विदेश जाने विद्यार्थीको ठेलमठेल, कन्सल्टेन्सीको व्यापार भ्याइनभ्याई

काठमाडौं । रामेछापकी सञ्जना खड्काले १२ कक्षा पास गरेपछि उच्च शिक्षा अध्ययन गर्न क्यानडा जाने सोच बनाइन् । त्यसपछि उनी बागबजारको एक शैक्षिक परामर्श केन्द्र (एजुकेसनल कन्सल्टेन्सी) मा ‘आईएलटीएस’ को कक्षा लिइरहेकी छन् । उनको कक्षा बिहान ९ बजे सुरु भएर १० बजे सकिन्छ । ‘नेपालमा पनि शिक्षामा राम्रै लगानी भइरहेको छ, पढाइ पनि राम्रै छ । तर, डिग्री पास नै गरे पनि बेरोजगार बस्नुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘डिग्री गरेर १५-२० हजारको जागिरमा अल्झिएर के हुन्छ ? विदेशमा पढाइसँगै कमाइ पनि गर्न पाइन्छ ।’ खड्कालाई विदेशको पढाइ र डिग्रीले राम्रो कमाइ हुन्छ भन्ने कुराले पनि विदेश जान प्रेरित गरेको छ । ‘नेपालमा खै त अवसर ?,’ उनी प्रश्न गर्छिन्, ‘हरेक क्षेत्रमा अवसर त विदेशमा पो छ !’ सञ्जनाजस्तै बागबजारको त्यही कन्सल्टेन्सीमा विदेश पढ्न जाने योजना बोकेर कक्षा लिन आउने विद्यार्थीको चाप बाक्लो छ । त्यो चाप देख्दा विदेशी विश्वविद्यालय र कलेजमा नेपाली विद्यार्थीको मोह कति छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यस्ता विद्यार्थीका विदेश पढ्न अथवा कमाउन जाने आफ्नै रहर तथा बाध्यता होलान् । तर, यिनै रहर र बाध्यताबीच कन्सल्टेन्सी चलाउनेको व्यवसाय फस्टाएको छ । आफ्नो र कन्सल्टेन्सीको नाम उल्लेख गर्न नचाहने ती कन्सल्टेन्सीका सञ्चालक आफ्ना धेरैजसो विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया, अमेरिका र जापान रहेको बताउँछन् । धेरै विद्यार्थी त अमेरिकाकै लागि आकर्षित रहेको उनको भनाइ छ । उनका अनुसार अहिले क्यानडा सरकारले केही नीति परिवर्तन गरेको हुँदा रोजगारी र पढाइका लागि दक्षिण कोरिया, जापान र युरोपेली देशमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अहिले अमेरिका, अष्ट्रेलिया र क्यानेडा बाहेकको विकल्पका रूपमा विद्यार्थीले जापान र युरोपेली देशलाई लिन थालेका छन् । विगतका वर्षहरूमा शैक्षिक परामर्श लिन विद्यार्थी मात्रै आउने गरे पनि अहिले अभिभावक पनि परामर्श लिन आउन थालेको उनी बताउँछन् । ‘पछिल्लो केही महिनामा मेरै कन्सल्टेन्सीमा १ सयभन्दा बढी अभिभावक छोराछोरी विदेश पठाउनुप¥यो भनेर परामर्श लिन आइसक्नुभयो,’ उनी भन्छन्, ‘छोराछोरी नै विदेश जान चाहेपछि त्यहाँको अवस्था बुझ्न अभिभावकका लागि पनि चासोको विषय बनेको छ ।’ उनका अनुसार पछिल्लो समय जापान जाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ । उनले अहिले ४ सिफ्ट गरेर विद्यार्थीको कक्षा लिइरहेको बताउँछन् । अहिले उनको कन्सल्टेन्सीमा कक्षा लिने विद्यार्थीको संख्या ४ सय हाराहारीमा छ । अहिले विदेश जान आईएलटीएस पढ्ने र भिसा प्रक्रिया लगायतका विषयमा मान्छेहरूको आकर्षण बढेको उनी बताउँछन् । त्यस्तै अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापानजस्ता देश जान कन्सल्टेन्सी धाउनेको संख्या पनि उल्लेख्य छ । त्यसबाहेक चीन, भारत र बंगलादेश जाने चाहने विद्यार्थीको संख्या पनि बढिरहेको उनको भनाइ छ । उनको कन्सल्टेन्सीले गत वर्ष उल्लेख्य मात्रामा विद्यार्थी विदेश पठाएको थियो । भाषा पढ्ने र काम पनि गर्न पाइने भएपछि प्रायः विद्यार्थी अरू देशको विकल्पमा जापान पुग्ने गरेको उनको भनाइ छ । जापानी भाषा पढ्नेलाई सहज भिसा प्रक्रिया भएकाले पनि नेपाली विद्यार्थीको आकर्षण त्यता भएको उनी बताउँछन् । विदेश जान कन्सल्टेन्सी धाउनेहरूको यो चाप हेर्दा कलेज क्याम्पस खाली हुँदै गएको सहजै अनुमान लगाउन सकिन्छ । सयौंको संख्यामा खुलेका शैक्षिक परामर्श केन्द्रको फस्टाइरहेको व्यवसायबारे अध्ययन गर्दा यो एक प्रतिनिधि उदाहरण मात्र हो । पछिल्लो केही वर्षयता नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । सुरुवातमा राजधानीमा मात्रै केन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले देशैभरि फैलिएका छन् । विदेशी कलेज तथा विश्वविद्यालयमा पढ्न जानेलाई परामर्श दिने यस्ता शैक्षिक केन्द्रले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, टोफल, जिम्याट, जीआरईजस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् । वर्तमान अवस्थामा नेपाली विद्यार्थी विदेशी कलेज र विश्वविद्यालयमा पढ्न जाने क्रममात्रै बढेको छैन, उतै बस्ने क्रम पनि ह्वात्तै बढ्दै गएको छ । अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायत देश नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेका छन् । ती देशको ब्राण्ड भ्यालु, शिक्षण विधि, एक्सपोजर, सुरक्षा, पढाइपछि पाइने रोजगारीका अवसरले आकर्षण बढेको एजुकेसन कन्सल्टेनसी सञ्चालकहरू बताउँछन् । अवसर, गुणस्तरीय शिक्षा र समृद्ध जीवनयापन मोहले विद्यार्थी विदेशिने क्रम बढेको उनीहरूको भनाइ छ । कति नेपाली विद्यार्थी गए विदेश ? सरकारले स्वदेशी शिक्षामा विद्यार्थी टिकाइराख्न भनेर पछिल्लो १२ वर्षमा शिक्षा क्षेत्रमै १४ खर्ब ९१ अर्ब रुपैयाँ बढी लगानी गरिसकेको छ । तर, कक्षा १२ पास हुनासाथ उच्च शिक्षा अध्ययनका लागि बर्सेनि हजारौं विद्यार्थी विदेशिने गरेका छन् । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६२ हजार २ सय ५१ जनाले विदेश गएर उच्च शिक्षा अध्ययनका गर्नका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएका थिए । त्यसैगरी २०७६/७७ मा ३४ हजार ९४, २०७७/७८ मा २७ हजार ९ सय ७८, २७८/७९ मा १ लाख १२ हजार ९ सय ६८ जना र २०७९/८० मा १ लाख १० हजार २ सय १७ जनाले एनओसी लिएका छन् । सरकारकै यही आधिकारिक तथ्यांक हेर्दा पनि प्रष्ट हुन्छ- एजुकेसनल कन्सल्टेन्सीहरूको व्यवसाय कतिविधि र कसरी फस्टाइरहेको छ भन्ने । खासमा एजुकेसनल कन्सल्टेन्सी व्यवसायको फस्टाउँदो अवस्था र जारी उतारचढावबारे व्यवसायी के भन्छन् त ? एजुकेसनल कन्सल्टेन्सीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई पनि वर्तमान अवस्थामा शैक्षिक परामर्श केन्द्रहरूकोे व्यवसाय सन्तोषजनक रहेको बताउन हिच्किचाउँदैनन् । ‘ओभरसिज (विदेश) पढ्न जाने विद्यार्थीका हकमा पछिल्लो समय विदेश जाने प्रक्रियाहरू स्थिर रहेको छ,’ अर्बिट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक समेत रहेका भट्टराई भन्छन्, ‘अष्ट्रेलिया, क्यानडाको भिसामा नियमहरू परिवर्तन भएकाले विद्यार्थीको फोकस अमेरिका र जापानतिर बढी देखिन्छ ।’ उनका अनुसार शिक्षा मन्त्रालयमा आबद्ध शैक्षिक परामर्श केन्द्रहरूले गुणस्तर कायम गरेर नै सेवा दिइरहेका छन् । कुनै कुनै कन्सलटेन्सीहरूले भने आफूले कायम गर्नुपर्ने मापदण्ड कायम नगरेको उनी बताउँछन् । नेपालमा शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालन भइरहेका शैक्षिक परामर्श केन्द्रको संख्या हाल १ हजार ४ सय ७३ छ । इक्यानभित्र मात्रै ५ सय ५० कन्सल्टेन्सी सदस्य छन् । संस्था दर्ता हुन सुरुमा २५ हजार रुपैयाँ लाग्छ र बर्सेनि नवीकरण गर्दा १० हजार रुपैयाँ तिनुपर्छ । अध्यक्ष भट्टराइका अनुसार ७ सय ४२ कन्सल्टेन्सी शिक्षा मन्त्रालयमा दर्ताको प्रक्रियामा छन् । स्थानीय तहमा ३ सय हाराहारीमा दर्ता लिएका कन्सल्टेन्सी छन् । उच्च शिक्षा ऐन विधेयक नबनिकन हाललाई संस्था दर्ता गर्न सकिने स्थिति नरहेको उनी बताउँछन् । शैक्षिक पामर्श क्षेत्र ठूलो आर्थिक व्यवसाय तथा उद्योगका रूपमा फैलिएको छ । क्षेत्र ठूलो भएपछि प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको अध्यक्ष भट्टराई बताउँछन् । ‘बजार प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिइन्छ, यो सर्भाइबल अफ द फिटेस्ट नै हो,’ उनी भन्छन्, ‘कुनै पनि संघसंस्था जो योग्य छन्, उनीहरू नै बाझ्ने हुन्, पछिल्लो समय सेवामुखी व्यवसाय भएको हुनाले कन्सल्टेन्सीमा पनि जो क्षमतावान छन्, जो राम्रा छन् र व्यावसायिक इन्टिग्रिटीमा ध्यान दिन्छन्, उनीहरू नै यो क्षेत्रमा लामो समय टिक्छन् ।’ पछिल्लो समय शैक्षिक परामर्श केन्द्रलाई सरकारले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको उनी बताउँछन् । ‘अहिले कन्सल्टेन्सीहरूको भूमिकालाई सरकारले आत्मसाथ गरेको छ,’ अध्यक्ष भट्टराई भन्छन्, ‘सरकारी संयन्त्र र कर्मचारी क्षेत्रमा पनि आइरहेको भेट्छौं, त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।’ यस क्षेत्रमा राम्रो गर्ने कन्सल्टेन्सी पनि प्रशस्तै छन् । तर, केही कन्सल्टेन्सीले विद्यार्थी ठग्ने गरेका खबर पनि बाहिरिएका हुन्छन् । यस्ता केही गतिविधि भेटिए सरोकारवाला एजेन्सीहरूमा पठाउने र विद्यार्थी र अभिभावकको उजुरीका आधारमा समस्या सम्बोधन गरिरहेको र त्यस्ता कन्सल्टेन्सीहरूलाई शून्य सहनशीलतामार्फत कारबाही गर्न तत्पर रहेको उनी बताउँछन् । अध्यक्ष भट्टराईका अनुसार अहिले एजुकेसनल कन्सल्टेन्सीबाट देशभरि ४० हजार जनाले रोजगारी पाइरहेका छन् । ‘यो क्षेत्रमा धेरै ठूलो लगानी भइरहेको छ,’ उनी भन्छन्, ‘यसले राजस्वमा पनि ठूलो प्रभाव पारिरहेको छ, हामीले पनि ठूलै योगदान गरिरहेका छौं ।’ कन्सल्टेन्सीले विद्यार्थीबाट लिने शुल्क आफैं तोक्ने गरेको छ । संस्थाले केही शुल्क तोकिदिने गरेको भट्टराई बताउँछन् । अहिले विदेश जाने विद्यार्थीले ७० देखि ८० देशमा एनओसी लिएको अध्यक्ष भट्टराई बताउँछन् । त्यसमा पनि अधिकांश देशबाट फर्किने क्रम बढ्दो रहेको उनको भनाइ छ । उनका अनुसार अष्ट्रेलिया, अमेरिका र क्यानडाजस्ता देशबाट भने कमै विद्यार्थी फर्किन्छन् । पछिल्ला केही वर्षमा विदेशिएका विद्यार्थीमध्ये ३० प्रतिशत मात्रै पढाइपछि स्वदेश फर्किएका छन् । शिक्षा मन्त्रालयको तथ्यांकमा चालू आर्थिक वर्षको साउनदेखि १७ फागुन आधासम्म विश्वका विभिन्न ५९ देशका लागि ६१ हजार ७ सय ३२ जना विद्यार्थीले एनओसी लिएका छन् । फागुन महिनामा भने जापान जान एनओसी लिनेको संख्या धेरै भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक नेपालका एजुकेसनल कन्सल्टेन्सीमा विदेशी लगानी पनि भइरहेको छ । त्यसबाहेक विदेशी कम्पनीले नेपालमा आफैं यस्ता केन्द्र खोल्ने हो भने न्यूनतम ५० लाख रुपैयाँ लगानी गर्नुपर्ने नियम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा उल्लेख छ ।

नेपाली पुनर्बीमा कम्पनी राहत कि बोझ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिएको छ । एक दशक पुरानो नेपाल पुनर्बीमा कम्पनीले जोखिम बहन गर्न नसकेको भन्दै प्राधिकरणले हिमालयन पुनर्बीमा कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दियो । नेपालमै दुइटा पुनर्बीमा कम्पनी भएपछि नेपाली बीमा कम्पनीहरूलाई जोखिम हस्तान्तरण गर्न सहज हुने अपेक्षा गरिएको थियो । तर, दुइटा पुनर्बीमा कम्पनी हुँदा जोखिम हस्तान्तरण गर्न झन् सकस परिरहेको बीमाकर्मीहरू बताउँछन् । नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनीले जोखिम स्वीकार नगर्दा आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ । सबै बीमा कम्पनी बढीभन्दा बढी व्यवसाय र मुनाफा गर्ने उद्देश्यले सञ्चालनमा आएका हुन्छन् । व्यावसायिक जोखिम आफैंले मात्र वहन गर्दा धेरै नोक्सानी बेहोर्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले बीमा कम्पनीहरूले आफ्नो जोखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका हुन्छन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री नेपाली पुनर्बीमा कम्पनीले जोखिम लिएनन् भने बाहिरका कम्पनीलाई कन्फिडेन्स लेभल नआउने बताउँछन् । जलविद्युत क्षेत्रमा बढी जोखिम भएका कारण विदेशी कम्पनीहरू सहर्ष स्वीकार गर्न नमान्ने उनको भनाइ छ । ‘नेपाली पुनर्बीमा कम्पनीले जोखिम लिएनन् भने बाहिरका कम्पनीलाई कन्फिडेन्स लेभल आउँदैन, विदेशी कम्पनीभन्दा नेपालको समस्या नेपाली कम्पनीले बुझेका हुन्छन् , त्यसैले यहाँका पुनर्बीमा कम्पनीले अस्वीकार गरेको जोखिम विदेशी कम्पनीले सहर्ष लिन मान्दैनन्,’ उनले भने, ‘जलविद्युत, पूर्वाधारमा नेपालको भौगोलिक बनावटले जोखिम बढी छ । त्यसैले उनीहरूले कम्पनीवाइज र नेशनलवाइज हेर्छ कति दाबी आयो र कति प्रिमियम आयो भनेर ।’ उनका अनुसार निश्चित अवधिमा जोखिम रिकभरी गर्न सक्ने व्यवसाय हो भने पुनर्बीमा गर्ने गर्छन । यदि त्यो नोक्सानी रिकभरी नै हुँदैन भने जोखिम लिन चाहँदैनन् । नेपाली पुनर्बीमा कम्पनीले बीमा कम्पनीसँग ट्रिटी (सम्झौता) गर्दा जलविद्युतलाई समावेश गरेका हुँदैनन् । ‘पहिला हामी आफैंले ट्रिटीमा राख्थ्यौं, अहिले ट्रिटीमै छैन, त्यसैले जलविद्युतको लागि काम गर्न गाह्रो छ,’ उनले भने, ‘हाइड्रोपावरबाट उठ्ने प्रिमियम कम छ, पहिला घाटा कम हुने भएकाले प्रिमियम पनि कम थियो । नयाँ–नयाँ परियोजना १० अर्बभन्दा बढी लागतका छन्, ती आयोजानामा पुरानै प्रिमियमले नथेग्ने भएपछि विदेशी कम्पनीले पनि पुनर्बीमा गर्न मान्दैनन् ।’ नियामक नेपाल बीमा प्राधिकरणले रेटिङ भएका पुनर्बीमा कम्पनीसँग मात्रै जोखिम बिक्री गर्न अनुमति दिएको छ । रेटिङ भएका कम्पनीसँग पुनर्बीमा गर्दा प्रिमियम पनि बढी हुने गरेको छ । उनका अनुसार रेटिङ भएका पुनर्बीमा कम्पनीको पिमियम बढी छ भने नभएका कम्पनीसँग प्रिमियम कम छ । यदि तथ्यांकले नाफा भएको छ भने रेट आफैं घट्छ, तथ्यांकले घाटा भएको देखाउँछ भने रेट आफैं बढ्छ । हवाइ क्षेत्र पनि जलविद्युत क्षेत्रजस्तै जोखिम रहेको उनले बताए । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह आफ्नै देशभित्र भएका दुइटा पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा जति सहजता हुनुपर्ने हो, त्यो सहजतामा कमी रहेको बताउँछन् । पुनर्बीमाको एउटा हिस्सा दुइटै कम्पनीलाई दिनु पर्ने र बाँकी रहेको हिस्सा विदेशी पुनर्बीमालाई दिँदा नेपाली बीमा उद्योगको आकार ठूलो नभएको उनको भनाइ छ । ‘नेपालको भौगलिक बनावटका कारण जलविद्युत आयोजना, सडक, हवाई जहाजहरू अति जोखिमको क्याटागोरीमा पर्छन्, त्यो अवस्थामा उनीहरूलाई बीमाको आकार सानो लागेर खासै उत्साहित छैनन्, पुनर्बीमा गर्दा क्रेडिट रेटिङ भएको कम्पनी हुनु पर्ने नियामकीय प्रावधान छ, रेटिङ भएका कम्पनीका लागि बजार सानो र रेटिङ नभएका कम्पनीले व्यवसाय गर्न नपाउने भएकाले आजको दिनमा बीमा कम्पनीलाई राम्रो पुनर्बीमा कम्पनीको खाँचो छ,’ उनले भने । विशेषगरी जलविद्युत र निर्माणसँग सम्बन्धित व्यवसायमा एक्सपोजर ठूलो रहेको उनको भनाइ छ । यो जोखिम यहाँ सञ्चालित पुनर्बीमा कम्पनीले लगिदिए सजिलो हुने बताउँदै सीईओ शाहले भने, ‘उहाँहरूले ‘नो’ भनेपछि विदेशी बजारमा त्यो जोखिम बेच्न जाँदा तिम्रो देशमा भएका पुनर्बीमा कम्पनीले अस्वीकार गरेको जोखिमलाई मैले कसरी लिन सक्छु भनेर प्रतिप्रश्न गर्छन्, त्यसैले निर्जीवन बीमा कम्पनीहरूलाई जोखिम हस्तान्तरण गर्न असाध्यै गाह्रो भएको छ ।’ उनका अनुसार आजको दिनमा जसरी पुनर्बीमाको व्यवसाय भइरहेको छ । जसरी जोखिम बाँडफाँट भइरहेको छ त्यसलाई पुनरावलोकन गर्न जरूरी रहेको उनले बताए । ट्रिटीमा भाग लिइसकेपछि थप जोखिमहरूलाई पनि लिनुपर्ने व्यवस्था हुनु पर्ने उनको भनाइ छ । ‘पुनर्बीमा कम्पनीलाई क्षमता बढाउन र व्यावसायिक बनाउनु पर्छ भनेरै पुँजी वृद्धिको निर्देशन दिइएको छ । पुनर्बीमा कम्पनीले ट्रिटीमा भाग लिइसकेपछि थप जोखिमहरूलाई पनि लिनुपर्ने व्यवस्था गर्नुपर्छ । जुन अहिलेको व्यवस्थाको विपरित हुन आउँछ,’ उनले भने, ‘अहिले उहाँहरूले अस्वीकार गर्नु भयो भने मात्र विदेशमा जान्छौं, देशकै पुनर्बीमा कम्पनीले ‘नो’ भनेपछि बाहिरकोले लिने कुरै भएन, त्यसलाई उल्टो गरेर उहाँहरूलाई हामीले अनिवार्य दिनुपर्ने हिस्सा दिइसकेपछि बाँकी रहेको हिस्सा आन्तरिक र बाह्य दिन सक्छौ, यदि बाह्य कम्पनीले किनेन भने नेपाली कम्पनीले लिनु पर्यो ।’ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि विदेशी पुनर्बीमा कम्पनीहरूले पनि जलविद्युत बीमालाई उच्च जोखिममा राखेको बताउँछन् । तर, प्रयाप्त पुनर्बीमाको सुनिश्चितता गरेर मात्रै जलविद्युत व्यवसायको बीमा गर्नु पर्ने उनको भनाइ छ । ‘जलवायु परिवर्तनले जलविद्युत कम्पनीहरू धेरै जोखिममा छन्, जलविद्युत कम्पनी पनि उच्च जोखिममा छन्, यसले बीमा कम्पनीहरूलाई कठिनाइ परिरहेको छ, विदेशी पुनर्बीमा कम्पनीहरूले पनि जलविद्युत बीमालाई उच्च जोखिममा राखेका छन् ।’

आफ्नै समस्याले निःसन्तानपन विज्ञ बनेकी स्वस्ति, जीवन साथी पनि चिकित्सक

काठमाडौं । कोखको सोख सबै आमाबुबामा हुन्छ । जब कोख खाली हुन्छ नि त्यसपछि मात्रै थाहा हुन्छ ‘पीडा’ । परिपक्व उमेर भइसक्दा पनि जब छोराछोरी जन्मिदैनन् नि तब समाजले प्रहार गर्ने असह्य वाणहरूको दुखाइ भोग्नेहरूलाई मात्रै थाहा हुन्छ । त्यो प्रहारको पीडा डा. स्वस्ति शर्माले पनि नराम्रोसँग भोगेकी छन् । भनिन्छ नि, ‘हरेक कहाली लाग्दो रातपछि एउटा सुन्दर बिहानीको उदय हुन्छ ।’ हो, त्यो कहाली लाग्दो रातको भोगाइ डा. स्वतिले पनि भोगेकी छन् । तर, अहिले उनी रातपछिको सुन्दर बिहानीको स्वाद लिँदैछिन् । मान्छेको स्वास्थ्य न हो, हरेक उतार-चढाव र आरोह-अवरोहहरू भोग्नुपर्छ । हुन त हामी सोच्छौं, हाम्रो उपचार गर्ने चिकित्सक कहिल्यै बिरामी हुन्नन् होला भनेर । तर, उनीहरूको पनि स्वास्थ्य न हो । समस्या सबैलाई हुन्छ । तर, त्यो समस्याको समाधान कसरी खोज्ने ? समस्याको समाधान कसरी गर्ने ? भन्ने विषयमा व्यक्ति सजग बन्न सक्यो भने अवश्य पनि समस्याबाट छुटकारा पाउन सकिन्छ । डा. स्वस्ति शर्मा निःसन्तानपन स्वास्थ्य क्षेत्रमा प्रचलित नाम हो । उनी प्रसूति तथा स्त्रीरोग एंव निःसन्तानपन विशेषज्ञ हुन् । उनले हजारौं महिलालाई स्वस्थ बनाइ आमा बनाइसकेकी छन् । यो अवस्थामा आइपुग्न भने उनी आफैंले ठूलो संघर्ष र चुनौतीका पहाडहरू चढ्नुपर्यो । सयौं महिलालाई महिनावारी गडबडीदेखि प्रजनन् क्षमताबारे जानकारी दिने स्वस्तिले नै सुरुमा सोही समस्या भोगिन् । उनले हरेक चिकित्सकसँग आफ्नो समस्या सुनाइन् । तर, समस्याको समाधान पाइनन् । तर, आफू अध्ययन गर्दा गर्दै आफ्नो समस्या पहिचान गरिन् । ठूला अस्पतालका चिकित्सकले पहिचान गर्न नसकेको उनको समस्या उनले अध्ययन गर्दा गर्दै पत्ता लगाउन सकिन् । डा. स्वस्तिलाई पनि सन्तान जन्माउन धेरै समस्या भयो । उनको जुम्ल्याहा बच्चा नै खेर गए । आइसीयूमा बस्नुपर्ने अवस्था आयो । अर्को पटक नलिमा बच्चा बस्योे । ३० वर्षदेखि बच्चा जन्माउन कोसिस गरिन् तर सकिनन् । ‘भनेजस्तो नहुने रहेछ, कहिलेकाँही आफै डाक्टर भएर पनि आफ्नै लागि केही गर्न नसकिँदो रहेछ, आफैंले स्वास्थ्य समस्या भोगनुप¥यो,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । डा. स्वस्तिको अहिले एउटा छाेरी छिन् । एउटा आमालाई सन्तानको वियोगमा छटपटाउनुको पीडा हामी अनुमानमात्र गर्न सक्छौं । उनलाई पनि खेर गएका जुक्ल्याहा बच्चाको अझै पनि सम्झना आउँछ । उनले आफ्नो हातको नाडीमा जुम्ल्याहा बच्चाका ट्याटु समेत राखेकी छन् । उनी ३५ वर्षभित्र बच्चा पाउनु उत्तम समय भएको बताउँछिन् । तर, उनले भने ३६ वर्षको उमेरमा बच्चा पाइन् । कारण थियो उनको स्वास्थ्य समस्या । अरूलाई सल्लाह दिँदै हिँड्ने तपाईंले किन सन्तान पाउन ढिला भन्ने जिज्ञासामा उनले भनिन, ‘डाक्टर भएर सबै स्वास्थ्य समस्या समाधान गर्न नसकिँदो रहेछ ।’ के थियो समस्या ? स्वस्ति महिनावारी हुँदा असाध्यै पेट दुख्थ्यो । महिनावारी पनि समयमा नहुने समस्या थियो । एनिमिया भएर रगत नै चढाउनु पर्ने अवस्था हुन्थ्यो । उनलाई हर्मोनको औषधीले महिनावारी गराउने त्यही औषधीले रोक्ने गर्नुपथ्र्यो । उनी चीनमा पढ्न जाँदा पनि एक झोला औषधी बोकेर गएको अहिले पनि सम्झन्छिन् । महिनावारी गडबड हुँदा औषधी के खाउँ भनेर नेपालमा फोन गर्थिन् । उनले पढ्दापढ्दै आफूलाई ‘पोलिसिस्टिक ओभिज’ भएको थाहा पाइन् । ‘हर्मोनकै गडबडले मलाई यस्तो समस्या भइरहेको रहेछ भन्ने पछि थाह पाएँ,’ उनी भन्छिन, ‘असाध्यै पेट दुख्थ्यो, केहीले बिहे गरेपछि ठिक हुन्छ भन्थे, केहीले २०÷२२ को उमेरमा ठिक भइहाल्छ भन्थे । तर, कारण म आफैंले पढेर थाहा पाएँ ।’ त्यसपछि बनिन् विज्ञ उनी आफूले भोगेको पीडा र समस्याले नै यो विषयमा अध्ययन गरेको बताउँछिन् । ‘म एउटा डाक्टर त बिरामी पर्दा कहाँ जाउँ, कसलाई जचाँउ भन्ने भयो,’ उनी भन्छिन्, ‘मेरो जस्तै समस्या भोग्ने धेरै दिदीबहिनी पनि होलान्, अब मैले यो विषयको अध्ययन गर्नुपर्छ भन्ने लाग्यो र यो क्षेत्रमा लागें ।’ ओम अस्पतालमा डाक्टर भोला रिजाललाई भनेर यो विषयमा अध्ययन गरेको उनी सुनाउँछिन् । ‘जब म यो विषयमा अध्ययन गर्न थालें, त्यसपछि बल्ल थाहा पाएँ यो त यस्तो पो रहेछ,’ उनी भन्छिन्, ‘आफूले भोगेर पनि होला, म महिलाको हर्मोन गडबडीको कुरा सहज बुझ्छु, उनीहरूलाई देख्दा माया लाग्छ र आफ्नो पीडाको याद आउँछ ।’ डा. स्वस्ति चिकित्सक पेशामा आवद्ध भएको १७ वर्ष भयो । निःसन्तानपन क्षेत्रमा काम गर्न थालेको १२ वर्ष भयो । यो बिचमा उनलाई धेरै अनुभव भयो । उनले टेस्टट्यूव बेबीबाट मात्रै दुई हजार बढी दम्पतिलाई आमाबुवा बन्ने अवसर दिइन् भने झण्डै ६ हजार बढीलाई यो विषयमा सुझाव सल्लाह दिइन् । काम गदै जाँदा सुख र दुःखहरू अनुभव गरेकी छन् । जब उनले गरेको काम सफल हुन्थ्यो, सेवाग्राहीले वाहवाही दिन्थे । तर, जब मिहिनेतका साथ काम गरे पनि त्यो सफल हुँदैन त्यसपछि गाली खानुपथ्र्यो । टेस्टट्युव बेबी सतप्रतिशत नै ग्यारेन्टी हुन्छ भन्न नसकिने तर्क उनको छ । काठमाडौंमा जन्म, विदेशमा पढाइ डा. स्वस्ति काठमाडौंमै जन्मिन् । स्कुले जीवन काठमाडौंमै पढिन् । उनको आमा जनकपुरको र बुवाको घर नेपालगञ्ज । बुबा न्यायाधीस र आमा शिक्षक । उनले वि.सं २०५३ मा मा एसएलसी (हालको एसईई) पास गरिन् । काठमाडौंको मोर्डेन स्कुलबाट प्लसटु गरिन् । त्यसपछि वि.स २०५८ मा उनी चीनमा एमबीबीएस पढ्न गइन् । साढे चार वर्षमा एमबीबीएस पास गरिन् । चीनको पढाइपछि नेपाल आएर एक वर्ष इन्र्टनसिप गरिन् । त्यसपछि प्रसूति गृहमा काम सुरु गरिन् । केही समयपछि उनले नेपालगञ्ज मेडिकल कलेजबाट एमडी गरिन् । तीन वर्ष एमडी गरेर काठमाडौँ फर्किन् । उनले किष्ट मेडिकल कलेजमा लेक्चररको रूपमा समेत काम गरिन् । उनीसँग काठमाडौंका विभिन्न अस्पतालमा काम गरेको अनुभव छ । निःसन्तानपन भनेर भिनस हस्पिटलमा आईभीएफ सेन्टर खोलेपछि उनले त्यहाँ पनि काम गरिन् । सोही विषयमा अध्ययन गर्न कोरिया गइन् । त्यसपछि ग्रिनसिटीमा आफ्नै आईभीएफ सेन्टर खोलिन् । विभिन्न अस्पतालमा काम गर्दा उनलाई प्रजनन् क्षमताका कुरा गर्दा वा अफ्नो समस्या भन्दा खुल्ला रूपमा राख्न महिलालाई अफ्ठ्यारो परेको महसुस भयो । स्वस्तिलाई लाग्यो यो विषयमा गोप्यरूपमा उनीहरूको कुरा सुन्ने केही विकल्प खोज्नुपर्छ । त्यसपछि उनले साथिहरूसँग मिलेर बबरमहलमा निजी आईभीएफ सेन्टर सञ्चालन गरिन् । अहिले उनी आफ्नै होप फर्टिलिटी सञ्चालन गरेर सेवा दिइरहेकी छन् । उनी कहाँ यस्ता विभिन्न समस्या लिएर दैनिक ३५ जना पुग्ने गर्छन् । महिला र पुरुषको समान समस्या पछिल्लो सयम पुरुषमा पनि प्रजनन् क्षमताको समस्या देखिने गरेको उनी बताउँछिन् । पुरुषमा शुक्रकिटको उत्पादनमा कमी र स्वस्थ नहुने लगायतका समस्या देखिने गरेका छन् । जसले गर्दा पुरुषमा पनि बाँझोपनको समस्या हुन्छ । हामी कहाँ बच्चा नहुनुमा महिलालाई बढी दोष दिने अभ्यास छ । तर, बाँझोपनको समस्या पुरुषमा पनि हुने गरेको उनी बताउँछिन् । यस्तो बेला दुवैजना स्वास्थ्य संस्था गएर जँचाउनु पर्ने उनको सुझाव छ । होप फर्टिलिटीमा निःसन्तान सम्बन्धी जाँच गरी कारण पत्ता लगाएर उपचार गरिन्छ । महिला रोग सम्बन्धी अन्य उपचार पनि हुन्छ । त्यस्तै गर्भवती भएको बेलामा गरिने सबै चेकजाँच पनि गरिन्छ । नेपालमा निःसन्तानपन अथवा बाँझोपनको समस्या बढ्दैछ । भारतमा कुल जनसंख्याको २० प्रतिशत बिबाहित जोडीमा निःसन्तापनको समस्या छ । तर, नेपालमा भने यकिन तथ्यांक छैन । विदेसिएका कतिपय युवाहरू विवाह गर्न नेपाल आउने र विवाहलगत्तै विदेश जाने अभ्यास पनि छ । जसका कारण श्रीमान श्रीमती सँगै बस्न पाउँदैनन् । बाँझोपनको यो पनि एउटा कारण हो । तनाव र खानपान नमिल्दा पनि यस्तो समस्या देखिने उनी बताउँछिन् । चिकित्सक नै जीवनसाथी डा. स्वस्तिका श्रीमान पनि चिकित्सक हुन् । उनी हाडजोर्नी विशेषज्ञका रूपमा सिभिल अस्पतालमा कार्यरत छन् । धेरैजसो श्रीमान श्रीमती एउटै पेशामा हुँदा सहज पनि हुन्छ, असहज पनि । तर, डा. स्वस्ति आफूले चाहेर नै डाक्टरसँग बिहे गरेको बताउँछिन् । ‘डाक्टरले नै डाक्टरको पीडा बुझ्छ,’ उनी भन्छिन्, ‘डाक्टरले कहिल्यै रातदिन भन्न पाउँदैनन्, उसको लागि काम ठूलो हो, मलाई मेरो जीवनसाथी मेरो पेशा बुझ्ने होस् भन्ने थियो, त्यसैले डाक्टर नै रोजें,’ उनले भनिन् । उनी आफू यहाँसम्म पुग्न श्रीमानको भूमिका पनि महत्वपूर्ण रहेको बताउँछिन् । नेपाली समाजमा अपवाद बाहेक महिलालाई बिहेपछि घरको जिम्मेवारी दिइन्छ । ‘मेरो श्रीमानले मेरो कामको लागि कहिल्यै अवरोध गर्नु भएन,’ उनी भन्छिन्, ‘एकअर्काको समस्या बुझेपछि सहजै अगाडि बढ्न सकिन्छ ।’ श्रिमानबिनै आमा बन्न सकिन्छ नेपालमा सबैभन्दा देखिएको समस्या वेरोजगारीको हो । रोजगारी नपाउँदा धन कमाउन विदेश जाने नेपाली युवाको संख्या बढ्दो छ । त्यसमा पनि खाडी मुलुक जाने नेपालीको संख्या बढी छ । खाडी धरै गर्मी हुने ठाउँ हो । यसरी गर्मी ठाउँमा बस्ने पुरुषहरूमा निःसन्तानपन बढी हुने उनी बताउँछिन् । यस्तो समस्याबाट बच्न कतिपय युवा आफ्नो शुक्रकिट भण्डारण गरेर जान्छन् । शुक्रकिट भण्डारण गरेर गएका बिबाहित पुरुष आउन ढिला भयो भने पनि यता श्रीमतीले बच्चा जन्माउन सक्छिन् । डा.स्वस्ति अहिले श्रीमान विदेश हुँदा पनि श्रीमतीले बच्चा जन्माउन मिल्ने बताउँछिन् । उनका अनुसार यसरी धेरै महिला आमा बनिसकेका छन् । पुरुषले भण्डारण गरेर राखेको शुक्रकिटलाई उसैको श्रीमतीको अण्डासँग मिसाएर बच्चा जन्माउन मिल्ने उनको भनाइ छ । कोरोनाको समयमा सुर्खेतका एक दम्पतीले जन्माएको बच्चा अहिले ठूलो भइसकेको उनले सुनाइन् । पाठेघरको समस्या, मुटुको समस्या तथा प्रेसरका बिरामी र क्यान्सर लागेर पाठेघर फालेका महिलामा पनि निःसन्तानपनको समस्या हुने गरेको उनी बताउँछिन् ।