहरूमा ब्राजिलमा राष्ट्रपतिको तुलनामा संसद्को प्रभाव बढ्दै गएको छ । नयाँ राजनीतिक समीकरणले यो प्रवृत्तिलाई थप बल पुर्याउन सक्ने विश्लेषण गरिएको छ ।

आर्थिक मोर्चामा पनि लुलासामु ठूलो चुनौती छ । सरकारले आगामी वर्ष ब्राजिलको अर्थतन्त्र २.३ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण गरेको छ ।

उच्च ब्याजदर र बढ्दो सार्वजनिक ऋणले सरकारी वित्तीय व्यवस्थापनमा दबाब सिर्जना गरेको छ । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ८२ प्रतिशतभन्दा माथि पुगेको छ, जुन कोरोना महामारीयताकै उच्च स्तर हो ।

अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्सका अनुसार राज्यको नेतृत्वमा आर्थिक वृद्धि गर्ने नीतिप्रति प्रतिबद्ध रहेका लुलाले चौथो कार्यकालमा सरकारी खर्च नियन्त्रण गर्न सीमित सफलता मात्र हासिल गर्न सक्नेछन् ।

घरपरिवारको बढ्दो ऋण पनि अर्थशास्त्रीहरूका लागि चिन्ताको विषय बनेको छ ।

यस समस्यालाई सम्बोधन गर्न लुलाले चुनावी अभियानकै क्रममा अनलाइन सट्टेबाजीमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । उनले नयाँ ऋण राहत कार्यक्रमसमेत सार्वजनिक गरेका थिए ।

तर, दक्षिणपन्थी बहुमत भएको नयाँ संसद्ले व्यवसायमैत्री संरचनागत सुधार अघि बढाउने अनुमान छ । त्यस क्रममा सरकारी खर्च कटौती गरिए जनस्तरबाट विरोध हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।

लुलाको जितले वित्तीय बजारमा हलचल

लुलाको जितपछि ब्राजिलको वित्तीय बजारमा तीव्र उतारचढाव आउने अपेक्षा गरिएको छ । सत्ता परिवर्तन हुने अनुमानमा लगानी गरेका लगानीकर्ताहरूले आफ्नो रणनीति परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।

ब्राजिलको बोभेस्पा सूचकांकलाई पछ्याउने टोकियोमा सूचीकृत एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) को मूल्य एसियाली कारोबारका क्रममा झन्डै १५ प्रतिशतले घटेको छ।

त्यस्तै, अमेरिकी डलरको तुलनामा ब्राजिलको मुद्रा रियलको मूल्य पनि तीव्र रूपमा घट्ने अनुमान गरिएको छ ।

राजनीतिक रूपमा ऐतिहासिक सफलता हासिल गरेका लुलाका लागि अब विपक्षी बहुमत रहेको संसद्, सुस्त आर्थिक वृद्धि, बढ्दो सार्वजनिक ऋण र सामाजिक कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने चुनौती प्रमुख हुने जनाइएको छ ।

Share News