दोल्तीको सेयरमा लगानीकर्ताको दोस्ती, ऋण तिर्न चन्दा माग्दै कम्पनी

काठमाडौं । मंगलबार दोल्ती पावर कम्पनीको सेयर माग उच्च देखियो । बजार खुलेको दुई घण्टाभित्रै सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ ५० पैसाले बढेर ६१० रुपैयाँ ५० पैसा भयो । कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । नेप्सेले उच्च माग भएको सेयर सूचीमा दोल्तीलाई राख्यो । लगानीकर्ताले यो कम्पनीको ७ लाख ८१ हजार बढी कित्ता सेयर खरिद अर्डर गरे । माग र मूल्यमा उच्च वृद्धि भएका बेला उक्त सेयर बिक्री गर्ने कोही भएनन् । नेप्सको वेबसाइटमा यस कम्पनीको कुल ७ लाख ८१ हजार ८९५ कित्ता सेयर खरिदका लागि राखिएको थियो । तर, बिक्रीका लागि राखिएको सेयर कित्ता शून्य थियो । मंगलबार दिनभरिमा कम्पनीको कुल ९६ हजार ८५५ कित्ता सेयर खरिद बिक्री भएको नेप्सेको रेकर्डमा देखिन्छ । यो कम्पनी लगानीकर्ताहरूको रोजाइमा परेकाले सेयरको माग र मूल्य उच्च भएको हुनसक्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । यति धेरै माग र मूल्य भएको कम्पनीको अवस्था कस्तो छ ? विकासन्युजले कम्पनीको बारेमा जानकारी लिन प्रयास गर्यो । नेप्सेमा सूचीकृत कम्पनीहरूको एकीकृत र आधिकारिक सूचना लिने पहिलो विन्दु नेप्से नै हो । नेप्सेको वेबसाइटमा कम्पनीको वित्तीय विवरण राखिएको छैन । कम्पनीले अहिलेसम्म लाभांश नदिएको रहेछ । कम्पनीको पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ रहेको उल्लेख छ । त्यसमा ३० प्रतिशत सेयर सर्वसाधारणको रहेको उल्लेख छ । कम्पनीको साधारण सभा गर्ने प्रयोजनका लागि २०८० पुस २३ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेको सूचना छ । कम्पनीको अध्यक्षमा मिरा गौतम छिन् । सञ्चालक समितिमा पनि उनको नाममात्र छ । सम्पर्क व्यक्तिमा पनि उनकै नाम छ । सम्पर्क नम्बर ०१४१०५०२१ छ । उक्त नम्बरमा सम्पर्क गर्दा एक कर्मचारीले फोन उठाए । उनले कम्पनीको बारेमा कुनै पनि जानकारी दिन असमर्थ रहेको बताए । कम्पनीका अध्यक्ष गौतम बिरामी रहेको र कसैसँग बोल्न नसक्ने अवस्थामा भएको उनले बताए । थप जानकारी दिने जिम्मेवार व्यक्ति कम्पनीमा केही नभएको उनले बताए । र, समाचारमा आफ्नो नाम उल्लेख नगरिदिन याचना गरे । दोल्ती पावरको थप जानकारी लिने सम्बन्धित कम्पनीको वेसाइटमा खोल्यौं । कम्पनीको वेबसाइटमा कम्पनीको सञ्चालक समिति, व्यवस्थापन समिति केही पनि उल्लेख छैन । कम्पनीको वित्तीय विवरण पनि छैन । कम्पनीले ‘डेनेट’ भनेर चन्दा माग गरेको छ । बैंककाे ऋण तिर्न चन्दा माग गरेको हुन सक्ने अनुमान बजारमा छ । एक वर्षअघि ९ कराेड संचित नाेक्सानमा रहेकाे यस कम्पनी गत चैतसम्ममा १७ कराेड ऋणात्मक भएकाे छ । बैंककाे कर्जा करिव ७० कराेड रूपैयाँ रहेको छ । त्यसपछि हामीले खोजको पब्लिक डोमेन गुगलको सहायता लियौं । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदन पत्रिकामा छापेको पाइयो । उक्त प्रतिवेदनअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६.०३ रुपैयाँ ऋणात्मक रहेछ । प्रतिसेयर नेटवर्थ ६७.११ रुपैयाँ रहेको छ । कम्पनी खुद नाफा ३ करोड २३ लाख ६२ हजार ऋणात्मक छ । कम्पनीको जगेडा कोष पनि १७ करोड ६४ लाख ६५ हजार ऋणात्मक छ । वित्तीय विवरण हेर्दा कम्पनी टाट पल्टेको घोषणाको पर्खाइमा छ । तर, मंगलबार मूल्यवृद्धिको सर्किट ब्रेक लागेको यस कम्पनीको सेयर बुधबार प्रतिकित्ता ६७१ रुपैयाँ १० पैसासम्ममा कारोबार भएको छ । खराब कम्पनीका सेयर कारोबारमा कसरी चलखेल हुन्छ र नयाँ लगानीकर्ता फस्छन् भन्ने प्रतिनिधि मुलक घटना हो यो । चलाख लगानीकर्ता यस्ता चलखेलबाट जोगिन्छन्, नयाँ लगानीकर्ता यस्तै कम्पनीमा फस्ने सजिलै अनुमान गर्न सकिन्छ । कम्पनीले दैलेख जिल्लास्थित पदम खोलामा ४.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट २४ करोड लागत भएको यस कम्पनीबाट लगानीकर्ताले लाभ लिन सक्ने सम्भावना ज्यादै कम हुन्छ । कम्पनीले जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७६ पुस ८ गतेदेखि आयोजना सञ्चालन गर्दै आएको छ । थोरै पुँजी भएको र पब्लिक सेयर पनि थोरै भएको कम्पनीको सेयर कर्नरिङ गरेर मूल्यवृद्धि गर्ने र पब्लिकलाई फसाउने बाठा लगानीकर्ताको गतिलो अभ्यास यस कम्पनीकाे सेयरमा देखिएको छ ।

चार बीमा कम्पनीको नाफा वृद्धिमा ‘सेञ्चुरी क्रस’, नेपाल इन्स्योरेन्सलाई पछ्याउँदै सिद्धार्थ प्रिमियर

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा अघिकांश निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ कम्पनीको नाफा बढ्दा २ कम्पनीको भने घटेको छ । समग्रमा ५२.६२ प्रतिशतले नाफा वृद्धि भएको छ । अघिल्लो आव २०७९/०८० मा ४ अर्ब ८६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका कम्पनीहरूले गत आवमा भने ७ अर्ब ४२ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ४ वटा कम्पनीहरूको नाफ शतप्रतिशतभन्दा धेरैले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा वृद्धि उच्च रहेको छ । आईजीआईको खुद नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर, प्रभु र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा क्रमशः १२६.९९, ११८.१८ र १०८ प्रतिशतले बढेको हो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर, प्रभु र युनाइटेड अजोडको नाफा सतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । आईजीआईले नाफा २५१.४५ प्रतिशत वृद्धि गरेर ६० करोड ६१ लाख, शिखरले ५१ करोड ३० लाख, प्रभुले ४९ करोड ९ लाखर युनाइटेड अजोडले ३८ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । चार वटा कम्पनीको नाफा ८० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । नेपाल इन्योरेन्सको ८७.८३ प्रतिशत, सगरमाथा इन्स्यारेन्सको ८३.९६ प्रतिशत, ओरियन्टलको ८३.४२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ८२.५२ प्रतिशत खुद नाफा बढेको छ । यस्तै, नेशनल र हिमालयन एभरेष्टको नाफा क्रमशः ५२.०२ प्रतिशत र ५०.०९ प्रतिशतले बढेको छ । एनएलजी र सानिमाको खुद नाफा क्रमशः २१.७८ प्रतिशत र २०.९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नेको र राष्ट्रिय बीमा कम्पनीको नाफा भने क्रमशः २.७८ र १८.८० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।  

बीमा गरेका १ लाख १३ हजार बढीले गरे पोलिसी सरेण्डर, एलआईसी र नेपाल लाइफलाई बढी धक्का

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १३ हजार ९७६ जनाले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीदेखि विविध करणले गर्दा एक वर्षमा उक्त संख्यामा बीमा सरेण्डर भएको हो । यसरी सरेण्डर हुँदा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बीमा कम्पनीहरूबाट बाहिरिएको छ । आघिल्लो आव २०७९/०८० को तुनामा गत आव २०८०/०८१ मा बीमा पोलिसि सरेण्डर गर्नेको संख्या ९.०६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा सरेण्डर गर्नेहरूको संख्या १ लाख ४ हजार ५०६ थियाे । यसैगरी, सरेण्डर रकम भने १.५८ रुपैयाँले बढेको छ । अघिल्लो आवमा १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बरोरको सरेण्डर भएको थियो । संख्याका आधारमा सबैभन्दा धेरै सरेण्डर लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) बाट भएको छ । एलआईसीबाट ३० हजार ३०९ जनाले पोलिसि सरेण्डर गरेका छन् । सरेण्डर रकम भने नेपाल लाइफको उच्च रहेको छ । पोलिसि सरेण्डर हुँदा नेपाल लाइफबाट ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बाहिरिएको छ । एलआईसीबाट भने ४ अर्ब ३० करोड ३९ लाख रुपैयाँ सरेण्डबापत बाहिरिएको छ । नेपाल लाइफमा बीमा गरेका २८ हजार ६२७ जनाले पोलिसी सरेण्डर गरेका हुन् । यता राष्ट्रिय जीवन बीमा कम्पनीबाट १३ हजार ९४१ जनाले पोलिसी सरेण्डर गर्दा १ अर्ब १० करोड ४८ लाख रुपैयाँ बाहिरिएको प्राधिकरणको तथ्यांकले देखाउँछ । यसैगरी हिमालयन लाइफबाट ७ हजार ८१० जनाले सरेण्डर गर्दा १ अर्ब २ करोड ९५ लाख र नेशनल लाइफबाट ७ हजार ५ सय जनाले सरेण्डर गर्दा १ अर्ब १ करोड ८० लाख रुपैयाँ बाहिरिएको छ । कुन कम्पनीको कति सरेण्डर ?