एक दर्जन लघुवित्त मर्जर प्रक्रियामा, कुनको को सँग ?
काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाहरुमा मर्जरको लहर चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई सुविधा दिने भएपछि लघुवित्तहरु मर्जरमा जान थालेका हुन् । राष्ट्र बैंकले वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नै निरन्तरता दिएको छ । २०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर चलेको हो । हालसम्म १२ वटा लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जर सम्झौता भइसकेको छ । साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता गरे । सम्झौता पत्रमा साधना लघुवित्तको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्तको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका थिए । दुवै लघुवित्तको सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने सहमति भएको साधना लघुवित्तका सीईओ रेशम न्यौपानले बताए । मर्जरपश्चात् सबैको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको उनको भनाइ छ । साथै, मर्जरपश्चात् लघुवित्त सञ्चालक समितिको अध्यक्षमा साधना लघुवित्तबाट थापा बन्ने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल नियुक्त हुने छन् । दुवै लघुवित्त राष्ट्रिय स्तरमा रुपमा कारोबार गरिरहेका छन् । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दिपुरमा छ भने साधना लघुवित्तको गोरखा हरमटारीमा छ । दुवै संस्था एक आपसमा मर्ज भएपछि केन्द्रिय कार्यालय चितवनमा राख्ने सहमति भएको छ । हाल सबैको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ छ भने साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । मर्जर पश्चात् भने लघुवित्तको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्ने सीईओ न्यौपानेले बताए । मर्जरपछि १८३ वटा शाखा कार्यालय पुग्ने छन् भने आगामी पुसम्म एकीकृत कारोबार गरिसक्ने लक्ष्य रहेको उनको भनाइ छ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर भयो । दुई लघुवित्तबीच सेयर स्वाप रेसियो १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए)मा फरक पर्याे भने सोही अनुसार स्वाप रेसियो निर्धाणरण गर्ने सहमति भएको छ । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा किसान लघुवित्तका सीईओ पर्वतकुमार कार्की नियुक्त हुने छन् भने अध्यक्षमा जाल्पा सामुदायिक लघुवित्तबाट बीर बहादुर अधिकारी रहने सहमति भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम मातृभूमि लघुवित्त वित्तीय संस्था राख्ने सहमति भएको छ । तर, मर्जरपछि दुवै संस्थाको नाम जोडेर कुनै नाम राख्न राष्ट्र बैंकले स्वीकृति दिएमा त्यसमा पनि छलफल हुने उनले बताए । हाल किसान लघुवित्तको करिब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जाल्पा सामुदायिक लघुवित्तको १८ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्ने छ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान गत चैत २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरे । मानुषी लघुवित्तका तर्फबाट अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट अध्यक्ष राजकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् । दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) प्रतिवेदनमा फरक पर्याे भने सोही अनुसार स्वाप रेसियो निर्धाणरण गर्ने सहमति भएको छ । मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । साथै, मर्जरपश्चात् लघुवित्तको अध्यक्ष सृजनशीलबाट राज कुमार श्रेष्ठ र सीईओ मानुषीबाट शोभा बज्राचार्य बन्नेछन् । दुवै संस्था राष्ट्रिय स्तरमा कारोबार गरिरहेका छन् । अबको केही महिनाभित्र मर्जर प्रक्रिया टुंग्याउने गरी काम भइरहेको सृजनशील लघुवित्तका सीईओ बटुक शमशेर श्रेष्ठले बताए । उनका अनुसार मर्जरपश्चात् ६९ वटा शाखा कार्यालय पुग्ने छन् भने चुक्ता पूँजी २२ करोड रुपैयाँ पुग्ने छ । राष्ट्र बैंकले एलओआई दिएका कारण मर्जर प्रक्रिया लम्बिएको उनको भनाइ छ । नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने छन् । मर्जरपश्चात् लघुवित्तको सीईओमा नेरुडे लघुवित्तबाट भोजराज बस्याल र अध्यक्ष मिर्मिरे लघुवित्तबाट बन्ने सहमति भएको छ । मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ, २५० शाखा, सेवाग्राही संख्या ३ लाख, निक्षेप ६ अर्ब २५ करोड, कर्जा लगानी १९ अर्ब रुपैयाँ र कर्मचारी संख्या १ हजार ३ सय जना पुग्ने छन् । सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार १ः०.८५ अनुपात कायम गरिएको सामुदायिक लघुवित्तका सञ्चालक हिरा लाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । साथै, मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्षमा सामुदायिक लघुवित्तबाट र सीईओमा बिपीडब्लु लघुवित्तका सीईओ दिलिप पोख्रेल बन्ने छन् । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ । सामुदायिक लघुवित्तको हालको केन्द्रिय कार्यालयलाई केन्द्रिय कार्यालयको रुपमा तोकिएको छ । मर्जर लघुवित्तका ४१ वटा शाखा कार्यालय पुग्नेछन् । तर, केही शाखा दोहोरिएको हुँदा कम हुन सक्ने सञ्चालक विश्वकर्माले बताए । मर्जर प्रस्ताव पारित गर्नका लागि दुवै लघुवित्तले विशेष साधारण आह्वान गरेका छन् । साधारण सभाले पारित गरेपछि राष्ट्र बैंकले स्वीकृत दियो भने लगत्तै एकीकृत कारोबार गर्ने उनको भनाइ छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्याे । मनकामना स्मार्ट लघुवित्त प्राप्तिपश्चात् समता घरेलु लघुवित्तको नामबाट कारोबार हुनेछ । सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुने प्रारम्भिक सहमति भएपछि डीडीए रिपोर्टमा फरक आयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण गरिनेछ । माघसम्म एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको भएपनि सम्भव नभएकाले बैशाखसम्म मर्ज गरिसक्ने तयारी रहेको छ । मर्जरपश्चात् समता लघुवित्तबाट डा.मदन घिमिरे सीईओ बन्ने छन् भने अध्यक्ष डीएम थेबे लिम्बु रहने छन् । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रिय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । बागमति प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्षेत्र बनाई कारोबार गरिरहेका दुवै मर्जरपश्चात् राष्ट्रिय स्तरको लघुवित्तका रुपमा स्तरोन्नति हुनेछ । प्राप्ति पश्चात् समता घरेलु लघुवित्तको चुक्ता पूँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्ने छ भने कुल शाखा संख्या ९९ वटा पुग्ने छन् ।
भएका जहाज व्यवस्थापन गर्न नसक्ने मन्त्री किराती किन गर्दैछन् १० जहाज थप्ने स्टन्ट ?
काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान बढाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको उडान तालिका प्रभावित बनेको छ । हाल ४ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको एक वटा वाइडबडी जहाज बिग्रिएपछि नियमित उडान गर्दै आएको गन्तव्यका उडानहरु डिले तथा रद्द हुँदै आएका छन् । चाडपर्वको समयमा जहाज ग्राउण्डेड नै भएर उडान तालिका बिग्रिरहेका बेला विभागीय मन्त्रीका रुपमा काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती भने थप जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । विदेशी वायुसेवा कम्पनीले धमाधम उडान थप गरेर व्यापार गरिरहँदा विभागीय मन्त्रीले उडान व्यवस्थापनमा कुनै ध्यान नै नदिई स्टन्ट देखाउन नयाँ जहाज खरिद गर्ने गरेको निगमका अधिकारीहरु बताउँछन् । ‘निगमलाई कसरी हुन्छ नाफामुखी बनाउनु पर्ने जिम्मेवारी मन्त्रीको पनि हो, संकटको समयमा व्यवस्थापनमा कुनै चासो नदेखाएर बाहिर स्टन्टबाजी मात्रै गर्न थाले’, निगमका एक कर्मचारीले भने । गत सोमबार काठमाडौं–नारिता उडान गरेर फर्किएपछि निगमको (अन्नपूर्ण) एयरबस ३३० जहाज ग्राउण्डेड भएको छ । रुटिङ इन्फेक्सन (उडान साइकल) सकिनै लागेको भन्दै काठमाडौं–नारिता मात्रै उडान गर्दै आएको जहाज ६ दिनदेखि ग्राउन्डेड भएको हो । जहाजमा जडान गरिएकाे इन्जिनकाे ब्लेडहरूकाे रुटिङ इन्फेक्सन समयमै गर्न नसक्दा उडान साइकलमा सिमित बनेकाे थियाे । ६ दिनदेखि ग्राउन्डेड भएकाे उक्त वाइडबडी जहाजमा जडान गरिएकाे इञ्जिन निकालेर मर्मतको काम भैरहेको भन्दै ३/४ दिनमा उडान गर्ने निगमले जनाएको छ । निगमका एक क्याप्टेनले अहिले प्राविधिकले इन्जिन निकालेर अध्ययन गरिरहेको भन्दै छिट्टै उडान गर्ने आशा व्यक्त गरे । ‘विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान संख्या थपिरहेका छन्, भएका जहाजले नियमित उडान गर्न समेका छैनन्, ती क्यापटेनले भने, ‘एउटा जहाज बिग्रिँदा उडान सेड्युल नै प्रभावित भएर यात्रुलाई होटलमा राख्नुपर्दा खर्च मात्रै बढेको छ, भएका जहाज व्यवस्थापन गर्न सकिएको छैन, यसमै थप जहाज थप्ने विषय स्टन्ट मात्रै हो ।’ भएका जहाजलाई समयमै मर्मत गरेर चाडपर्वको सयममा नियमित उडानको तयारी गर्नुपर्ने समयमा विभागीय मन्त्री भने स्टन्टवाजीमा लागेको उनको भनाइ छ । ‘मन्त्रीलाई निगमको कुनै वास्ता नै छैन, किन जहाज उडेन भन्नेतर्फ मन्त्रीको ध्यान छैन, गर्ननसक्ने ठूला कुरामात्रै गरेर निगमलाई झन डुबाउने खेलमा मन्त्री लागेको देखिन्छ,’ उनले भने । पर्यटनमन्त्री किरातीले निगमले यसै वर्षभित्र थप १० वटा जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । आइतबार मन्त्रीनिवास पुल्चोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किरातीले निगमले १० वटा जहाज खरिद गर्ने उद्घोष गरेका हुन् । उनले नयाँ जहाज खरिदको प्रक्रिया दशैं अअघि नै सुरु गर्ने भन्दै छिट्टै निगमले थप नयाँ जहाज पाउने जानकारी गराए । मन्त्री किरातीले जहाजको संख्या कम हुँदा भाडा घट्न नसकेको र जहाज थप गर्दा भाडा घट्ने बताए । सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नु पर्ने बताउँदै उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको बिसंगतिलाई ्हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । पर्यटनमन्त्री किरातीको निगमले नै जहाज थपेर भाडा घट्ने भन्ने तर्क भने हास्यास्पद छ । निगमले भने मन्त्री किरातीले भनेजस्तो १० वटा जहाज खरिदको विषय जानकारी नभएको बताएको छ । ‘सुरुवाती चरणमा तीन वटा जहाज ल्याउने गरी निगमले तयारी अगाडि बढाएको छ, मन्त्रीले भनेजस्तो यसै वर्षभित्र थप १० वटा जहाज खरिदको प्रक्रियामा अहिलेसम्म कुनै जानकारी भएको छैन’, निगम स्रोातले भन्यो, ‘माथिल्लो निकायमा भएको होला, तर अहिलेसम्म आधिकारीक रुपमा कुनै जानकारी आएकोे छैन ।’ निगमका प्रवक्ता रमेश पौडेल आन्तरिक उडानका लागि निगमको आन्तरिक स्रोतबाट ३ वटा जहाज खरिद प्रक्रिया सुरु भैसकेको जानकारी दिए । ‘हाम्रो तयारी सुरुवाती चरणमा ३ वटा जहाज खरिद गर्ने थियो, सोही तयारी अनुसार आन्तरिक स्रोतबाट जहाज खरिद गर्नेगरी हामीले तयारी अगाडि बढाइसकेका छौं, हाम्रो तयारी यसै वर्षभित्र ल्याइसक्ने हो’, उनले भने ।
२ वर्ष लाभांश रोक्दा सेयर मूल्य ६७%ले बढ्यो, १७ औं स्थानबाट प्रथम
अर्थतन्त्रमा सम्पत्तिको बजार मूल्य करिब (क्रयास) जस्तै भएको, लगानीकर्ताहरुमा आत्मविश्वासको कमी भई समग्र वाणिज्य बैंकहरुको कर्जा असुलीमा गम्भीर प्रभाव परेको अहिलेको यस्तो चुनौतिपूर्ण अवस्थाको बाबजुद पनि मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेको एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० मा उत्साहजनक उपलब्धी हासिल गर्न सफल भएको छ । बैंकले आफ्नो व्यवसायमा गुणात्मक वृद्धि हासिल गरी मुनाफामा वृद्धि गर्नको लागि तय गरेको पञ्चवर्षीय व्यवसायिक योजना अठोट २२-२७ अन्तर्गतको पहिलो आर्थिक वर्ष २०७९/८० मा बैंकले हरेक वित्तीय सूचकहरुमा उत्साहजनक नतिजा ल्याउन सफल भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुल कर्जा रकम रु. २७१.६ अर्ब, कुल निक्षेप रकम रु. ३१४.३१ अर्ब, लगानी रु. ३५.५३ अर्ब र कुल सम्पत्तिको आकार रु. ३६४.०९ अर्ब पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकले कुल संचालन आम्दानी रु. १५.०३ अर्ब, संचालन मुनाफा रु. ६.५४ अर्ब र खुद मुनाफा रु. ४.४४ अर्ब आर्जन गर्न सफल भएको छ । समग्रमा, गत वर्ष हामी बैंकिङ्ग क्षेत्रमा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचिमा कायम रहन सफल भएका छौं । समग्रतामा बैंकले विगत ५ आर्थिक वर्षहरुमा धेरै उपलब्धि हासिल गरेको छ । बैंकको कुल निक्षेप आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १५१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३१४ अर्ब पुगेको छ । बैंकको कुल कर्जा आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. २७२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको कुल कर्जा २.२५ गुणा पुगेको छ । बैंकको बचत निक्षेप तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. ४८ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ८७ अर्ब पुगेको छ । बैंकको ब्याज नपर्ने निक्षेपतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३६ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप ३.१३ गुणा पुगेको छ । बैंकको खुद मुनाफा तर्फ आर्थिक वर्ष ०७४/०७५ मा रु. १.३३ अर्ब आर्जन गरेको मुनाफा आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ४.४४ अर्ब पुगी बैंक साविक १७ औं स्थानबाट चौंथो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको खुद मुनाफा ३.३३ गुणा बढेको छ । बैंकको प्रति शेयर आम्दानी आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १६.६२ बाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ३८.४४ पुगी बैंक साविक १७ औं स्थानबाट पहिलो स्थानमा पुग्न सफल भएको छ । बैंकको स्वपूँजीमा प्रतिफलतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको १२.०९ प्रतिशतबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १६.३९ प्रतिशत पुगी बैंक साविक १५औं स्थानबाट दोस्रो स्थानमा पुग्न सफल भएको छ । बैंकको ग्राहक संख्या तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब १३.३३ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा ३८.५५ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ग्राहक संख्या २.८९ गुणा पुगेको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्यातर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब ३.४१ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १८.७८ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या ५.५१ गुणा पुगेको छ । बैंकको बजार पूँजीकरण आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा करिब रु २५.३७ अर्बबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा करिब रु. ९१.७९ अर्ब पूँजी बजार मुल्य प्रतिशेयरको हिसाबले बैंक पहिलो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको बजार पूँजीकरण ३.६१ गुणा पुगेको छ । प्राविधिक कारणले विगत दुई वर्षदेखि हामीले शेयरधनी महानुभावहरुलाई लाभांश प्रदान गर्न नसकेको भएतापनि शेयरधनीहरुको बजार पूँजीकरण आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ७०.८२ प्रतिशतले सेयर होल्डरको सम्पत्ति बढेको छ । जुन समग्र वाणिज्य बैंकहरुको सोही अवधिमा भएको ९.७२ प्रतिशत भन्दा मात्र थियो । २०७७/०७८ को श्रावण महिनामा रु. १ लाख रुपैया बराबर यस बैंकको साधारण शेयरमा लगानी गरेको भए गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा आइपुग्दा उक्त लगानी ६७ प्रतिशतले वृद्धि भई रु. १ लाख ६७ हजार पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुमा सोही अवधिमा सोही रकमको लगानीबाट प्राप्त भएको प्रतिफलको हिसावले सबैभन्दा बढी रहेको छ । प्रतिसेयर बजार मूल्य, प्रतिसेयर आम्दानी, प्रतिसेयर बुक भ्यालुको हिसावले बैंक पहिलो स्थानमा रहेको यस बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ३०.५२६३ प्रतिशत लाभांश (२९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश) वितरण गर्न सफल भएको छ । (एनआईसी एशिया बैंकमा प्रमुख कार्यकार अधिकृत न्यौपानेले २६ औं वार्षिक साधारणसभामा व्यक्त विचारको सारांश)