नाइमा एक्स्पोमा एमजीको नयाँ मोडल लञ्च गर्दैछौं

साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा जिओ अटोमोबाइलले आफ्नो सशक्त उपस्थितिको तयारी गरेको छ । कम्पनीले यसपटक नयाँ प्रविधि, उत्पादन र सेवामार्फत एक्स्पोमा आफूलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्ने दाबी गरेको छ । जिओ अटोमोबाइलको नेतृत्व गरिरहेका जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा नेपाली अटोमोबाइल उद्योगका अनुभवी व्यवसायीमध्ये एक हुन् । लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय रहेका गोल्छा सफल व्यवसायीका रूपमा परिचित छन् । यसपटक जियो अटोमोबाइलले एक्स्पोमा गाडीका कुन-कुन मोडल प्रदर्शन गर्दैछ ? ग्राहकहरूले स्टलमा के-के नयाँ अनुभव गर्न पाउनेछन् ? लगायतका विषयमा विकासन्युजका नरेन्द्र विष्टले प्रबन्ध निर्देशक गोल्छासँग कुराकानी गरेका छन् ।  एक्स्पोमा जियो अटोमोबाइलले कुन-कुन नयाँ मोडलका गाडीहरू सार्वजनिक गर्दैछ ? हामीले नाइमा मोबिलिटी एक्स्पोलाई ठूला चाडबाडको रूपमा हेरेका छौं । उसो त यो समय यसै पनि रमाइलो हुन्छ । यसैको अवसरमा उपभोक्ताहरूले नयाँ गाडी किन्ने गरेका छन् । जसमा मध्यम वर्गदेखि हेभिवेट वर्गसम्ममा नयाँ सवारीसाधन किन्ने चासो र इच्छा हुन्छ । यसपटक हामीले विशेष गरी एमजीको नयाँ मोडल माएस्ट्रो सार्वजनिक गर्दैछौं । यसका साथै एमजीमै एउटा नयाँ इलेक्ट्रिक भ्यान पनि ल्याउँदै छौं । त्यसैगरी, लिपमोटरका सी १० र टी ओ थ्री ब्राण्डका मोडलहरू पनि प्रदर्शनीमा रहनेछन् ।  नयाँ गाडीबाहेक नेपालमा यसअघि नै लन्च भइसकेका मोडलहरू पनि एक्स्पोमा देख्न पाइन्छ कि ? हामी गाडी त बेच्नका लागि राख्छौं र राख्नैपर्छ पनि । स्टलमा नयाँ मात्र राखेर त पुग्दैन नि । एमजीको स्टलमा माएस्ट्रोसँगै यसअघि लन्च भइसकेका कोमेट, जेडएस ईभी, एमजी फोर र पेट्रोल गाडी हेक्टरजस्ता सबै मोडलहरू उपलब्ध हुनेछन् । हामीले केही महिनाअघि लन्च गरेका गाडीहरू पनि प्रदर्शनीमा राख्नेछौं ।  एक्स्पोमा के-कस्ता अफर, छुट वा फाइनान्सिङका सुविधाहरू ल्याउने योजना छ ? फाइनान्सिङका सुविधाहरू त बैंकहरूले दिने हो, जुन एउटा स्ट्यान्डर्ड प्रक्रियामा हुन्छ । जहाँसम्म कम्पनीको तर्फबाट दिइने अफरहरूको कुरा छ, त्यो चाहिँ प्रदर्शनीको अन्तिम समयमा मात्र घोषणा गरिन्छ । अहिले नै सबै कुरा तय भइसकेको छैन । स्टलको तयारी कहाँ पुगेको छ, यसपटकको स्टल गत वर्षको भन्दा कत्तिको फरक र आकर्षक हुनेछ ? स्टल निर्माणका लागि भेन्डरहरूसँग सल्लाह गरेर काम अगाडि बढिरहेको छ । हरेक वर्ष केही न केही नयाँ गर्ने प्रयास हुन्छ । यसपटक एमजीका नयाँ मोडलहरू हुने भएकाले डिजाइनमा केही परिवर्तन पक्कै देखिनेछ । तर आधारभूत रूपमा स्टलमा हुने एलईडी स्क्रिन, लाइटिङ र फ्लोरिङ नै हो । मुख्य कुरा गाडीका नयाँ मोडल र डिजाइन नै हुन् ।  अवलोकनकर्ताहरूले यहाँको स्टलमा कस्तो अनुभव गर्न पाउनेछन् ? ग्राहकहरू मुख्यतया नयाँ र लेटेस्ट मोडलका गाडी हेर्न नै आउने हो । एक्स्पोको सबैभन्दा ठूलो फाइदा भनेको गाडी किन्न चाहनेले सबै ब्राण्ड र मोडलहरू एउटै छानामुनि हेर्न पाउँछन् । जसले गर्दा उनीहरूलाई तुलना गर्न र निर्णय लिन सजिलो हुन्छ । नेपालमा ईभीको चर्चा धेरै छ, बजारको अवस्था कस्तो देख्नुहुन्छ ? नेपालको भौगोलिक बनोट हेर्दा आईसीई (डिजेल/पेट्रोलबाट चल्ने गाडी) को आवश्यकता अझै धेरै वर्षसम्म कायम रहनेछ । विद्युतीय सवारीसाधन (ईभी) मुख्यतः सहरी क्षेत्रमा प्रभावकारी भए पनि दुर्गम ठाउँका लागि पूर्ण विकल्प बन्न सकेका छैनन् । उसो त ईभी होस् वा पेट्रोलियम गाडी दुवैका आफ्नै विशेषता छन् । सवारीको छनोट प्रविधिभन्दा पनि आवश्यकता र प्रयोग हुने भूगोलका आधारमा हुनुपर्छ जस्तो मलाई लाग्छ  । तर, अहिले नेपालको अटोमोबाइल बजारमा ७५ प्रतिशत हिस्सा ईभीले नै ओगटिसकेको छ । यो ठूलो परिवर्तन हो ।  यो अवस्थामा यहाँहरूले ईभी र पेट्रोलियम आईसीई गाडीको बजारलाई कसरी सन्तुलनमा राख्नुहुन्छ ? हामी ग्राहकको निर्णयलाई परिवर्तन गर्ने प्रयास गर्दैनौं । हामीसँग ईभी र पेट्रोलियम दुवै विकल्प छन् । कसैलाई पेट्रोल गाडी नै उपयुक्त लाग्छ भने उसले पेट्रोल रोज्छ । जसलाई ईभी चाहिन्छ उसले ईभी रोज्छ । ग्राहकलाई जे मनपर्छ, हामी त्यही उपलब्ध गराउँछौं ।  लन्च हुने गाडीहरू नेपाल आइपुगिसकेका हुन् त ? केही गाडीहरू आइसकेका छन् भने केही बाटोमै छन् । हामीले एक्स्पो सुरु हुनुअघि नै सबै गाडीहरू भित्र्याइसक्नेछौं । नाइमा मोबिलिटी एक्स्पोको भव्य तयारी जुटिसकेको अवस्था छ ।  यसपटक अवलोकनकर्ताको उपस्थिति कस्तो रहने अपेक्षा गर्नुभएको छ ? गत वर्षको तुलनामा यसपटक धेरै भीड हुने हाम्रो अनुमान छ । यसपालि धेरै नयाँ ब्राण्डहरू नेपाल भित्रिएका छन् । एमजीमात्र नभई अन्य ब्राण्डका पनि धेरै नयाँ ४० मोडलहरू लन्च हुँदैछन् । त्यसैले यसपटकको नाइमा एक्सपो विगतको भन्दा अझ भव्य र परिष्कृत हुनेछ । गत वर्ष नाइमामा मोबिलिटी एक्स्पो पहिलो संस्करण थियो । यसकारण यसपटक केही नयाँ र फरक अवश्य हुनेछ । 

बालश्रमविरुद्ध कठोर बन्दै सरकार, १५ वर्षमुनिकालाई काममा लगाउन नपाइने

काठमाडौं । सरकारले बालश्रम उन्मूलन तथा नियमनलाई थप कडा र समयानुकूल बनाउन नयाँ कानून ल्याउने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले २५ वर्ष पुरानो ‘बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ लाई प्रतिस्थापन गर्न ‘बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ संघीय संसदमा पेस गरेका हुन् ।  संविधानको धारा ३९ तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरू अनुसार यो विधेयक तयार पारिएको हो । विधेयकमा १८ वर्ष पूरा नगरेका व्यक्तिलाई बालबालिका मान्दै उनीहरूलाई काममा लगाउने विषयमा स्पष्ट वर्गीकरण गरिएको छ । १५ वर्षमुनिका बालबालिकालाई बालविकास बाहेक अन्य कुनै पनि काममा लगाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।  यद्यपि, १३ देखि १५ वर्षसम्मका बालबालिकालाई अभिभावकको सहमतिमा विद्यालय समयबाहेक दैनिक २ घण्टा र सातामा अधिकतम १२ घण्टासम्म ’हलुका काम’ मा मात्र लगाउन सकिने व्यवस्था छ । कुनै पनि बालबालिकालाई जोखिमपूर्ण काम वा इच्छा विपरीतका काममा लगाउन पाइने छैन ।  बालबालिकालाई काममा लगाउने रोजगारदाताले श्रम कानुनभन्दा कम नहुने गरी समान पारिश्रमिक दिनुपर्ने र सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्द गराउनुपर्नेछ । यसका साथै, काममा लगाउनुअघि तथा वार्षिक रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने र काममा लगाएको ३० दिनभित्र श्रम कार्यालयमा विवरण पेस गर्नुपर्ने दायित्व तोकिएको छ । बालबालिकालाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन काममा लगाउन र लगातार ३ घण्टाभन्दा बढी काम गराउन रोक लगाइएको छ ।  कडा कैद र जरिवाना बालश्रमसम्बन्धी कानून उल्लंघन गर्नेलाई कडा सजायको प्रस्ताव गरिएको छ । १५ वर्षमुनिकालाई काममा लगाए ३ महिनासम्म कैद वा १ लाख रुपैयाँ जरिवाना र जोखिमपूर्ण काममा लगाए १ वर्षसम्म कैद वा २ लाख रुपैयाँ जरिवाना हुनेछ । दोहो¥याएर कसूर गरेमा दोब्बर सजाय र २ भन्दा बढी बालबालिका टोली बनाएर काममा लगाएमा प्रति बालबालिका थप ५० हजार रुपैयाँ जरिवाना लाग्नेछ ।  पीडित बालबालिकालाई रोजगारदाताबाट मनासिब क्षतिपूर्ति भराउने व्यवस्था समेत विधेयकमा छ । विधेयकको अनुसूची-२ मा बालबालिकाका लागि पूर्ण रूपमा प्रतिबन्धित ५० भन्दा बढी जोखिमपूर्ण कामहरू तोकिएका छन् ।  जसमा इँटाभट्टा, खानी, क्रसर, गार्मेन्ट, डान्स बार, मसाज पार्लर, साहसिक पर्यटन, भारी बोक्ने, थ्रेसर चलाउने, ढल सफा गर्ने र घरेलु श्रमजस्ता क्षेत्रहरू सामेल छन् । यो ऐन कार्यान्वयनमा आएपछि दिगो विकास लक्ष्य अनुसार सन् २०२५/२०८२ सम्ममा बालश्रम अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

न्युजफीडमा छाएको त्यो भाइरल वाक्य, जसले खडा गर्‍यो पर्यटन क्षेत्रको ‘लेडी बोस’

काठमाडौं । ‘पर्यटनलाई नेपालको पहिलो राष्ट्रिय उद्योग बनाउनुपर्छ ।’ आजभोलि सामाजिक सञ्जालको न्युजफीडमा तारन्तार ठोकिने यो एक वाक्यले धेरैको ध्यान खिचेको छ । सञ्चारकर्मी, कलाकार, व्यवसायीदेखि शिक्षाविद्सम्मले उत्साहका साथ साभार गरिरहेको यो विचारका पछाडि एउटा नाम जोडिएको छ– युविका भण्डारी ।  नेपालमा ठूला-ठूला कलकारखाना र उद्योगहरू फस्टाउन नसकिरहेको वर्तमान अवस्थामा पर्यटनलाई नै मुलुकको मुख्य आर्थिक आधार बनाउनुपर्छ भन्ने यो जोडदार अभियानका पछाडि युविकाको लामो अनुभव, पारिवारिक पृष्ठभूमि र स्पष्ट खाका छ । उनी यतिबेला नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्व सम्हाल्ने अठोटका साथ अध्यक्ष पदको चुनावी दौडमा छिन् ।  युविकाको पर्यटन क्षेत्रसँगको नाता हिजोअस्तिको होइन । उनी पर्यटनमै रमेको र पसिना बगाएको परिवारमा हुर्किइन् । बुबा नाट्टाका पूर्वउपाध्यक्ष थिए । स–साना आँखाले बुबाले ट्राभल एन्ड टुर क्षेत्रमा गरेको संघर्ष तथा योगदानलाई नजिकबाट नियालेकी युविकाले अन्ततः बुबाकै पदचाप पछ्याइन् ।  ‘कुनै समय बाबा नाटाको उपाध्यक्षसम्म हुनुभएकाले त्यहीँ पदचाप पछ्याउँदै मैले बिर्सिनँ,’ विगत सम्झिँदै युविका भन्छिन्, ‘बुझ्न थालेदेखि नै पर्यटन क्षेत्रलाई राज्यले हेपेजस्तो महसुस भएकाले पर्यटनबाट टाढा हुन नसकेको स्वीकार गर्छु ।’ बुबाले भोगेको संघर्ष र अग्रजहरूको प्रेरणाले उनलाई पर्यटन क्षेत्रमा जम्न सहज बनायो । दुई दशकभन्दा बढी समय नाट्टाको विभिन्न जिम्मेवारीमा बिताइसकेकी उनी शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक हुन् । सन् २०११ देखि सञ्चालित उनको कम्पनीले मुख्यगरी जर्मनी, बेल्जियम र फ्रान्सजस्ता युरोपेली मुलुकबाट गुणस्तरीय पर्यटक भित्र्याउँदै आएको छ । गोल्ड मेडलदेखि वास्तुकलासम्मको बौद्धिकता युविका केवल अनुभवले मात्र परिपक्व छैनन्, उनको शैक्षिक जग पनि उत्तिकै मजबुत छ । वास्तुकलामा स्नातक र पोखरा विश्वविद्यालयको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीए गरेकी उनले उत्कृष्ट नतिजा ल्याउँदै नेपाल विद्याभूषण ‘क’ र विश्वविद्यालय स्वर्ण पदक प्राप्त गरेकी छन् ।  सेन्ट मेरिजबाट कक्षा १० सम्मको अध्ययन गरेकी युविका उच्च शिक्षाका लागि भारतको बैंलोर पुगिन् । त्यहाँबाट प्लस टु र स्नातक तह पूरा गरेर नेपाल फर्किएपछि उनी व्यवसाय र सामाजिक सेवामा सक्रिय भइन् । आफ्नो वास्तुकला र व्यवस्थापकीय ज्ञानलाई उनी पर्यटकीय पूर्वाधार विकासमा उपयोग गर्न चाहन्छिन् ।  संकटकी सारथी नाट्टामा रहँदा उनले संस्थागत हितका लागि धेरै कामहरू गरिन् । कोभिड–१९ को कठिन समयमा जब मानिसहरू घरभित्र थुनिएका थिए, नाट्टाले ठूलो तहमा सहयोग पु¥याएको थियो ।  आफ्नो संस्थागत अनुभवबारे सुनाउँदै ४४ वर्षीया युविका भन्छिन्, ‘युएनडीपीसँग मिलेर काम गर्न पायौं । कोभिडको बेलामा कोठा–कोठामा थुनिएका बेलामा नाट्टाले ठूलो सहयोग गरेको थियो । काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको प्रचारप्रसार गरेका थियौं । जुनबेला सबैजना सुस्त भएको अवस्थामा नाट्टाले त्यसलाई चलायमान बनाउन प्रयास गरेको थियो, त्यसमा म आफैं सरिक थिएँ ।’ उनका अनुसार नाट्टाले स्वयंसेवकहरूलाई निश्चित ‘इन्सेन्टिभ’ दिने व्यवस्था गर्नुका साथै जिर्ण र ओझेलमा परेका मठमन्दिरको प्रवद्र्धन र साइकल टुरको माध्यमबाट पर्यटन बढाउने प्रयास गरेको थियो । यस्तै, सातै प्रदेशमा पुगेर अनलाइन टिकट बुकिङ र हस्पिटालिटी सम्बन्धी १ हजारभन्दा बढी युवालाई निःशुल्क तालिम दिइएको थियो ।  नेपालको पर्यटन क्षेत्रलाई सरकारले सधैँ नीतिगत हिसाबले पछाडि राखेकोमा उनको ठूलो दुःखेसो छ । राज्यले होटल, क्यासिनो र माउन्टेनरिङलाई मात्र पर्यटन मानेर ट्राभल र ट्रेकिङ क्षेत्रलाई ओझेलमा पारेको उनी बताउँछिन् ।  राज्यको विभेदकारी नीतिको विरोध गर्दै भण्डारी भावुक मुद्रामा भन्छिन्, ‘राज्यले ट्राभल एजेन्सी, ¥याफ्टिङ र ट्रेकिङ जस्ता पर्यटन उद्योगलाई चिनेको छैन । यसलाई चिनाउनका लागि हामी व्यवसायी आफैँ संघर्ष गरिरहेका छौ ।’  नाट्टाको अध्यक्ष बनेपछि आफूले अघि बढाउने योजनाबारे स्पष्ट पार्दै उनी थप्छिन्, ‘एयर टिकेटमा लगाएको भ्याटको फिर्ता र पर्यटकको डाटा सुरक्षितसँग राख्ने तथा विभिन्न मुलुकमा पुगेर नेपालको पर्यटन क्षेत्रको प्रचार स्थानीय भाषामा प्रचार गर्ने प्राविधिक टोली बनाउनेछु ।’ नेपालमा दुरगामी प्रभाव पार्ने खालको उद्योग कुनै छैन । यदि प्रत्यक्ष रुपमा प्रभाव पार्ने खालको उद्योग छ भने पर्यटन उद्योग मात्र भएको उनको दाबी छ ।  स्मार्ट शौचालय, डेटाबेस र हाई-भ्यालु पर्यटक पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव र तथ्याङ्कको कमजोरीलाई युविकाले मुख्य समस्याका रूपमा औँल्याएकी छन् । सरकारले पर्यटकको सही डाटा राख्न नसकेको उनको दाबी छ । ‘स्थल मार्गमा पर्यटकको आवागमन हुने ठाउँमा सुविधायुक्त स्मार्ट शौचालय छैनन् । पर्यटकको चहलपहल हुने ठाउँमा शौचालयजस्ता अत्यावश्यक संरचना निर्माण गरिनुपर्छ,’ तथ्याङ्कको महत्त्व दर्शाउँदै उनी भन्छिन्, ‘सरकार एनआरएन नेपाली कति आए, विदेशी पर्यटक कति आए र को चाहि पर्यटक हो त्यसको वास्तविक तथ्यांक राख्न सफल भएको छैन । अहिलेको समय भनेको डाटाबेसको रहेकाले डिजिटलाइज र डाटाबाट टाढा जान सकिँदैन ।’  यसैगरी, पर्यटक बोक्ने सवारी साधनका लागि उचित बसपार्क र पार्किङको सुविधा हुनुपर्ने उनको जोड छ । ‘सडकमा निस्कदा पर्यटक बोक्ने सवारीसाधनले आफूलाई सम्मानित तथा सुरक्षित भएको महसुस गरुन,’ उनी थप्छिन् ।  ‘अहिले मेरो लागि उचित समय हो’  सधैँभरि एकै ठाउँमा बस्न नहुने र नयाँ अनुभवका लागि प्रतिस्पर्धामा जानुपर्ने युविकाको मान्यता छ । अग्रजहरूको सम्मान र सल्लाह लिएर आफू चुनावी मैदानमा होमिएको उनी बताउँछिन् ।  नाट्टाको नेतृत्व लिने आफ्नो उद्देश्यबारे उनी भन्छिन्, ‘पर्यटकीय क्षेत्रमा देखिएको कालो बादललाई थोरै भए पनि हटाउन सक्छु जस्तो लाग्छ । केही सकिन भने देखिएका समस्या उजागर गर्न सक्छु । ठूलो योगदान दिन नसके पनि केही न केही काम भएका छन् । नेपालका पर्यटन उद्योगमा देखिएका समस्या र अवसरका बारेमा बुझ्ने अवसर धेरै पाएको छु ।’  आफ्नो उम्मेदवारी कुनै पदको लोभ नभई निरन्तर योगदानको यात्रा भएको बताउँदै युविका भन्छिन्, ‘अहिलेको उम्मेदवारी घोषणा पनि यहीँ योगदान र अनुभवको उपज रहेको मान्छु । म यात्रामा छु, सिक्ने क्रममा छु, त्यसैले पनि आफूले सुरुवात गरेका कुरालाई निरन्तरता दिनलाई यो अभियानमा छु ।’  सबल बौद्धिक जग, दुई दशकको व्यावसायिक अनुभव र रूपान्तरणको स्पष्ट सोच बोकेकी युविका भण्डारीको यो उम्मेदवारीले नाट्टा निर्वाचन र समग्र नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह भरेको छ ।