मारुती सुजुकीका पाँच उत्पादनमा एक कार ईभी

काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले विद्युतीय कार उत्पादनका लागि गुजरात सरकारसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यस एमओयूअन्तर्गत चौथो लाइनको उत्पादन सुरु हुनेछ । मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले जग्गा प्राप्तिको काम पनि केही महिनामा सम्पन्न हुने बताए । सन् २०२८ देखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । यस दशकको अन्त्यसम्ममा कम्पनीले उत्पादन गरेका ५ मध्ये १ कार विद्युतीय हुने कम्पनीको अनुमान छ । भगरवले भने, ‘अहिलेको अनुमानअनुसार सन् २०३०–३१ सम्म कुल उत्पादनको १५ देखि २० प्रतिशत विद्युतीय सवारीसाधन हुनेछ र यो एक लाइनको उत्पादनले सम्भव हुँदैन । यस्तो अवस्थामा यो लाइनको क्षमता पूरा भएपछि केही विद्यमान लाइनलाई ईभी लाइनमा परिणत गर्नुपर्ने हुन्छ ।’ कम्पनीले ब्याट्री उत्पादनलाई पनि स्थानीयकरण गर्न चाहन्छ । यो ईभीको स्वदेशी उत्पादनका लागि ठूलो चुनौती हो । भार्गवले यस्तो अवस्थामा मारुतीको नयाँ प्रविधिको ब्याट्री उत्पादनमा कम्पनीको ध्यान केन्द्रित रहेको बताए । ईभीको उत्पादन मागमा भर पर्ने भए पनि भार्गवले उत्पादित गाडीमध्ये आधा निर्यात हुने अपेक्षा गरेका छन् । मारुती सुजुकीले आर्थिक वर्ष सन् २०३१ सम्ममा ७.५ देखि ८ लाख युनिटको निर्यात क्षमता पुग्ने अपेक्षा गरेको छ । ईभी सवारीसाधन निर्माणसँगै कम्पनीले आफ्नो बढ्दो माग पूरा गर्न वैकल्पिकरूपमा जैविक इन्धनमा पनि ध्यान केन्द्रित गरिरहेको छ । भार्गवका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । जसले गर्दा विद्युतको माग पनि बढ्दै गएको छ । यसले कार्बन फुटप्रिन्ट बढाउँछ । हाइब्रिड प्रविधिमा ईभीको तुलनामा कम कार्बन फुटप्रिन्ट उत्पन्न हुन्छ । एजेन्सी

व्यक्तित्वका ती पक्ष के हुन्, जुन ‘लुक्स’ भन्दा बढी आकर्षक हुन्छन्

काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ– ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन।’ यसको मतलब यो हो, तपाईंले पहिलोपटक भेट्दा कुनै व्यक्तिमा जुन छाप वा प्रभाव छाड्नुहुन्छ, त्यो उसले लामो समयसम्म सम्झिन्छ। पहिलो भेटमा तपाईं कस्तो देखिनुहुन्छ भन्ने कुराले फरक पर्न सक्छ, तर व्यक्तिको व्यक्तित्वका ती अन्य पक्ष के के हुन्, जसले मानिसहरूको मन छुन्छ। साधारण बुझाइमा कुनै पनि रोमान्टिक सम्बन्धको सुरुवात तपाईंले पहिलो नजरमा कसरी प्रस्तुत हुनुहुन्छ भन्ने हो । तर, शारीरिक आकर्षण व्यक्तिको अन्य धेरै गुणहरूका कारणले पनि हुन सक्छ । तपाईं पहुँचयोग्य हुनुहुन्छ ? तपाईं कसरी कुरा गर्नुहुन्छ ? तपाईंको व्यवहार कस्तो छ ? अमेरिकामा गरिएको एक सर्वेक्षणमा जोडीहरूलाई लुक्सबाहेक अरू कुन गुणहरू मनपर्छ भनेर सोधिएको थियो । सर्वेमा सोधिएको प्रश्नहरूको जवाफमा उनीहरूले भौतिक सफलता, जस्तै आर्थिक सुरक्षा र राम्रो घर, तिनीहरूका लागि आकर्षक गुणहरूमध्ये सबैभन्दा कम स्थानमा पर्ने बताएका थिए । दोस्रो, तिनीहरूले आफ्नो पार्टनरसँग सहमत हुने, बहिर्मुखी हुने र बौद्धिकतालाई शारीरिक आकर्षणभन्दा धेरै माथि राख्ने बताएका थिए । ‘लुक्स’ कति महत्वपूर्ण ? यस सर्वेक्षणमा अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक ग्रेग वेबस्टरले यस्ता सर्वेक्षणहरूमा मानिसहरूले अरूको नजरमा आफूलाई राम्रो राख्ने जवाफ दिने बताए । उनले भने, ‘यस्तो सर्वेक्षण डाटाले पूर्णरूपमा स्पष्ट चित्र प्रस्तुत नगर्न सक्छ ।’ तर प्रश्न यो छ, जब हामी वास्तविक जीवनको बारेमा कुरा गर्छौं, तब एक व्यक्तिको लुक्सले भन्दा बढी ध्यान व्यक्तित्वले पाउँछ ? यस प्रश्नमा मनोवैज्ञानिक डा। पूजा शिवम जेटली भन्छिन्, ‘सुरुवाती आकर्षण लुक्समा आधारित हुन्छ। तर, यो व्यक्तिमा पनि भर पर्छ।’ उनी थप्छिन्, ‘तिमी कस्तो देखिन्छौ भन्ने कुरा महत्त्वपूर्ण छ र यो सुरुवाती बिन्दु पनि हो । तर, कसैको सौन्दर्य वा रूपले लामो समयसम्म कसैलाई आकर्षित गर्न सक्दैन ।’ यदि तपाईंले लामो समयको सम्बन्ध, व्यक्तित्व, आवश्यकता र संसारलाई कसरी हेर्नुहुन्छ भन्नेबारे सोध्नुभयो भने यी सबै कुराले पनि मानिसलाई आकर्षित गर्ने डा। जेटली बताउँछिन् । उनका अनुसार धेरैजसो सम्बन्धमा यी पक्षहरू छलफल नगर्दा भविष्यमा भिन्नता आउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसी सहमति कायम राख्नु कुनै पनि सम्बन्धका लागि धेरै महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्व मापन गर्नु गाह्रो काम हो । दशकौंदेखि मानिसहरूलाई साइकोमेट्रिक परीक्षणहरूमा धेरै प्रश्नहरू सोधिएको छ ताकि तिनीहरूको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त गर्न सकियोस्। कसैको व्यक्तित्व कसरी मूल्यांकन गर्ने ? सामान्य जीवनमा मानिसको व्यक्तित्वलाई कसरी मूल्यांकन गर्न सकिन्छ भन्ने प्रश्नमा बिहेबियर एक्सपर्ट तथा जीवन प्रशिक्षक आस्था दिवान भन्छिन्, ‘एउटा व्यक्तिको व्यक्तित्व धेरै कुराले बनेको हुन्छ । तपाईसँग सजिलै कुरा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ।’ उनी थप्छिन्, ‘के तपाई कुरा गर्दा अरूलाई बोल्ने मौका दिनुहुन्छ रु प्राथमिकता के हो रु विचार के हो रु तपाईंको जीवन मूल्य के हो, तपाईंको आत्मविश्वास कस्तो छ रु यी सबै कुरा तपाईंको व्यक्तित्वको एक महत्वपूर्ण भाग हो ।’ साथै, तपाईंले ‘विपरीत आकर्षण’ बारे सुन्नुभएको होला । यसको मतलब हो, दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया भिन्न छन् र एकअर्काप्रति आकर्षित हुन्छन् किनभने व्यक्तित्वमा भिन्नताले पनि मानिसहरूलाई आकर्षित गर्दछ । युनिभर्सिटी अफ रोचेस्टर, संयुक्त राज्य अमेरिकाका ह्यारी रीड र मिनेसोटा विश्वविद्यालयका एलन बर्शार्ड जो व्यक्ति पहिले नै चिनेको साथी खोज्छ, जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ, यो आकर्षणको आधारभूत सिद्धान्त भएको बताउँछन् । यसबारे डा। आस्था दिवान भन्छिन्, ‘कतिपय मानिस आपसमा समानता खोज्छन्, कहिलेकाहीँ आफूभन्दा फरक व्यक्ति पनि रोज्छन् । समानता खोज्नु मानवीय स्वभाव हो,’ डा। आस्था दिवान भन्छिन्, ‘यो कुराले मानिसलाई धेरै सुरक्षित महसुस गराउँछ । जब तपाईंको विचार, गुण र मनपर्नेमा समानता हुन्छ, त्यहाँ तुरुन्त एक स्पार्क हुन्छ, बन्डिङ हुन्छ।’ कुनै पनि सम्बन्धलाई लामो समयसम्म कायम राख्न सँगै बसेर पनि छुट्टै जीवनमा अगाडि बढ्ने अवसर हुनु जरुरी भएको उनको भनाइ छ । ‘मानिसहरू सधैं समानता खोज्छन् भन्ने होइन,’ उनी भन्छिन्, ‘तर, कहिलेकाहीँ आफूभन्दा पूर्णतया फरक भएका व्यक्तिहरूलाई मन पराउन सकिन्छ, जसले एकअर्काको आधारभूत आवश्यकताहरू पूरा गरिरहेका हुन्छन् ।’ डा। आस्था दिवानका अनुसार मित्रताभन्दा पनि आकर्षण धेरैजसो विपरीत व्यक्तिसँग हुने गर्छ । मित्रता पनि दुई पूर्णतया फरक व्यक्तिबीच छिट्टै हुन्छ। बीबीसी

रेटिङबाट धमाधम बाहिरिँदै कम्पनी, वित्तीय संकट कि सूचना लुकाउने चलखेल ?

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा तीन वटा रेटिङ एजेन्सीले पाँच दर्जन बढी कम्पनीको रेटिङ विथड्र गर्ने सूचना सार्वजनिक गरेका छन् । रेटिङ एजेन्सी इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिक्स नेपालले एक महिनाको अवधिमा सो संख्यामा रेटिङ विथड्र गरेको सूचना सार्वजनिक गरेका हुन् । रेटिङको प्रक्रियामा गएर आर्थिक पारदर्शिता अपनाइरहेका कम्पनीहरू एकाएक रेटिङ प्रक्रियाबाट बाहिरिएपछि यतिखेर निजी क्षेत्रमा एक किसिमको तरंग सिर्जना भएको छ । एकै पटक यति धेरै कम्पनीहरू रेटिङबाट बाहिरिनुलाई धेरैले रेटिङ कम्पनीको विश्वसनियतामाथि मात्रै प्रश्न गरेका छैनन् ती कम्पनीहरूको आर्थिक पारदर्शितामाथि पनि आशंका पैदा गरेका छन् । कतिपयले यसलाई वर्तमान अर्थतन्त्रको कारकका रूपमा बुझेका छन् । पछिल्लो एक महिनाको अवधिमा इक्रा नेपालबाट २८ वटा कम्पनीको विथड्रका लागि सूचना सार्वजनिक भएको छ भने १६ वटा कम्पनीको रेटिङ खस्किएको छ । १६ वटा कम्पनीले पहिलेकै रेटिङ प्राप्त गरेका छन् । यस्तै, अर्को रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट एक महिनाको अवधिमा २७ वटा कम्पनी बाहिरिएका छन् भने इन्फोमेरिक्स नेपालबाट तीन वटा कम्पनी बाहिरिएका छन् । तीन वटा रेटिङ एजेन्सीबाट पाँच दर्जन कम्पनी बाहिरिँदा यसलाई तिनीहरूले पनि असामान्य रूपमा हेरेका छन् । कम्पनी बाहिरिनु उनीहरूका लागि मात्रै होइन रेटिङ गर्ने कम्पनीहरूको बिजनेस पनि घट्नु हो । विथड्र भएका अधिकांश कम्पनीको विवरणमा रेटिङ एजेन्सीहरूले सूचनामा सहजीकरण नगरेको तथा सूचना नै नदिएको भन्दै हटाएको उल्लेख गरेका छन् । इक्रा नेपालकी कार्यकारी प्रमुख अर्थात् बिजनेस हेड वर्षा श्रेष्ठले कम्पनीहरूले सम्झौता गरेअनुसार सूचना उपलब्ध नगराउँदा ती कम्पनीहरूलाई विथ ड्र गर्नु परेको बताइन् । सुरुमा ऋण लिनका लागि रेटिङ गराउने र कर्जा लिइसकेपछि रेटिङ नगरे पनि हुने गलत बुझाइका कारण कम्पनीहरूले सूचना दिन नमानेको उनको भनाइ छ । उनका अनुसार कम्पनीको वित्तीय विवरण पनि स्वस्थ नहुँदा सम्पूर्ण विवरण दिन अटेर गर्ने गरेका छन् । वर्षा श्रेष्ठ, बिजनेस हेड, इक्रा नेपाल । ‘कम्पनीहरूलाई रेटिङ गराउनुपर्छ भन्ने ज्ञान पनि हुँदैन, नीति पनि रेटिङ गर्नैपर्छ भन्ने बनेन, कतिपयलाई आफ्नो कम्पनीको वित्तीय विवरण दिन पनि गाह्रो लाग्छ, सुरुमा कर्जा लिनैका लागि सूचना दिए पनि पछि दिन मान्दैनन्, हामीले कम्पनीको यथार्थता देखाइदिँदा धेरैले गुनासो गर्ने गरेका छन्,’ उनी भन्छिन्, ‘कम्पनीलाई रेटिङको विषयमा बुझाउन नसक्दा पनि यो समस्या भएको हुनुपर्छ ।’ कम्पनीहरूले आवश्यकता परेको बेला रेटिङ गराउने र पछि कर्जा लिइसकेपछि शुल्क तिरिराख्नु पर्ने कारणले धेरैले रेटिङ गराउन छोड्ने गरेका छन् । सूचना उपलब्ध नगराउँदा एजेन्सीहरूले बाध्य भएर विथड्र गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले ५० करोडसम्मको कर्जाका लागि अनिवार्य रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । सो अनुसार कम्पनीहरूले कर्जा लिनका लागि रेटिङ गराउने गरेका छन् । एक पटक लिएको रेटिङको अवधि ६ महिनाको हुन्छ । उक्त समयावधि सकिएपछि रेटिङ एजेन्सीले पुनः रेटिङ गर्छ । तर, कम्पनीहरूको रेटिङ पुनःपुष्टिका लागि रेटिङ एजेन्सीहरूले सम्पर्क गर्न खोज्दा समेत कम्पनीहरू सम्पर्कमा आउन मान्दैनन् । त्यसपछि ती कम्पनीहरूलाई एजेन्सीले विथड्रको सूचीमा राख्ने र त्यो अवधिमा पनि सम्पर्कमा नआएमा विथड्र नै गर्ने प्रावधान छ । केयर रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अचित निर्वानीले पनि कम्पनीले सूचना नदिँदा विथड्र गर्ने गरेको जानकारी दिए । उनले नेपाल धितोपत्र बोर्डको गाइडलाइनअनुसार नै कम्पनीहरूलाई विथड्र गरेको बताए । उनले कम्पनीले सूचना नदिनुमा दुइटा कारण हुन सक्ने धारणा राखे । अचित निर्वानी, सीईओ, केयर रेटिङ नेपाल । ‘एउटा त हाम्रो सेवा मन नपराएर अर्को कम्पनीमा पनि गएका हुन सक्छन्, अर्को ती कम्पनीहरू आर्थिकरूपमा नाजुक भएर सूचना दिन नमानेका हुन सक्छन् । तर, उनीहरूले के कारणले हामीलाई सूचना दिएनन् भने विषय बुझ्न सकिएको छैन,’ उनले भने । रेटिङ गराउने कम्पनीहरूले आफ्नो वास्तविक वित्तीय अवस्था बाहिर आउने डरले पनि सूचना नदिएको हुन सक्ने बुझाइ धेरैको छ । आफ्नो दयनीय वित्तीय अवस्थालाई लुकाउनका लागि रेटिङका लागि सूचना नदिएको हुन सक्ने बुझाइ एक रेटिङ एजेन्सीका कर्मचारीको छ । रेटिङले कम्पनीको पारदर्शिता बढाउनुका साथै कर्जा दिने वित्तीय तथा गैर वित्तीय संस्थाहरूमा विश्वास पनि बढाउँछ । तर, कम्पनीहरुले नियमित रूपमा सूचना उपलब्ध नगराउँदा रेटिङलाई निरन्तरता समस्या भइरहेको धारणा रेटिङ एजेन्सीको छ । रेटिङ एजेन्सीबाट शाखः स्टील पनि बाहिरिएको छ । शाखः स्टीलका सञ्चालक किरण शाखः अहिले रेटिङ गर्न आवश्यक नभएको तर्क दिन्छन् । ‘जरूरी भएको बेला कम्पनीहरूले रेटिङ गरेका थिए होलान्, अहिले कम्पनी नै बिरामी परेको बेला के को रेटिङ गराउनु,’ उनी भन्छन्, ‘आवश्यक नपरेको बेला किन शुल्क तिरिराख्नु, अहिले ऋण पनि लिनु परेको छैन, त्यसैले सूचना नदिएका होलान् ।’ शाखःले अहिले कम्पनीहरूको आर्थिक अवस्था सन्तोषजनक नभएको कारण कम्पनीहरूले सूचना नदिएको हुन सक्ने संकेत गरे । नेपाल धितोपत्र बोर्डका अनुसार बैंक वा वित्तीय संस्थाबाट ऋण सुविधा लिन चाहनेले क्रेडिट रेटिङ गराउनु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले पनि ५० करोडभन्दा बढीको कर्जा लिएमा रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । बोर्डको क्रेडिट रेटिङ निर्देशिकाका अनुसार ग्राहकले रेटिङ संस्थालाई अनुगमन गर्ने दायित्व पूरा गर्न सहयोग नगरेमा क्रेडिट रेटिङ संस्थाले प्राप्त गर्न सकेको अधिकतम जानकारीको आधारमा रेटिङ पुनरावलोकन गर्नु पर्नेछ । त्यसरी सहयोग प्राप्त गर्न नसकेकोले प्राप्त हुन सकेका अधिकतम जानकारीको आधारमा रेटिङ अनुगमन गरिएको जानकारी सार्वजनिक रूपमा प्रवाहित गराउनु पर्ने व्यवस्था छ । ग्राहकले सहयोग नगरेमा र त्यस्तो सहयोग बिना रेटिङ अर्थहीन हुने कुरामा रेटिङ संस्था विश्वस्त भएमा रेटिङ फिर्ता लिन सक्ने व्यवस्था निर्देशिकामा छ । त्यस्तो अवस्था परेर रेटिङ फिर्ता लिने भएमा प्राप्त अधिकतम सूचनाको आधारमा एक पटक अनुगमन गरी रेटिङ फिर्ता लिने सम्बन्धमा बोर्ड तथा सार्वजनिक जानकारीको लागि सूचना प्रकाशित गरी कम्तीमा ६ महिना सम्म रेटिङ निगरानीमा राख्नु पर्नेछ र सो पश्चात् अर्को एक पटक अनुगमन गर्दा सुधार नभएमा क्रेडिट रेटिङ संस्थाले रेटिङ फिर्ता लिन सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा पनि परेको छ । निजी क्षेत्रको बिजनेस सन्तोषजनक रूपमा सञ्चालन नहुँदा तिनीहरू आफ्नो वित्तीय अवस्था लुकाउने अवस्थामा पुगेको बुझाइ धेरैको छ । तर, वित्तीय अवस्था राम्रो भएर राम्रो रेटिङ पाएका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाले चाँडो कर्जा प्रवाह गर्न सक्छन् । ती कम्पनीहरू वित्तीय संस्थाको पहिलो रोजाइमा पनि पर्छन् । तर, अहिले रेटिङ एजेन्सीहरूले रेटिङका लागि बाराम्बार सूचना माग गर्दा पनि कम्पनीले सूचना उपलब्ध गराउन सहयोग नगर्नुलाई ती कम्पनीहरूको वित्तीय अवस्था र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको हो ।