भारतको केपीएमजीले गर्ने भयो १० ठूला बैंकको अडिट, यी बैंकले दिए धेरै कर्जा

काठमाडौं । भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्ने भएको छ । १० वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न भारतीय केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ अडिट (लेखापरीक्षण) फर्म छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्र बैंकको आह्वान अनुसार नेदरल्याण्ड, भारत र पाकिस्तानका गरी विभिन्न ५ वटा बाह्य लेखापरीक्षक प्रारम्भिक छनोट भएका थिए । नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका थिए । तर, ती ५ अडिटफर्ममध्ये प्राविधिक रूपमा योग्य केपीएमजी एसुरेन्स छनोट भएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्ली राम पोख्रेलले बताए । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएको केपीएमजी एसुरेन्स अडिट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण थालनी गर्नेछ । बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछ । ‘५ वटा फर्म छानिएका थिएm जसमध्ये प्राविधिक रूपमा योग्य केपीएमजी छनोट भएको हो, सेप्टेम्बर १ मा फाइनान्सियल पर्पाेजल खुला हुनेछ, त्यसपछि कम्पनीले १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्नेछ,’ उनले भने, ‘कुन क्षेत्रमा कति कर्जा प्रवाह गरेका छन् भन्ने विषयमा अध्ययन गर्नेछ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्त अनुसार लोन पोर्टफोलियो रिभ्यू गर्नु परेको हो ।’ पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने १० वटा बैंकहरूमा नबिल बैंक पहिलो नम्बरमा छ । यस्तै ग्लोबल आइमएई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, प्रभु बैंक र कृषि विकास बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासको तथ्याङ्क अनुसार नबिलले ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ, ग्लोबल आइमएईले ३ खर्ब ६९ अर्ब ४५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ खर्ब ७ अर्ब ५२ करोड रुपैयाँ, कुमारीले २ खर्ब ७३ अर्ब २० करोड रुपैयाँ, एनआईसी एशियाले २ खर्ब ७२ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै लक्ष्मी सनराइजले २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्यले २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ, हिमालयनले २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ, प्रभुले २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ र कृषि विकासले २ खर्ब १ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ ।

अटो शोमा दुईपांग्रेको सहभागिता घट्यो, युवा विदेशिनु मुख्य कारण

काठमाडौं । नाडा अटो शोमा दुईपांग्रे सवारी ब्राण्डको सहभागीता घट्दो क्रममा रहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको अटो शोमा दुईपांग्रे ब्राण्डको सहभागीता क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ । चारपांग्रेको तुलनामा दुईपांग्रेको सहभागिता घट्दै गएको हो । विगत ७ पटकको नाडा अटो शोको तथ्यांकलाई केलाउँदा चारपांग्रेको तुलनामा दुई पांग्रेको सहभागिता घट्दै गएको देखिन्छ । अटो शो २०१५ मा १४ वटा चारपांग्रे र १६ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । यस्तै, २०१६ मा १७ वटा चारपांग्रे ब्राण्ड सहभागी हुँदा १५ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । २०१७ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । जहाँ चारपांग्रे ब्राण्ड १६ र दुईपांग्रे ब्राण्ड १९ वटाले भाग लिए । यसैगरी २०१८ मा १९ वटा चारपांग्रे र २० वटा दुईपांग्रेले भाग लिएका थिए । २०१९ को अटो शोमा फेरि चारपांग्रेले उछिन्यो । २०२३ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । २०२३ मा १६ वटा चारपांग्रे र २२ वटा दुईपांग्रेको सहभागिता थियो । २०२४ मा आइपुग्दा चारपांग्रेको सहभागिता ह्वात्तै बढ्दा दुईपांग्रेको सहभागिता ह्वात्तै घटेको छ । यस वर्ष २४ वटा चारपांग्रे र १९ वटा दुईपांग्रेको सहभागिता हुने भएको छ । यो वर्ष चार पांग्रेको सहभागिता गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ । यता, दुईपांग्रेको भने करिब १४ प्रतिशतले खुम्चिएको देखिन्छ । नाडाका अध्यक्ष करण चौधरीले दुई पांग्रे सवारीसाधन चढने युवाहरू विदेश पलायन भएको बताएका छन् । नाडा अटो शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले युवाहरू विदेश पलायन हुँदा दुईपांग्रे सवारीको माग घटेको बताए । यस्तै, उनले नेपालमा बस्ने युवा पनि दुईपांग्रेबाट चारपांग्रेमा अपग्रेट हुँदा दुईपांग्रेको माग घटेको बताए । उनले अटो शोमा चारपांग्रे ब्राण्डको सहभागिता वृद्धि भएको प्रसंगलाई जोड्दै यस्तो बताएका थिए । यी हुन् २०२४ मा सहभागी हुने गाडीका २४ ब्राण्ड आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा हुन गइरहेको नाडा अटो शोमा २४ ब्राण्डका चारपांग्रे सवारीसाधनहरू देख्न पाइने भएको छ । जसमा हुण्डाई, बीवाईडी, टाटा, सुजुकी, महिन्द्र, एमजी, बीएमब्लु, दिपल, ओमोडा, केया लगायत नेपालमा चलेका ठूला ब्राण्ड देख्न पाइने छ । यसैगरी बजारमा रहेका एक दर्जन ब्राण्डहरू पनि नाडा नाडा अटो शोमा सहभागी हुने नाडाले जनाएको छ । यी हुन् २०२४ मा सहभागी हुने मोटरसाइकलका १९ ब्राण्ड उक्त शोमा १९ वटा मोटरसाइकल ब्राण्डको सहभागीता हुने भएको छ । जसमा एथर, रोयल इनफील्ड, ट्राइम्फ, ईवान, बेनेली, जोङसेन, ग्याराे, बजाज, सुजुकी, यामाहा, गोगोरो, बीएमडब्लु, टीभीएस, याडिया, हीरो, सीएफ मोटर, जीहो, अप्रिला, एनआईयू रहेका छन् ।

बिजनेस विस्तारमा आक्रामक बन्यो सिटिजन लाइफ, नाफा घटे पनि हिमालयनलाई टक्कर दिँदै सन नेपाल

काठमाडौं । गत आर्थिक वर्ष २०८०/ ०८१ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा औसत १५.१८ प्रतिशतले बढेको छ । यो अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरूले ५ अर्ब ७३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो आव २०७९/०८० मा यस्तो नाफा ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ थियो । कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । हिमालयन लाइफले ६३ करोेड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा सन् नेपाल लाइफले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आईएमई लाइफले ५१ करोड ४५ लाख, नेपाल लाइफले ५१ करो ४० लाख र मेट लाइफले ५० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । धेरै नाफा वृद्धि गर्ने कम्पनीको पहिलो नम्बरमा सिटिजन लाइफ छ । सिटिजनले अघिल्लो आवको तुलनामा गत आवमा २१६.४७ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवमा ३२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा १० करोड २६ लाख रुपैयाँ थियो । राष्ट्रिय जीवन बीमा कम्पनी, सूर्यज्योति लाइफ र आइएमई लाइफको खुद नाफा क्रमशः १९५.४४, १४६ र १४५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफको खुद नाफा १०४.४१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा सन नेपलाल लाइफ, मेट लाइफ र एआईसी नेपालको भने खुद नाफा  घटेको छ । सन नेपालको नाफा अघिल्लो आवको तुलनामा घटे पनि नाफाको हिसाबमा भने हिमालयनलाई पछ्याइरहेको छ । हिमालयनको नाफा ६३ करोड ३८ लाख हुँदा सन नेपालले ५७ करोड ४९ लाख रुपैयाँ छ । जुन जीवन कम्पनीमा दोस्रो बढी नाफा हो । कुन कम्पनीको नाफा कति ?