विश्व कपमा नेपाल : चौका र छक्कामा ‘पैसाको वर्षा’
काठमाडौं । नवौँ संस्करण आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेर सुखद सुरुवात गरेको छ । यस पटकको विश्वकमा नेपाल पनि सहभागी भएको छ । नेपाल दोस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससँग खेल्दैछ । नेपाल समूह ‘डी’ मा छ । नेपालले विश्वकपमा आफ्नो दमदार प्रदर्शन गर्ने अपेक्षामा क्रिकेट प्रसंशकहरू छन् । खेलाडीको मनोवल बढाउनका लागि व्यावसायिक प्रतिष्ठानहरूले पनि विभिन्न आकर्षक पुरस्कारको घोषणा गरेका छन् । यसअघि पनि पुरस्कार प्रदान गरिसकेको अर्ना बियरले यस पटक पनि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना बियरले हरेक रनमा एक हजार रुपैयाँ, हरेक चौकामा १० हजार रुपैयाँ, हरेक छक्कामा २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । यस्तै, बलिङतर्फ हरेक डट बलमा १ हजार पाँच सय, हरेक मेडेन ओभरमा २० हजार रुपैयाँ र हरेक विकेटमा २० हजार रुपैयाँको पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले खेलाडीहरूको प्रोत्साहन गर्न यो पुरस्कार घोषणा गरेको छ । यस्तै, टिम नेपालले हरेक म्याचमा जित्ने कुल रकम खेलाडीहरुबीच बाँडिनेर सोही रकम बराबरको अर्को रकम टीम नेपालको तर्फबाट अर्नाले क्रिकेटेको पूर्वाधार विकासका लागि उपलब्ध गराउने पनि जानकारी गरेको छ । यसअघि नेपाल र यूएईबीच भएको विश्वकप छनोट खलेमा पनि अर्ना वियरले १८ लाख ७७ हजार रुपैयाँ पुरस्कार नेपाली खेलाडीलाई प्रदान गरेको थियो । यस्तै, वाइ वाइ चाउचाउले पनि जारी आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । विश्वकपको सुपर-८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपालले जानकारी दिएको छ । वाइवाइले प्रत्येक रन बनाएबापत १ हजार, प्रत्येक चौका बापत ८ हजार रुपैयाँ, प्रत्येक छक्का वापत १२ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । यस्तै, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार रुपैयाँ र प्रत्येक शतकबापत १ लाख रुपैयाँ पुरस्कार दिने कम्पनीले जानकारी दिएको छ । यस्तै, नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने कम्पनीको भनाइ छ । नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि-२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ, हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् । तर, पनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइ वाइ विगत २० बर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ । र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइ वाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’
सहकारीको पैसाले अर्बपति, बुढाबुढी मिलेर ८ अर्ब झ्वाम
काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा चन्द्रबहादुर (सिबी) लामालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ रहेको खुल्न आएको महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए । २०८० फागुन २० गतेदेखि नै काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी लामालाई पक्राउ गरेको भट्टराईले जानकारी दिए । लामा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को पूर्व अध्यक्ष हुन् । भट्टराईले लामाविरुद्ध ८५२ जना बचतकर्ताले उजुरी दिएको बताए । त्यस्तै, पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको पनि बताइएको छ । पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिको विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको भट्टराईले बताए । लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान पनि गरिरहेको छ । को हुन् लामा ? काभ्रेकाे साविक नारायणथान गाविस ८ का बासिन्दा लामा सुरुमा सरकारी जागिर गर्थे । उनले सो अवधिमा विद्यार्थी राजनीति पनि गरे । तर, राजनीतिमा सफलता पाउन सकेनन् । उनी २०५५ तिर सहकारीमा आवद्ध भए । सहकारीसँगै राजनीतिमा पनि सक्रिय भइराखे । २०६५ तिर उनले पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको स्थापना गरे । सुरुमा सो सहकारीको नेतृत्व उनकी पत्नी सन्ती लामाले गरिन् । पछि उनले कान्तिपुर सहकारी खोले । दुवै सहकारी बचत तथा ऋणको कारोबार गर्ने भएकोले उनलाई खासै ठूलो समस्या भएन । उनले सहकारीको बचतलाई घरजग्गामा लगाउन सुरु गरे । सुरुवाती दिनहरूरुमा राम्रै कमाइ भयो । सहकारी र घरजग्गाबाट आएको पैसालाई उनले अन्य व्यवसायमा प्रयोग गर्न थाले । सहकारीकाे बचत उनले अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी बढाए । पछि घरजग्गमा समस्या आएपछि उनले बचतकर्ताको पैसा पनि फिर्ता गर्न सकेनन् । परिणामस्वरुप अन्य व्यवसाय पनि समस्यामा परे । सहकारीकाे बचत फिर्ता नगरेपछि उनीविरूद्द उजुरी पर्याे । अन्ततः उनी पक्राउ भएका छन् । उनीमाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिदेखि महासमिति सदस्य समेत भइसकेका लामाले राजनीतिक शक्तिमा रहेर जनताको पैसा अपचलन गरेका थिए । उनी नेपाली काँग्रेस काभ्रेका पूर्वकोषाध्यक्ष तथा काभ्रे निर्वाचन क्षेत्र नं. १(१) मा २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनले आफ्नो सहकारीलाई नमुना बनाउने बताउँदै आएका थिए । तर, अन्ततः उनी आफू नै सहकारीको पैसा अपचलन गरेको आरोपमा हिरासत पुगेका छन् ।
राष्ट्र बैंकले बंगालीलाई सेयर बेच्न दिएन, पौने २ करोड कित्ता सेयर कारोबारमा ब्रेक
काठमाडौं । नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी)को योजनामा ब्रेक लागेको छ । नियामक नेपाल राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि कम्पनीको बाहिरिने योजनामा ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गर्दै आइफआईसीको सेयर खरिद बिक्रीको प्रक्रिया रोकिएको बताएको छ । नबिल बैंकको ६५८औं सञ्चालक समितिको बैठकले नबिल बैंकमा रहेका आईएफआईसी बैंकको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर खरिदबिक्रीको प्रक्रिया स्थगित भएको निर्ण गरेको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ । आईएफआईसीको नाममा रहेको सेयर बिक्री गर्नका लागि नबिलले २०७९ मंसिर १५ गते सूचना जारी गरेको थियो । उक्त सेयर खरिद गर्नका लागि नबिल बैंकका ठूला सेयरधनी विनोद चौधरीले लामो समयदेखि मिहिनेत गरिरहेका थिए । तर, नियामक राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि अन्ततः सो सेयर अब आईएफआईसीको नाममै रहनेछ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले सो सेयर खरिदबिक्रीमा राष्ट्र बैंकले केही ‘कन्सर्न’ राखेको धारणा राखे । ‘यस विषयमा केही कैफियतहरू छन्, करको विषय पनि छ, महालेखा परीक्षक कार्याललले पनि प्रश्न उठाएको छ, हामीले स्वीकृतिका लागि आउने बिक्तिकै अनुमति दिने कुरा हुँदैन, अहिले पनि साथीहरूले यो विषय अध्ययन गरिरहनु भएको छ,’ पौडेलले विकासन्युजसँग भने । नेपाल राष्ट्र बैंकले चाहेरै सो सेयर खरिदबिक्रीका लागि अनुमति नदिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘सेयर बिक्री गर्नको लागि अनुमति दिनु पर्ने कुनै कानुनी अड्चन नभएपनि व्यवहारिक रुपमा दिन सक्ने अवस्था भएन, हामीलाई अझैं पनि विदेशी बैंकको अभ्यास सिक्नु छ, राष्ट्र बैंक विदेशी लगानीकर्तालाई गुमाउने अवस्थामा छैन, आईएफआईसीलाई केही विकल्प दिएका थियौं । तर, सो विकल्पमा कुरा अगाडि नबढेपछि अहिलेको सेयर खरिदकर्तालाई सेयर खरिद गर्न दिन नसकिने गरी काम अगाडि बढेको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो । आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि अहिले आइएफआईसी नबिल बैंकको सेयरधनी बनेको छ । स्रोतका अनुसार सो सेयर खरिद गर्नका लागि विदेशी खरिदकर्ता नै हुनु पर्ने अडान राष्ट्र बैंकको थियो । तर, आइएफआईसीलले विनोद चौधरीको श्रीमती सारिका चौधरीको नाममा आवेदन दिएपछि राष्ट्र बैंकले अनुमति नदिएको बुझिएको हो । समब्धित सामग्री :बंगालीलाई नबिलको सेयर बेच्न राष्ट्र बैंकले दिएन, चौधरीको प्रयास अब ढुङ्गानालाई गभर्नर बनाउने