७ वटा बीमा कम्पनीले मात्रै पुर्याए तोकिएको चुक्ता पुँजी, कसको कति अपुग ?
काठमाडौं । सञ्चालनमा आएका बीमा कम्पनीहरुमध्ये ७ वटा बीमा कम्पनीले मात्रै तोकिएको चुक्ता पुँजी पुर्याएका छन् । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब न्यूनतम चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । दिइइकाे समयमा जीवन बीमातर्फका तीन कम्पनी र निर्जीवन बीमा तर्फका चार कम्पनी गरी सात वटा कम्पनीले मात्रै तोकिएको न्यूनतम पुँजी पुर्याएका हुन् । सो अनुसार जीवन बीमातर्फबाट नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले पुर्याएका छन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, नेशनल लाइफको ५ अर्ब एक करोड र मर्जपछि बनेको हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स चुक्ता पुँजीमा जीवन बीमा कम्पनीमध्येकै दोश्रो बन्न सफल भएको छ । त्यस्तै, निर्जीवन बीमा तर्फबाट शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तोकिएको समयभित्रै चुक्ता पुँजी पुर्याउन सफल भएका छन् । यीमध्ये हालै मर्जरमा गई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक अर्थात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । न्यूनतम पुँजी नपुर्याउनेमा अन्य १० वटा जीवन र ८ वटा निर्जीवन गरी १८ वटा बीमा कम्पनी रहेका छन् । यीमध्ये केहीले पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजिसकेका छन् भने केहीले कुनै पनि विकल्प शुरु गरेका छैनन् । मर्जरको विकल्प रोजेर पनि पुँजी नपुर्याउनेमा जीवन बीमा तर्फका ३ र निर्जीवन बीमा तर्फका तीन गरी ६ वटा कम्पनी रहेका छन् । जसमा जीवन बीमातर्फका सूर्यज्याति लाइफ (साविकको सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ (साविकको सानिमा लाइफ र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ (साविकका प्रभु लाइफ र ज्योति लाइफ) रहेका छन् । यता निर्जीवन बीमा तर्फका हिमालयन एभरेष्ट (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स), सानिमा जिआईसी (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) र युनाइटेड अजोड इन्स्योरेन्स (साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स) रहेका छन् । पुँजी नपुर्याउनेलाई कारवाही ! चुक्ता पुँजी वृद्धिको लागि प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई हकप्रद र बोनसबाट पुँजी पुर्याउन दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । ‘हामीले पहिला हकप्रद र बोनसबाट मात्रै पुँजी पुर्याउन नदिने भनेको थियौं, तर हालसम्म पनि पुँजी पुर्याउनको लागि कोशिस गरेका तर पुर्याउन नसकेका कम्पनीलाई उनीहरुको वित्तीय अवस्था हेरेर हकप्रद सेयर जारी गर्न दिने छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने- ‘पुँजी नपुगेको हकमा ३०/४० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न दिन्छौं, त्यतिले नपुग्ने अवस्थामा भने कम्पनीको चालु आर्थिक वर्षको वित्तीय अवस्थामा हेरेर मात्रै थप थप दिने नदिने निर्णय गर्नेछौं ।’ तर पुँजी वृद्धिको लागि कुनै पनि प्रयास नै नगर्नेलाई भने कारवाही गर्ने मोडमा प्राधिकरण छ । ‘कुनै पनि कोशिश गरेका छैनन् भने ती कम्पनीलाई बीमा ऐनअनुसार कारवाही गर्ने छलफल भइरहेको छ,’ प्राधिकरण स्राेतले विकासन्युजसँग भन्यो ।
आजदेखि आर्थिक वर्ष सुरु: हवाई टिकटमा भ्याट, वैदेशिक रोजगारीदेखि विलासितामा थपियो कर
काठमाडौं । सोमबार देखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले गत जेठ १५ गते सार्वजनिक गरेकोे बजेटका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गरे लगतै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् । सोमबारदेखि हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट), विलासिता कर, पाँचतारे वा सोभन्दा माथिका होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा २ प्रतिशत कर तथा वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशतसम्म कर लाग्नेछ । आजदेखि नै वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिहरुलाई ३९ प्रतिशतसम्म कर लाग्नेछ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेका लागि ३६ प्रतिशत कर लाग्ने गरेकोमा सरकारले करका दर तथा रकमको सीमा बढाएको हो । यस्तै, सरकारले पहिलो पटक हवाई टिकटमा भ्याट तथा विलासिता कर कार्यान्वयन गरेको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर तथा ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ । १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ । आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ । यस्तैगरी, साउन १ गतेबाट नै वैदेशिक रोजगारी कर पनि थपिएको छ । वैदेशिक रोजगार व्यवसायी तथा म्यानपावर कम्पनीहरूले श्रमिकहरूबाट उठाउने सेवा शुल्कमध्ये एक प्रतिशत रकम वैदेशिक रोजगार करका रूपमा तिर्नुपर्ने व्यवस्था थप भएको हो । श्रमिकबाट लिइने शुल्कमध्ये एक प्रतिशत सरकारी खातामा ल्याउने व्यवस्था थपिएकाे हाे ।
उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध, वर्षायामसँगै वातावरणमा समस्या पैदा हुन सक्ने
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ककनी र धादिङको धुनिवेसीका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । विगतमा संघीय सरकार र काठमाडौं महानगरपालिकासँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् । नयाँ आर्थिक वर्षको शुरुवातको दिन आज विहानदेखि स्थानीयहरुले उपत्यकाबाट फोहोर लिएर गएका चार दर्जन भन्दा धेरै ट्रकलाई बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिदिएका छन् । सहमतिका नाममा सहमति गरिएका विषयहरुलाई कार्यान्वयन नगरिएको र स्थानीयलाइ संघीय सरकार र स्थानीय सरकारले पटक–पटक झुक्याउने काम गरेको उनीहरुको आरोप छ । स्थानीय वासिन्दाले सो ठाउँमा फोहोर व्यवस्थापन गरेवापत स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारका विभिन्न मागहरु सरकारसँग राख्दै आएका छन् । साथै, फोहोरको कुहिने र नकुहिने गरी वर्गिकरण गरेर व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । तर, अहिलेसम्म संघीय सरकार र स्थानीय सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्न सकेको भने देखिँदैन । वर्षायाममा फोहोरको कारण विभिन्न महामारी तथा प्रकोप फैलिने डर स्वभाविक रुपमा रहन्छ । संघीय सरकार र स्थानीय सरकारले बेलैमा फोहोर व्यवस्थापन क्षेत्रको प्रभावित स्थानीयको मागलाई सम्बोधन गर्न नसकेमा विगतकै फोहोरयुक्त काठमाडौंको अवस्था फर्किन सक्छ र वर्षायामसँगै काठमाडौंमा विभिन्न प्रकारका रोगहरु फैलिन सक्ने सम्भावना नजिकिएकाे छ ।