बाढीको वितण्डा : कहाँ के भयो ?
काठमाडाैं । शुक्रबार रातिदेखिको अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा ठूलो क्षति भइरहेका छ । कतिपय ठाउँका बस्ती नै जोखिममा परेका छन् भने कतिपय ठाउँमा सडक नै अवरुद्द भएर आवतजावतमा पनि समस्या भइरहेको छ । कतिपय ठाउँका नदिको बहाब बढेर बाढी नै आइरहेको छ भने कतिपय ठाउँमा पहिरोबाट मानवीय क्षति भइरहेको छ । यो समयमा उच्च सर्तकता अपनाउन सरकारले आग्रह गरिरहेको छ । बलान नदीमा फसेका ६ किसानको उद्धार सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ । सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । मार्तडी-कोल्टी सडक पाँच दिनदेखि बन्द बाजुराको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिए । वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । मार्तडी–कोल्टी सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ । लगातारको वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिए । राजमार्गको सेराबगर, हड्डेखोला र जिल्ला कारागार नजिकै पहिरो गएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन र मालवाहक गाडी बाटोमै थन्किएका छन् । राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । राप्तीमा बेपत्ता दुई जनाको शव फेला राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका-७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका-८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै, दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका-२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।हस्नापुर घाटबाट राजपुर गाउँपालिका-२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो । सिद्धार्थ राजमार्ग भासियो स्याङ्जाको गल्याङ नगरपालिका-११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् । बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको बताउनुभयो । काठको पुल बगाएपछि घमी र ढाकमरका बासिन्दा आवतजावत गर्न खोलामा जोखिम मोलेर जङ्घार तर्नुपर्ने अवस्था छ । ढाकमर गाउँमा ५७ परिवारको बसोबास छ । घमी वडाको केन्द्र हो । नहर बगाउँदा घमीको एक हजार दुई सय रोपनीभन्दा बढी जमिनमा सिँचाइको समस्या भएको छ । स्याउ, उवा, जाँै र फापर बालीमा सिँचाइ गर्न समस्या भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी नहर र पुल मर्मतको काम तत्कालै सुरु गरिने बताए । महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए । आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ । महाकालीमा पानीको बहाव बढ्यो महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । पहिरोमा पुरिएकी दुई जनाको शव भेटियो तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो । बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए । पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी-१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उनले बताए । कोशी ब्यारेजका ४१ ढोका खोलिए सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । कालीगण्डकी करिडोर ठप्प शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ । यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका-५ विनामारे, जैमिनी नगरपालिका-१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।
युद्धले लग्यो बिजुली, अँध्यारोमा बाँच्न विवश युक्रेन
काठमाडौं । रुस र युक्रेनको युद्ध जारी छ । युद्ध समाप्त गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै धारणा सार्वजनिक रूपमा राखेका छैनन् । यद्यपि, युद्ध समाप्त गर्न योजना बनाइरहेका खबरहरू भने बाहिरिरहेका छन् । रुसले लगातार युक्रेनको ऊर्जा क्षमता र प्लान्टमा आक्रमण गरिरहेको छ, जसका कारण युक्रेनका जनता लामो समयदेखि बिजुलीबिना बाँच्न सिकिरहेका छन् । बिजली कटौती र जीवन बारम्बार रुसी हवाई आक्रमणले युक्रेनको पहिले अप्रभावित भागहरू पनि लगभग हरेक दिन घण्टौंसम्म बिजुलीविहीन रहन्छ । ओडेसाको दक्षिणी बन्दरगाह सहरमा बस्ने टेटियाना भन्छिन्, ‘अन्तहीन बिजुली कटौतीले जीवनलाई अत्यन्तै कठिन बनाएको छ, उनीहरूले बिजुली आपूर्ति निर्वाध रहोस् भनेर सुनिश्चित गर्न आवश्यक छ ।’ टेटियानासँग पेट्रोलबाट चल्ने जेनेरेटर छ । यो सधैं चलाउनुपर्छ, तर यसलाई चिसो बनाउन हरेक ६ घण्टा बन्द गर्नुपर्छ । बिजुली कटौतीले मोबाइल फोन कभरेजलाई पनि असर गर्छ, त्यसैले टेटियानाले आफ्नो छोराका लागि एम्बुलेन्सलाई सम्पर्क गर्न पनि कठिनाइहरूको सामना गनुपर्छ । उनको छोरा शारीरिक रूपमा असक्षम छन् । उनको छारालाई सास फेर्न, खान र औषधी लिनसमेत विद्युतीय उपकरणको भर पर्नुपर्छ । टेटियाना भन्छिन्, ‘कहिलेकाहीँ एम्बुलेन्स आउन आधा घण्टा लाग्छ, कहिलेकाहीँ एक घण्टा पनि लाग्छ, यस अवधिमा मेरो बच्चालाई धेरै समस्या हुन्छ र उसको शरीर नीलो हुन थाल्छ ।’ उनी थप्छिन्, ‘यदि मेरो छोरोले अक्सिजन पाएन भने उसको ज्यान जान सक्छ, मसँग बोल्ने शब्द छैन ।’ बिजुली अभावका कारण लाखौं युक्रेनीहरूले वातानुकूलित, लिफ्ट वा जीवन बचाउने उपकरणहरू ठिकसँग प्रयोग गर्न असमर्थ छन् । राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनर्गोले पछिल्लो तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट विद्युत उत्पादन क्षमता गुमाएको बताएको छ । यो फेब्रुअरी २०२२ मा पूर्ण मात्रामा आक्रमण हुनुअघि युक्रेनको क्षमताको एक तिहाइभन्दा बढी हो । युक्रेनर्गोले यो क्षमता नेदरल्यान्ड्स, स्लोभाकिया, लाटभिया, लिथुआनिया र इस्टोनियालाई चरम खपतको समयमा पनि ऊर्जा दिन पर्याप्त रहेको बताएको छ । ‘राज्यको स्वामित्वमा रहेका सबै थर्मल पावर प्लान्टहरू ध्वस्त भएका छन्, हाम्रो देशका सबै जलविद्युत् केन्द्रहरूमा रुसी क्षेप्यास्त्र वा ड्रोन आक्रमणबाट क्षति पुगेको छ,’ युक्रेनर्गोका प्रवक्ता मारिया त्स्तुरियनले भनिन्, ‘जसका कारण लाखौं युक्रेनीहरू पेट्रोल र डिजेल वा ठूला पावर बैंकहरूमा चल्ने जेनेरेटरहरूमा बढी निर्भर हुँदैछन् ।’ राजधानी किभमा पनि विद्युत कटौती युक्रेनको राजधानी किभमा पनि लामो समयदेखि विद्युत कटौती भइरहेको छ । रोकसोलाना २४ तले अपार्टमेन्टमा बस्छिन् । जनता एकजुट भएर अपार्टमेन्टको सुविधा सञ्चालन गर्न रोक्सोलानालाई चुनेका छन् । ‘टावर ब्लकमा बस्न सजिलो छैन किनभने बिजुली कटौतीले पानी माथिल्लो तलामा पुग्न सक्दैन,’ रोकसोलाना भन्छिन्, ‘लिफ्ट पनि चल्दैन, त्यसैले बालबालिका, वृद्ध महिला र अपाङ्गता भएकाले बिजुली कुर्नुपरेको छ, उनीहरू बिजुली आएपछि मात्र बाहिर जाने योजना बनाउँछन् ।’ रोकसोलानाले आफू लगातार ६ घण्टा घरभित्रै बस्नुपर्ने बताइन् । उनी भन्छिन्, ‘हाम्रा वृद्ध महिलाहरू रोटी किन्न पसलमा जान पनि सक्दैनन् ।’ युक्रेनमा अग्लो भवनहरूमा बस्ने बासिन्दाहरू गर्मीमा पनि अपार्टमेन्टमा बस्न बाध्य छन् किनभने बिजुलीबिना, एयर कन्डिसनरहरू पनि चल्दैनन् । अग्ला भवनहरूमा बस्ने मानिसहरू रुसी हवाई आक्रमणबाट पनि बढी जोखिममा छन् । बम आक्रमणबाट जोगाउन बनाइएका ठाउँहरूमा समेत उनीहरू सजिलै पुग्न सक्दैनन् । बम आक्रमणबाट जोगाउन निर्माण गरिएका अधिकांश ठाउँहरू भूमिगत छन् । जापोरिझियाका दन्तचिकित्सक भोलोडिमिर स्टेपानिभ भन्छन्, ‘कहिलेकाहीँ अपोइन्टमेन्टहरू स्थगित गर्नुपर्ने हुन्छ । धेरै पटक यस्तो हुन्छ कि जटिल शल्यक्रिया गर्दा पनि बिजुली जान्छ ।’ यदि शल्यक्रियाको क्रममा बिजुली कटौती भयो भने जेनेरेटर चलाएर शल्यक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको स्टेफानिभ बताउँछन् । यस बाहेक उनीहरूसँग अर्को विकल्प छैन, किनकि बिरामीलाई भोलि फेरि आउन भन्न पनि सकिँदैन । टर्चको उज्यालोको सहाराले उपचार डाक्टर स्टेफानिभले बिजुली बन्द हुँदा महत्त्वपूर्ण कम वा जटिल अप्रेसनका लागि हेड टर्च प्रयोग गर्छन् । स्टेफानिभले फ्रन्ट लाइनमा रहँदा सिपाहीहरूको उपचार गर्दा यो विधि सिकेका थिए र अहिले त्यसमा निपुण भएका छन् । उनको फर्मले अझै पनि युक्रेनी सेनाका सदस्यहरूलाई निःशुल्क वा भारी छुटमा उपचार प्रदान गर्दछ । स्टेफानिभ दाँत दुख्ने वा सुन्निने रोगको उपचार बिजुलीविना पनि गर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘हामीले बिजुलीविना शल्यक्रिया गर्न सिकेका छौं ।’ यूक्रेनेर्गोकी प्रवक्ता मारियालाई थाहा छ कि धेरै पटक र यति लामो समयका लागि बिजुली काटेकोमा ग्राहकहरू उनको कम्पनीसँग क्रोधित छन् । ‘हामीसँग अर्को विकल्प छैन । हामी युद्धमा छौं, ऊर्जा क्षेत्र रुसी आतंकवादीहरूको लक्ष्य हो र यो किन स्पष्ट छ भने हाम्रो सम्पूर्ण जीवन बिजुलीमा आधारित छ,’ उनी भन्छिन्, ‘उनीहरूको लक्ष्य आफ्नो शत्रुको पावर ग्रिडलाई नष्ट गर्नु हो, त्यसपछि तिनीहरूको अर्थतन्त्र र जीवन हुनेछैन, र, यो त्यो मूल्य हो जुन हामीले आफ्नो स्वतन्त्रताका लागि चुकाएका छौं ।’ बीबीसी
बीमा प्राधिकरणको आम्दानी घट्दै, खर्च बढ्दै
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब बढी कुल आम्दानी गरेको छ । प्राधिकरणले १ साउन २०७९ देखि ३१ असार २०८० सम्ममा २ अर्ब १४ करोड ५७ लाख ८६ हजार रुपैयाँ कुल आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलनामा प्राधिकरणको आम्दानी ७.७० प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले २ अर्ब ३२ करोड ४६ लाख ९८ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । प्राधिकरणको उक्त आम्दानी बीमा बजारबाट गरेको हो । सेवा शुल्कवापत १ अर्ब ५७ करोड ७९ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको प्राधिकरणले दर्ता एवं नवीकरण शुल्कवापत १० करोड ९४ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै दण्ड, जरिवना तथा अतिरिक्त शुल्कवापत १० लाख २८ हजार रुपैयाँ, ब्याज आम्दानी ४५ करोड ४७ लाख ४८ हजार रुपैयाँ र अन्य आम्दानी १४ लाख ७३ हजार रुपैयाँ गरेको प्राधिकरणले जनाएको छ । साथै नेपाल सरकारबाट प्राप्त अनदुानलाई पनि प्राधिकरणले आफ्नो आम्दानीको स्रोत भनेर उल्लेख गरेको छ । गत वर्ष ११ लाख ४९ हजार रुपैयाँ सरकारबाट अनुदान प्राप्त भएको प्राधिकरणको भनाइ छ । तालिम शुल्क र बिदेशी सरकार वा अन्तराष्ट्रिय संघ संस्थाबाट प्राप्त अनुदान पनि प्राधिकरणको आम्दानीको स्रोत हो । तर, गत वर्ष उक्त शिर्षकमा रकम आएको छैन । अघिल्लो वर्ष २२ करोड ५४ लाख ११ हजार रुपैयाँ मात्रै कुल खर्च गरेको प्राधिकरणले गत आर्थिक वर्ष ५० करोड ७६ लाख ८० हजार रुपैयाँ खर्च गरेको प्राधिकरणले जनाएको छ । कुल खर्चमध्ये १८ करोड ४७ लाख ७३ हजार रुपैयाँ कर्मचारीको खर्च एवं भत्तामा प्रवाह भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार संचालन खर्च ३० करोड ३२ लाख ३६ हजार रुपैयाँ, ह्रासकट्टी तथा परिशोधनमा १ करोड ९६ लाख ७१ हजार रुपैयाँ खर्च भएको देखिन्छ । गत वर्षको सञ्चित कोष ८ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ र कुल दायित्व १३ करोड ९२ लाख रुपैयाँ गरी कुल सञ्चित कोष तथा दायित्व ८ अर्ब ७६ करोड ८१ लाख रहेको छ । कुल सम्पत्तिमध्ये सम्पत्ति तथा उपकरण १ अर्ब १६ करोड १९ लाख रुपैयाँ, लगानी ४ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ, नगद तथा बैंक मौज्दात १९ करोड ४७ लाख रुपैयाँ र अन्य सम्पत्ति २ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । आयकरपछिको सञ्चालन मुनाफा १ अर्ब २५ करोड ५४ लाख रहेको छ । प्राधिकरणको सञ्चित कोषमा ८ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने ४ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ ।