निजी विद्यालयलाई माथ खुवाइरहेको विश्व निकेतनको कथा
काठमाडौं । कुनै पनि विद्यालयलाई मुल्यांकन गर्ने प्रमुख आधार उसले दिने नतिजा हो । यस्तै, उत्कृष्ट नतिजा दिएर काठमाडौं उपत्यकामा पृथक किसिमको छवि निर्माण गर्न सफल सामुदायिक विद्यालय हो विश्व निकेतन माध्यामिक विद्यालय । काठमाडौंको त्रिपरेश्वरमा रहेको यो विद्यालयमा भर्ना हुने चाहने विद्यार्थी र भर्ना गराउन चाहने अभिभावको भीड नै लाग्छ । त्यसको एउटै कारण हो यस विद्यालयमा पढेका विद्यार्थी उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन्छन् । पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षा पद्दतिसँग प्रश्न उठिरहेको बेला विश्व निकेतनले भने त्यो प्रश्नको प्रतिकार गरिरहेको छ । विद्यार्थीहरू विश्व निकेतनमा निजी विद्यालय छोडेर आउने गरेका छन् । वि.सं २००३ मा स्थापना भएको यो विद्यालयले ७८ वर्षको अवधिमा हजाराँं विद्यार्थी उत्पादन गरिसकेको छ । जहाँबाट उत्पादन भएका विद्यार्थी अहिले देशको सर्वोच्च पद र ओहोदामा छन् । बाल शिक्षादेखि कक्षा १२ सम्म अध्यापन गराइने यो विद्यालयमा अहिले चार हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । जहाँ १ सय ६० जना शिक्षक तथा कर्मचारी छन् । यो विद्यालयलाई शिक्षा मन्त्रालयले २०७४ सालमा केन्द्रीय नमुना विद्यालय घोषणा गरेको थियो । जसअनुसार विद्यालयले प्राविधिक, भौतिक, शैक्षिक र व्यवस्थापकीय सहयोग पाइरहेको छ । यस्तै, प्रदेश सरकारबाट पूर्णविद्यालय नर्सदेखि विभिन्न सहयोग पाएको छ । स्थानीय सरकारले पनि भवन बनाइदिनेदेखि अन्य भौतिक संरचनाको सहयोग गरिरहेको छ । विश्व निकेतन माद्यामिकका प्रधानाध्यापक हेरम्बराज कँडेल । तस्बिर : साैगात पुडासैनी । काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी ३० रुपैयाँका दरले दिवाखाजा पनि सहयोग गरिरहेको छ । तीनै तहका सरकारको सहयोग, अभिभावकको विश्वासलाई कुठाराघात हुन नदिएर विद्यालयले पठनपाठनलाई न्याय गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । विद्यार्थीको चापले भर्ना लिन सकस विद्यायमा भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्थामा विद्यालय छैन । शैक्षिकसत्र २०८१ मा कक्षा १ देखि ९ सम्म भर्ना खुल्दा ३ हजार ८ सय बढी विद्यार्थीले प्रवेश परिक्षा दिए । तर, विद्यालयले ४ सय ७५ विद्यार्थीलाइ मात्र भर्ना गर्यो । बाँकी विद्यार्थीको भर्ना लिन सकेन । ‘भर्ना हुन आएका विद्यार्थीलाई फर्ता गराउनु हाम्रो मनसाय होइन,’ प्रधानाध्यापक कँडेल भन्छन्, ‘भर्ना हुन आएका सबैलाई पढाउन सम्भव छैन, सिमितलाई भर्ना गर्नु पर्ने बाध्यता छ, त्यसैले पनि भर्ना हुन आएका विद्यार्थीलाई छनोट गरेर राख्छौँ ।’ प्राथना गर्दै विश्व निकेतन माद्यामिक विद्यालयका विद्यार्थी । यस्तै यो वर्ष कक्षा ११ को भर्नाका लागि विद्यालयले लिएको प्रवेश परिक्षामा ४ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिए । तर, विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी कानुन, इलेक्ट्रिक इन्जिनियरमा करिब १ हजार ३ सय विद्यार्थीको भर्ना लिएको उनले जानकारी दिए । नतिजामा पनि उत्कृष्ट यो विद्यालय विद्यार्थी र अभिभावकको रुचिमा पर्नुको कारण नतिजा हो । विद्यालयले १ देखि १२ कक्षासम्म उत्कृष्ट नतिजा दिँदै आएको छ । वि.सं २०८० सालमा दिएको एसईईको परीक्षामा यो विद्यालयबाट २ सय ७२ जना विद्यार्थी सहभागी थिए । जसमा ९२ प्रतिशत विद्यार्थी पास भए । प्राधानाध्यापक कँडेलका अनुसार स्वस्तिक अधिकारी, विभव ढकाल, आकृति महासेठ, अञ्जु भुसाल र एञ्जोन थापामगरले एसईईमा ४ जीपीए ल्याउन सफल भए भने २१ जना विद्यार्थीले ३.९० भन्दा बढी जीपीए प्राप्त गरे । उत्कृष्ट अंक ल्याउने विश्व निकेतन माद्यामिक विद्यालयका विद्यार्थीहरू । ९२ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याए । ८८ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याए भने ५८ जना विद्यार्थीले २.८ देखि ३.२ ल्याएको उनले जानकारी दिए । बाँकी विद्यार्थीले २.४ जीपीए ल्याएको उनको भनाइ छ । केही समयअघि साार्वजनिक भएको कक्षा १२ को परीक्षामा २ जना विद्यार्थी ३.९५ जीपीए ल्याएर सरकारी विद्यालय तर्फ नेपालभर नै सर्वोत्कृष्ट विद्यालयका रुपमा विश्वनिकेत भयो । यस्तै, एक जना विद्यार्थी प्रविना कँडेलले ३.८८ जीपीए ल्याएर कानुनतर्फ सामुदायिक विद्यालय्मा देशभरबाट सर्वोत्कृष्ट भइन् । ११ सय १४ विद्यार्थी सहभागी कक्षा १२ को परीक्षामा ९० प्रतिशत विद्यार्थी उत्तिर्ण भए । जसमा १ सय ७० जना विद्यार्थीले ३.६ जीपीए भन्दा बढी ल्याए भने ४ सय ४४ जना विद्यार्थीले ३.२ देखि ३.६ को बीचमा जीपीए प्राप्त गरे । यो विद्यालयबाट एसईई पास गरेका धेरैजसो विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक कँडेल विद्यार्थी उत्कृष्ट हुँदा आत्मसन्तुष्टि हुने र काम गर्ने जाँगर बढ्ने बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको नतिजाले हामीलाई गम्भीर र जिम्मेवार बनाउँछ ।’ कसरी बनाउने उत्कृष्ट विद्यालय ? प्रधानाध्यापक कँडेल नेपालमा भएका सामुदायिक विद्यालयलाई सबैलाई उत्कृष्ट विद्यालय बनाउन सकिने बताउँछन् । उनकाअनुसार सबैभन्दा पहिले यसका लागि उत्कृष्ट काम गर्ने ईच्छा शक्ति चाहिन्छ । उनी चाहना भयो भने बाहना आफैं हट्ने बताउँछन् । उत्कृष्ट विद्यालयको अवार्ड लिँदै प्राधानाध्यापक कँडेल । उनी भन्छन्, ‘कुनै पनि विद्यालय उत्कृष्ट बनाउन तीन कुरा चाहिन्छ । एउटा, कुशल प्रधानाध्यापक, जसले टीमलाई राम्रो नेतृत्व गर्नुपर्छ । दोस्रो, विद्यार्थीले मिहिनेत गर्नुप¥यो । तेस्रो, अभिभावकले चासो राख्नुप¥यो, यति भयो भने राम्रो विद्यालय बनाउन सकिन्छ ।’ अहिले ७७ वटै जिल्लामा भौतिक संरचना बनेका छन् । सबै सरकारी स्कुलमा चिटिक्क परेका डेस्क बेञ्चसहित भौतिक पूर्वाधार बनेका छन् । अहिलेको नवीनतम् विधि अपनाएर पठनपाठन गर्ने र सरकारले पनि विषयगत र तहगत शिक्षकको व्यवस्था गरिदिनु पर्ने उनको भनाइ छ । प्रधानाध्यापक र शिक्षकले पनि मनतन लगाएर अठोटका साथ काम गर्यो र अभिभाकको मन र विश्वास जित्यो भने एउटा सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकिने उनको तर्क छ । उनका अनुसार अभिभावकले पनि आफ्ना बच्चा विद्यालय आएपछि विद्यालयबारे चासो लिनुपर्छ । ‘आफ्नो बच्चाको पढाइ कस्तो छ ? उसले के–के कुरा सिकिरहेको छ ? के सिक्न बाँकी छ ? भन्ने विषय हेर्नुपर्छ । शिक्षक, अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति सबैले उत्तिकै ध्यान दिनुपर्छ । विद्यालय अभिभावक विद्यार्थी मिलेर काम गर्दा राम्रो बनाउन सकिन्छ,’ उनले भने । उनका अनुसार ७० प्रतिशत विद्यार्थी निजी विद्यालय छोडेर अहिले विश्व निकेतनमा अध्ययन गर्न आइरहेका छन् । भवनकाे अभाव विद्यालयमा बालबालिकादेखि किशोरावस्थाका विद्यार्थी हुन्छन् । यो बेला उनीहरूलाई पढाइसँगै, खेल्ने, उफ्रिने, नाच्ने तथा रमाइलो गर्ने वातावरण चाहिन्छ । विद्यार्थीको आवश्यकताको परिपुर्ति विश्वनिकेतनले गरेको छ । विद्यालयको आफ्नै ठूलो खेलमैदान छ । जहाँ विद्यार्थीलाई विभिन्न किसिमका खेल खेलाइन्छ । कक्षा कोठाको व्यवस्थापनका लागि बिहान र दिउँसो गरी दुई सिफ्टमा पढाइ हुन्छ । कक्षा कोठा, शौचालय, पिउने पानीको सुविधासँगै कक्षा कोठामा पनि प्रोजेक्टरको सुविधा छ । तर, विद्यालयमा अभिभावक र विद्यार्थीले अपेक्षा गरेअनुसार भौतिक संरचना तथा भवनको भने अभावछ । त्यसैले पनि सबैलाई भर्ना गर्न नसक्ने स्थितिमा विश्व निकेतन छ । विद्यालयको अहिले अहिले एउटा भावन निर्माणाधीन छ । यो भवनमा म्युजियम बनाउने विद्यालयको योजना छ । त्यहाँ धिमे बाजादेखि पञ्चेवाजा, नौमति बाजादेखि ढिकीजाँतो लगायतका परम्परा समेट्ने म्युजियम बन्नेछ । विद्यालयमा फिजिक्स ल्याब र कम्प्युटर साइन्स ल्याव पनि छ । शिक्षक कर्मचारीको न्यून दरबन्दी यो विद्यालयका लागि सरकारले ६२ जना शिक्षक कर्मचारीको लागि अनुदान दिएको छ । तर, विद्यालयमा १ सय ६० जना शिक्षक कर्मचारी छन् । ९८ शिक्षक कर्मचारी विद्यालयकै स्रोतबाट राखिएको छ । यसरी नराख्दा विद्यार्थीलाई पढाउने शिक्षकको अभाव हुने विद्यालयको भनाइ छ । विद्यालयले आफ्नै स्रोतबाट राखेका कर्मचारी तथा शिक्षकलाई तलबका लागि अभिभावकबाट आर्थिक सहयोग भनेर शुल्क लिनेको गरेको छ । जस अनुसार कक्षा १,२ र ३ का विद्यार्थीबाट वर्षभर १२ सय रुपैयाँ शुल्क लिइन्छ भने ९ र १० सम्मका विद्यार्थीबाट वर्षभर २ हजार ७ सय २५ रुपैयाँ लिइन्छ । कक्षा ११ र १२ विज्ञान पढ्नेलाई महिनाको दुई हजार, कानुन र व्यवस्थापन पढ्नेबाट मासिक ९ सय, मानविकी र शिक्षा पढ्नेबाट मासिक ७ सय रुपैँया शुल्क लिने गरिएको कँडेलले जानकारी दिए । विश्व निकेतन माद्यामिक विद्यालय । तस्बिर : सौगात पुडासैनी । कुनै शिक्षकले अनिवार्य अवकाश लिएर जानुभयो अथवा राजनीमा दिनभयो भने त्यो ठाउँमा शिक्षक ल्याउन निकै समस्या रहेको अनुभव पनि उनले सुनाए । नेपालको संविधान, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५, निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ ले कक्षा १ देखि १२ सम्म निःशुल्क भनेको छ । कक्षा १ देखि ८ सम्म अनिवार्य निःशुल्क, ९ देखि १२ मा निःशुल्क भनिएको छ । तर, निःशुल्क शिक्षा कुनैपनि सामुदायिक विद्यालयमा छैन । प्रधानाध्यापक कँडेलका अनुसार सरकारले शुल्कका विषयमा आवश्यक होमवर्क नगरेरै निर्णय गरेको हो । नेपालमा हतारमा निर्णय गरेर पछि पछुताउनु पर्ने अवस्था रहेको उनी बताउँछन् । यदि शिक्षा कानुन अनुसार निःशुल्क गर्ने हो भने २० प्रतिशत बजेट शिक्षामा छुट्याइनु पर्ने उनको धारणा छ । ‘बैज्ञानिक किसिमले दरबन्दी मिलान गरेर पुग्दो मात्रामा शिक्षक कर्मचारी विद्यालयमा पठाइदिनुप¥यो, कर्मचारी विनाको विद्यालयमा यो सम्भव छैन,’ उनले भने । ‘शिक्षकले घण्टी लगाउन जाने कि पढाउन जाने, पढाउने कि शौचालय सफा गर्ने अहिले पनि अवस्था यस्तै छ,’ कँडेल भन्छन्, ‘यस्तो हुँदा काम गर्न चूनौती हुन्छ, यस्ता कुराले काम गर्ने जाँगरमा ब्रेक लाग्छ । यो विद्यालयलेले वर्षदिनमा ६ लाख रुपैयाँ बिजुलीको बिल, पानीमा दुई लाख, इन्टरनेटमा डेढलाख तिर्नुपर्छ । तर, सरकारले वर्षभरीमा इन्टरनेटका लागि भन्दै जम्मा १२ हजार दिन्छ ।’ उनी प्रश्न गर्दै भन्छन्, ‘सरकारले विद्यालय सञ्चालन भनेर ३० हजार रुपैयाँ दिन्छ अनि कसरी व्यवस्थापन गर्ने ? निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्दा स्वाभाविक रुपमा स्रोत र साधन जुटाउन आर्थिक स्रोत पनि चाहिने उनी बताउँछन् । यही बाध्यताले विद्यार्थीबाट शुल्क लिनुपरेको उनले बताए । सरकारले सम्बन्धन प्रदान गर्दा पनि ध्यान दिएर नक्साकंन गरी विद्याललाई सञ्चालन अनुमति दिनुपर्ने उनको राय छ । जुन देशले शिक्षालाई प्राथमिकतामा राख्छ, त्यो देशले विकास, प्रविधि, उद्यम सबै क्षेत्रमा फड्को मारेको उनको धारणा छ । ‘शिक्षामा राम्रो गरिरहेका देशहरूले शिक्षामा २५ प्रतिशत बजेट छुट्याएका छन् । तर, नेपालमा मुस्किलले १० प्रतिशत पुग्छ । विकास शिक्षामा भनिएको छ । तर, वास्तविक रुपमा मनैदेखि शिक्षा क्षेत्रमा चिन्ता चासो दिएको पाइँदैन,’ उनले गुनासो गर्दै भने । आईटीमा पनि अगाडि पछिल्लो समय सूचना प्रविधिमा तीव्र विकास भइरहेको छ । विभिन्न संघ संस्था तथा शैक्षिक संस्थाले पनि सूचना प्रविधिलाई आत्मसात गरेर काममा तीव्रता ल्याइरहेका छन् । विश्वनिकेतनले पनि आईटीमा जोड दिइरहेको छ भने अभिाभावकर विद्यार्थीलाई पनि त्यसमा अभ्यस्त बनाउने प्रयास गरिरहेको छ । अहिले विद्यालयले यस्तो मोबाइल एप बनाएको छ जसले विद्यार्थी विद्यालय आए नआएको विषय एपबाटै जानकारी हुन्छ । कुनै विद्यार्थी विद्यालय नआउँदा अभिभावकलाई सन्देश जान्छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह विश्व निकेतन माविका कर्मचारी र विद्यार्थीसँग । अनुपस्थित भएका विद्यार्थीलाई आज के पढाइ भयो ? गृहकार्य के छ ? लगायतको बारे सन्देश सोही एपबाट जान्छ । सो एपले विद्यार्थी अभिभावक र शिक्षकलाई जोड्ने काम गर्छ । यो विद्यालयमा प्राविधिकतर्फ ९ देखि १२ कक्षासम्म पढाइ हुने इलेक्टिकल इन्जिनियरिङ पनि पढाइ हुन्छ । कमजोर विद्यार्थीका लागि बिहान बेलुका उपचारात्मक कक्षा सञ्चालन गरिन्छ । हरेक शिक्षकले हरेक विद्यार्थीमा ध्यान दिएर उसको कमजोरी औल्याइँ सिकाउने गरिन्छ भने कमजोरी हटाउन शिक्षक र अभिभावक मिलेर छलफल गर्ने अभ्यास छ । ‘हाम्रो विद्यालयको नतिजा सदावहार उत्कृष्ट छ । २०५२ सालदेखि ११, १२ मा विज्ञान, २०५३ सालदेखि व्यवस्थापन, २०६३ सालदेखि मानविकी, शिक्षा, २०७६ सालदेखि कानुन विषय अध्ययापन भइरहेको छ, अझैं यलिाई थप सुधार गर्ने पक्षमा छौं,’ प्रधानाध्यापक कँडेलले भने । अंग्रेजी माध्यमबाट पनि पढाइ सरकारी स्कुल भन्ने वित्तिकै नेपाली माध्यमबाट पढाइ हुने स्कुल भनेर चिनिन्छ । धेरैको बुझाय यही हो । तर, समयको मागसँगै आजभोलि सरकारी स्कुलमा पनि अंग्रेजी भाषाबाट पढाइ हुन थालेको छ । अहिले विश्व निकेतनमा पनि अंग्रेजी भाषामा पनि पढाइ हुन्छ । वि.सं २०५८ सालबाट अंग्रेजीबाट पढाउन थालिएको कँडेलले बताए । सुरुमा कक्षा १,२ र ३ लाई एउटा सेक्सन अंग्रेजी र अर्को नेपालीमा पढाउन थालियो । त्यसपछि २०६६ साल बाट कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरियो । अहिले कक्षा १ देखि १२ सम्म विद्यार्थीको निकै भीड छ । शिक्षकको रूपमा प्रवेश गरेका प्रधानाध्यापक अहिले विश्व निकेतनको नेतृत्व गरिरहेका विद्यालयका प्रधानाध्यापक कँडेल २०५१ सालमा विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा प्रवेश गरेका थिए । कक्षा शिक्षकदेखि विभागीय प्रमुखदेखि सहायक प्रधानाध्यापक हुँदै उनी अहिले प्रधानाध्यापक बनेका हुन् । उनले नेतृत्व सम्हालेको ९ वर्ष भयो । योबीचमा विद्यालयका दुई जना विद्यार्थीले सामुदायिक विद्यालयमा नै देशभरमै सर्वोत्कृष्ट अंक ल्याए । २०७३ मा रोजीना अधिकारीले सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट अंक ल्याइन् । विश्व निकेतन २०७४ असार ३० गते नुमना विद्यालयका रुपमा घोषणा भयो । २०७५ सालमा विद्यार्थी भेषराज उपाध्ययले ४ जीपीए ल्याएर देशभरमै सर्वोत्कृष्ट भए । मन्त्रालयले २०७५ मा देशभरकै कुशल प्रधानाध्यापक भनेर सम्मान सहित प्रशंसापत्र समेत प्रदान गर्यो । २०७८ मा विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भए । ‘हामी यसरी गुणस्तरीय शिक्षा दिइरहेका छौं, यो सबै जस जनप्रतिनिधि, विद्यार्थी, शिक्षकमा जान्छ, हामी थप परिस्कृत हुँदै जान्छौं,’ कँडेलले भने ।
लयमा फर्किँदै लघुवित्त, खराब कर्जा घट्दा बैंकरले सन्तोषको श्वास फेर्दै
काठमाडौं । गत वर्ष लघुवित्त वित्तीय संस्थाहरूका लागि सहज थिएन । विभिन्न अराजक समूहहरूले लघुवित्तविरूद्ध आन्दोलन गरेका थिए भने कर्मचारीहरूलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने र कुटपिट गर्ने जस्ता गतिविधि भए । लघुवित्तबाट लिएको ऋण नै तिर्न नपर्ने उनीहरूको भ्रमपूर्ण अभिव्यक्ति पछि लाग्दै धेरैले सावाँ र ब्याज नै तिरेनन् । गत आर्थिक वर्ष २०८०/८१ को सुरुवातमा लघुवित्तविरूद्धको आन्दोलनले प्रभाव पारेको भएपनि अन्त्यतिर भने नियामकले दिएको सुविधाका कारण वित्तीय विवरण सकारात्मक देखिएको छ । राष्ट्र बैंकले सहजीकरण गरेका कारण गत असारसम्म लघुवित्तको खराब कर्जा (एनपीएल) औसत ५.६९ प्रतिशत बिन्दुमा झरेको छ । जबकी अघिल्लो वर्ष लघुवित्त संस्थाहरूको एनपीएल ६.१० प्रतिशत बिन्दुभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको खराब कर्जा ०.४१ प्रतिशत घटेको तथ्याङ्कले देखाउँछ । ५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये २७ वटा लघुवित्त संस्थाको खराब कर्जा घटेको देखिन्छ भने २४ वटा लघुवित्तको बढेको छ । नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष तथा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल प्रतिकूल समयमा पनि लघुवित्त संस्थाहरूको वित्तीय विवरण सकारात्मक आएको र राष्ट्र बैंकले सहजीकरण गरेका कारण खराब कर्जा घट्न पुगेको बताउँछन् । राष्ट्र बैंकले दिएको सुविधा प्रयोग नगर्ने लघुवित्तको खराब कर्जा भने बढेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले बैशाखसम्म कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण व्यवस्था गर्याे, कतिपयले त्यो व्यवस्थालाई शतप्रतिशत प्रयोग गरेका छन्, उनीहरूको खराब कर्जा न्यून बिन्दुमा झरेको छ,’ उनले भने, ‘जसले यो सुविधा प्रयोग गरेनन् वा यो व्यवस्था मात्रै समस्याको समाधान होइन भन्ने हिसाबमा त्यसलाई कम प्राथमिकतामा राखेका छन्, उनीहरूको खराब कर्जा अलिकति बढेको देखिन्छ ।’ २७ लघुवित्तको खराब कर्जा घट्यो गत वर्ष सबैभन्दा धेरै खराब कर्जा आरम्भ चौतारी लघुवित्तले घटएको छ । आरम्भ चौतारी लघुवित्तको खराब कर्जा ७०.९८ प्रतिशत घटेर ३.०७ प्रतिशत बिन्दुमा कायम राख्न सफल भएको छ । यस्तै गुराँस लघुवित्तको ६१.३१ प्रतिशत घटेर २.४६ प्रतिशत बिन्दु, डिप्रोक्स लघुवित्तको ५३ प्रतिशत घटेर २.८९ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको ५२.६३ प्रतिशत घटेर ८.२८ प्रतिशत बिन्दु, जनउत्थान सामुदायिक लघुवित्तको ५१.१७ प्रतिशत घटेर ६.६५ प्रतिशत बिन्दु, विन नेपाल लघुवित्तको ४९.९१ प्रतिशत घटेर २.९७ प्रतिशत बिन्दुमा झारेका छन् । यस्तै धौलागिरी लघुवित्तको ४७.५७ प्रतिशत घटेर ४.६५ प्रतिशत बिन्दु, महिला लघुवित्तको ४६.९२ प्रतिशत घटेर ३.०२ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको ४३.५४ प्रतिशत घटेर ४.४६ प्रतिशत बिन्दु, गणपति लघुवित्तको ४०.९३ प्रतिशत घटेर ४.७९ प्रतिशत बिन्दु, इन्फिनीटी लघुवित्तको ३५.०९ प्रतिशत घटेर ५.२९ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको ३३.४३ प्रतिशत घटेर ६.३५ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ३३.१६ प्रशितत घटेर ६.६५ प्रतिशत बिन्दुमा खराब कर्जा सीमित राखेका छन् । यस्तै श्रृजनशील लघुवित्तको ३१.८९ प्रतिशत घटेर ६.४९ प्रतिशत बिन्दु, मिथिला लघुवित्तको २९.०७ प्रतिशत घटेर ३.३९ प्रतिशत बिन्दु, उन्नति सहकार्य लघुवित्तको २५ प्रतिशत घटेर ३.०३ प्रतिशत बिन्दु, सामुदायिक लघुवित्तको २३.६६ प्रतिशत घटेर ७.१६ प्रतिशत बिन्दु, कालिका लघुवित्तको २१.८५ प्रतिशत घटेर ३.७९ प्रतिशत बिन्दु, महुली लघुवित्तको २०.२४ प्रतिशत घटेर ३.९४ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको १३.३९ प्रतिशत घटेर १२.७४ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका छन् । लक्ष्मी लघुवित्तको ११.१२ प्रतिशत घटेर ७.४३ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १०.९२ प्रतिशत घटेर १.६३ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको ९.८८ प्रतिशत घटेर ६.११ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको ९.३० प्रतिशत घटेर ३.९ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको ८.५४ प्रतिशत घटेर ७.९२ प्रतिशत बिन्दु, नेशनल माइकोफाइनान्स लघुवित्तको ७.९३ प्रतिशत घटेर ३.२५ प्रतिशत बिन्दु र उपकार लघुवित्तको १.८४ प्रतिशत घटेर २.१३ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका हुन् । २४ लघुवित्तको कर्जा बढ्यो अधिकांश लघुवित्तको खराब कर्जा घट्दा समीक्षा अवधिमा २४ वटा लघुवित्तको भने बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै साना किसान लघुवित्तको २५७.३७ प्रतिशत बढेर २.१८ प्रतिशत बिन्दु, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तको २१३.६३ प्रतिशत बढेर २.०७ प्रतिशत बिन्दु, आरएसडीसी लघुवित्तको १३६. प्रतिशत बढेर ३.३१ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको १३२.३७ प्रतिशत बढेर १०.४८ प्रतिशत बिन्दु, स्वस्तिक लघुवित्तको १३१.५१ प्रतिशत बढेर ८.०८ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । जीवन विकास लघुवित्तको ९४.९७ प्रतिशत बढेर ४.६६ प्रतिशत बिन्दु, विजय लघुवित्तको ९०.१७ प्रतिशत बढेर ७.७४ प्रतिशत बिन्दु, छिमेक लघुवित्तको ७४.४१ प्रतिशत बढेर ३ प्रतिशत बिन्दु, आत्मनिर्भर लघुवित्तको ७४.४० प्रतिशत बढेर १३.२२ प्रतिशत बिन्दु, सिवाईसी नेपाल लघुवित्तको ६७.२२ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको ६५.२६ प्रतिशत बढेर ९.८५ प्रतिशत बिन्दु, फरवार्ड लघुवित्तको ५९.८५ प्रतिशत बढेर ६.८१ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको तथ्याङ्क छ । यस्तै एनआईसी एशिया लघुवित्तको ५८.२१ प्रतिशत बढेर ९.९२ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको ५४ प्रतिशत बढेर ३.६५ प्रतिशत बिन्दु, आशा लघुवित्तको ३३.६१ प्रतिशत बढेर ४.८१ प्रतिशत बिन्दु, मेरो माइक्रोफाइनान्स लघुवित्तको ३१.५० प्रतिशत बढेर ७.६८ प्रतिशत बिन्दु, नेरुडे मिर्मिरे लघुवित्तको ३०.६९ प्रतिशत बढेर ६.६ प्रतिशत बिन्दु एनपीएल छ । सम्पदा लघुवित्तको २४.३५ प्रतिशत बढेर ४.८ प्रतिशत बिन्दु, स्वरोजगार लघुवित्तको १७.०५ प्रतिशत बढेर ५.५६ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको १४.०५ प्रतिशत बढेर १२.५८ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको १०.४७ प्रतिशत बढेर ३.२७ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको ७.३९ प्रतिशत बढेर १०.६ प्रतिशत बिन्दु, अभियान लघुवित्तको १.८४ प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु र समाज लघुवित्तको ०.८३ प्रतिशत बढेर ४.८२ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्तका सीईओ राम बहादुर यादब राष्ट्र बैंकले बैशाखसम्म असल वर्गमा रहेका कर्जाको हकमा ५ प्रतिशत ब्याज तिरेर पुनरसंरचना गर्न दिने व्यवस्था गरेका कारण लघुवित्तको खराब कर्जा घटेको बताउँछन् । तर, त्यो सुविधा प्रयोग नगर्ने लघुवित्तको खराब कर्जा बढेको उनले भनाइ छ । ‘नाफा नोक्सानमा लागतको हिसाब हुन्छ, जसको रिकभरी राम्रो भएको छ, बैंकसँगको कस्ट अफ फण्ड कम गर्न सकेको छ, त्यसको नाफा बढेको देखिन्छ,’ उनले भने, ‘जसको लागत उच्च छ, ब्याज आम्दानी भएको छैन, एनपीएल बढेको छ भने नाफा घटेको देखिन्छ, त्यसैले अहिले मिश्रित नतिजा आएको हो ।’ लघुवित्त बैंकर्स संघका महासचिव तथा जीवन विकास लघुवित्तका सीईओ सञ्जय कुमार मण्डल वास्तविक खराब कर्जा भने बढेको बताउँछन् । यदि कर्जा पुनरसंरचना नगरेको भए एनपीएल अझै बढ्ने उनको भनाइ छ । उनका अनुसार अहिले पनि कर्जा असुली खासै उत्साहजनक नरहेको उनले बताए । ‘रिकभरी खासै उत्साहजनक छैन, अहिले नै ढुक्क हुने अवस्था छैन, अझै मेहेनत गर्नुपर्ने छ,’ उनले भने, ‘यदि पुनरसंरचना नगरेको भए धेरै बढ्थ्यो होला । राष्ट्र बैंकको सुविधाले घटेको देखिन्छ ।’
व्यवसाय ३ प्रतिशतले वृद्धि, नाफा ५२ प्रतिशतले वृद्धि
काठमाडौं । व्यापार सामान्य रूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ३ प्रतिशतले बढेको थियो । व्यापार ३ प्रतिशतले बढे पनि नाफा भने ५२ प्रतिशतले बढेको हो । केही निर्जीवन बीमा कम्पनीको नाफा सतप्रतिशतभन्दा धेरैले बढेको छ । एक कम्पनीको नाफा १५२.४५ प्रतिशतसम्म वृद्धि भएको छ । आईजीआई प्रुडेन्सियलको नाफा १५२.४५ प्रतिशतले बढ्दा शिखर इन्स्योरेन्सको नाफा १२७ प्रतिशत, प्रभु इन्स्योरेन्सको नाफा ११८ प्रतिशत र यूनाईटेड अजोड इन्स्योरेन्सको नाफा १०८ प्रतिशतसम्मले वृद्धि भएको छ । अघिकाशं निर्जीवन बीमकको नाफा ५० प्रतिशतभन्दा धेरै छ । १० कम्पनीको नाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । २ कम्पनीको नाफा वृद्धि २० प्रतिशतको हाराहारीमा रहँदा २ कम्पनीको भने नाफा घटेको छ । यसरी निर्जीवन बीमा कम्पनीहरूको नाफा उल्लेख्य रूपमा बढ्नुका अनेक कारणहरू हुने गरेको नेपाल बीमा प्राधिकरणका पूर्वनिर्देशक तथा बीमा विज्ञ दिनेशलाल कर्ण बताउँछन् । बीमा कम्पनीहरूले अन्य क्षेत्रमा गरेको लगानीबाट हुने आम्दानी बढ्नु, कम्पनीहरूले चल/अचल सम्पत्ति बिक्री गर्नुलगायत विभिन्न कारण रहेको उनले बताए । यसका साथै भुक्तानी दिन बाँकी रकमबापत प्रोभिजनमा राख्नुपर्ने रकम त्यसअनुसार नराखेका कारण, व्यवस्थापन लागत घटनुलगायत विभिन्न कारणले नाफा बढ्ने गरेको विज्ञ कर्णले बताए । तर, गत आवमा अघिकाशं कम्पनीहरू अन्य विभिन्न क्षेत्रमा रहेको लगानी बिक्री गरेर नाफा देखाएका केही बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन् । उनीहरूका अनुसार केही कम्पनीले घरजग्गा बिक्री गरेर पनि नाफामा देखाएका छन्, जसले उल्लेख्य रूपमा नाफा वृद्धि देखिएको छ । जसमध्ये केही कम्पनीहरूले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो सेयर बिक्री गरेका छन् भने केहीले घरजग्गा बिक्री गरेका हुन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले कम्पनीहरूले नेपाल पुनर्बीमाको सेयर बेचेका कारण नाफा उल्लेख्य रूपमा वृद्धि भएको बताए । यस्तै, केही कम्पनीहरूले घरजग्गा बिक्री गरेको र कम्पनीहरूको लगानी आम्दानी वृद्धि भएका कारण पनि नाफा उल्लेख्य बढेको उनले बताए । नेपाल बीमक संघका अध्यक्षसमेत रहेका क्षेत्रीकाअनुसार मर्जर भएर आएका बीमा कम्पनीहरूले अघिल्लो वर्ष पूरा १२ महिनाको नाफा नदेखाएका कारण अघिल्लो आवसँग गत आवको तुलना गर्दा गत आवको नाफा धेरै बढेको देखिएको बताए । उनका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय विवरणमा पनि अघिल्लो आर्थिक वर्षको नाफा भनेको ८ महिनाको मात्र हो । र, गत आवको भने पूरा १२ महिनाको हो । ८ महिनाको नाफासँग १२ महिनाको तुलना गर्दा नाफा वृद्धि धेरै देखिएको हो । कुन कम्पनीले के बेचे ? आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो २० लाख कित्ता सेयर बिक्री गरेको हो । आईजीआई प्रुडेन्सियलले उक्त सेयर प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गरेको हो । कम्पनीले उक्त सेयर ५६ करोड रुपैयाँमा बिक्री गरेको हो । यसैगरी हिमालय एभरेष्ट इन्स्योरेन्सले पनि नेपाल पुनर्बीमा कम्पनीमा रहेको २० लाख कित्ता सेयर करिब ५६ करोड रुपैयाँमा बिक्री गरेको थियो । प्रभु इन्स्योरेन्सले १९ लाख ८० हजार र सिद्धार्थ प्रिमियरले पनि २० लाख कित्ता सेयर करिब ५५ र ५६ करोड रुपैयाँमा बिक्री गरेका हुन् । सिद्धार्थ प्रिमियरले नागरिक लगानी कोषमा रहेको २ लाख कित्ता सेयर करिब २५ करोडमा बिक्री गरेको थियो । यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले मल्टिप्रोपोज फाइनान्समा रहेको २ लाख ५१ हजार कित्ता सेयर बिक्री गरेको थियो । यसैगरी नेपाल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीमा रहेको करिब २० लाख कित्ता सेयर ५५ करोड रुपैयाँमा बिक्री गरेको थियो ।