पाँचौं बिहे गर्न लागेका मिडिया टाइकुन मर्डोकको कति छ सम्पत्ति ?
काठमाडौं । मिडिया टाइकून तथा अर्बपति ९२ वर्षीय रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग विवाह गर्न लागेका छन् । अवकासप्राप्त रुसी मलेक्युलर बायोलोजिस्ट जुकोभासँग केही महिनादेखि डेटिङ गरिरहेको बताइएको छ । उनको बिहे यही वर्ष क्यालिफोर्निया राज्यको भाइनयार्डमा हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यो उनको पाँचौं विवाह हुनेछ । उनले फक्स एन्ड न्यूज कर्पको अध्यक्ष पद गत वर्ष छाडेका थिए । ‘द न्यूयोर्क टाइम्स’ का अनुसार जुन महिनामा विवाह गर्ने कार्यक्रम तय गरिएको र त्यसका लागि निमन्त्रणा बाँडिसकिएको छ । अस्ट्रेलियामा जन्मेका मर्डोकले पछिल्लो पटक बिहे गर्न निधो गरेकी पूर्वप्रहरी पादरी महिला एन लेसले स्मिथसँग एप्रिल २०२३ मा सम्बन्ध बिग्रन पुगेको र त्यसलगत्तै उनले जुकोभासँग डेट गर्न थालेको बताइएको छ । एलेना र रुपर्टको भेट एक पार्टीमा भएको थियो । मर्डोकका पूर्वपत्नीमा अस्ट्रेलियाली एयर होस्टेस प्याट्रिसिया बूकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार आना मान, चीनमा जन्मेकी वेन्डी डेङ र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हल छन् । को हुन् रुपर्ट मर्डोक ? रुपर्ट मर्डोकले सन् १९५० को दशकमा आफ्नो करिअर सुरु गरेका थिए । उनले बेलायतमा १९६९ मा ‘न्यूज अफ द वर्ल्ड र ‘द सन’ खरिद गरे । पछि उनले अमेरिकामा ‘न्यूयोर्क पोस्ट र ‘वाल स्ट्रीट जर्नल’ लगायत अन्य अमेरिकी प्रकाशन खरिद गरे । १९९६ मा उनले ‘फक्स न्यूज’ सुरु गरे, जुन अहिले अमेरिकामा सबैभन्दा बढी हेरिने टेलिभिजन च्यानल मानिन्छ । न्यूज कर्प २०१३ मा स्थापना गरिएको हो । त्यसमार्फत मर्डोक सयौं स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक बनेका छन् । कति छ सम्पत्ति ? रुपर्ट मर्डोक ठूला अमेरिकी अर्बपतिका रूपमा गनिन्छन् । फोर्ब्स बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १८ अर्ब ९० करोड अमेरिकी डलरबराबर छ । यो नेपाली विनिमय दरअनुसार २४ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँबराबर हो । बीबीसी
जसको कमाण्डमा चलिरहेका छन् काठमाडौंका कलेज
काठमाडौं । चन्द्रमामा पुगि सकिन्, अरू देशका नारी हाम्रा भने पिठ्यूँमा छन्, घाँस दाउराका भारी । एक समय थियो, छोरीलाई घाँस दाउरामा सीमित राख्ने र छोरालाई विद्यालय पढाउने । छोरीहरू मेलापाखामा गएर विरहका गीतमा रमाउँथिन् भने छोरा विद्यालयमा रमाउँथे । विरहका गीतहरू गायर छोरीहरूका दन बित्थे । तर, अहिले समय बदलिएको छ । छोरीहरू चुलो–चौकामा मात्र सीमित होइन, देशको विभिन्न क्षेत्रको नेतृत्व गर्ने पदमा पुगिसकेका छन् । सामाजिक, राजनीतिक, आर्थिक लगायत हरेक क्षेत्रमा महिलाको सहभागिता छ । शिक्षा क्षेत्रमा पनि महिलाको सहभागिता बढ्दै गएको छ । छोरीलाई पढाउनुपर्छ भन्ने चेत अभिभावमा छ । हेरक क्षेत्रमा कतिपय यस्ता नारीहरूछन् जसले त्यो क्षेत्रको नेतृत्व गरिरहेका छन् । इन्जिनयर, पाइलट र चिकित्सा क्षेत्रमा मात्र होइन राजनीतिकरूपमा पनि महिला अगाडि देखिन्छन् । परिवार, समाज र देशमा यस्तो परिवर्तन आउनुको कारण शिक्षा हो । शिक्षाले सही, गलत सबै छुट्याउँछ । नेपाली शिक्षा क्षेत्रमा पनि महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न निजी क्षेत्रबाट सञ्चालित कलेजमा पनि महिलाले नेतृत्व गरिरहेका छन् । कादम्बरी हाँक्ने प्रदिप्ता काठमाडौँ बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् प्रदिप्ता कादम्बरी । २४ वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी १० वर्षदेखि कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् । प्रदिप्ताको घर ललितपुर हो । उनी काठमाडौंमै हुर्किन्, पढिन् । उनले सन् १९९५ मा माइक्रोबायोलोजीबाट स्नातकोत्तर गरिन् । सन् २००० मा त्रिभुवन विश्वविद्यालयमा एमएस्सीका विद्यार्थीलाई माइक्रोबायोलोजी पढाउन सुरु गरिन् । उनी यो पेसामा लागेको २४ वर्ष भयो । उनले पढ्दै गर्दा शिक्षक हुन्छु भनेर सोचेको थिइनन् । तर, जब उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न सुरू गरिन् । तब उनलाई युवाहरूसँग इंगेज हुन रमाइलो लाग्यो । त्यसपछि उनी सन् २०१३ उनी सामाजिक कार्यतर्फ लागिन् । उनले सुत्र नामक एउटा संस्थामा काम गरिन् । ४ जना अस्ट्रेलियाली सोसलवर्करसँग ५ वर्ष नेपालमा काम गरिन् । प्रदिप्ताले सोसलसाइन्सबाट स्नातकोत्तर गरिन् । उनले इन्टरनेश्नल फ्याम्ली स्टडिजमा पनि स्नातकोत्तर पास गरेकी छन् । उनले सन् २०१५ बाट कादम्बरी मेमोरियल कलेजको प्रमुखको जिम्मेवारी सम्हालिएकी हुन् । उनलाई शिक्षण पेसा सबैभन्दा राम्रो लाग्छ् । ‘शिक्षाले कहिले पनि कमजोर गराउँदैन, मलाई यो पेसा सबैभन्दा राम्रो लाग्छ,’ उनले भनिन् । डनबस्को सम्हालिरहेकी रश्मि काठमाडौंको लाजिम्पाटमा रहेको काठमाडौं डनबस्को कलेजको नेतृत्वदायी भूमिकामा छिन रश्मि शर्मा मैनाली । उनले लामो समय देखि कलेजको प्राचार्यको जिम्मेवारी सम्हाल्दै आएकी छन् । उनको पहाड घर पर्वत भएपनि उनी काठमाडौंमा जन्मिन्, हुर्किन् । उनले स्नातक तहसम्मको पढाइ भने भारतको सिलाङबाट गरिन् । भारतमा पढेर फेर्केर नेपाल आइन् । नेपाल आएर शिक्षण पेसामा लागेकी उनी पनि अहिले यही क्षेत्रमा रमाइरहेकी छिन् । २३ वर्षदेखि एपेक्सको नेतृत्वमा दुर्गा काठमाडौंको मध्ये बानेश्वरमा रहेको एपेक्स कलेजको जिम्मेवारी २३ वर्षदेखि दुर्गा रिजालले सम्हाल्दै आएकी छन् । विद्यार्थीकालमा राजनीतिमा लागेकी उनी त्यसपछिका समयमा भने नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरिन् । पञ्चायती प्रतिबन्धकाबिच विद्यार्थी राजनीतिमा संलग्न रीजाल त्यसपछि निरन्तर शिक्षा सेवामा समर्पित भइन् । अमेरिकाबाट उच्च शिक्षा हाँसिल गरेकी उनी नेपालमै रहेर शिक्षण पेशामा आवद्ध रहेर एपेक्स कलेज हाँकिरहेकी छन् । सगरमाथामा छिन् दक्षिणा ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजले स्थापनाकालदेखि नै इन्जिनियर उत्पादनमा विशेष योगदान पुर्याउँदै आएको छ । इन्जिनियरिङ शिक्षासँगै विद्यार्थीको भविष्यका लागि समेत मार्ग निर्देशन केन्द्रित रहेको कलेजको दाबी छ । त्यही कलेजको नेतृत्वमा छिन् ई.दक्षिणा श्रेष्ठ । पहिले सह-प्रचार्यको भूमिका रहेकी उनि अहिले कलेजको प्रधानाध्यापकको रूपमा काम गरिरहेकी छिन् । आाईएसटीको नेतृत्वमा सम्झना काठमाडौँको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजको नेतृत्व तहमा छिन् सम्झना बस्न्यात । २० वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी विगत १२ वर्षदेखि कलेजको प्राचार्यको रूपमा काम गरिरहेकी छन् । उनलाई शिक्षक भएर अध्यापन पेशामा रम्छु भन्ने लागेको थिएन तर, जब उनी यो पेशामा आइन् तब उनलाई अन्त सोच्नु परेन । ‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ उनी भन्छिन्, ‘आफूमा भएको ज्ञान, शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो हो, अहिले मलाई शिक्षण पेसा नै रमाइलो लागिरहेको छ ।’ अनामिकाको कमाण्डमा क्याम्पियन कलेज नेपालमा विवाह गरेर आएकी अनामिका श्रीवास्तव २५ वर्षदेखि शिक्षण पेशामा आवद्ध छिन् । उपत्यकाका विभिन्न स्कुल र कलेजमा अध्यापन गराउँदै आएकी उनी अहिले ललितुरको सानेपामा रहेको क्याम्पिन कलेजको प्राचार्यकारूपमा काम गरिरहेकी छन् । भारतको बिहार घर भएकी उनी रौतहटको गौरमा बिहे गरेर आएपछि शिक्षण पेशामा आवद्ध भएकी हुन् । फरक देश, फरक भाषा, चालचलन सबै फरक समाजबाट आएकी उनलाई नेपाल आएर शिक्षण पेशामा लाग्न भने उत्तिकै चुनौती थियो । तर, उनले हार मानिनन् । भाषामात्र होइन नेपालको रहनसहन तथा परिवेशमा घुलमिल हुन पनि केही समय लाग्यो । काठमाडौंको नोबेल एकेडेमीबाट अध्यापन यात्रा सुरु गरेकी उनले सेन्टजेभियर कलेज, भीएस निकेतन लगायत धेरै विद्यालय, कलेजमा समेत अध्ययापन गराएकी थिइन् ।
बैंकका शक्तिशाली महिला सञ्चालक, व्यवस्थापनमा अब्बल बनेर बोर्डमा प्रवेश
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्मचारीसँगै सञ्चालक समूहमा पनि महिलाको सहभागिता बढ्दो छ । बैंकमा कार्यरत महिलाहरू बैंकबाट विदा भएसँगै उनीहरु धमाधम सञ्चालकका रुपमा नियुक्त हुने अभ्यास बढिरहेका छन् । अहिले अधिकांश वाणिज्य बैंकले महिलालाई विशेष प्राथमिकतामा राखेर सञ्चालकको रुपमा नियुक्त गर्ने अभ्यास बढाउँदा त्यसले सञ्चालक समितिमा पनि एक किसिमको सुन्दरता देखिन्छ । कतिपय महिला सञ्चालकहरु सेयरधनी भएर सञ्चालक बनिरहेका छन् भने कतिपय महिलाहरु अनुभव र ज्ञानका आधारमा स्वतन्त्र सञ्चालक बन्ने अवसर पाइरहेका छन् । नेपालको संविधानले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । कम्पनी ऐनले पनि पब्लिक कम्पनीमा सेयरधनी महिला छ भने सञ्चालक समूहमा पनि महिलाको सहभागिता हुनु पर्ने व्यवस्था गरेको छ । तर, पनि कतिपय बैंकमा भने अहिले पनि महिला सञ्चालक छैनन् । कतिपय बैंकले दुई जना महिलासम्म महिला सञ्चालक राखेका छन् । बैंकको सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु ठूलो लगानी, लामो बैंकिङ अनुभव, सीप र योग्यताका आधारमा सञ्चालक समितिमा शक्तिशाली देखिन्छन् । सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु पूर्व बैंकर, प्राध्यापक, सरकारी निकायको उच्च तह तथा वित्तीय क्षेत्रमै लामो समय काम गरेकाहरु देखिन्छन् । आज हामीले कुन बैंकमा कसको सहभागिता छ भन्ने सामग्री तयार पारेका छौं । लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकमा ६ जना सञ्चालकमध्ये दुई जना महिला सञ्चालक छन् । स्वती रुङ्गटा र विद्या बस्न्यात सञ्चालकको रुपमा काम गरिरहेका छन् । लक्ष्मी बैंकमा सनराइज बैंक मर्ज हुनुअघि सनराइज बैंकमा शारदा शर्मा सञ्चालक थिइन् । तर, अहिले उनी सञ्चालकबाट विदा भइसकेकी छन् । लक्ष्मी सनराइज बैंकमा विद्या बस्न्यातले स्वतन्त्र सञ्चालकको रुपमा काम गरिरहेकी छन् भने रुङ्गाटा सन् २०१२ देखि सञ्चालकको रुपमा काम गरिरहेकी छन् । रुङ्गाटाले ग्लोबल इक्विटी फण्डमा म्यानेजिङ पाटर्नरको रुपमा पनि काम गरिरहेकी छन् भने उनीसँग वित्तीय क्षेत्रको राम्रो अनुभव छ । माछापुच्छ्रे बैंक : सात जनाको सञ्चालक समिति रहेको यस बैंकमा बन्दना कार्की सञ्चालक छिन् । उनी पब्लिक डाइरेक्टर हुन् । कार्कीले सिक्किम मणिपाल विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छन् । उनीसँग विभिन्न क्षेत्रका विभिन्न संस्थाहरूमा काम गरेको अनुभवका साथै उत्कृष्ट प्रशासनिक सीप पनि छ । उनले गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हिमश्री फुड्स प्रालिको प्रोक्योरमेन्ट म्यानेजरको रूपमा पनि पनि काम गरेकी छन् । नबिल बैंक : नबिल बैंकमा आशा राणा अधिकारीले महिला सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालक हुन् । तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकी उनीसँग यसअघि विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । उनले तत्कालीन सनराइज बैंकको डेपुटी सीईओ भएर पनि काम गरिसकेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेकी उनीसँग साढे तीन दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एनआईसी एशिया : सात जना सञ्चालकमा एनआईसी एशिया बैंकका एक जना महिला सञ्चालक छन् । सो बैंकमा विजया स्वारले महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । कृषि विकास बैंकको विभिन्न पदमा रहेर काम गरिसकेकी उनीसँग बैंकिङ क्षेत्रमा चार दशक बढीको अनुभव छ । उनले यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सञ्चालकको रुपमा तथा फण्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षको रुपमा कार्य गरेको अनुभव छ । उनले एशियन ईन्स्टिच्यूट अफ म्यानेजमेन्ट, मनिला, फिलिपिन्सबाट डेभलप्मेन्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । हाल उनी एनआइसी एशिया बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि समितिको संयोजक र कर्मचारी सेवा सुविधा समितिको सदस्यका रुपमा काम गरिरहेकी छन् । एनएमबि बैंक : एनएमबी बैंकले बन्दना पाठकलाई बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको छ । तत्कालीन एनसीसी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेकी उनी एनसीसी कुमारी बैंकसँग मर्ज भएपछि उनले बैंक छाडेकी थिइन् । उनले जागिर छोडेपछि एनएमबि बैंकले स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग तीन दशकसम्म बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एभरेष्ट बैंक : एभरेष्ट बैंकमा उर्मिला श्रेष्ठले पब्लिक सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनको बैंकमा सेयर लगानी छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनले महिला सहयात्रा लघुवित्तको अध्यक्ष भएर पनि काम गरिसकेकी छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : यस बैंकको स्वतन्त्र सञ्चालकका रुपमा मञ्जु बस्नेत काम गरिरहेकी छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुनु अघि मेगा बैंकमा सबिनादेवि काफ्लेले काम गरिरहेकी थिइन् । नेपाल एसबिआई बैक : नेपाल एसबिआई बैकको सञ्चालकका रुपमा अप्सरा उप्रेती काम गरिरहेकी छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । बैंकिङ क्षेत्रमा करिब एक दशकको अनुभव भएको उनको भूमिका बैंकमा महत्वपूर्ण छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेकी छन् । सानिमा बैंक : सानिमा बैंकको महिला सञ्चालको रुपमा गायत्री थापा काम गरिरहेकी छन् । उनी २०७६ जेठमा बैंकको सञ्चालकका रुपमा नियुक्त भएकी थिइन् । बैंकमा ६ जना सञ्चालकमध्ये उनी एउटा मात्रै महिला सञ्चालक हुन् । उनी बैंकमा महत्वपूर्ण सञ्चालकका रुपमा परिचित छन् । उनी कर्मचारी सेवा सुविधा समितिको संयोजक समेत हुन् । प्रभु बैंक : प्रोफेसर डा. गिता प्रधान प्रभु बैंकको सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी पनि एक महत्वपूर्ण सञ्चालक हुन् । यसअघि उनी सेञ्चुरी बैंकको सञ्चालक थिइन् । प्रभुमा सेञ्चुरी गाभिएपछि उनी प्रभु बैंकको सञ्चालक बनेकी हुन् । कृषि विकास बैंक : सरकारी स्वामित्वको कृषि विकास बैंकमा महिला सञ्चालकको रुपमा रिता सुवेदीले काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी लेक्चर पनि हुन् । सिद्धार्थ बैंक : मिना कुमारी सैंजुले सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनीसँग ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि उनी पञ्चिमाञ्चल ग्रामीण विकास बैंक, नागरिक लघुवित्त संस्था लिमिटेड र जनता बैंक नेपाल लिमिटेडकी निर्देशक थिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी नेपाल बैंकको उपमहाप्रबन्धक भएर पनि काम गरेकी थिइन् । नेपाल बैंक : सात जना सञ्चालक रहेको नेपाल बैंकमा डा. सावित्री रञ्जित श्रेष्ठ महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । उनले नेपाल सरकारबाट प्रतिनिधित्व गरेकी हुन् । प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकको महिला सञ्चालकको रुपमा डा. तारादेवि चित्रकार काम गरिरहेकी छन् । उनी गत वर्षको पुसमा बैंकको सञ्चालकमा नियुक्त भएकी थिइन् । उनी प्राध्यापक पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरी रहेकी थिइन् । उनी सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् । राष्ट्रिय वाणिज्य बैंक : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकको रुपमा रोमिला ढकाल उप्रेतीले काम गरिरहेकी छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले यसअघि एभरेष्ट बैंकमा २० वर्ष काम गरेको अनुभव छ । सिटिजन्स बैंक : यस बैंकमा सिता कार्की केसी सञ्चालकका रूपमा छन् । उनी ट्राभल व्यवसायसँग आवद्ध छिन् । कुमारी बैंक : कुमारी बैंकमा पनि सिमरन अग्रवाल सञ्चालकका रूपमा काम गरिरहेकी छन् । यसअघि बैंकमा महिला सञ्चालक थिएन । तर, हाल बैंकमा महिला सञ्चालकले प्रतिनिधित्व पाएको हो । प्रभावकारी भूमिका तीन दशक बढी समय बैंकको कर्मचारी भएर काम गरेकी एनएमबि बैंकका स्वतन्त्र सञ्चालक बन्दना पाठक पछिल्लो समय बैंकहरुको बोर्डमा महिलाको सहभागितासँगै आवाज पनि निर्णायक हुन थालेको बताउँछिन् । उनले बैंकको सञ्चालक समितिमा बस्ने अधिकांश महिलाहरु ज्ञान, सीप र अनुभवले निखारिएका हुनाले पनि बैंक सञ्चालक समितिले महिलाको कुरालाई निर्णायकका रुपमा लिने गरेको सुनाउँछिन् । ‘म पनि एनसीसी बैंकबाट बाहिरिएको १५ दिनमै एनएमबि बैंकको सञ्चालक बनें, महिलाको सहभागिताकै लागि मात्रै भएको भए उहाँहरुले अरुलाई नै सञ्चालक बनाउन सक्थे तर क्षमता र अनुभव भएको मान्छे उहाँहरुले खोज्नु भयो, देखाउनका लागि मात्रै भन्दा पनि सीप, ज्ञान र अनुभव भएका महिलाहरुको सहभागिता सञ्चालक समितिमा देखिन्छ, यसले सिंगो बैंकको पफर्मेन्समा फाइदा भइरहेको छ,’ उनले विकासन्युजसँग भनिन् । उनका अनुसार बैंकको तल्लो तहमा कर्मचारीहरु बढी भएपनि माथिल्लो तहमा भने न्यून सहभागिता छ । माथिल्लो तहमा पुगेका महिलाहरु कुनै न कुनै बेला सञ्चालक बन्ने सम्भावना बढी हुन्छ । बैंकको सञ्चालकमा महिलाको प्रतिनिधित्व हुनै पर्ने व्यवस्थाले पनि महिलालाई सञ्चालकसम्म पुग्न केही सहज भएको हुन सक्ने उनको बुझाइ छ । ‘निर्णायक तहमा पुग्दा महिलाहरुको कुरा सुन्ने, उहाँहरुको सुझावलाई बैंकले कार्यान्वयन पनि गरिरहेको हुन्छ, अहिले जति बैंकको सञ्चालकमा महिलाहरु हुनु हुन्छ, उहाँहरु सबै कुनै न कुनै हिसाबले परिपक्व हुनुहुन्छ, त्यसैले पनि बैंक सञ्चालक समितिले महिलाको सुझावलाई कार्यान्वयनको तहमा पुर्याउँछ,’ उनले भनिन् । आधा दर्जन बैंकमा छैनन् महिला चार वटा वाणिज्य बैंकले महिला सञ्चालक नियुक्त गरेको छैन । स्ट्याण्डर्ड, हिमालयन र ग्लोबल आइएमई बैंकले महिला सञ्चालक राखेको छैन । ग्लोबल आईएमई बैंकमा सात जनाको सञ्चालक टिम भएपनि महिलाको सहभागिता छैन । ग्लोबलमा गाभिनुअघि बैंकअफ काठमाण्डूमा २ जना सञ्चालकहरु अमृता उप्रेती र मोहना लोहनी सञ्चालकका रुपमा काम गरिरहेका थिए । ग्लोबल र बिओके मर्ज भएपछि उनीहरु सञ्चालकबाट बाहिरिएका थिए । कम्पनी ऐन, २०६३ ले पब्लिक कम्पनीहरुमा रहने सञ्चालक समितिको बारेमा स्पष्ट व्याख्या गरेको छ । जसअनुसार पब्लिक कम्पनीमा एक जना महिला सञ्चालक अनिवार्य राख्नु पर्ने व्यवस्था छ । पब्लिक कम्पनीहरुमा सेयरधनी महिला छन् भने ती कम्पनीले एक जना महिला सञ्चालक राख्नै पर्ने व्यवस्था रहेको कम्पनी रजिष्ट्रार महेश बराल बताउँछन् । उनका अनुसार पछिल्लो समय नयाँ दर्ता गर्न आउने पब्लिक कम्पनीलाई भने सञ्चालक समितिमा महिला भए÷नभएको विषय प्राथमिकताका साथ हेर्ने गरिएको छ । ‘कुनै पनि पब्लिक कम्पनीको सेयरधनी महिला छन् भने सञ्चालक समितिमा महिलाको सहभागिता अनिवार्य गरिएको छ, त्यो विषयलाई हामीले पनि सुक्ष्म ढंगले हेर्ने गरेका छौं,’ उनले विकासन्युजसँग भने । यस्तै, राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंक तथा वित्तीय संस्था ऐनले बैंकको सञ्चालक समितिमा महिलाको सहभागिताको विषयमा कुरा नगरेको भएपनि बैंकले भने महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालकमा राख्नु पर्ने धारणा राख्छन् । उनका अनुसार बैंकको बोर्डमा महिला र पुरुषको समान सहभागिता देखिँदा पनि एक किसिमको समावेशिता देखिँदा राम्रो हुन्छ । अर्काइभ