ह्याम्सले किन्यो नागरिक अस्पताल, भक्तपुरको उत्कृष्ट हस्पिटल बन्दै
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा नयाँ लगानीकर्ता भित्रिएका छन् । काठमाडौंमा सुविधा सम्पन्न स्वास्थ्य सुविधा प्रदान गर्दै आएको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी नेतृत्वको समूहले नागरिक अस्पतालको ४३ प्रतिशत सेयर खरिद गरेर सो अस्पताललाई नयाँ व्यावसायिक रणनीतिका साथ अगाडि बढाएको हो । भण्डारीको समूहले सो अस्पतालमा १० करोड रुपैयाँ लगानी गरेर भदौ १ गतेदेखि सेवा दिन सुरु गरिसकेको छ । ७ रोपनी जग्गामा १ लाख ४० हजार स्क्वायर फिटको अन्डरग्राउण्डबाहेक भवनको लागि नक्साको तयारी भइरहेको छ । कार्तिकसम्म भवनको जग खन्न सुरु गर्ने उद्देश्य बनाइएको छ भने आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सो अस्पताल हेलिप्याडसहितको टर्सरी लेभलको बन्नेछ । अस्पतालमा बच्चादेखि वृद्धवृद्धाका लागि सबै किसिमको स्वास्थ्यसेवा प्रदान गरिने बताइएको छ । ‘अहिले काठमाडौंमा जुनस्तरको ह्याम्स अस्पताल छ, जसरी यसले सेवा प्रदान गरिरहेको छ, त्यही स्तरको अस्पताल र सेवा अब भक्तपुरको नागरिक अस्पतालबाट पाइनेछ,’ ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले विकासन्युजसँग भने । यस्ता हुनेछन् सेवा नागरिक अस्पताल ह्याम्स अस्पतालको स्वामित्वमा आएसँगै जिल्लामै पहिलो एमडीजीपी फ्यामली फिजिसियन डाक्टरको २४सै घण्टा सेवा सुरु भइसकेको छ । अहिले इमरजेन्सी विभागमा सेवा सुधारको काम भइरहेको भण्डारीले बताए । असोजको दोस्रो सातासम्म नयाँ बनिरहेको पूर्वाधारमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म फुल टाइमर डाक्टर र पार्ट टाइमर डाक्टर राखेर सेवा दिने तयारी भइरहेको अध्यक्ष भण्डारीले बताए । ‘अब भक्तपुरवासीले छिट्टै सेवा पाउनेछन्,’ भण्डारी भन्छन्, ‘स-सानादेखि गम्भीर खालको उपचार गर्न पनि त्यहाँका नागरिक काठमाडौं अनि लतिलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । हामीले टर्सरी लेभलको अस्पताल त्यहाँका नागरिकलाई लक्षित गरी सुरु गरेका हौं ।’ नागरिक १ सय शैयाको अस्पतालसँगै कलेज अफ हेल्थ साइन्स छ । भवन निर्माणपश्चात बेड शैया पनि बढाउने योजना भण्डारीको छ । राज्य र निजी क्षेत्रको कमजोर उपस्थिति काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये स्वास्थ्य सेवा क्षेत्रमा भक्तपुर जिल्लामा राज्य र निजी क्षेत्रको उपस्थिति कमजोर छ । काठमाडौं र ललितपुरमा निजी अस्पतालसँगै सरकारी राम्रा अस्पताल भएपनि भक्तपुरमा भने राम्रा अस्पताल छैनन् । कोटेश्वरभन्दा उता जाने हो भने राज्यको उपस्थितिसँगै निजी क्षेत्रको उपस्थिति पनि देखिँदैन । ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी । तस्बिर : सौगात पुडासैनी । त्यहाँको आवश्यकता र जनसंख्याको चापलाई मध्यनजर गर्दै ह्याम्सले सेवा सुरु गर्न लागेको जनाएको छ । ह्याम्सको अहिलेसम्मको अनुभव र नागरिक अस्पताललाई क्लिनिकबाट अस्पताल बनाउनुपर्छ भन्ने हिसाबमा आफै सेयरधनी भएकाले पनि यो कामको सुरुवात गरेको अध्यक्ष भण्डारीले बताए । ट्रमालक्षित सेवा हाइवे र धेरै जिल्लाको मुभमेन्ट भक्तपुर पर्ने भएकाले यहाँ दुर्घटनाका घटनाहरू धेरै भइरहेका हुन्छन् । काभ्रे अनि भक्तपुरमा सडक दुर्घटना हुँदा घाइतेहरूलाई काठमाडौंको ट्रमा सेन्टर वा ललितपुरको बि एण्ड सी पुर्यानुपर्ने बाध्यता छ । अब यो अस्पतालले तिनै सम्भावित घटनालाई मध्यनजर गर्दै ट्रमा सेवा दिने योजना बनाएको छ । ‘मान्छेको जीवन पाँच मिनेटले बाँच्ने र मर्नेसँग सवाल राख्छ तर त्यत्रो जनसंख्याकासँगै हाइवे भएको ठाउँमा राम्रो अस्पताल छैन,’ अध्यक्ष भण्डारी भन्छन्, ‘हाइवे हेर्ने हो भने सिन्धुली बर्दिवासको मुभमेन्ट त्यहीबाट छ, अरनिको हाइवे त्यहीबाट छ । जिल्लाको हिसाबले हेर्ने हो भने, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप पर्छन् । एउटा उपत्यकाको हिसाबले भक्तपुरमा उत्कृष्ट सेवा दिने अस्पताल भएन, त्यसैले पनि हामी सेवा दिने तयारी गरेका हौं ।’ जनशक्तिको समस्या छैन ह्याम्सले भक्तपुरमा पूर्वाधार निर्माण सुरु गरेसँगै अस्पताल जनशक्तिको तयारी पनि गरिरहेको छ । जनशक्ति तयार पार्न कुनै समस्या नभएको अस्पतालको दाबी छ । अहिले ह्याम्स अस्पतालमा डाक्टरसहित ८ सय जनाको जनशक्तिले सेवा दिरहेको छ । अब भक्तपुरका लागि पनि यति नै कर्मचारी आवश्यक पर्छ । ‘हामीसँग काम गर्न चाहने धेरै डाक्टर नर्सहरू हुनुहुन्छ, कतिपय हाम्रो सहकर्मीसँग चिनजानको हुनुहुन्छ, कतिपय हाम्रो यताकै साथीले उता हेर्नुहुनेछ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘जनशक्तिका लागि हामीलाई कुनै चिन्ता छैन, अहिले नै हामीले सिनियर डाक्टर लगायतको टोली परिचालन गरिसकेका छौं, असोज दोस्रो सातादेखि थप डाक्टर तथा नर्स पनि तयार पारिसकेका छौं । बाँकी आवश्यकताका आधारमा व्यवस्थापन गरिन्छ ।’ नागरिकको अनुरोध स्वीकार नागरिक अस्पतालको सुरुवात मुनाल क्लिनिकबाट भएको हो । मुनाल सहकारी फण्डको ३० लाख रुपैयाँ र अन्य सेयर सदस्यको ६५ लाख रुपैयाँबाट यो अस्पताल सुरु भएको थियो । त्यो बेला क्लिनिकबाट बिहान बेलुका ओपीडी सेवा मात्र दिइन्थ्यो । क्लिनिकमा बिरामीको चाप बढ्दै गएपछि लगानीकर्ताले अस्पतालको योजना बनाए । क्लिनिकलाई अस्पताल बनाउन १५ शैया अस्पताल दर्ता गरियो । त्यहीबेला भक्तपुरमा रहेको ५१ शैयाको अस्पताल बिक्रीमा रहेको कुरा थाहा भयो । पछि त्यही अस्पताल र मुनाल क्लिनिकका सेयर सदस्य मिलेर नागरिक अस्पतालको निर्माण गरिएको थियो । यसरी सुरु भएको अस्पताल बीचमा राम्रो चल्यो । सेवा पनि राम्रै दियो तर, बिस्तारै लगानी घाटामा जाने अवस्था आयो । अध्यक्ष भण्डारी नागरिक अस्पतालको सुरुवातीदेखिका सेयर सदस्य थिए । नागरिक अस्पताल बोर्डले भण्डारीलाई अनुरोध गरेपछि ह्याम्सले ४३ प्रतिशत सेयर किनेर अस्पतालको जिम्मा लिएको हो । ‘नागरिकका सञ्चालकको अनुरोध र हामीलाई पनि भक्तपुरमा राम्रो आवश्यक्ता भएको हुँदा नागरिक अस्पताल खरिद गरेका हौं,’ उनले भने । व्यक्तिगत नभई ह्याम्सकै अस्तपाल अब यो अस्पताल नागरिक अस्पताल भनेरै चिनिने कि ह्याम्स भनेर भन्ने विकासन्युजको जिज्ञासामा अध्यक्ष भण्डारीले नामको बारेमा अहिल्यै नसोंचेको र पछि सेवा सुरु गरेपछि निर्णय गर्ने बताए । उनका अनुसार अहिलेको प्राथमिकता कसरी गुणस्तरीय सेवा दिने भन्नेमा छ । संरचना निर्माणमा ह्याम्स अस्पतालले ७० प्रतिशत बैंकबाट ऋण लिएर र बाँकी ३० प्रतिशत सेयर होल्डरको रकम गरी कुल २ अर्ब रुपैयाँ खर्च हुने बताएको छ । अध्यक्ष भण्डारीले नागरिक अस्पताल आफूले नकिनी ह्याम्सले किनेको र उसैको नाममा रहेको जानकारी दिए । कोभिडपछि ह्याम्सको फड्को नागरिक अस्पताल भक्तपुर । विशेषगरी कोरोना महामारीपछि नेपालका धेरैजस्तो व्यवसाय धरापमा परे । यसमा अस्पताल व्यवसाय पनि अछुतो रहेन । धेरैजसो निजी अस्पताल अहिले आर्थिक संकट खेपिरहेका छन् । कतिपयले थाहै नदिई अस्पताल बेच्ने तयारी पनि गरिरहेको खबर बाहिर आएका छन् । तर, काठमाडौंको ह्याम्स अस्पतालले भक्तपुरमा समेत सुरुवात गर्न लागेको छ । यो अस्पतालमा २२ जना सेयर होल्डरको लगानी छ । जहाँ सुरुवातीमा ८० प्रतिशत लगानी बैंकको थियो । अध्यक्ष भण्डारी सेवा सँगसँगै अस्पताल व्यवसाय भएको बताउँछन् । ‘जुन बैंकले लगानी गर्याे त्यसलाई यो व्यवसाय हो । यसले यति वर्षभित्र सावाँ ब्याज फिर्ता गर्छ भन्ने नपारिकन बैंकले पैसा दिँदैन,’ उनी भन्छन्, ‘हामी कुनै ठाउँमा सामान किन्न जाँदा पैसा दिएर मात्र उसले सामान दिन्छ तर अस्पताल भनेको पहिले सेवा दिएर त्यसपछि पैसाको कुरा आउँछ, नेचरमा अलि फरक छ तर व्यवसाय व्यवसाय नै हो ।’ २०७३ साउन १ गतेबाट ह्याम्स अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालेका भण्डारीको नागरिकलाई ह्याम्सभन्दा उत्कृष्ट अस्पताल बनाउने योजना छ । कोभिडको समयमा सबैभन्दा पहिले कोभिडको बिरामीको उपचार यो अस्पतालले गरेको थियो । ह्याम्सले महामारीमा सबैभन्दा राम्रो भूमिका निर्वाह गर्दा नै अस्पताल यहाँसम्म पुगेको बताउँदै अध्यक्ष भण्डारी नागरिकको सेवाका लागि भक्तपुर पस्न लागेको बताए । कोरोनापछि अस्पतालले मल्टी डिपार्टमेन्ट सर्भिस दिन थालेको थियो । अहिले अस्पतालले दैनिक ६ सय बिरामीलाई ओपिडीमा सेवा दिइरहेको छ । यसैगरी, महिनामा साढे ३ सयको दरमा अप्रेसन हुँदै आएको छ । लगानी नफस्नेमा ढुक्क ह्याम्स अस्पतालले करिब १० करोडको सेयरखरिद गरेर नागरिक अस्पताल खरिद गर्दा भौतिक संरचनाका लागि मात्र २ अर्ब बढी लाग्ने अनुमान छ । यसरी लगाएको लगानी डुब्ने जोखिम कति देख्निुभएको छ भन्ने प्रश्नमा अध्यक्ष भण्डारी भन्छन्, ‘व्यवसायका रूपमा हेर्दा चिन्ता पनि लाग्छ तर कर्म राम्रो गरेर लगानी गरेको पैसा सही सदुपयोग गर्ने हो भने भोलि के होला कसो होला भन्ने लाग्दैन ।’ उनी लगानी गर्दा दुई–तीन कुरामा ध्यान दिनुपर्ने बताउँछन् । पहिलो, जुन क्षेत्रमा लगानी गर्ने योजना छ त्यो क्षेत्रबारे अनुभव हुनुपर्छ । दोस्रो, परियोजनाको आवश्यकता कति हो भन्ने कुरामा विश्वस्त हुनुपर्याे । तेस्रो, त्यसलाई व्यवस्थापन कसरी गर्ने र त्यसमा कति आफ्नो समय दिन सकिन्छ भन्ने कुरामा भर पर्छ । कुनैपनि लगानीकर्ताले कुनै व्यवसायमा लगानी गर्दा यस्ता कुरामा ध्यान दिँदा यी तीन कुराले सफल र असफल भन्ने हुन्छ । आफ्नो लगानी नडुब्नेमा ढुक्क छन् उनी । किन छिर्दैनन् ठूला लगानीकर्ता ? आरएस भण्डारी सिन्धुपाल्चोकबाट २०५१ सालमा एसएलसी पास गरेर काठमाडौं आए । उनले स्कुल पढेदेखि नै हेल्थ केयरमा काम गर्न सुरु गरे । हरेक हेल्थ केयरहरूसँग उनको पहुँच बढ्दै गयो । उनी आफू आवद्ध र अनुभव भएको क्षेत्रमै लगानी गर्नुपर्ने बताउँछन् । ‘मेरो अनुभव, रुचि, क्षमता सबै यही क्षेत्रमा भयो, त्यसैले यही क्षेत्रमा लागें,’ उनी भन्छन्, ‘योभित्रको चुनौती अन्य व्यवसायको हिसाबमा धेरै हुन्छ ।’ तर, मान्छेलाई नयाँ जीवन दिनुभन्दा अरू कुनै व्यवसाय ठूलो हुन नसक्ने उनी बताउँछन् । यस्तो चुनौतीको सामना गर्दै एउटा अस्पताललाई उत्कृष्ट बनाएर अर्को अस्पताल बनाउने योजनामा रहेका उनी नाफा घाटासँग जुझ्दै अघि बढ्ने बताउँछन् । ‘यो व्यवसाय निकै चूनौतिपूर्ण हो । लगानी, लगानी पछिको नाफाको कुरामा पनि निकै संम्वेदनशील छ । सानो कुराले मान्छेको जीवन सकिन्छ । मानव गल्ती हरेक ठाउँमा हुन्छ तर, स्वास्थ्यमा एउटा डाक्टर वा एउटा नर्सले सानो गल्ती गर्दा मान्छे जीवन सकिन्छ,’ उनले भने । बैंकबाट कर्जाको भारी बोकेर यो व्यवसाय गर्नु भनेको निकै गाह्रो हुने भण्डारी बताउँछन् । त्यसैले पनि नेपालमा ठूल्ठूला लगानीकर्ताहरू स्वास्थ्य क्षेत्रमा लगानी गर्न नसकेको उनको भनाइ छ ।
साउनमा लघुबीमा कम्पनीको व्यापार पौने ९ करोड, जीवनतर्फ गार्डीय र निर्जीवनतर्फ नेपाल माइक्रो अगाडि
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा लघुबीमा कम्पनीहरूले करिब ९ करोड रुपैयाँको व्यापार गरेका छन् । चालु आवको साउन महिनामा ७ लघु बीमकले ८ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये लघु निर्जीवन बीमकले ३ करोड ७० लाख र लघु जीवन बीमकले ५ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्जीवनतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । नेपाल माइक्रोले १ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रोले १ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, जीवनतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । गार्डियनलले १ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा क्रेष्ट माइक्रो लाइफ र निबर्टी माइक्रो लाइफले क्रमशः १ करोड २९ लाख र ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
समृद्ध नेपाल निर्माणको मुल आधार, गुणस्तरीय भौतिक पूर्वाधार
कार्यक्रमले मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको पूर्वाधार क्षेत्रको विकासका विभिन्न आयामहरूमा छलफल गर्न अन्तरसम्बन्धित क्षेत्रका व्यक्तित्वहरू, नीति निर्माताहरू, विज्ञहरू र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउन सफल भएको छ । यो सम्मेलनले एक्काईसौँ शताब्दीको आवश्यकता अनुरूपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न ठोस योगदान गर्नेछ । समस्त नेपाली आकाङ्क्षा “समृद्ध नेपाल र सुखी नेपाली” हो । सरकार यही नेपाली आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ । समृद्ध नेपाल निर्माणको मुल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो । निश्चय नै हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौँ । भूपरिवेष्ठित अवस्थिति र जटिल भू–बनौटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीको रुपमा लिने गरिएको छ । पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न हामीले नीतिगत तथा प्रकृयागत सुधार गर्नु आवश्यक छ । सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरूको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर छ । हामी वर्तमानका चुनौतीहरूको सामना गर्दै भावी सम्भावनालाई उजागर गर्न आफ्ना नीति, योजना एवम् कार्यक्रमहरू तय गर्दै पूर्वाधार विकासको अभियानमा समाहित हुन चाहन्छौँ । यसका लागि निजी क्षेत्रको प्रभावकारी सहयोग, समन्वय, सहकार्य एवम् साझेदारी आवश्यक छ । सरकार आफ्नो सम्पूर्ण सामर्थ्य उपयोग गरेर एक्काईसौँ शताब्दी अनुकुल एवम् नागरिकको चाहना बमोजिम पूर्वाधार विकास एवम् निर्माणमा केन्द्रित हुन चाहन्छ । आर्थिक तथा वित्तीय अनुशासन एवं वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवं उपयोग गर्न चाहन्छ । सरकारको एक्लो प्रयासबाट मात्रै पूर्वाधार विकासको कमी पुरा गर्न सम्भव छैन । यसमा निजी क्षेत्र, बाह्य लगानीकर्ता, अन्तर्राष्ट्रिय समुदाय एवं विकास साझेदार समेतको उत्तिकै भूमिका रहन्छ । यसका लागि सरकरकाले वित्तीय नीति, मौद्रिक नीति एवम् नियामकीय नीतिहरुमा समयानुकुल परिवर्तन एवम् परिमार्जन गर्दै आएको छ र आगामी दिनमा यसलाई अझ अनुकुल बनाउँदै लैजाने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु । सरकारले गुणस्तरीय तथा दिगो भौतिक पूर्वाधार र त्यसका विविध पक्षहरुबीचको अन्तर आवद्धतालाई महत्वपूर्ण रुपमा लिएको छ। सरकारले यातायात, उर्जा, जलस्रोत, सूचना प्रविधि जस्ता प्रमुख पूर्वाधार क्षेत्रलाई केन्द्रित गर्दै बजेट विनियोजन तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ । आर्थिक विकासको आधार निर्माण गरी समृद्धिको गन्तव्य तय गर्नमा समेत पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । पूर्वाधारको संरचना दिगो, गुणस्तरीय, वातावरण एवम् जलवायु संवेदनशील, हरित, उत्थानशील र समावेशी हुन पनि उत्तिकै आवश्यक हुन्छ । यसबाट मात्रै आर्थिक विकासको दरिलो जग बसाउन तथा उत्पादन र उत्पादकत्व बढाई रोजगारी सिर्जना गर्न सफलता मिल्नेछ । एकीकृत एवम् समन्वयात्मक पूर्वाधार विकासका लागि तहगत सरकारबीच आपसी समन्वय, सहकार्य एवम् सहयोगको उत्तिकै भूमिका रहन्छ । यसका लागि विकास नीति, योजना र कार्यक्रमहरुबीच उपयुक्त सामञ्जस्यता कायम गर्न समेत वर्तमान सरकार प्रतिवद्ध र क्रियाशील रहेको छ । सिमित स्रोत साधन र पूर्वाधार विकासका आकांक्षाबीचको सन्तुलन कायम गर्न आन्तरिक स्रोतबाट मात्र सम्भव छैन। पछिल्लो समय आन्तरिक राजस्व परिचालनको अवस्था दबाबमा रहेको र सार्वजनिक ऋणको भार बढ्दै गएको कारणले पूर्वाधार विकासका लागि स्रोतको जोहो गर्नु सरकारका लागि चुनौतीपुर्ण बन्दै गएको छ । यसैले हामीले निजी क्षेत्रको लगानी आकर्षित गर्न सम्मिश्रीत वित्त, सार्वजनिक निजी साझेदारी लगायत अन्य सम्भाव्य विधिहरुको उपयोगका लागि आवश्यक प्रबन्ध गर्न प्राथमिकता दिएका छौँ । वर्तमान सरकारले पूर्वाधार विकासको लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ । पुँजीगत खर्च बढाउनको लागि विभिन्न कानुनी तथा प्रकृयागत सुधारलाई अगाडि बढाउने र वैदेशिक सहायताको रकमलाई समेत भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्ने नीति लिएको छ । विकास सहायतालाई छनौटपूर्ण बनाउँदै यसलाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा केन्द्रित गर्न जोड दिइएको छ । सहायता परिचालनका नवीन उपकरणहरुको प्रयोग र परिचालनमा विशेष ध्यान दिइएको छ । सहायता परिचालनलाई थप प्रतिफलयुक्त बनाउन नयाँ विकास सहायता परिचालन नीति तर्जुमा गर्ने काम समेत भैरहेको छ । पूर्वाधार विकासलाई प्रवर्धन गर्न, निजी लगानीलाई प्रोत्साहित गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भूमिका रहन्छ । मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी प्रवाह विस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकुल नीति अबलम्वन गर्दै आएको छ । ठूला पूर्वाधार परियोजनामा केन्द्रित भई काम गर्न सरकारको अग्रसरतामा पूर्वाधार विकास बैंकको स्थापना गरिएको छ । फलस्वरुप पूर्वाधार आयोजनामा दीर्घकालीत पुँजी परिचालन गर्ने संस्थागत व्यवस्था कार्यान्वयन भएको छ । पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा सरकार दृढ छ । यसका लागि हामीले सार्वजनिक निजी साझेदारीका लागि अनुकुल वातावरण सिर्जना गरेका छौं । पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको वास्तविक अवस्था विम्वित हुने गरी मुलुकको सार्वभौम क्रेडिट रेटिङको काम अगाडि बढाइएको छ । यसको काम सम्पन्न भए पश्चात् लगानीकर्तालाई मुलुकमा लगानी गर्न थप निश्चितताको वातावरण बन्ने र लगानी आप्रवाह विस्तार भई पूर्वाधार लगानी बढाउन थप योगदान पुग्ने अपेक्षा समेत मैले गरेको छु । पूर्वाधार क्षेत्रमा लगानी अभिबृद्धि गर्न सहयोगी हुनेगरी पूँजीगत र वित्तीय व्यस्थामा बजेट विनियोजन गरिएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गरी मौद्रिक नीतिमा गरिएको व्यवस्था तथा बैक तथा वित्तीय क्षेत्रको नियामकीय प्रावधानहरु पूर्वाधार लगानी बनाउँदै लगिएको छ । यसका लागि आवश्यकता र अनुभवहरुका आधारमा थप प्रबन्ध गर्दै जान सरकार प्रतिवद्ध छ । नेपालमा सहज व्यावसायिक वातावरण निर्माण गर्न वर्तमान सरकार प्रतिवद्ध र क्रियाशील रहेको छ। कानुन, कार्यविधि एवं प्रकृया सरलीकरण गर्न, प्रकृयागत ढिला सुस्ती र अनियमिततालाई निरुत्साहित गरी व्यावसायिक लागत कम गर्न एवं पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै आएका छौँ । यसबाट असल व्यावसायिक वातावरण निर्माण भै पूर्वाधार क्षेत्रमा निजी लगानी विस्तार हुने विश्वास लिएको छु । (नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा व्यक्त विचार)