हात मिलाउन छोडौं, ‘जेएन.वान’ जोखिम समूहका लागि घातक छ

विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरस शून्यमा झरेको केही महिनापछि पुनः संक्रमण देखिन थालेको छ । पछिल्लो समय चर्चामा रहेको ओमिक्रोनको सव-भेरियन्ट जेएन.वानको संक्रमण हुन थालेको भन्दै विभिन्न देशमा सतर्कता अपनाउन थालिएको छ । नेपालमा पनि केही व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । कोरोनाका थुप्रै भेरियन्ट छन् । अहिले हाम्रो चासोको विषयमा रहेको ‘जेएन वान’ जिन सिक्वेन्सिङबाट मात्र पत्ता लाग्छ । एन्जिोन टेस्ट गरेर, पीसिआर टेस्ट गरेर ‘जेएन.वान’ पुष्टि हुँदैन । कोरोनाको आशंकामा फाट्फुट्ट अस्पतालमा जाँच गर्न आउनेहरूको नमुनालाई जिन सिक्वेन्सीङ गर्‍यौं भने जेएन वान हो कि ओमिक्रोनको अरू सव-भेरियन्ट हो कि वा पहिलेको डेल्टा भेरियन्ट हो भन्ने विषय पुष्टी हुन्छ । सीमा नाकामा वा कुनै अस्पतालमा गएर जेएन.वान पुष्टि हुँदैन । त्यो पुष्टि गर्नलाई जिन सिक्वेन्सीङ गर्नुपर्छ । ती नमुनाहरूमा रहेका भाइरसको जिन हेर्नुपर्छ । जिनलाई हेरेर त्यसको आधारमा कुन सव-भेरियन्ट हो भनेर पत्ता लगाउन सकिन्छ । तपाईंले अहिले जति पनि सञ्चार माध्यममा सुनिरहनुभएको छ, त्यो कोभिड पोजेटिभ हो ‘जेएन.वान’ होइन । राष्ट्रिय प्रयोगशालामा १६ जनाको जिन सिक्वेन्सिङ गर्दा ७ जनामा ‘जेएन.वान’ देखियो । तर, जेएन-वान सीमा नाकाबाट ल्याएको नमुनामा छैन । काठमाडौं उपत्यकामै विभिन्न स्वास्थ्य संस्थामा संकलन गरिएको नमुनामा देखिएको हो । नेपालमा ‘जेएन.वान’ पुष्टि भइसकेपछि कतिपय नागरिकमा त्रास फैलिएको छ । ‘जेएन.वान’ पहिले देखिएको ओमिक्रोनको सव-भेरियन्ट हो । यद्यपि, यो अरू भेरियन्टभन्दा संक्रामक छ । तर, कम घातक छ । यो भन्दै गर्दा हामीले खोप लगाएका छौं वा हामी बलिया छौं भनेर कुनै सतर्कता नअपनाएर हिड्न थाल्यौं भने जोखिममा परिन्छ । उहाँहरूका लागि यो घातक बन्न सक्छ भन्ने विश्वव्यापी भएका खोज अनुसन्धानले भनिसकेको छ । हामीले पनि त्यही अनुसार सबैलाई जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न भनेर अनुरोध गरेका छौँ । संक्रमित ७ जनाको अवस्था ‘जेएन.वान’ संक्रमण पुष्टि भएका संक्रमितहरूमा सामान्य लक्षण छ । उहाँहरूमध्ये कोही रुघाखोकी लागेको भन्दै बसिरहेका छन् भने केही मौसम परिवर्तन छ ज्वरो आएको भन्दै र कोही चिसो खाएको थियो वा पानीमा भिजेको थिएँ, धुलोमाटोमा हिँडेको थिएँ, त्यसैले ज्वरो आएको होला भन्ने तरिकाले सामान्य हिसाबले अस्पताल पुग्नुभएको थियो । अहिले उहाँहरूलाई हामीले निगरानीमा राखेका छौं । उहाँहरूको सम्पर्कमा आएका व्यक्तिलाई पनि हामीले टेस्ट गरिरहेका छौं । उहाँहरूमा पनि लक्षण देखियो भने परीक्षण गर्छौं । उहाँहरू जतिमा यो संक्रमण भेटियो ती सीमा नाकाबाट ल्याएका नमुनाहरूमा नभइ काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालबाट संकलन गरिएका नमुनामा देखिएको हो । लक्षण देखिएको मान्छेलाई हामीले निगरानी गर्ने हो । तर, उसलाई संक्रमण भइसकेपछि लक्षण देखिन ५/६ दिन लाग्छ । यो ५/६ दिनभित्र नेपाल छिरेको पनि हुनसक्छ । त्यस्तो लक्षण नदेखिएको मान्छे नेपाल छिर्‍यो , उसले टेस्ट पनि गराएको हुँदैन । उसले आफ्नो घरपरिवारलाई पनि सारेको हुन सक्छ । वा साथीभाइलाई पनि सारेको हुन सक्छ । त्यसैले हामीले यसको अध्ययन गरिरहेका छौं । जतिपनि संक्रमण देखिएको व्यक्ति हुनुहुन्छ उहाँहरू विदेशबाट चाहिँ आएको छैन । तर, उहाँहरूको परिवारमा र अरु को कहाँबाट आए, विगत ५/६ दिनमा कोसँग कहाँ जानुभयो, यो विषयमा अध्ययन गरिरहेका छौं । नेपालभित्रै भएको भए पहिलेको जेनियिन सिक्वेन्सीमा पनि देखिन्थ्यो किनकि हामीले पहिल्यै पनि १२ जनाको जेनियिन सिक्वेन्सी गरेका थियौं । १६ जनामा परीक्षण गरिएकोमा ७ जनामा पुष्टि भएको छ । सीमा नाकामा परीक्षण हामीले सीमा नाकामा एक महिना पहिलेदेखि नै तयारी थालेका छौं । जब भारतको दक्षिणी भागमा ‘जेएन.वान’ पुष्टि भयो । त्यसपछि हामीले सीमा नाकामा भएका हेल्थ डेस्क, स्वास्थ्यकर्मीलाई स्वास्थ्य निगरानीको लागि तयार रहन भन्यौं । देशभित्र छिर्ने स्वदेशी वा विदेशी जो सुकैलाई शंकास्पद लक्षण छ भने उहाँहरूको नमुना लिने, नमुना पोजेटिभ रहे आइसोलेसनमा बस्न सल्लाह दिने काम एक महिना पहिलेदेखिनै सुरु गरिएको हो । तर, केही मानिस नियम पालनामा गाह्रो मान्नु हुन्छ । जसले हामीलाई केही समस्या हुन्छ कि भन्ने छ । भारतबाट आएका जसलाई कोभिड देखिएको छ उहाँहरू यो मान्न तयार हुँदैनन् । जसले गर्दा घरका अन्य व्यक्तिलाई जोखिम हुने सम्भावना छ । कोभिडको बेला विभिन्न उपकरणहरू प्राप्त गरेका छौं । ती सामानलाई काममा ल्याउन र त्यो बेला तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पनि सोहीअनुसार सेवामा लाग्न अनुरोध गरेका छौं । हामीसँग आवश्यक सबै सामान प्रयाप्त छ । कोभिडका भेरियन्ट तथा सव-भेरियन्टहरू परिवर्तन भइरहन्छन् । हामीले पहिलो र दोस्रो लहरको कोरोनाबाट धेरै कुरा सिकिसकेका छौं । यसको रोकथाम पनि कसरी गर्न सकिन्छ भन्ने विषय थाहा पाइसकेका छौं । यसको उपचार व्यवस्थापन पनि कसरी गर्ने, लक्षण के के देखिन्छन् भन्ने कुरा पनि थाहा छ । त्यही अनुसार हामीले तयारी गरेका छौं । त्यसैले अचानक यसले घातक रुप लिए पनि हामी त्योसँग जुध्न तयार छौँ । पहिलेको जसरी कोभिडले मानिसको मृत्यु हुन दिँदैनौं भन्नेमा हामी लागेका छौँ । स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको जनशक्ति एकदम कम छ । एकजना स्वास्थ्यकर्मीले पाँच जना बराबर काम गर्नुपरेको छ । तथापि महामारीको बेला हामीकहाँ आफ्नो सेवा सुविधा भन्दा पनि नेपालको स्वास्थ्य क्षेत्र विशेषगरी चिकित्सकहरू दिनरात, भोक प्यास नभनी मनदेखि काम गर्छन । यदि महामारी आइहाल्यो भने पनि हामीसँग सेवानिवृत्त भइसकेको वा निजीमा काम गरिहेकालाई पनि रोस्टरमा राखेर काम गराउने अभ्यास गरेका छौं । स्वास्थ्य सुरक्षाको तयारीमा हामीले कुनै कसरत बाँकी राखेका छैनौं । प्रयाप्त स्वास्थ्य उपकरण कोभिड नभएको बेला कोभिडको लागि बजेट छुट्याउने कुरा भएन । विगत दुई महिनासम्म नेपालमा कोभिड संक्रमण थिएन । तर, अहिले संक्रमण सुरु भएको छ । अब बजेट नभए पनि हामीसँग विपद्को लागि बजेट हुन्छ । कहिलेकाहीँ त्यसले पनि नपुग्ने भए क्याबिनेटबाट निर्णय गराएर बजेट निकासा गर्नु पर्ने हुन्छ । नेपाल सरकारको नियमाअनुसार कुनै पनि सामान खरिद गर्नलाई तीन महिना समय लाग्छ । तर, विपद्को बेला भनेर अहिले फास्ट ट्रयाकबाट एन्टिजेन पनि खरिद भइरहेको छ । र, केही खोप पनि मगाइसकेका छौं । अझैपनि हामीसँग साढे ७ लाख खोप मौज्दात छ । खोप केन्द्रमा खोप लगाउने मान्छे नै छैन । ४० लाख मात्रा डिसेम्वरको पहिलो सातामा डेट एस्पाएर भयो । एक लाखभन्दा बढी पीसीआर र एन्टिजेन किट छ । यो भन्दा बढी महामारी भयो अथवा यो किटले भोलि नपुग्न सक्ला भनेर फास्ट ट्रयाकबाट किट खरिद गर्न सकिन्छ भनेर पत्राचार पनि गरिसकेका छौं । त्यो फास्ट ट्रयाक भनेको नेपाल सरकारको ९० दिन लाग्ने प्रक्रिया नअपनाएर तुरुन्त ल्याउन मिल्ने भन्ने हो । अहिले नेपाल भित्र विभिन्न कम्पनीले किट भण्डारण गरिरहेका छन् । अर्को नेपालको दक्षिणी र उत्तरी सीमानाकाहरूसँग अरबौं मात्रामा किट छन् त्यो पनि खरिद गर्न सकिन्छ । नेपालमा लगभग ९० प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी १० प्रतिशतले पनि कतै न कतै खोप लगाएकै छन् । सबैले खोप लगाइसकेपछि खोप लगाउने मान्छे बाँकी रहेन । अहिले मौज्दात रहेको खोप अझै कोही कतै बाँकी छन् भने उहाँहरूले लगाउनुहुन्छ । कसैले बुस्टर डोज लगाउन बाँकी छ भने उहाँहरूले लगाउनुहुन्छ । नभए पनि हामीले जुन जोखिम समूह भनेका छौं, गर्भवती, जेष्ठनागरिक, दीर्घरोगीलाई सेकेण्ड बुस्टर डोज पनि दिने भन्ने निर्णय गरेका छौं । बुस्टर डोज सबैले लगाउन आवश्यक छ । पहिलो दुई मात्रा अथवा जोन्सन एण्ड जोन्सन हो भने एक मात्रा लगाइसकेपछि सेकेन्ड डोजलाई बुस्टर भनिन्छ । यो लगाएपछि थप सुरक्षा प्रदान गर्छ । अहिले देखिएको ‘जेएन.वान’मा खोप निकै प्रभावकारी छ । खोपले लगभग ९७ प्रतिशत सुरक्षा प्रदान गर्छ भनिएको छ । तर, खोप लगाइसकेपछि जनस्वास्थ्यको मापदण्ड नमान्ने भन्ने हुँदैन । खोपले जटिलता र मृत्यु मात्र जोगाउने हो, संक्रमण जोगाउने हैन । यो भन्दा ठूलो कुरा हामीले सामाजिक दायित्व पनि सम्झनुपर्छ । हाम्रै कारणले गर्दा हाम्रो घरमा रहेका जेष्ठ नागरिक, गर्भवती, दीर्घरोगीलाई संक्रमण भयो भने घातक हुन्छ । त्यसैले पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । एक भौतिकदुरी कामय गर्नु, नचिनेको मान्छे वा बाहिरबाट आएकोसँग सम्पर्कमा नबस्ने, कसैलाई रुघाखोकी, ज्वरो अथवा केही त्यस्तो लक्षण देखिएको छ सतर्कता अपानाउने र मास्कको प्रयोग गर्यो भने केही हदसम्म सुरक्षित हुन सकिन्छ । अब हात मिलाउन, अंकमाल गर्न छोडिदिनुहोस् । हात कहिले आँखामा कहिले नाकमा त कहिले मुअमा पर्नेृ भएकोले मुखमा मास्क लगाउन जुरुरी छ । पटक–पटक साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नाले पनि सुरक्षित हुन सकिन्छ । अहिले आत्तिनु पर्ने अवस्था छैन । तर, सजगता भने अपनाउनुपर्छ । यो रोग संक्रामक भए पनि कम घातक छ । संक्रमण भइहाले पनि यसले जटिल अवस्था निम्त्याउँदैन वा मृत्यु गराउँदैन भन्ने धारणा धेरैको सुनिन्छ । तर, त्यस्तो धारणाको पछि पनि लाग्नु हुँदैन । यो जोखिम समूहलाई घातक हुन्छ । त्यसैले उहाँहरूलाई जोगाउनको लागि भए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरौं । हामीले स्वास्थ्यका मापदण्ड पालना गर्‍यौं भने ‘जेएन वान’को लागि मात्र होइन चिसोको बेलामा श्वासप्रश्वासबाट सर्ने रोगहरूबाट र विभिन्न भाइरल इन्फेक्सनबाट पनि जोगिन सकिन्छ । (बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् । उनीसँग विकासन्युजकी इन्द्रसरा खड्काले गरेकाे कुराकानीमा आधारित)

बैंकको बोर्डमा प्रोफेसनलहरूको प्रवेश, आफैं छुट्टिदैछन् बैंकर र व्यवसायी

काठमाडौं । लामो समय नेपाली बैंकिङ क्षेत्र उद्योगी व्यवसायीको पकडमा रह्यो । उद्योगी व्यवसायीको कब्जामा बैंकिङ क्षेत्र रहेपछि उद्योगी र बैंकर छुटिनुपर्ने बहस पनि चल्न थाल्यो । त्यो बहस अहिले पनि जारी छ । विगतमा बैंकको सञ्चालक समितिमा उद्योगी व्यवसायी नै हाबी हुन्थे । बैंकको बोर्डमा उनीहरूको हाबी भएपछि व्यवस्थापनलाई आफ्नो स्वार्थमा परिचालन गर्ने र चाहेको बखतमा बैंकको ब्याजलाई घटबढ गर्न सक्ने सम्मका घटनाहरू बेला बखत सुनिन्थे । कुनै समय बैंकको व्यवस्थापनमा नेतृत्व गरेका व्यक्ति पनि अध्यक्षको भूमिका आउनुलाई धेरैले सकारात्मक रूपमा हेरेका छन् । प्रोफेसन व्यक्तिहरूले सञ्चालक बन्ने अवसर पाएसँगै उद्योगी व्यवसायीहरू स्वतःरूपमा पछि हट्ने अभ्यास देखिएको छ । तर, पछिल्लो केही महिनायता भने बैंकको बोर्डमा प्रोफेसनल व्यक्तिहरूको प्रवेश भइरहेको छ । गत साता भएको एनएमबि बैंकको साधारणसभाले पूर्व बैंकर मनोज कुमार गोयललाई अध्यक्ष बनाएको छ । यसअघि बैंकको बोर्डको नेतृत्व गरेका उद्योगी पवन गोल्यान अध्यक्षबाट हटेपछि गोयल अध्यक्ष बनेका हुन् । उनी तत्कालीन बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत हुन् । अध्यक्षमा गोयलसँगै सञ्चालक समितिमा हरिश्चन्द्र सुवेदीले प्रवेश पाए । नेपाल लाइफको पूर्व सञ्चालक समेत रहेका उनी वरिष्ठ अधिवक्ता हुन् । एफएमओबाट प्रतिनिधित्व गर्दै शर्मीला हार्डी प्रकाशले प्रवेश पाएकी छिन् । वितग लामो समयदेखि महतो दाजुभाईले नेतृत्व गरेको माछापुच्छ्रे बैंकमा गत मंसिर ७ गते रोशन केसी अध्यक्षमा नियुक्त भए । विगत लामो समयदेखि सञ्चालक पदमा रही आफ्नो भूमिका निर्वाह गर्दै आएका केसी पोखराका युवा व्यवसायी हुन् । उनले स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । उनी हाइड्रो व्यवसायी हुन् । पोखरा बचत तथा ऋण सहकारी, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट लगायत कम्पनीमा सञ्चालक भएर काम गरेका उनी अध्यक्ष बनेपछि बैंक थप उचाईमा पुग्ने अपेक्षा धेरैले गरेका छन् । साथै, उनले केसी कन्स्ट्रक्सन प्रालि सञ्चालन गरिरहेका छन् । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल नै दोहोरिए पनि सञ्चालक समितिमा भने राष्ट्र बैंकका पूर्व कर्मचारी नारायणप्रसाद पौडेलले प्रवेश पाएका छन् । बैंकको सञ्चालक बनेका पौडेलले राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । उनी प्रभु लाईफ इन्स्योरेन्सको सीईओ समेत बने । राष्ट्र बैंकमा सेवा अवधिभर उनले नेपाल स्टक एक्सचेन्ज, निक्षेप तथा ऋण ग्यारेन्टी कोष, ग्रामीण विकास बैंक लगायतका संस्थामा सञ्चालकको रुपमा संस्थाको प्रतिनिधित्व गरेका थिए । पौडेलले बेलायतबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले ग्लोबल आइएमई बैंकको सञ्चालक समिति नै अनुभवी र लामो समय बैंकमै काम गरेको छ । लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको नेतृत्व गर्ने अवसर रमण नेपालले पाए भने नयाँ सञ्चालकका रुपमा मनोज कुमार भट्टराईले प्रवेश पाए । साविक प्राइम लाइफका पूर्व सीईओ भएर काम गरेका भट्टराईसँग बैंक र बीमा क्षेत्रमा ३ दशक बढी काम गरेको अनुभव छ । हिमालयन बैंकको ३१औं वार्षिक साधारण सभाबाट साविक सिभिल बैंकका अध्यक्ष समेत रहेका प्रतापजंग पाण्डेको पुनरागमन भयो । विभिन्न क्षेत्रमा लगानी गरेका पाण्डेसँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको अनुभव छ । साथै उनी कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक हुन् । उद्यमी प्रवलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । नेपाल लिजिङ एन्ड फाइनान्समा सञ्चालक भई ५ वर्ष र नेपाल टेलिकममा वरिष्ठ इन्जिनियर पदमा १२ वर्ष काम गरेका पाण्डेलाई १७औं वार्षिक साधारण सभाले अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यकारूपमा काम गरिरहेका छन् । सिटिजन्स बैंकको सञ्चालकमा सीता कार्की केसी, दिग्विजय बिष्ट र डा.विनोद आत्रेय पनि नियुक्त भएका छन् । त्रिभुव विश्वविद्यालयबाट स्नातक गरेकी कार्कीसँग ट्राभल र ट्रेडिङ क्षेत्रको १५ वर्ष बढी अनुभव छ । पुँजी बजार र वित्तीय क्षेत्रको अनुभव भएका बिष्टले अमेरिकाबाट एमबीए गरेका हुन् । साथै, उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा पनि आबद्ध छन् । यस्तै, वित्तीय क्षेत्रमा चार दशकभन्दा बढी अनुभव भएका सञ्चालक डा.आत्रेय राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । साविक प्रुडेन्सियल इन्स्योरेन्सको संचालक समेत रहेका उनी केयर रेटिङ्ग नेपाल र इमर्जिङ्ग नेपालका पनि सञ्चालक हुन् । नबिल बैंकको अध्यक्ष भएर काम गरिरहेका पूर्व बैंकर उपेन्द्र पौड्याल प्रोफेसनल व्यक्तिहरू संस्थाको सञ्चालक बन्नु राम्रो विषय भएको बताउँछन् । यस विषयमा आफूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि कुरा राखेको बताउँदै उनी बैंकको बोर्डमा प्रोफेसनल व्यक्ति आउनु सकारात्मक भएको बताए । ‘यो अभ्यास हामी एक दुई जनाबाट सुरु भएको हो, हाम्रा पुस्ताका बैंकर विस्तारै रिटायर हुँदैछन्, उनीहरूलाई मेनस्ट्रिममा आवद्ध गराउनुपर्छ,’ नेपाल व्यवस्थापक संघका अध्यक्ष समेत रहेका पौडेलले विकासन्युजसँग भने । सरकारले पनि प्रोफेसन व्यक्तिलाई नियुक्ति गर्ने वा कुनै क्षेत्रमा अवसर दिनु पर्ने धारणा उनको छ । पूर्व बैंकर अनलराज भट्टराईका अनुसार अन्य देश र नेपालको अभ्यास हेर्दा सञ्चालक परिभाषा र कार्य क्षेत्र फरक छ । जस्तो बङ्गलादेशमा कार्यकारी र गैर कार्यकारी सञ्चालक हुन्छन् । त्यसैले प्रोफेसनल व्यक्ति बैंकको सञ्चालक बन्दा विभिन्न प्रणाली नै मजबुत हुने उनको भनाइ छ । ‘प्रोफेसनल व्यक्ति सञ्चालक बन्दा सिस्टममा काम गर्न सहज हुन्छ, राष्ट्र बैंकका सबै नीति निर्देशनदेखि अन्य सबै विषयमा जानकार हुन्छ, बैंकको सुधार तथा विकास, वित्तीय क्षेत्रको विस्तार, बैंकिङ पहुँच वृद्धि र कर्जा विस्तारमा टेवा पुग्छ,’ उनी भन्छन्, ‘यसलाई सकारात्मक रूपमा लिनु पर्छ ।’ प्रोफेसनल व्यक्तिहरू बैंकको बोर्डमा प्रवेश हुँदा र उद्योगी व्यवसायी बाहिरिँदा बैंकमा थप पारदर्शिता र अनुशासन कायम हुने बुझाइ धेरैको छ । राष्ट्र बैंकले पनि विभिन्न समयमा बैंकर र उद्योगी छुट्याउने प्रयास गरिरहेको छ । अब प्रोफेसनल व्यक्तिको प्रवेश बोर्डमा हुँदा नीतिगत व्यवस्था नै गर्नु पर्ने आवश्यकता नहुने राष्ट्र बैंकको भनाइ छ । प्रोफेसन व्यक्तिलाई बैंकको बोर्डमा तान्नका लागि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सल्लाह दिइरहेको हुन्छ ।

१५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’

काठमाडौं । नेपाली बीमा क्षेत्रमा सबैले सुनेको नाम हो पोषकराज पौडेल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका पौडेल जीवन बीमक संघका अध्यक्ष पनि हुन् । जीवन बीमा कम्पनीमध्ये पछिल्लो समय सञ्चालनमा आएर बजारमा आफ्नो पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाइरहेको सिटिजन लाइफ इन्स्योरेन्सले व्यवसायमा मात्रै होइन, बीमितलाई सेवा प्रवाहमा पनि उल्लेखनीय काम गर्दै आइरहेको छ । परिणामस्वरूप गत मंसिरमा इण्डियन चेम्बर अफ कमर्शबाट ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड’ प्राप्त गर्न कम्पनी सफल भयो । कम्पनीको यो सफलतामा सिटिजन टीम लिडर पौडेलको ठूलो भूमिका छ । बीमा क्षेत्रमा दुई दशकको अनुभव भएका पौडेलसँग विद्यालय शिक्षक, गैरनाफामुलक संस्था, सीए फर्म लगायत क्षेत्रमा काम गरेका पृथक अनुभवहरु छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरेका पौडेल आफूलाई कर्मयोगीको संज्ञा दिन्छन् । ‘म कर्मयोगी हो, म कामलाई पहिलो प्राथमिकतामा राख्छु, धेरै महत्वकांक्षा राख्दिनँ,’ उनी भन्छन्, ‘म मेरो काममा पूर्ण सन्तुष्ट छु ।’ पोषकराज पौडेल वि.सं २०२८ सालमा चितवनमा जन्मिए । विद्यालयदेखि कलेजसम्मको पढाइ चितवनमै पुरा गरे । उनी स्कुल र कलेजमा पनि अब्बल विद्यार्थी नै थिए । उनी जहिल्यै कक्षामा ‘टप फाइभ’ मा पर्ने गरेको अनुभव सुनाउँछन् । उनी गणित विषयको त किरो नै थिए । कक्षामा अन्य साथीहरूलाई पनि गणित विषय सिकाएको सम्झना उनलाई अहिले पनि आउँछ । ‘म गणितमा १०० मा १०० अंक ल्याउँथे, अन्य विषयमा औसत नै थिएँ, उनी विद्यार्थी जीवन स्मरण गर्दै भन्छन्, ‘स्कुलमा मलाई अब्बल विद्यार्थी भनेर नै चिन्थे ।’ ६ वर्षसम्म शिक्षक सीईओ पौडेल पूर्व शिक्षक पनि हुन् । उनलाई लेक्चर दिन खुब मन पर्छ । उनको बोलीमा बढो प्रष्टता छ । विषयवस्तुमा उनी आफूलाई सोही ढंगले तयार पनि पार्छन् । वि.सं २०४६ सालमा एसएलसी (हालको एसईई) दिएपछि उनी आफूले पढेको विद्यालयमा नै पढाउन थाले । ‘यसले पढाउन सक्छ भन्ने विश्वास सरहरूमा थियो, त्यसैले पनि एसएलसी लगत्तै पढाउन सुरु गरें, त्यसले पनि आफूलाई अपडेट राख्न सहयोग गर्यो,’ उनी भन्छन्, ‘मिहिनेत गर्नुपर्छ भन्ने सिकाइ त्यतिबेला पनि धेरै भयो ।’ उनले ६ वर्षसम्म सोही विद्यालयमा पढाएर त्यहाँबाट बिदा भए । अब उनको यात्रा बदलियो । तर, काम र भूमिका भने एउटै । उनले विद्यालयमा पढाउन छोडेर चाइल्ड वेलफेयर सोसाइटीमा काम सुरु गरे । उनले त्यहाँ प्रौढ शिक्षा पनि पढाए । ‘पे र पोजिसन’ले मान्छेलाई थोरै प्रेरित गर्छ, थोरै समय उर्जा दिन्छ । निरन्तर काम गर्ने उर्जाको लागि उपयुक्त वातावरण हुनुपर्छ । नेतृत्वले मोटिभेसन र मोबिलाइजेसन गर्न सक्नुपर्छ । नेतृत्व टिममा विश्वासिलो हुनुपर्छ । त्यहाँ केही समय काम गरेर उनको यात्रा काठमाडौंतर्फ मोडियो । काठमाडौं आएर पनि सोही एनजीओको सडक बालबालिका क्षेत्रमा काम गर्ने प्रोजेक्टमा काम गर्न थाले । त्यसमा पनि उनले केही वर्ष मात्रै काम गरे । ‘हुन त मलाई सामाजिक काम मन पर्छ । तर, एनजीओमा मलाई फिट लागेन, म माछामासु नखाने, धेरै हिड्नु पर्ने भएपछि काम नै छोडिदिएँ,’ विगत स्मरण गर्दै उनी भन्छन् । उनले काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरिसकेका थिए । उनले अब वित्तीय क्षेत्रमा काम गुर्नपर्छ भन्ने सोच बनाए । सोही योजनाअनुसार एउटा चार्टर्ड एकाउन्टेन्ट (सीए) फर्ममा काम गर्न थाले । उनले त्यहाँ ६ वर्ष काम गरे । त्यो ६ वर्ष उनका लागि वित्तीय क्षेत्र बुझ्ने ठूलो अवसर बन्यो । वित्तीय संस्थाका वित्तीय विवरण अडिटमा उनी पोख्त भइसकेका थिए । त्यसपछि बीमा क्षेत्रमा इन्ट्री ६ वर्ष सीए फर्ममा काम गरेका उनले अब बीमा क्षेत्रमा प्रवेश गरे । उनले मेटलाइफमा फाइनान्स अफिसरका रुपमा काम सुरु गरे । त्यो बिचमा धेरै जिम्मेवारीहरू फेरियो । विभिन्न डिपार्टमेन्टमा काम गर्ने अवसर पाए । उनी फाइनान्स चिफका रूपमा बढुवा भए । मेटलाइफ उनको सिकाइको एउटा विश्वविद्यालय नै बनेको धारणा राख्छन् । ‘इन्स्योरेन्सको फाउन्डेसन त्यही कम्पनीबाट सिकेको हुँ, मल्टिनेशनल कम्पनी भएकोले पनि धेरै सिकियो, देश तथा विदेशका विभिन्न तालिम तथा सेमिनारहरूमा भाग लिन पाइयो, उनी भन्छन्, ‘अहिले जेजति रूपमा काम गरिरहेको छु, त्यसको आधार मेटलाइफ नै हो ।’ उनी मल्टिनेशनल कम्पनीले बनाएका बेञ्चमार्कलाई संस्था र व्यक्तिले चाहेर पनि कार्यान्वयन नहुने धारणा राख्छन् । ‘इको सिस्टम बन्नु पर्यो, धेरै कुरा गर्न चाहेर पनि इको सिस्टम नबन्दा समस्या छ, स्रोतसाधन पनि चाहिन्छ,’ उनले भने । विदेशमा भएको स्ट्याण्डर्ड नेपालमा ल्याउन पनि यहाँको इको सिस्टम सुधार्नु पर्ने उनको भनाइ छ । उनी समयसँगै आफूलाई पनि अगाडि बढाउँदै लानुपर्ने धारणा राख्छन् । ‘काम गर्दै जाँदा धेरै पर हेरेर भन्दा पनि नजिकको पाइला राम्रोसँग हेरेर अगाडि बढ्नु पर्छ भन्ने लाग्छ, सोही ढंगले आफूले पनि काम गरिरहेको छु, त्यसमा सफलता पनि पाइरहेको छु,’ उनले भने । भाग्यमानी सीईओ बीमा क्षेत्रमा तीन दशक काम गरेर पनि सीईओको अवसर नपाउने धेरै व्यक्तिहरू छन् । कतिपय आफ्नै कार्यशैली र क्षमताले पछाडि परे होलान्, कतिपयले अवसर नै पाएनन् होला । तर, पोषकराज पौडेलले भने बीमा क्षेत्रमा १५ वर्ष काम गरेर बीमा कम्पनीको नेतृत्व हाँक्ने जिम्मेवारी पाए । उनले मेटलाइफमा १५ वर्ष काम गरेर वित्त प्रमुख भएर राजीनामा दिए । राजीनामा दिनुको एउटै कारण थियो, सिटिजन लाइफमा सीईओको अफर । १५ वर्षको अनुभवमै सीईओ बन्नका लागि अवसर पाउने पौडेल एक भाग्यमानी सीईओ हुन् । तर उनी आफूलाई कर्मयोगी भनेर चिनाउँछन् । यो तहसम्म आइपुग्नका लागि आफूले धेरै मिहिनेत गरेको उनको भनाइ छ । कम्पनीको माथिल्लो पदमा पुग्न पहुँच हुनुपर्छ, नेतृत्वलाई खुशी पार्नुपर्छ भन्ने भनाई धेरैको मुखबाट सुन्न पाइन्छ । पौडेलको अनुभवमा त्यस्तो कहिल्यै पनि भएन । क्षमता हुने र नतिजा दिने व्यक्तिको सबैतिर खोजी हुने भनाई छ । उनी वि.सं २०७४ सालमा सिटिजन लाइफ इन्स्योरेन्सको सीईओ बने । १५ वर्षको अनुभवमै सीईओको जिम्मेवारी पाउँदा कस्तो महसुस हुँदो रहेछ ? प्रश्नको जवाफमा सीईओ पौडेलले भने, ‘मेटलाइफमा हुँदा पनि उच्च व्यवस्थापनमा काम गर्थें, त्यो पोजिसनमा नबसे पनि त्यो पदले गर्नुपर्ने काम र भोग्नु पर्ने चुनौती सबै महसुस गरिसकेको थिएँ, त्यसैले पनि सिटिजनको सीईओ बनेपछि खासै फरक किसिमको महसुस गरिनँ,’ उनी थप्छन् तर यो पदको गरिमा भने बेग्लै छ ।’ कुनै पनि कम्पनीमा काम गरेपछि त्यसको नेतृत्व तहमा पुग्ने सपना सबैको हुन्छ । कतिपयको सपना सपनामा मात्र सीमित हुन्छ, विपनामा परिणत हुँदैन । त्यो सफलता हासिल गर्नका लागि आइपरेका चुनौतीहरूलाई सहर्ष समाधान गरेर अगाडि बढ्नु पर्ने पौडेलको राय छ । ‘नेपालमा सबैले सपना देखेको ठाउँमा आइपुग्दा पनि म खुसी छु, मेरो कम्पनीमा ३ सय बढी कर्मचारी छन्, सबैले मलाई सहयोगी नेतृत्व भनेर चिन्छन्, अहिलेसम्म कोहि कसैसँग रिसाएको छैन,’ उनी मुस्कुराउँदै भन्छन्, मलाई सीईओ पदसम्म पुगेर कुनै घमण्ड छैन, यो त मिहिनेतको प्रतिफल मात्रै हो, एउटा जिम्मेवारी हो ।’ सीईओ बनेपछि कम्पनीलाई बजारमा एक किसिमबाट चिनाउन उनले धेरै मिहिनेत गरेका छन् । ‘नयाँ कम्पनी भएकोले नयाँ ट्यालेन्ट ल्याउने सोच थियो, त्यतिबेला सातदिने आवासीय तालिम पनि दियौं, त्यो बेला तालिम लिएका अधिकांश साथीहरू अहिले पनि संस्थामा छन्,’ उनले भने । जनशक्ति छनौटमा धेरै मिहनेत गर्नुपर्छ । कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा नेतृत्वले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ । धेरैले जागिर सुरु गरेपछि यो काम त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन् । त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ । सिटिजन लाइफ इन्स्योरेन्स नयाँ जेनेरेसनको लिडिङ कम्पनीको रुपमा उदाएको छ । कम्पनीका संस्थापक सीईओको पहिलो कार्यकाल सुखद र सफल रह्यो । कम्पनीले २०७८ मा पुनः दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्यो । संस्थामा नेतृत्वले रणनीतिकरूपमा रोडम्याप बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । ‘सपनाको सिटिजन्स बनाउँछु’ सिटिजन लाइफ इन्स्योरेन्स पछिल्लो पुस्ताको राम्रो बीमा कम्पनी हो । अन्य कम्पनीहरू मर्जर गरेर अगाडि बढिरहेको बेला सिटिजन लाइफ इन्स्योरेन्स भने मर्जरबिनै अब्बल संस्था बनेर अगाडि बढ्ने रणनीतिमा छ । सीईओ पौडेल अबको दुई वर्षपछि मार्केटमा स्थापित कम्पनीका रूपमा सिटिजन देखिने बताउँछन् । ‘मार्केट सेयर, बिजनेस र ब्राण्डका हिसाबले राम्रो बनाएर कम्पनीलाई अगाडि बढाउने योजना छ, विभिन्न कम्पनीमा काम गर्नेहरूलाई पनि एक पटक सिटिजनमा काम गर्नुपर्छ है भन्ने किसिमको कम्पनी बनाउँछौं,’ उनी भन्छन्, ‘सबैको सपनाको संस्थाको रूपमा विकास गरिरहेका छौं ।’ कम्पनीहरू मर्जरअघिको पोजिसनको तुलनामा सिटिजन अहिले पनि टपमै रहेको उनको भनाइ छ । उनले मर्जर भइसकेका कम्पनीसँग पनि सिटिजन प्रतिस्पर्धामा रहेको बताए । कम्पनीले प्रतिस्पर्धी कम्पनीको लेबलमा लाभांश दिन सक्ने अवस्था रहेको उनले बताए । कुशल व्यवस्थापक कस्तो ? हरेकसँग सीप, अनुभव र ज्ञान हुन्छ । त्यो ज्ञान, अनुभव र सीप कार्यान्वयन गर्नका लागि पनि टीम र सहि वातावरण चाहिन्छ । टीम र सहि वातावरण भयो भने नेतृत्वले राम्रो गर्न सक्छ । भनिन्छ नि- ‘एउटा बिउलाई सही ठाउँमा रोप्यो भने ऊ फुल्न र फक्रन सक्छ ।’ हो एउटा व्यवस्थापकलाई पनि सहि सहि वातावरण आवश्यक हुन्छ । सीईओ पौडेल पनि ‘राइट म्यान इन दि राइट प्लेस’ हुनु पर्ने धारणा राख्छन् । कर्मचारी छनौटको क्रममा उनी धेरै मिहेनत गर्दछन् । ‘कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा हामीले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ, धेरैले पहिला जागिर सुरु गरेर पछि यो त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन्, त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ’ उनले भने । जनशक्ति छनौटमा समय दिनु भएन भने नेतृत्व केका लागि ? उनी प्रश्न गर्दै भन्छन्, ‘जुन कामका लागि तपाईं मान्छे रोज्नुहुन्छ, त्यसमा राम्रो रोज्नुपर्छ, रिसोर्स डेभलप गर्ने बेलामा समय दिनुपर्छ, भोलि उनीहरू नै हो यो कम्पनीलाई अगाडि बढाउने, एउटा व्यवस्थापकले आफ्नो टीम फर्मेसनमा धेरै ध्यान दिनुपर्छ ।’ दोस्रो, सिनियरले जुनियरलाई सिकाउने र नेतृत्व विकास गर्ने मामिलामा उनको विशेष फोकस हुन्छ । ‘म थुप्रै साथीहरु भेट्छु, अरुले सिक्यो भने भोलि मलाई नै गाह्रो पर्छ भन्ने सोच्छन् । त्यसले वृद्धि विकास रोकेको देख्छु म । सामान्य कुरामा अलमलिनु हुँदैन, आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘म कर्मचारीलाई पनि सँगसँगै ग्रो गरेर अगाडि बढाइरहेको छु ।’ ‘एउटा व्यक्तिको लागि ‘पे र पोजिसन’ मात्रै भएर केही हुँदैन, व्यक्तिलाई वातावरण दिनका लागि मोटिभेसन र मोबिलाइजेसन आवश्यक पर्छ, नेतृत्व सफल हुनु भनेको समग्र टीम नै सफल हुनु हो,’ उनी भन्छन्, ‘नेतृत्व विश्वासिलो हुनुपर्छ । नेतृत्वलाई अरुले विश्वास गर्न सक्ने हुनुपर्छ ।’ हामीले विद्यालयमा पढ्, पढ् मात्र भन्यौं । नपढे हली बन्छस् भन्यौं । कृषिमा राम्रो हुन्छ, यो सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए आज देशका युवाहरू कृषिमा काम गरिरहेका हुन्थे, विदेश जाने लाइनमा बस्दैनथे । नेपालमा अधिकांश मान्छे मजबुरीका लागि जागिर गर्ने गरेको उदाहरण उनी दिन्छन् । उनी भन्छन्, ‘व्यक्तिले क्षमताका र आफ्नो सीप देखाउनका लागि भन्दा पनि मजबुरीका लागि काम गर्छ, चीन, जापान लगायत देशमा मसँग यो सीप छ यो काम गर्छु भनिन्छ, हामी सीप बिकाउन सक्दैनौं, जब जागिर मजबुरी बन्छ, त्यहाँ उत्पादकत्व ह्रास हुन्छ ।’ कर्मचारीलाई मोटिभेसन पनि धेरै आवश्यक पर्ने उनको भनाइ छ । ‘कम्पनीको अधिकांश कार्यक्रममा म आफैं पुग्छु, कर्मचारीहरूलाई केही सकारात्मक नोट दिएर फर्किन्छु, नेतृत्वले अरूबाट काम लिने हो,’ उनी भन्छन्, ‘अथोरिटी डेलिगेट गरेर उनीहरूलाई एक किसिमबाट ड्राइभ गरिरहेको छु ।’ उनी अब प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बीमा क्षेत्रमै रहने बताउँछन् । ‘आफ्नो क्षमता भएअनुसार काम गर्छु, इन्स्योरेन्स क्षेत्रमै केही काम गर्छु, हामी ग्लोबलरूपमा धेरै पछाडि छौं, सिक्नु र सिकाउनु पर्ने धेरै छ, म त्यसमै इन्गेज हुन्छु,’ उनले भने । जीवन बीमाले बचत र जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । ‘जोखिममा पर्दा हामी छौं, अब तपाईंलाई साथ दिने व्यक्ति कम छन्, अब संस्थाले साथ दिन्छ भन्नका लागि जीवन बीमा आवश्यक छ, नेपालमा बुबाले आर्जन गरेको सम्पत्ति नै ब्याकअप हो भन्ने छ, त्यो सिस्टमले नै समस्या गरिरहेको छ,’ उनी भन्छन्, ‘ब्याकअपका लागि अब इन्स्योरेन्स चाहिन्छ ।’ हेड सरसँग लञ्च, सिनियरसँग दोस्ती पोषकराज पौडेल पृथक परिवेशमा हुर्किए । घुमघाममा रूची राख्ने उनी साथी भने आफूभन्दा सिनियरलाई बनाउँछन् । विद्यार्थी जीवनमा पनि उनले सँगै पढ्नेसँग दोस्ती बनाएनन्, आफूभन्दा एक कक्षा बढी पढ्नेसँग उनको दोस्ती जम्यो । अहिले पनि उनी तिनै विद्यार्थी जीवनका साथीहरूसँग केहिलकाहीँ भेट्ने अवसर पाउँछन् । उनी विद्यालय हुँदा पनि हेड सरसँग बसेर लञ्च खाएको अनुभव सुनाउँछन् । ‘म आफूभन्दा ठूलोसँग संगत गरियो भने केही सिकिन्छ सोच्थें, सोही कारण साथी पनि आफूभन्दा माथिल्लो कक्षाकालाई बनाए, स्कुलमा लञ्च गर्दा हेड सरसँग नै बसेर खान्थें,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘म घुलमिल भने सबैसँग हुन्थें ।’ आफ्नो तत्काल रियक्ट गर्ने बानी नरहेको उनी सुनाउँछन् । चितवनबाटै मागी विवाह गरेका पौडेलकी श्रीमती सहकारीमा काम गर्छिन् । उनको दुई छोरी छन् । एउटा अमेरिकामा सूचना प्रविधि (आईटी) पढिरहेकी छन् भने कान्छो छोरी एसईईको तयारीमा छिन् । उनी आफ्नो छोरी विदेशमा पढेर नेपालमै फर्किने विषयमा विश्वस्त छन् । सरकारले विदेशमा रहेका युवालाई नेपालमा स्वागत गर्ने वातावरण सिर्जना गर्नु पर्ने उनको छ । ‘युवा विदेश गइरहेका छन्, उनीहरूलाई रोक्न ओरिन्टेसन दिन सकेका छैनौं, हामीले विद्यालयमा पनि पढ् भने पढ् नत्र हली हुन्छस् भन्ने गलत भाष्यको निर्माण गर्यौं, कृषिको सम्भावना भएको देशमा कृषिलाई नै हेला गर्यौं, त्यसकारण पनि विद्यार्थीहरू कृषिमा आकर्षित हुन सकेन,’ उनी भन्छन्, ‘कृषि राम्रो हो, यो पेसा सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए, आज देशको युवाहरू कृषिमा काम गरिरहेको हुन्थे ।’ तर, उनी विदेशमा गएका युवाहरू एकदिन नेपालमा फर्किनेमा विश्वस्त छन् । ‘विदेशमा पनि सजिलो छैन, गइसकेपछि फर्किन गाह्रो छ । तर, फर्केर आएकालाई पनि स्वागत गर्न सकेनौं, फर्केर आएकोमा गाली गरिरहेका हुन्छौं, हामीले विदेश जानका लागि झन् प्रोत्साहन गर्यौं, सबैले विदेश जानुपर्छ भन्ने न्यारेटिभ बस्यो । तर, एकदिन विदेशिएको जनशक्ति सीप, अनुभव र पैसा लिएर स्वदेशमै फर्किन्छ भन्ने विषयमा विश्वस्त बनौं, त्यसपछि नेपाल बन्छ ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान