कर्णालीका सडकमा भगवान् भरोसे यात्रा, चाडपर्वमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने
सुर्खेत । विसं २०७९ असोज १२ गते बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जीप कपुरकोट गाउँपालिका–६ जलवाङ दुर्घटनामा पर्यो । देशैभर दसैँको रौनक छाएको बेला रा १ ज ५६३ नम्बरको जीप दुर्घटनामा नौ जनाले ज्यान गुमाएपछि जलवाङ गाउँ शोकमा डुब्यो । जीपमा सवार नौ जनामध्ये आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो । जीपमा सवार सबै बाँकेको ढकेरीस्थित आफन्तको बिहेबाट सल्यान फर्किँदै थिए । मृत्यु हुने सबै एकै गाउँका हुन् । सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आइरहेको ट्रक दुर्घटनामा पर्याे । जुम्लाको हिमा गाउँपालिका–१, लिहीमा बागमती प्रदेश ०३–००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुरका ट्रक चालक अविनाश लामाको मृत्यु भयो भने उनका सहयोगी हरी न्यौपाने घाइते भए । असोज १५ गते सल्यानकै कुमाख गाउँपालिका–७, डुमकोटमा रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा पर्यो । दुर्घटनामा कुमाख गाउँपालिका–७, डुमकोटका दुई जनाको मृत्यु भयो भने १७ जना घाइते भए । ओभर लोडका कारण उकालोमा चढ्न नसकेर जीप दुर्घटनामा परेको थियो । असोज १५ मै जुम्लाको तिला गाउँपालिका–१, कालजेनीमा खलङ्गाबाट नराकोटतर्फ जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भयो । भे १ च १८७३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा इलाका प्रशासन कार्यालय नाराकोटका प्रमुख मधुशङ्कर उपाध्यायसहित चार जना घाइते भए । उनीहरू दसैँ मान्न घर फर्किंदै थिए । यी घटना चाडपर्वका बेला बर्सेनि कर्णालीका सडकमा ज्यान गुमाउनेहरूका दुःखान्त उदाहरण हुन् । कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन जस्ता कारणले चाडपर्वका बेला दुर्घटना बढेको देखिन्छ । कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको चाडपर्वको बेला २१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । प्रदेश प्रहरी कार्यालयका अनुसार दसैँमा ठूलो मानवीय क्षति हुने गरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हुँदा दैलेखमा चार सवारी दुर्घटनामा सात जना घाइते भएका थिए । सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना हुँदा, दुई जनाको मृत्यु भयो । चाडपर्वका बेलामा मादक पदार्थ सेवन (मापसे)को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घटना बढेको देखिन्छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी गोपालचन्द्र भट्टराईले दुर्घटना न्यूनीकरणका लागि प्रहरीले भरमग्दुर प्रयास गर्दै आएको बताए । उनले भने ‘प्रहरीले दुर्घटना न्यूनीकरणमा धेरै प्रयास गरेको छ, हाम्रो प्रयासले मात्रै पुग्दैन । सबै पक्षको सहकार्य भएमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’ सरकारले कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना बनाए पनि कार्यान्वयन फितलो हुँदा सडक दुर्घटना घट्नुको साटो बढ्दै गएको छ । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता कारणले हरेक वर्ष चाडपर्वका बेला कर्णालीमा सडक दुर्घटना बढ्दै गएको प्रहरीको तथ्याङ्क छ । कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७६/७७ को असोज महिनामा कर्णाली प्रदेशमा ३३ वटा सडक दुर्घटना भएका थिए भने आव २०७७/७८ को असोज महिनामा १८ वटा र २०७८/७९ मा २३ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी तथ्यांकअनुसार गत तीन आवको असोज महिनाको समयमा मात्र कुल ७४ वटा सडक दुर्घटना भएको देखिन्छ । आव २०७६/७७ को कात्तिक महिनामा २० वटा, आव २०७७÷७८ को कात्तिकमा २९ र आव २०७८/७९ को कात्तिकमा ४१ वटा गरी कुल ९० वटा सडक दुर्घटना भएका छन् । चाडपर्वका बेला गाउँघर फर्किनेहरूको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्री बोक्ने र तीव्र गतिमा हाँक्ने गर्नाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ । रोजगारी, अध्ययन तथा व्यापार व्यवसायका लागि प्रदेश बाहिर रहेका कर्णालीका नागरिक चाडबाड नजिकिएसँगै घर फर्कने क्रम सुरु भएको छ । कर्णाली भित्रिने मुख्य मार्ग भनेको स्थलमार्ग नै हो । कर्णालीमा अन्य समयभन्दा चाडपर्वका बेला बढी मात्रामा सडक दुर्घटना हुने गरेका छन् । रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका कर्णालीका श्रमिक तथा विद्यार्थीहरूको ठूलो संख्या दसैँ तिहार बिदामा घर फर्कने गर्छन् । विभिन्न नाकाबाट दैनिक हजारौँको संख्यामा नागरिक कर्णाली प्रवेश गरिरहेका छन् । कर्णालीमा यात्राका लागि सडक मार्ग निर्विकल्प जस्तै छ । कर्णालीका लागि यात्रुहरूले बर्सेनि बाटोमा सास्ती व्यहोर्नु पर्ने बाध्यता मात्र होइन, ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ । साँघुरा र कच्ची सडक तथा सवारीसाधनको क्षमताभन्दा धेरै यात्रु बोक्नेलगायत कारणले कर्णालीका सडकमा भगवान् भरोसामा यात्रा गर्नुपर्ने वर्षौंदेखिको बाध्यता अझै कायम छ । के छ सुरक्षा निकायको तयारी ? सडक सुरक्षाको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले चाडपर्वका समयमा चेकजाँच तथा जनचेतनालाई जोड दिएको छ । अघिल्ला वर्षहरूमा झैँ प्रहरीले चाडपर्वको समयमा हुने सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सबै तयारीहरु गरिरहेको नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीका अनुसार नागरिक सहायता कक्ष, नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही, ट्राफिकसहितको संयुक्त जाँचलगायतका कार्यक्रमहरू अघि सारिएको छ । प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच सञ्चालन गर्नेछ । चाडपर्व सुरक्षा कार्ययोजना २०८० अनुसार सवारी दुर्घटना हुन नदिन प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच सञ्चालनका साथै ३१ स्थानमा नियमित जाँच, आवश्यकताअनुसार आकस्मिक जाँच, १८ स्थानमा लामो दूरीका सवारी जाँच (दुई जना चालकको व्यवस्था) गर्ने जनाएको छ । यसैगरी प्रदेशका २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवक्ता शाहीले जानकारी दिनुभयो । चाडपर्वका समयमा यात्रुसँग बढी असुल्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको कार्ययोजना रहेको शाहीको भनाइ छ । शाहीका अनुसार लामो दूरीमा सञ्चालन हुने सवारीसाधनका लागि तीन ठाउँमा यात्रु विश्राम कक्ष निर्माण गरिएको छ । कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका लागि सुर्खेतको बड्डीचौर, प्रदेश बाहिरिने सवारीका लागि सुर्खेतकै छिन्चु र डोल्पा सडक खण्डमा सल्यानको कपुरकोटमा यात्रु विश्राम कक्ष स्थापना गरिएको छ । सुरक्षा योजनामा प्रदेशका सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाइल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन गर्नेसम्मका योजना समेटिएका छन् । चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘अवैध चोरी निकासी रोक्ने, धार्मिक सद्भाव कायम राख्ने र कुनै पनि साम्प्रदायिक घटना हुन नदिने, दुर्घटना न्यूनीकरण गर्ने र जुतावास खेल्न रोक्नेलगायत चाडबाडको समयमा हुनसक्ने कुनै पनि आपराधिक क्रियाकलाप रोक्ने प्रहरीको योजना छ,’ नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले भनेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी गोपालचन्द्र भट्टराईका अनुसार प्रदेशका १० जिल्लामा करिब ५१०० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं,’ उनले भने, ‘प्रदेशभर क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिनेछ ।’ राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशका मुख्य बजार क्षेत्रमा चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि गरिने प्रहरीले जनाएको छ । अपराध हुन नदिने वैज्ञानिक उपकरणको समेत प्रयोग गरिएको बताइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, जिल्ला सदरमुकामका बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी भइरहेको र राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए । ‘बढी भीड हुने ३८ स्थानमा यात्रु सहायता कक्ष तयार गरिएको छ,’ उनले भने, ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाही गर्छौं ।’ उनका अनुसार सार्वजनिक यातायात साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्न लाइडर स्पीड ‘राडर गन’ लगायतका प्रविधिहरुको प्रयोग गरिनेछ । के छ सुरक्षा जोखिम ? प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएर सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सडक दुर्घटना, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, विष्फोटन, तस्करी, र ट्राफिक नियम उल्लङ्घनलगायतका क्रियाकलाप हुन सक्ने प्रहरीको विश्लेषण छ । ‘बैंक वित्तीय संस्थाहरुमा चोरी, लुटपाट हुन सक्छ । सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भई असुविधा हुनसक्नेतर्फ पनि हामी सचेत छौं । यसका लागि सबै प्रकारका सुरक्षा पद्दतिहरु अपनाइएको छ । चाडपर्वमा कुनै पनि अवाञ्छित गतिविधि हुँदैनन्,’ सूचना अधिकारी भट्टराईले भने। ‘चाडपर्वको समयमा नागरिकका घर, सम्पत्ति, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक संस्थाजस्ता स्थान सुरक्षा जोखिममा हुन्छन् । त्यस्तै नाकादेखि लिएर होटल, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामीण वस्ती र उच्चपदस्थ व्यक्तित्वहरुको आवतजावत हुने क्षेत्रलाई पनि विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरेका छौं,’ उनले भने । ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौँ’ यातायात व्यवसायी सङ्घ कर्णाली प्रदेशका संयोजक रमेशकुमार सापकोटाले चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित गन्तव्यमा पु¥याउन प्रतिबद्ध रहेको बताए । उनले राज्यको नीति नियममा रहेर यातायात व्यवसायीहरूले यात्रुलाई सहज र सुरक्षित सेवा दिने जिम्मेवारीमा कुनै पनि कमी हुन नदिने उल्लेख गर्दै राज्यका कारण कर्णालीमा यात्रुलाई कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए । ‘कर्णालीका अधिकांश सडक समयमा बन्दैनन्, बजेट छुट्याएर सडकको स्तरोन्नति पनि गरिँदैन । जबसम्म सडक राम्रो हुँदैन, तबसम्म यात्रुहरूको यात्रा जहिले पनि कष्टकर नै हुन्छ,’ सापकोटाले भने । राज्यले विशेष गरी चाडपर्वका समयमा यातायात व्यवसायीलाई सहज र सुरक्षित यातायात सञ्चालनमा रचनात्मक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार प्रदेश राजधानी सुर्खेत भित्रिने र बाहिरिने जिल्लाहरूमा सवारीसाधन थपेर सेवा सुरु गरिएको छ । चाडपर्वको समयमा प्रशासनबाट सवारीचालक र कर्मचारीलाई विभिन्न खाले हैरानी दिने गरिएको उल्लेख गर्दै यस्ता हैरानी बन्द हुनुपर्ने सापकोटाले बताए । रासस
दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र, निगमले पहुँचवालालाई मात्र टिकट दिने
कोहलपुर । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए । ‘टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु’ जेठाराले भने, ‘बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।’ स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ । निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढि भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् । निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ । एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । ‘यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो’, उनले भने, ‘अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।’ यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताइन् । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । ‘एउटा उडानमा १७ सिट हुन्छ’, उनले भनिन्, ‘यहाँ सातवटा टिकटमात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।’ रासस
नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने
काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थालेका छन् । चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा नगरप्रमुख गिरीले बैठकमा तत्काल ११ घर परिवारको विवरण सङ्कलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने बताए। उनले सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बैठकमा जानकारी गराएका थिए । नगरप्रमुख गिरीले भने, ‘नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका प्रभावित घरलाई तत्काल स्थानान्तरण गर्न घर भाडा उपलब्ध गर्न सिफारिस गरिएको छ । मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिवेदन पछि थप निर्णय गरिने छ ।’ बैठकमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरपालिकाको विभिन्न विषयगत समितिका संयोजक, सुरक्षा संयन्त्रका प्रतिनिधि, सङ्घर्ष समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता साथै निर्माण आयोजनाका प्रतिनिधि उपस्थिति रहेको थियो । राष्ट्रिय गौरवको नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेकथ्रु’ अवस्थामा पुगेको बताइएको छ । मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार पाँचसय ७५ रहेको छ । यसरी गरिएको थियो सहजीकरण चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरुआती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वय प्रदान गरेकै कारण सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । नगरपालिकाले काठमाडौँतर्फको आयोजना प्रभावितलाई मुआब्जा वितरण तथा अन्य गुनासा सम्बोधन गर्न सहजीकरण गरेको थियो । यस प्रक्रिया अहिले पनि जारी छ । नगरप्रमुख गिरीले भने, ‘नगरपालिकाको साथ र सहयोगको सुनिश्चिताले मात्र सुरुङमार्ग आयोजना कार्यान्वयनमा आएको हो । विशेष गरी सुरुङमार्ग बनाउन काठमाडौँतर्फको समस्या मेरो पहलबाट सम्बोधन हुँदै आएका छन् ।’ नगरपालिकाका वडा नं १, ३ ५, ७ र १२ का स्थानीयवासी आयोजनाबाट बढी प्रभावित छन् । उनीहरुलाई उचित मुआब्जा दिलाउन तथा आयोजना प्रभावित क्षेत्रमा खानेपानी तथा अन्य पूर्वाधारका विकास गराउन नगरप्रमुख गिरीले विशेष चासो र सक्रियता देखाउँदै आएका छन् । सुरुङमार्ग बनाउन सरकारले अधिग्रहण गरेका जग्गामध्ये काठमाडौँमा दुई सय ६७ र धादिङमा एक सय नौ रोपनी पर्छ । तीमध्ये अधिकांशले मुआब्जा पाइसकेको बताइएको छ । उनले भने, ‘सुरुङमार्गको सम्भाव्यता अध्ययनदेखि नै स्थानीयवासीले आयोजनाका विरुद्धमा आवाज उठाउन थाले । आयोजना नै फिर्ता हुने त होइन भन्ने खतरा थियो । चन्द्रागिरि नगर तथा देशको प्रतिष्ठासँग गाँसिएको आयोजना कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो दृढ मान्यता थियो । विकास गर्दा विनाश हुनसक्छ तर स्थानीयवासीलाई संलग्न गराएर गरिने विकास दिगो हुन्छ । यही मान्यतालाई कार्यान्वयन गर्न अहोरात्र ध्यान दिएँ । आयोजना प्रभावितका उचित मागलाई सम्बोधन गराउन सङ्घीय सरकारसँग अनेकौँ तह र चारणमा वार्ता गरेँ । प्राथमिकताका साथ पीडितका कुरा उठाएँ । उनीहरुलाई अधिकतम मुआब्जा दिलाउन सफलसमेत भएँ । आयोजनालाई कार्यान्वयनमा उतार्न समन्वन्वकारी भूमिका निर्वाह गरेँ । सङ्घीय सरकारले कार्यान्वयनमा ल्याएको आयोजनामा नगरपालिकाको भरपुर साथ र सहयोग मिलेको छ ।” सरकारले आयोजना प्रभावित क्षेत्रमा पहिलो चरणमा बाटो नपुगेको जमिनलाई समेत प्रतिआना १० लाख रूपैयाँ तथा अन्य जमिनलाई अधिकतम ४६ लाख रूपैयाँ सम्म मुआब्जा प्रदान गरेको थियो । दोस्रो चरणमा ‘फ्लाइओभर’ बनाउने क्षेत्रका जमिनलाई न्यूनतम प्रतिआना ५७ लाख रूपैयाँ , पक्की घरका लागि छुट्टै, सबै जमिन परेकालाई थप १० प्रतिशत तथा घरटहरा हटाउन थप रकम प्रदान गरिरहेको जनाइएको छ । सवारीसाधन आवतजावतका लागि निर्माणाधीन नेपालकै पहिलो सो सुरुङमार्ग आयोजनाले नगरप्रमुख गिरीकै प्रस्तावअनुसार चन्द्रागिरि–२ मा १४ करोड रूपैयाँ को खानेपानी योजना सम्पन्न गरिदिएको छ । आयोजना प्रभावित वडा १ मा स्थानीयवासीका मागअनुसार खानेपानी योजना निर्माणाधीन छ भने अन्य सांस्कृतिकस्थल तथा मन्दिर संरक्षण गरिदिने आयोजनाले प्रतिबद्धता जनाएको छ । सो सुरुङमार्ग चन्द्रागिरि–३ टोटेपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–९ सिस्नेखोला निस्कने छ । नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा कार्यान्वयनमा आएको सो आयोजना विसं २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको हो । नगरप्रमुख गिरीले भने, ‘राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा स्थानीय तहले कस्तो सहजीकरण तथा समन्वय गर्नुपर्छ भन्ने चन्द्रागिरि नगर नमूना बन्न सक्छ । स्थानीयवासीको अपनत्वले मात्र ठूला आयोजना कार्यान्वयनमा जान्छ । ठूला आयोजनाले ल्याउने समृद्धि ठूलो नै हुन्छ । यस कुरालाई आयोजना प्रभावितलाई बुझाउनुपर्छ ।’ नगरप्रमुख गिरीले भने, ‘सुरुङमार्ग आयोजना सम्पन्न भएसँगै नेपाल नयाँ युगमा प्रवेश गर्छ । छोटो अवधिमा महत्वपूर्ण फड्को मार्न सकिन्छ । यो सुरुङमार्ग नेपालमा गाडी गुडाउन मिल्ने पहिलो सुरुङमार्ग हुनेछ । यसले नेपाललाई सुरुङ युगमा प्रवेश गराउने छ । जापानी प्रविधिक तथा विज्ञले सो आयोजनाबाट प्रविधि हस्तान्तरण पनि गर्नेछन् ।’ यसबाट हुने प्रत्यक्ष अर्को फाइदा भनेको ट्राफिक जामका लागि चिनिएको नागढुङ्गामा घण्टौँ जाम हुने छैन । नौबिसेबाट थानकोटसम्मको सडकखण्ड घुमाउरो तथा उकाली–ओराली धेरै भएकाले र यस क्षेत्रमा सधैँजसो ट्राफिक जाम हुने गरेको छ । गाडी उकालोमा बिग्रिएर बस्ने अवस्थाको अन्त्य हुनेछ । बाटो पनि साढे तीन किलोमिटर छोटो हुनेछ । सुरुङमार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौँ प्रवेश गर्न सकिने जनाइएको छ । रासस