मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै
काठमाडौं । अर्बपति एलन मस्कले जनवरीको अन्त्यतिर लगानीकर्ताहरूलाई भनेका थिए कि टेस्लाले टेक्सासको अस्टिनमा ‘पैसा कमाउने स्वचालित राइड-हेलिङ सेवा’ जुनसम्म सुरु गर्नेछ- यस्तो राज्य जहाँ कम्पनीलाई झण्डै कुनै नियमनको सामना गर्नुपर्दैन । यसले प्रश्न उठाउँछ कि टेस्लाले सार्वजनिक सडकमा अप्रमाणित ’चालकविहीन प्रविधि’ प्रयोग गर्दा कति जोखिम उठाउने तयारी गरिरहेको छ । टेस्लाले लामो समयदेखि आफ्ना ‘अटोपाइलट’ र ‘फुल सेल्फ–ड्राइभिङ’ (एफसीडी) प्रणालीमा भएका दुर्घटनाहरूको दोष ग्राहकहरूलाई लगाउँदै आएको छ । कम्पनीले सधैं चालकहरूलाई ध्यानपूर्वक ड्राइभिङ गर्न तयार रहन सुझाव दिएको बताउने गरेको छ । तर अब मस्कले वास्तविक चालकविहीन ट्याक्सीहरू तैनाथ गर्ने वाचा गरेका छन्, जुन कानुनी विज्ञहरूका अनुसार दुर्घटनाको सम्पूर्ण जिम्मेवारी टेस्लामाथि आउनेछ । मस्कको दशक लामो वाचा, अझै पूरा हुन बाँकी मस्कले करिब एक दशकदेखि पूर्णतः स्वचालित टेस्ला गाडी ल्याउने वाचा गर्दै आएका छन्, तर अझैसम्म पूरा गर्न सकेका छैनन् । पछिल्लो समयमा यी प्रतिज्ञाहरू अझ बढी केन्द्रमा आउन थालेका छन् किनभने टेस्लाले आफ्नो ध्यान स्वचालित सवारीहरूमा केन्द्रित गरिरहेको छ र जनताका लागि विद्युतीय गाडी (ईभी) उत्पादनलाई पछाडि सार्दैछ । तर मस्कका अस्पष्ट टिप्पणीहरूले अझै लगानीकर्ताहरूलाई अन्योलमा राख्दै आएको छ- कहिले, कति ठुलो मात्रामा र कस्तो व्यापार मोडेलअन्तर्गत टेस्लाले पूर्ण स्वचालित प्रविधि सार्वजनिक गर्नेछ भनेर । यद्यपि टेस्ला र मस्क दुवैले यसबारे प्रतिक्रिया दिएका छैनन् । टेक्सासमा रोबोट्याक्सी सञ्चालन गर्न कुनै कानूनी बाधा छैन टेक्सास राज्यको कानुनले टेस्लालाई रोबोट्याक्सी सेवा सुरू गर्न कुनै रोक लगाउँदैन । टेक्सासमा सरकारको नियमन गर्ने नीति अत्यन्तै नरम छ । राज्यको कानुनअनुसार चालकविहीन सवारीसाधनहरू सार्वजनिक सडकमा दर्ता र बीमासहित निस्फिक्री सञ्चालन गर्न पाउँछन् । कुनै राज्य निकायले चालकविहीन ट्याक्सी सेवाको अनुमतिपत्र जारी गर्ने वा निगरानी गर्ने अधिकार राख्दैन । साथै स्थानीय सहरहरू वा काउन्टीहरूलाई यसबारे आफ्नै नियमन बनाउने अनुमति छैन । टेक्सास राज्यका सिनेटर केली ह्यानककले भने, ‘संघीय सरकारले धेरै नियम ल्याएमा उद्योग नै समाप्त हुन्छ । त्यसैले हामीले टेक्सासमा प्रतिस्पर्धात्मक बजारलाई प्रवद्र्धन गर्नुपर्छ ।’ टेक्सासको सहज नीति र अन्य राज्यहरूको कडाइ मस्कले २०२१ मा टेस्लाको मुख्यालय क्यालिफोर्नियाबाट टेक्सासको अस्टिनमा सारेका थिए । क्यालिफोर्नियामा चालकविहीन गाडी सञ्चालन गर्न कडा नियमहरू छन् । अहिलेसम्म जनरल मोटर्सको क्रुज र अल्फाबेटको वेमोमात्र पूर्ण चालकविहीन ट्याक्सी सेवा सञ्चालन गर्न अनुमति पाएका कम्पनीहरू हुन् । यी कम्पनीहरूले लाखौं माइल परीक्षण पूरा गरेपछि मात्र नियामक निकायहरूले अनुमति दिएका थिए । (हाल क्रुजले आफ्नो रोबोट्याक्सी सेवा बन्द गरिसकेको छ)। जनवरी २९ को बैठकमा मस्कले ‘यसै वर्ष, क्यालिफोर्नियामा टेस्लाले ‘अनसुपरभाइज्ड’ (निगरानीविहीन) फुल सेल्फ-ड्राइभिङ (एफसीडी) संस्करण जारी गर्ने’ बताएका थिए । तर क्यालिफोर्नियाका नियामक निकायहरूका अनुसार टेस्लाले आवश्यक अनुमतिपत्रका लागि आवेदन दिएको छैन । क्यालिफोर्नियाले चालकविहीन गाडी अनुमोदनका लागि परीक्षणको न्यूनतम स्तर तोकेको छैन तर क्रुज र वेमोजस्ता कम्पनीहरूले लाखौं माइल परीक्षण गरेका थिए । यसको तुलनामा टेस्लाले २०१६ देखि अहिलेसम्म जम्मा ५६२ माइल मात्र परीक्षण गरेको छ । मस्कको चुनौती टेस्लाले कम्पनीले अपेक्षाभन्दा कम आम्दानी रिपोर्ट गरेको बखत रोबोट्याक्सी सेवा सुरु गर्ने घोषणा भएको हो । मस्कले भनेका थिए, ‘हामी अस्टिनमा जुन महिनादेखि पैसा कमाउने स्वचालित राइड–हेलिङ सेवा सुरु गर्नेछौं ।’ तर उनले कति गाडी सञ्चालन हुनेछन्, ग्राहकहरूले सेवा कसरी पाउनेछन् वा यो सबैका लागि उपलब्ध हुनेछ कि हुने छैन भन्ने खुलाएका छैनन् । टेस्लाका लगानीकर्ता तथा ज्याक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका पोर्टफोलियो व्यवस्थापक ब्रायन मुलबेरी भन्छन्, ‘यो नै एलन मस्कको चुनौती हो । तपाईंले उनको कथनबाट अर्थ निकाल्नुपर्ने हुन्छ । के वास्तवमै हुनेछ र कहिले हुनेछ भन्ने अझै स्पष्ट छैन ।’ कानुनीविज्ञ ब्रायन्ट वाकर स्मिथका अनुसार टेक्सासले टेस्लालाई कुनै ‘पूर्व-अनुमोदन’ आवश्यकता राखेको छैन । तर उनले भने कि टेस्लाले कुनै ठूलो स्तरमा चालकविहीन गाडी तैनाथ नगर्ने सम्भावना छ । ‘टेस्लाले कुनै स्विच थिचेर रातारात सबै गाडीलाई चालकविहीन बनाउन सक्दैन,’ स्मिथले भने । सम्भवतः अस्टिनका सीमित क्षेत्रहरूमा, राम्रो मौसममा वा टाढाबाट मानिसहरूले नियन्त्रण गर्न सक्ने गरी सानो परीक्षण गरिन सक्छ । ‘हामीसँग कुनै शक्ति छैन’ टेक्सासको यातायात विभागका प्रवक्ताका अनुसार, ‘चालकविहीन सवारीसाधनहरू तबसम्म सञ्चालन गर्न पाइन्छ, जबसम्म तिनीहरू सुरक्षा र बीमाका आवश्यकताहरू पूरा गर्छन् ।’ तर अस्टिनमा पछिल्लो दुई वर्षमा चालकविहीन गाडीहरूको वृद्धि देखिएको छ, जसले नागरिकहरूमा चिन्ता बढाएको छ । २०२३ मा क्रूजका २० भन्दा बढी चालकविहीन गाडीहरूले टेक्सास विश्वविद्यालयको नजिकै ट्राफिक जाम निम्त्याएका थिए । सहरका यातायात विभागले २०२३ को जुलाईदेखि अहिलेसम्म ७८ वटा औपचारिक उजुरीहरू दर्ता गरेको छ, जसमा प्रहरी, आपतकालीन सेवाहरू र सर्वसाधारणका गुनासाहरू छन् । डिसेम्बरमा प्राप्त एउटा उजुरीमा वेमो गाडीले ३० मिनेटसम्म ट्राफिक अवरुद्ध गरेको उल्लेख गरिएको थियो, जसले ‘कम्तीमा तीन पटक धेरै नजिकबाट ठक्कर हुने अवस्था सिर्जना गर्यो ।’ अस्टिनका नगर परिषद सदस्य जो काद्री भन्छन्- ‘निजी कम्पनीहरूले सार्वजनिक सडकलाई परीक्षणस्थलको रूपमा प्रयोग गरिरहेका छन्, तर हामीसँग तिनलाई नियन्त्रण गर्ने कुनै शक्ति छैन ।’ सान्दर्भिक सामग्री : चीनमा टेस्ला कारको बिक्री ११.५ प्रतिशतले घट्यो, घरेलु प्रतिस्पर्धा बढ्दै मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो चीनमा टेस्लाको उच्च रेकर्ड, २०२४ मा बिक्री गर्यो ६ लाख ५७ हजारभन्दा बढी गाडी नयाँ साझेदार खोज्दै ‘निसान’, ताइवानको ‘फक्सकन’ सँग सहकार्य गर्न इच्छुक विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने
बैंकका सीईओभन्दा दोब्बर तलब, म्यानुफ्याक्चर कम्पनीका सीईओ कसले कति तलब खान्छन् ?
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले अत्यधिक तलब खान्छन् भन्ने विषय अहिले वित्तीय क्षेत्रमा सामान्य भइसकेको छ । कुनैबेला बैंकका सीईओहरूको तलब सुन्ने बित्तिकै धेरैले आलोचना पनि गर्ने गरेका थिए । वार्षिक दुई/तीन करोड रुपैयाँ तलब खाने सीईओहरूले काम चाहिं के गर्छन् भनेर बहस हुने गर्छ । अहिले पनि बेलाबखत सीईओको तलबको विषयमा बहस हुन्छ । तलबको विषयमा बहस गर्ने समाजले बढी तलब बुझ्ने व्यक्तिहरूको कार्यक्षमता, योग्यता, अनुभव, उनीहरूले कम्पनीको आर्थिक सुधारमा खेलेको भूमिका, कम्पनीको ब्राण्डिङ अर्थात् छवि सुधारमा गरेको प्रयास र टिम परिचालन तथा व्यवसाय विस्तारमा गरेको योगदानको चर्चा भने बिरलै हुन्छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलबको विषयमा सधैंजसो चर्चा हुने गरेपनि यस सामग्रीमा भने हामीले नेपाल स्टक एक्सचेजमा सूचीकृत उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), महाप्रबन्धक तथा कार्यकारी निर्देशकहरूले कति तलब खान्छन् भन्ने विषयको चर्चा गरेका छौं । बोटलर्स नेपालका एमडीको तलब ८ करोड बढी बोटलर्स नेपालले प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ गुणलनलाई आर्थिक वर्ष २०८०/८१ मा ८ करोड ८ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक, भत्ता र सुविधा प्रदान गरेको छ । कम्पनीले पारिश्रमिकवापत २ करोड ७५ लाख १४ हजार रुपैयाँ, भत्तावापत ४ करोड ६९ लाख २ हजार रुपैयाँ र सुविधावापत ६४ लाख ३७ हजार रुपैयाँ प्रदान गरेको हो । साथै कम्पनीले प्रमुख प्रबन्धकहरूलाई १७ करोड ३२ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा पारिश्रमिकवापत ५ करोड ८५ लाख २५ हजार रुपैयाँ, भत्तावापत १० करोड ८१ लाख २० हजार रुपैयाँ र सुविधावापत ६५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको हो । यस कम्पनीले आव २०८०/८१ मा सञ्चालकहरूलाई ९ लाख ६० हजार रुपैयाँ भत्तावापत भुक्तानी गरेको छ । आव २०७९/८० मा भने ७ लाख ६५ हजार रुपैयाँ बैठक भत्ता भुक्तानी गरेको थियो । यूनिलिभरका एमडीको तलब पौने ६ करोड पुँजी बजारको हटकेक सेयर हो यूनिलिभर नेपाल । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५६ हजार ८०५ रुपैयाँसम्म पुगेको थियो । कम्पनीको सेयर मूल्य उच्च हुनुको कारण प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्नु हो । कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्दै आएको छ । सेयरधनीलाई मख्ख बनाउँदै आएको यस कम्पनीले आफ्ना सञ्चालक तथा कर्मचारीलाई पनि मख्ख बनाएको देखिन्छ । किनभने कम्पनीले गत आव २०८०/८१ मा आफ्ना कर्मचारी र सञ्चालकहरूलाई लाखौं रुपैयाँ तलबभत्तामा भुक्तानी गरेको देखिन्छ । गत वर्ष कम्पनीले सञ्चालकहरूलाई २ लाख ९७ हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, प्रमु कार्यकारी अभिकृत तथा प्रबन्ध सञ्चालक (एमडी)लाई ५ करोड ८६ लाख ९३ हजार रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको कम्पनीले जनाएको छ । यस कम्पनीको एमडी अम्लान मुखर्जी हुन् । अघिल्लो वर्ष कम्पनीले सञ्चालकलाई ३ लाख २४ हजार रुपैयाँ र प्रबन्ध सञ्चालकलाई ४ करोड ८१ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो । साथै, कम्पनीले अन्य पदाधिकारी तथा कर्मचारीलाई गत वर्ष २६ करोड ६२ लाख ९६ हजार रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । कम्पनीका अनुसार २२२ जना अन्य पदाधिकारी तथा कर्मचारी रहेका छन् । चालक सहितको साधन, इन्धन तथा ईन्जिन मर्मत खर्चहरु प्रबन्ध सञ्चालक, आपूर्ति प्रमुख, वित्तीय प्रमुख र बिक्री प्रमुखलाई दिएको कम्पनीको भनाइ छ । नेपाल ल्यूव आयलका महाप्रबन्धकको तलब ६६ लाख नेपाल ल्यूव आयलले आव २०८०/८१ मा अध्यक्ष एवं प्रवन्ध सञ्चालक, सञ्चालक एवं पदाधिकारी र वरिष्ठ कर्मचारी (उप-प्रबन्धक सम्मको) लाई २ करोड ९४ लाख ८४ हजार ६३४ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले सञ्चालकहरूलाई २३ लाख ७६ हजार ५२९ रुपैयाँ, महाप्रबन्धकलाई ६६ लाख २७ हजार १६० रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई २ करोड १८ लाख ५७ हजार ४७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराई हुन् । तर, सो कम्पनीको कार्यकारी निर्देशकको काम भने करन चौधरीले गर्दै आएका छन् । आव २०७९/८० मा कम्पनीले सञ्चालकहरूलाई २० लाख ९४ हजार १७६ रुपैयाँ, महाप्रबन्धकलाई ५२ लाख ६० हजार ८२३ रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई १ करोड ७७ लाख ८८ हजार ७०५ रुपैयाँ भुक्तानी गरेको थियो । हिमालयन डिस्टिलरी हिमालयन डिस्टिलरीले गत वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ७२ लाख २५ हजार ७९९ रुपैयाँ पारिश्रमिक, भत्ता, तथा सुविधा बापत भुक्तानी गरेको छ । यस कम्पनीको सीईओको रूपमा निरज सुवेदीले काम गर्दै आएका छन् । कम्पनीले अन्य पदाधिकारी (प्रबन्धक तहदेखि माथि)का कर्मचारीलाई ३ करोड ३२ लाख ५५ हजार ९२७ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले अध्यक्ष र सञ्चालक समिति सदस्यलाई १५ लाख १५ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । शिवम् सिमेन्ट शिवम् सिमेन्टले आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई ६९ लाख ७ हजार ७९६ रुपैयाँ तलब, भत्ता तथा सुविधा र ९ लाख २२ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । यस कम्पनीको कार्यकारी निर्देशक लिउ शुगजान हुन् । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रबन्ध सञ्चालकलाई ७५ लाख ३६ हजार ७६० रुपैयाँ तलब, भत्ता तथा सुविधा र ११ लाख ६ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । साथै सो वर्ष कम्पनीले व्यवस्थापन समूहलाई ४ करोड ६४ लाख ९३ हजार ५८५ रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको थियो । घोराही सिमेन्ट घोराही सिमेन्टले आर्थिक वर्ष २०८०/८१ मा व्यवस्थापन प्रमुख देवेन्द्र सिन्हालाई ५१ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । यस्तै, वित्त तथा लेखा प्रमुख शंकर लाल अगिवाललाई ६२ लाख ८४ हजार ५० रुपैयाँ भुक्तानी गरेको छ । आव २०७९/८० मा कम्पनीले सिन्हालाई ५१ लाख रुपैयाँ र अगिवाललाई ६२ लाख ६२ हजार ४५४ रुपैयाँ भुक्तानी गरेको थियो । सोनापुर मिनिरल्स सोनापुर मिनिरल्स एण्ड आयलले आव २०८०/८१ मा कम्पनीका प्रबन्ध सञ्चालक निपेश तायललाई ७६ लाख ४७ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बापत भुक्तानी गरेको छ । यस्तै, ३० हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, महाप्रबन्धक भीमप्रसाद पाठकलाई ४८ लाख ७२ हजार ८६५ रुपैयाँ भुक्तानी गरेको छ । अन्य सञ्चालकहरूलाई बैठक भत्ता बापत १ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको कम्पनीले जनाएको छ । आव २०७९/८० मा कम्पनीले सञ्चालक, प्रबन्ध सञ्चालक तथा पदाधिकारीहरुलाई १ करोड २५ लाख १९ हजार ८६५ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधाबापत भुक्तानी गरेको थियो । सर्वाेत्तम सिमेन्ट सर्वाेत्तम सिमेन्टले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ भुक्तानी गरेको छ । साथै व्यवस्थापन समूहलाई १ करोड ५६ लाख ७२ हजार ९७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका सीईओ सन्तोष केसी हुन् । आव २०७९/८० मा कम्पनीले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ र व्यवस्थापन समूहलाई २ लाख ६८ हजार ९३ लाख ३७२ रुपैयाँ भुक्तानी गरेको थियो ।
यी १५ बैंकका कर्मचारीको तलब बढ्यो, कुन बैंकले कति बढायो ?
काठमाडौं । बैंकका कर्मचारीहरूको तलब ६ महिनामा साढे १ अर्बभन्दा बढी बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्ममा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब ६.०६ प्रतिशत अर्थात् १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ बढाएर २८ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । गत वर्षको पुसमा २० वटा वाणिज्य बैंकले कर्मचारीहरूलाई २६ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ तलब बापत भुक्तानी गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यस अवधिमा १५ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ५ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । गत वर्षको तुलनामा घटेको भएपनि यस अवधिमा सबैभन्दा धेरै रकम राष्ट्रिय वाणिज्य बैंकले खर्च गरेको देखिन्छ । यस बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ कर्मचारीहरूलाई भुक्तानी गरेको छ । जबकि गत वर्षको पुसमा बैंकले कर्मचारीहरूलाई २ अर्ब १२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा हिमालयन बैंकको कर्मचारी खर्च सबैभन्दा धेरै बढेको देखिन्छ । हिमालयनको २७.६१ प्रतिशत बढेर १ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ तलब भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ५५ लाख रुपैयाँ तलब भुक्तानी गरेको थियो । यस्तै, प्राइम बैंकको २५.६६ प्रतिशत बढेर ८५ करोड ९१ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २४.९१ प्रतिशत बढेर १ अर्ब ७३ करोड २६ लाख रुपैयाँ, एनएमबी बैंकको २३.१६ प्रतिशत बढेर १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ तलब वापत भुक्तानी गरेका छन् । एभरेष्ट बैंकको १४.८७ प्रतिशत बढेर ९१ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १४.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ, सानिमा बैंकको १३.८५ प्रतिशत बढेर ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ७.०५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ खर्च गरेका छन् । प्रभु बैंकको ५.९७ प्रतिशत बढेर १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ५.५८ प्रतिशत बढेर १ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.२९ प्रतिशत बढेर १ अर्ब ५२ करोड ४ लाख रुपैयाँ, नबिल बैंकको ५.२३ प्रतिशत बढेर १ अर्ब ८६ करोड ५८ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९१ प्रतिशत बढेर ५४ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.८३ प्रतिशत बढेर ८३ करोड ८९ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको १.६२ प्रतिशत बढेर १ अर्ब १३ करोड ६६ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । समीक्षा अवधिमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । ग्लोबल आइएमई बैंकको ११.६९ प्रतिशत घटेर १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ, कुमारी बैंकको ७.७२ प्रतिशत घटेर १ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.४७ प्रतिशत घटेर २ अर्ब ७ करोड ५० लाख रुपैयाँ, नेपाल बैंकको १.१३ प्रतिशत घटेर १ अर्ब ८२ करोड १८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको०.१३ प्रतिशत घटेर ७३ करोड ७६ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् ।