वाणिज्य बैंकका सहायक कम्पनीलाई टक्कर दिँदै मुक्तिनाथ क्यापिटल

काठमाडौं । २०७४ सालमा भिबोर विकास बैंक र लुम्बिनी फाइनान्स मर्ज भए । दुई संस्था एक आपसमा मर्ज भएपछि भिबोर विकास बैंकको सहायक कम्पनी भिबोर क्यापिटललाई मुक्तिनाथ विकास बैंकले खरिद गर्याे । बैंकले वि.सं. २०७६ आषाढ ३१ गते साविकको भिबोर क्यापिटलको ५८.७५ प्रतिशत सेयर खरिद गरी मुक्तिनाथ क्यापिटलको नामबाट कारोबार गर्न थाल्यो । मुक्तिनाथ क्यापिटलको नामबाट मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न थालेको ४ वर्ष मात्रै भएको छ । तर, बजारमा मुक्तिनाथ क्यापिटलको उपस्थिती हेर्दा अन्य मर्चेन्ट बैंकलाई टक्कर दिइरहेको बताइन्छ । मुक्तिनाथ क्यापिटल (साविक भिबोर क्यापिटल)कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं. २०६६ माघमा दर्ता भएको थियो भने नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०६७ साउनदेखि मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्न इजाजतपत्र पाएको थियो । कम्पनीले हाल निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक तथा निक्षेप सदस्य सम्बन्धी कार्य गरिरहेको छ । कम्पनीका सेयरधनीहरुको हक हितको संरक्षण तथा सम्बद्र्धन गर्ने र लगानीकर्ताहरुलाई धितोपत्र व्यवसायीको रुपमा गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीको मुख्य उद्देश्य रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिन्द्रध्वज जोशीले बताए । लगानीकर्ताहरुको पूँजी बजार तर्फको विश्वसनियता अभिवृद्धि गर्न आवश्यक कार्य संचालन गर्ने, पूँजी बजारसँग सम्बन्धित सेवाको विकास तथा विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने, उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा पूँजी बजारसँग सम्बद्ध सुविधाहरु उपलब्ध गराउन आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई देशको पूँजी बजारको समग्र विकासका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुर्याउने उद्देश्य रहेको सीईओ जोशीको भनाइ छ । ‘नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्चेन्ट बैंकहरुलाई पूँजी वृद्धि गर्न निर्देशन दियो, ७ करोड पूँजीबाट एकैपटक २० करोड पुर्याउन निर्देशन दिएपछि संस्थापकले बहुमत सेयर मुक्तिनाथ विकास बैंकलाई बिक्री गर्याे,’ उनले भने, ‘मुख्य सेयर बैंकले खरिद गरेर सहायक कम्पनीको रुपमा काम गरिरहेको छ, मुक्तिनाथ क्यापिटलको रुपमा परिणत भएपछि इस्यू म्यानेजर, सेयर रजिष्ट्रार, अण्डरराईटिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट र डीपीको काम गरिरहेको छ ।’ म्युचुअल फण्ड निष्काशन गर्दै क्यापिटलले लामो समयपछि म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोष योजना ल्याउने तयारी गरिरहेको सीईओ जोशी बताउँछन् । उनका अनुसार लाइसेन्सको प्रक्रिया सकिएकाले यहि वर्ष भित्र म्युचुअल फण्ड जारि गर्ने योजना रहेको उनको भनाइ छ । ‘यो वर्षभित्रै म्युचुअल फण्ड निष्काशन गर्ने तयारी छ, कोष प्रबर्द्धकका रुपमा मुक्तिनाथ विकास बैंकबाट अनुमति पत्र आइसकेको छ, कोष सुपरिवेक्षक पनि नियुक्त गरिसकेका छौं । साथै, मुक्तिनाथ क्यापिटललाई पनि कोष व्यवस्थापक र डिपोजिटरको लाइसेन्स लिएर नयाँ स्किम लञ्च गर्ने तयारीमा छौं,’ उनले भने । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्नेछ । फण्डको अवधि १० वर्ष रहेको छ भने सो फण्ड बन्दमुखी योजना हो । ‘हामी पछि आएको कम्पनी हो, ग्राहकलाई नयाँ–नयाँ प्रडक्ट दिन निरन्तर क्रियाशील भइहेका छौं, यसको लागि बैंकले पनि पूर्ण सपोर्ट गरिरहेको छ,’ सीईओ जोशीले भने । धितोपत्र बोर्डमा ३१ वटा कम्पनीले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कारोबार गर्न अनुमति पाएका छन् । तर, अधिकांश कम्पनीको बजारमा उपस्थिती हेर्ने हो भने शुन्य जस्तै देखिन्छ । केही मर्चेन्ट बैंकहरुले मात्रै बजारमा एकछत्र राज गरेको देखिन्छ । जसमध्ये अधिकांश कम्पनी वाणिज्य बैंकका सहायक कम्पनी हुन् । तर, तिनै वाणिज्य बैंकका सहायक कम्पनीलाई टक्कर दिइरहेको छ, मुक्तिनाथ क्यापिटलले । ‘सेबोनले सबैलाई काम गर्न अनुमति दिएको छ, बजारमा कम्पनी धेरै हुँदा प्रतिस्पर्धा पनि बढी हुन्छ, साथै, नयाँ व्यवसायको दायरा पनि बढ्दै गएको छ, विगतमा पोर्टफोलियो म्यानेमेन्ट, म्युचुअल फण्ड थिएन, अहिले स्थापित भइसके,’ सीईओ जोशीले भने, ‘भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी, स्पेसलाइज्ड इन्भेष्टमेन्ट फण्ड खुला गगर्ने तयारी भइरहेको छ, प्रतिस्पर्धासँगै व्यवसायका दायरा पनि बढेका छन् ।’ जब प्रतिस्पर्धा हुन्छ तब ग्राहकहरुले पनि उत्कृष्ट र सर्वसुलभ सेवा पाउने सीईओ जोशीको भनाइ छ । विकास बैंकहरुको सहायक कम्पनीको रुपमा पहिला स्थापना भएको मुक्तिनाथ क्यापिटल हो । ग्राहकको सेवा सुविधालाई उच्च प्राथमिकतामा राखेर सेवा दिने भएकाले अन्य कम्पनीभन्दा मुक्तिनाथ फरक रहेको उनले बताए । मुक्तिनाथ क्यापिटलका रणनीति गुणस्तरिय सेवामा मक्तिनाथ क्यापिटललाई पहिलो कम्पनीका रुपमा उभ्याउने लक्ष्य रहेको सीईओ जोशीले बताए । पछिल्ला केही वर्षयता क्यापिटलले आक्रामक रुपमा आफ्नो व्यवसाय गरिरहेको उनको भनाइ छ । ‘वितग ३ वर्षदेखि आक्रामक रुपमा व्यवसाय गरिरहेका छौं, बजारमा प्रतिस्पर्धी सेवा दिन जहिले पनि तत्पर रहन्छौं, ग्राहकहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने हाो उद्देश्य छ,’ उनले भने, ‘साना लगानीकर्तालाई सेयर बजारमा आकर्षित गर्ने उद्देश्य छ, सामुहीक लगानी कोष बिक्री हुन गाह्रो भइरहेको छ, सकेसम्म म्युचुअल फण्डको माध्यमबाट साना लगानीकर्तालाई पूँजी बजारमा ल्याउँछौं ।’ क्यापिटलका सेवा क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकका काम गरिरहेको छ । साथै, नयाँ कम्पनीको आईपीओ निष्काशन र पुराना कम्पनीको हकप्रद सेयर बिक्रीमा क्यापिटलले जोड दिईरहेको छ । यस्तै, सेयर रजिष्ट्रार सम्बन्धी सेवा, लगानी व्यवस्थापन, सेयर प्रत्याभूति, संस्थापक परामर्शदाता सेवा र सामूहिक लगानी कोषको सेवा दिइरहेको सीईओ जोशीले बताए । साथै क्यापिटलले पछिल्लो समय आजीवन डिम्याट खाता सञ्चालन गरिरहेको उनको भनाइ छ । उनका अनुसार मुक्तिनाथ क्यापिटलमा १ लाख ३० हजारबढीले डीपी खाता खोलका छन् । साथै, क्यापिटलले १५० जनाभन्दा बढीको ७० करोड रुपैयाँ बढीको लगानी व्यवस्थापनको काम गरिरहेको बताएको छ । क्यापिटलमा २५ जना कर्मचारी कार्यरत रहेका छन् ।

बैंकले घर बनाउन दिन थाले शतप्रतिशत कर्जा

काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १०० प्रतिशत कर्जा दिने योजना अगाडी सारेको हो । यस्तो कर्जाको व्याजदर पनि बैंकले तुलनात्मक रुपमा सस्तो नै राखेको छ । बेस रेटमा १ दशमलव ९९ प्रतिशत प्रिमियम थपेर व्याज निर्धारण गर्ने छ । हाल बैंकको बसे रेट ९ दशमलव ५५ प्रतिशत रहेको छ । यस आधारमा बैंकले घर कर्जामा ११ दशमलव ५४ प्रतिशत व्याज लिनेछ । नेपालीहरुले घर कर्जाको व्याज १० प्रतिशतभन्दा माथि हुनुलाई उच्च व्याजदर मान्दछन् । तर अहिले बैंकहरुले निक्षेपकर्तालाई नै ११ प्रतिशतसम्म व्याज दिईरहेको बेलामा घर कर्जाको व्याज ११ दशलवम ५४ प्रतिशत हुनु महँगो होइन । बैंकको बेसरेट घट्दा सोही अनुपातमा कर्जाको व्याजदर पनि घट्नेछ भने वेस रेट बढेको अवस्थामा कर्जाको व्याजदर पनि सोही अनुपातमा बढ्नेछ । पछिल्लो समय बैंकहरुको बेसरेट क्रमशः घट्दै गएको छ । नेपाल बैंकले घर वा जग्गा खरिद गर्नको लागि पनि सोही व्याजदरमा कर्जा दिने जनाएको छ । यस्तो सुविधा राजधानी र सहरी क्षेत्रमा मात्र हुने बैंकले सर्त राखेको छ । नेपाल राष्ट्र बैंकले ३ हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट किन्न वा बनाउनको लागि २ करोड रुपैयाँसम्म घर कर्जा दिन पाउने र यस्तो कर्जा धितोको ७० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थासँग आवास निर्माण र निर्माण सामाग्री उत्पादन तथा व्यापारले गति लिने विश्वास सरकारी अधिकारीहरुले गरेका छन् ।

ईभी गाडीको शतप्रतिशत बीमा सलिकोले गर्ने, पूर्ण क्षति भए नयाँ कार किन्न पैसा दिने

काठमाडौं । नेपालीमाझ विद्युतीय गाडीको लोकप्रिय बढ्दै गएको छ । हालै सम्पन्न नाडा अटो शो २०८० मा पनि अधिकांश ग्राहकले विद्युतीय कार खरिदको लागि बैना बुझाएको आयोजकले बताएको छ । विद्युतीय सवारी दुर्घट्नामा पर्दा र ब्याट्रीमा नोक्सानी हुँदा भने उपभोक्ताहरु ठूलो मारमा पर्ने गरेको पाइएको छ । ब्याट्री नोक्सान हुँदा बीमाले ५० प्रतिशत मात्र क्षतिपूर्ति दिन्छ भन्ने उपभोक्तामा जानकारीको अभावले बीमितहरु समस्यामा पर्न थालेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का प्रमुख कार्यकारी अधिकृत चंकी कुवँर क्षेत्री बताउँछन् । विद्युतीय गाडीको कुल मूल्यको ५० देखि ६० प्रतिशत ब्याट्री मूल्य पर्छ । तर, वर्तमान मोटर बीमा निर्देशिकाअनुसार ब्याट्री नोक्सान भएमा बीमितले क्षति मूल्यांकनको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी पाउने छन् । ५० लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय कारकाे ब्याट्री लागत मात्र नै २५ लाखभन्दा बढी हुन्छ । नयाँ गाडीको ब्याट्रीमा पूर्ण क्षति भयो भने बीमितले १२ लाख ५० हजार रुपैयाँ मात्र पाउँछन् । जवकी नयाँ व्याट्री किन्नु पर्दा २५ लाख रुपैयाँ भन्दा बढी पर्छ । ब्याट्री क्षति हुँदा नोक्सान जति हुन्छ त्यसको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी हुँदा बीमित दुःखी मात्र भएका छैनन्, बीमा कम्पनीप्रति आक्रोश व्यक्त गर्ने, गाली गलौज गर्ने जस्ता समस्या देखिएको नेपाल बीमक संघका अध्यक्ष समेत रहेका क्षेत्रीको भनाई छ । ब्याट्री नोक्सान हुँदा ५० प्रतिशत मात्र क्षतिपूर्ति पाउने व्यवस्थाबारे गाडी बिक्रेताले पनि ग्राहकलाई जानकारी नदिने र उपभोक्ताले पनि बीमा रक्षावरणबारे पूर्ण जानकारी विनै बीमा गर्ने भएकोले यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ । विकल्पमा पुरक बीमा लेख, नयाँ कार किन्ने सुविधा पनि बीमितहरुको समस्या देखेपछि सलिकोले भीआईपी प्लस योजना ल्याएको छ । यसमा ब्याट्री नोक्सान हुँदा १०० प्रतिशत क्षतिपूर्ति पाउने, पुरानो गाडी पूर्ण रूपमा नोक्सान भएमा सोही प्रकार, बनौट र मोडलको नयाँ गाडी किन्न पैसा दिने, क्षतिमा ह्रास कट्टी रकममा पनि सोधभर्ना गर्ने लगायत सुविधा रहेको उक्त कम्पनीले जनाएको छ । भीआई पी प्लस योजनामा थप चार सुविधा थपिएको कम्पनीले जनाएको छ । सवारी पूर्ण क्षति भएको अवस्थामा सोही मोडल, प्रकार र बनौटको नयाँ सवारी किन्न सम्बन्धित गाडीको आधिकारिक बिक्रेताको कर बीजक मूल्य बराबर नगद भुक्तानी दिइनेछ । पूर्ण नोक्सान नभएको अवस्था कुनै पनि पार्टस फेर्नुपर्दा ह्रास कट्टी रकम बराबर शोधभर्ना गरिनेछ । सवारी दुर्घटना भइ वर्कशपमा बनाउन दिनु परेको अवस्थामा बीमितलाई १४ दिनसम्म दैनिक १५०० रुपैयाँ सवारी भाडा यातायात शिर्षकमा भुुक्तानी गरिने छ । सवारी दुर्घटना चालक वा यात्रुको व्यक्तिगत सामान नोक्सान भएमा १० हजार रुपैयाँसम्म रकम भुक्तानी गरिनेछ । यस्तो प्रकारको बीमा गर्दा करिब १६ प्रतिशत अतिरिक्त बीमा शुल्क लाग्ने कम्पनीले जनाएको छ । भीआईपी प्लसमा सलिकोले मोटर बीमा लेखसँग पुरक बीमा लेख पनि जारी गर्दछ । त्यसको प्रिमियम करिब ५/६ हजार रुपैयाँ बढी हुने क्षेत्रीले बताए ।