ललितपुरमा जग्गाको मूल्य २५ हजारदेखि ३९ लाखसम्म, कुन ठाउँमा कतिमा पाइन्छ ?

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरले चालु आव २०८२/८३ को लागि जग्गाको न्यूनतम्  मूल्यांकन तोकेको छ । ललितपुरमा मुख्य सहर बजारदेखि ग्रामीण क्षेत्रहरू छन् । त्यसैले ललितपुरमा जग्गाको मूल्य प्रति आना २५ हजार रूपैयाँदेखि प्रति आना ३९ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुरको मुख्य बजार मानिने कुपण्डोलदेखि लगनखेल, सातदोबाटोसम्मको जग्गाका मूल्य ३९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कुपण्डोल सानेपा हुँदै पुरानो शान्त भवनसम्मको पिच सडकसम्म जोडिएको जग्गाको मूल्य प्रति आना १७ लाख रुपैयाँ निर्धारण गरेको छ । बागमती फाँट जग्गा एकीकरण आयोजनाको घडेरीको जग्गाहरूको मूल्यांकन प्रति आना १४ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । ललितपुर महानगर चक्रपथ भित्र र बाहिरको जग्गाहरूको मूल्य तीन लाख रूपैयाँदेखि १९ लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । च्यासलबाट बालकुमारी मन्दिर हुँदै चक्रपथ बाहिर कर्मनासा पुलसम्मको मुल पिच सडकसम्म जोडिएका दायाँबायाँको जग्गाको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कृष्ण मन्दिरबाट शंखमुल जाने पिच मोटरसँग जोडिएका जग्गा प्रति आना ११ लाख ५० हजार मूल्यांकन गरिएको छ । चक्रपथ तारबारसँग जोडिएको जग्गाको मूल्य प्रति आना २६ लाख रुपैयाँ तोकिएको छ भने गोरेटो बाटोसँग जोडिएका जग्गाहरु प्रति आना ५ लाख १० हजार रुपैयाँ नै उपलब्ध रहेका छन् । बाटो नभएका जग्गाहरू भने प्रति आना ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ । चक्रपथ बाहिरका जग्गाहरूमा पिच सडकसँग जोडिएका छन् भने त्यसको मूल्य प्रति आना १२ लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कच्चा सडकसँग जोडिएको जग्गाहरूको मूल्यांकन प्रति आना ७ लाख ९० हजार तोकिएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बुङ्गमतीमा प्रति आना एक लाख पाँच हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । बुङ्गमतीमा मुख्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ८ लाख रुपैयाँ, अन्य पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रति आना ५ लाख  १० हजार रुपैयाँ, कच्ची सडक ४ लाख रुपैयाँ, गोरेटो  बाटो २ लाख ४० हजार र बाटो नभएको एक लाख ५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । खोकना क्षेत्रतिर जग्गाको मूल्य प्रति आना १ लाख २५ हजार रूपैयाँदेखि ८ लाख ९० हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । जहाँ बाटो नभएको ठाउँका जग्गाहरू १ लाख २५ हजार रुपैयाँमा उपलब्ध छन् भने गोरेटो बाटो भएको ठाउँको जग्गाको मूल्य प्रति आना २ लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँमा १ लाख २५ हजार रुपैयाँ तोकिएको छ । हरिसिद्धिमा जग्गाको मूल्यांकन प्रति आना १ लाख ८० हजार रूपैयाँदेखि १२ लाख २० हजार रूपैयाँसम्म गरिएको छ । मुल पिच सडकसँग जोडिएका जग्गाको मूल्य १२ लाख २० हजार रुपैयाँ रहेको छ । बाटो नभएको ठाउँको जग्गा भने १ लाख ८० हजार रुपैयाँमा उपलब्ध रहेका छन् । सुनाकोठीमा चापागाउँ जाने मूल पिच जोडिएका जग्गाको मूल्य प्रति आना १४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कच्ची सडक जोडिएका जग्गाहरू ६ लाख ५० हजार, गोरेटो बाटो जोडिएका जग्गा ३ लाख २५ हजार र बाटो नभएका जग्गाहरू १ लाख ७० हजार रुपैयाँमा उपलब्ध छन् । महालक्ष्मी नगरपालिकामा जग्गाको मूल्य महालक्ष्मी नगरपालिका इमाडोलमा प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि ९० हजार रूपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । इमाडोल क्षेत्रमा मुल पिच सडक जोडिएको जग्गा प्रति वर्गमिटर ७० हजारदेखि ८० हजार रूपैयाँसम्म, सहायक सडक जोडिएको जग्गाको मूल्य प्रति वर्गमिटर ५० हजारदेखि ६५ हजार रूपैयाँसम्म मूल्यांकन गरिएको छ । कच्ची सडकतिर भएको जग्गाको मूल्य ४० हजारदेखि ४५ हजार रूपैयाँसम्म, गोरेटो बाटो भएको जग्गाको मूल्य २० हजारदेखि २५ हजार रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य प्रति वर्गमिटर १५ हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म तोकिएको छ । महालक्ष्मी नगरपालिका टिकाथलीमा मुल पिच सडक जोडिएको जग्गाको मूल्यांकन ५० हजार रूपैयाँदेखि ६५ हजार रूपैयाँसम्म निर्धारण गरेको छ । सहायक पिच सडकसँग जोडिएको जग्गा प्रति वर्गमिटर ४५ हजार रूपैयाँसम्म, कच्ची सडकमा रहेको जग्गाको ३० हजार, गोरेटो बाटो भएको १५ हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको ७ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।  सानागाउँमा जग्गाको मूल्यांकन प्रति आना साढे १ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु जाने पिच सडक जोडिएका जग्गाको मूल्य प्रति आना ९ लाखदेखि साढे १० लाख रूपैयाँसम्म निर्धारण गरिएको छ । त्यस्तै अन्य पिच सडक जोडिएको जग्गा प्रति आना ७ लाख २० हजार रूपैयाँदेखि ८ लाख रूपैयाँसम्म तोकिएको छ । गोरेटा बाटो भएका जग्गाको मूल्य प्रति आना साढे तीन लाखदेखि चार लाख रूपैयाँसम्म र बाटो नभएको जग्गाको मूल्य साढे एक लाख रुपैयाँ निर्धारण गरिएको छ । लुभुतिरको जग्गाको मूल्य १ लाख ९० हजार रूपैयाँदेखि १० लाख रूपैयाँसम्म मूल्यांकन गरिएको छ । लुभु नगर विकास आयोजनाका विकसित घडेरीको मूल्य १० लाख रूपैयाँसम्म तोकिएको छ । त्यस्तै मूल पिच सडक जोडिएको जग्गाको मूल्य प्रति आना ६ लाख ७५ हजार रुपैयाँ, कच्ची सडक भएको तिर प्रति आना ५ लाख २० हजार, गोरेटो बाटो भएको ठाउँमा तीन लाख ५० हजार रुपैयाँ र बाटो नभएको जग्गाको १ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । महालक्ष्मी नगरपालिकाको लामाटारमा पनि २५ हजार रूपैयाँदेखि जग्गा उपलब्ध छन् । लामाटारमा मूल पिच सडकसँग जोडिएको जग्गा प्रति आना ७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । सहायक पिच सडक जोडिएको जग्गाको मूल्य ५ लाख ६० हजार, कच्ची सडक जोडिएको जग्गाको मूल्य चार लाख, गोरेटो बाटो जोडिएको जग्गाको मूल्य ३ लाख ५० हजार रुपैयाँ र बाटो नभएको १ लाख २५ हजार रुपैयाँ रहेको छ । लामाटारकै लाकुरी भञ्ज्याङभन्दा बाहिर पर्ने जग्गाको मूल्य कच्ची सडक भएको ठाउँमा भएकोलाई प्रति आना एक लाख ५० हजार रुपैयाँ र बाटो नभएको ठाउँको जग्गाको मूल्य २५ हजार निर्धारण गरिएको छ ।

‘टेक अफ’को बेला स्पिड कायम नगर्दा सौर्य एयर दुर्घटना, प्रमाण मेटाउने काम भएको निश्कर्ष

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । सो आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष प्रतिवेदन पेस गरेको हो ।  आयोगले यो दुर्घटनाको सबैभन्दा सम्भावित कारण टेकअफमा स्पिड कायम नगर्दा भएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘उडानको सुरुवातमै टेक अफ विमानलाई आवश्यकता भन्दा ढिलो गति (कम स्पिड) मा अत्यधिक तीव्र गतिमा अगाडि तान्दा( पिच गर्दा) भएको गहिरो स्टल हो । यसले गर्दा विमानको प्वाँखमा पर्याप्त उथान (लिफ्ट  बन्न सकेन र विमान खस्ने अवस्थामा पुग्यो ।’ प्रतिवेदनले घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाएर प्रमाण मेटाएको दाबी गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘ घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाई एयरलाइन्सको कार्यालय पु¥याइनु प्रमाण मिटाउने कार्य मानिन्छ, यसले विमानस्थल प्रशासनको लापरवाही देखाउँछ ।’आयोगले प्रतिवेदनमा विभिन्न २९ बुँदामा दुर्घटनाको ‘फाइन्डिङ’ उल्लेख गरेको छ ।  आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र र वरपरका संवेदनशील क्षेत्रहरूलाई न त वर्गीकृत गरिएको थियो न त आपतकालीन अभ्यासमा समावेश गरिएको भन्दै दुर्घटनास्थल नजिकको आपतकालीन गेट पनि अबरुद्ध रहेको उल्लेख गरेको छ ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सेवा म्यानुअल अनुसार आवश्यक उपकरण र जनशक्तिको टाक्स रिसोर्स एनालाइशिस नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ । जसले उद्धार कार्य प्रभावित बनेको प्रतिवदेनमा उल्लेख छ ।  गैर–निर्धारित उडानहरूको अनुमति र सञ्चालनका लागि पर्याप्त एसओपी र प्रावधानहरू नभएको, रेगुलेटेड टेक अफ वेटको अनुमोदन वा स्वीकृतिको लागि कुनै विशिष्ट चेकलिस्ट विकास नगरिउको विषय पनि प्रतिवेदनमा छ ।  नागरिक उडड्यन प्राधिकरणद्वारा नियमित र्याम्प निरीक्षणहरू प्रभावकारी रूपमा नगरिएको यदि नियमित गरिएको भए झोला वा कार्गो लोडिङमा भएका त्रुटिहरू पहिले नै पहिचान गर्न सकिने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।  यस्तै, उडानको समयमा मौसम राम्रो रहेको, ८ किलोमिटर दृश्यता रहेको र हावा पनि शान्त रहेको उल्लेख छ । अपरेटरले सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको प्रावधानहरू पालना गर्न नसकेको पनि दाबी गरिएको छ ।  प्रतिवेदनमा भनिएको छ, ‘सामग्रीहरू न त गोदामबाट बाहिर निकाल्दा न त विमानमा राख्दा तौलिएको थियो, मर्मतसम्बन्धी उपकरणहरू पनि यात्रु क्याबिनमै राखिएको थियो, सामानहरूलाई कुनै पट्टी, बाँध्ने डोरी वा जालद्वारा सुरक्षित गरिएको थिएन, लोडिङको निगरानी पर्याप्त र जिम्मेवारपूर्वक गरिएको थिएन,  भारको वितरणको आधारमा केन्द्रगुरुत्वको स्थानगणना गरिएको थिएन, विमानमा एयरलाइन्ससँग सम्बन्ध नभएका व्यक्ति र आवश्यक नभएका क्रू सदस्यहरू पनि सवार थिए ।’  

मर्जरले बनेका दोस्रो दर्जाका कर्मचारी

एक वर्ष अगाडि आइएमई रेमिट र जीएमई रेमिटको मर्जर भएको थियो । त्यतिबेला आइएमई रेमिट र जीएमई रेमिटको मर्जर कार्यक्रममा मैले पनि सहभागी हुने अवसर पाएको थिए । साथै, आइएमई पे र खल्तीबीचको मर्जरमा पनि सहभागी हुने अवसर पाए । यी दुईटा फिनटेक कम्पनीको मर्जर नेपालमा प्रथम पटक भएको हो । नेपाल राष्ट्र बैंकले २०७५ सालमा भुक्तानी सम्बन्धी ऐन ल्याउँदा  डिजिटल भुक्तानीमा यति धेरै विकास हुन्छ सोचेको पनि थिएन । जुन किसिमको विकास भएको छ, त्यसबाट हामी अत्यन्त खुसी छौं । तैपनि अझै भुक्तानी प्रणालीको डिजिटाईजेशनमा धेरै कामहरू गर्नुपर्ने देखिन्छन् । युवापुस्तामा लोकप्रिय खल्तीको आफ्नै क्रेज थियो । एनपीएल हेर्न जाँदा टिकेट काट्नका लागि खल्तीबाट काट्न सुझाव दिन्थे । आइएमईको पनि आफ्नै किसिमको ब्राण्ड थियो । यी दुई वटा कम्पनीको मर्जरले सिनर्जी प्राप्त पक्कै गर्नेछ । आइएमई खल्तीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ र १२७ लाख प्रयोगकर्ता पुगेका छन् । राष्ट्र बैंकका लागि यो सबैभन्दा महत्वपूर्ण विषय हो । सुरक्षित, सबल र भरपर्दाे भुक्तानी प्रणाली हुनुपर्छ भन्ने मान्यता नेपाल राष्ट्र बैंकको रहेको छ । मर्जरपछि कुनै पनि किसिमको समस्या नआओस् । एउटा एपमा भएको रकम अर्काे एपमा पठाउँदा कुनै किसिमको दुविधा भयो भने १ करोड २७ लाख प्रयोगकर्तालाई सम्झाउन सक्ने क्षमता विकास गर्नुपर्छ । कुनै एक जना मान्छेले मात्रै समस्या खडा गर्याे भने पनि मर्जरको कुनै औचित्य रहँदैन । त्यसकारण यो टिमलाई सचेत रहन अनुरोध छ ।  आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काको मन्तव्य सुने । नेपालमा युवापुस्ताहरुको उबरता सितारा जस्तो लाग्यो । मैले व्यक्तिगत रुपमा उहाँ ( विनय खड्का)लाई चिनेको छैन र धेरै संगत पनि गरेको छैन । तर, उहाँको मन्तव्यबाट म अत्यन्त खुसी भए । यहि हिसाबमा अगाडि बढ्न शुभकामना छ । खल्ती बाइ आइएमईले उहाँको नेतृत्वमा भोलिका दिनमा राम्रो काम गरोस् । म धेरै मान्छेहरुलाई फाट्फुट्ट प्रसंशा गरिहाल्ने मान्छे होइन । यद्यपी मलाई त्यस्तो लागेकाले उहाँको प्रशंसा गरेको हो । नेपालमा मान्छेहरु बस्दै बस्दैनन्, यहाँ बसेका मान्छेहरु पनि काम लाग्दैनन् भन्ने भाष्य मेरो मनबाट हटेको छ । आइएमई रेमिट र जीएमई रेमिटको मर्जर, आइएमई पे र खल्तीको मर्जरको विषय चन्द्रजी (चन्द्र प्रसाद ढकाल)सँग पनि जोडिन्छ । मर्जर गरिहालौं भन्ने उहाँको विचार छ । उहाँले २०/२२ वटा संस्था मर्जर गरिसक्नु भएको छ । यसले नेपाल राष्ट्र बैंकलाई सहयोग गरेको छ । राष्ट्र बैंकले व्यवस्था गरेपछिको आइएमई र खल्तीको पहिलो मर्जर हो ।  बैंक तथा वित्तीय संस्थाहरुको मर्जरमा पोस्ट मर्जर सिन्ड्रोम हुने गरेको छ । एकथरिका कर्मचारीहरू नेपाल राष्ट्र बैंकमा आएर हामीलाई अपहेलना भयो, मर्जरले दोस्रो दर्जाका कर्मचारी भयौँ भन्दै विगतमा बैंक तथा वित्तीय संस्था मर्जर भएका कर्मचारीहरुले गुनासो गर्नुहुन्छ । यस विषयमा विभिन्न समयमा छलफल पनि भएको छ । भविष्यमा पोस्ट मर्जर सिन्ड्रोम खल्ती बाइ आइएमईमा नदेखियोस्, स्वस्थ रुपमा मर्जर पछिको कर्मचारी व्यवस्थापन होस् । स्वभाविक रुपमा दुईटा फिनटेक कम्पनी मर्जर हुँदा एक जना मात्रै सीईओ र अध्यक्ष हुने हो । संस्थाभित्रका समस्यालाई समाधान गर्न र कुर्नै पनि किसिमको गुनासो आउने छैन भन्नेमा विश्वस्त छु । नेपालको इतिहासमा मर्जर पछि धेरै राम्रा कामहरु पनि भएका छन् । नेपाल सरकारले डिजिटल फ्रेमवर्क भनिरहँदा राष्ट्र बैंक भुक्तानीसँग मात्रै सम्बन्धित छ । राष्ट्र बैंक अनलाइन फर्म भराएर सीआरओ राष्ट्र बैंकले गर्दैन । तर, भुक्तानी प्रणाली जुनसुकै विषयमा पनि आउने गर्छ । जस्तो विदेश जानका लागि परराष्ट्र मन्त्रालयमा छाप लगाउनुपर्याे र २ रुपैयाँ तिर्नुपर्याे भने त्यहाँ क्यूआर राखिएको हुन्छ, त्यो क्यूआरबाट तत्काल भुक्तानी हुने गरी व्यवस्थापनको काम राष्ट्र बैंकले गर्ने हो । डिजिटल पेमेन्टको माध्यमबाट पारदर्शीताको बढोत्तरी हुने भएकाले भुक्तानी प्रणालीलाई अझै व्यवस्थित, भरपर्दाे र सबैले पत्याउन सकिने बनाउनुपर्नेछ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक क्षेत्रमा डिजिटल भुक्तानीलाई बढाइरहेको छ ।  ९ वर्ष अगाडि आइएई र खल्ती स्थापना हुँदा राष्ट्र बैंकमा विभाग मात्रै थियो । सुरुमा विभाग बनाएपछि मात्रै ऐन जारी भएको हो । राष्ट्र बैंकमा भुक्तानी प्रणाली विभागको स्थापनाकालको सदस्य पनि हो खल्ती बाइ आएमईको अध्यक्ष कृष्ण प्रसाद शर्मा । कम्प्लायन्समा तलमाथि पर्न गयो भने फिनटेकमा हुन सक्ने सम्भावित कारवाहीका विषयमा उहाँ जानकार हुनुहुन्छ । नेपला राष्ट्र बैंकले जारी गरेका निर्देशनलाई पालना गरी कम्पनीलाई कम्प्लायन्स राख्नेमा विश्वस्त छौं । कम्पनीहरु दीर्घकालसम्म टिक्नु महत्वपूर्ण विषय हो । एउटा डिजिटल कारोबारमा ३८ पैसा लागत लाग्छ । सित्तैमा कुनै पनि वस्तु प्राप्त  हुँदैन । सित्तैमा दिँदा कम्पनीलाई टिकाउँदैन । सुरुसुरुमा मान्छेहरुलाई जानकारी दिने उद्धेश्यका लागि डिजिटल भुक्तानी राम्रो छ भन्नका लागि निशुल्क गरिएको हो । विस्तारै राष्ट्र बैंकले शुल्क निर्धारण गर्ने विषयमा उचित निर्णय गर्नेछ ।  भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास तथा नवप्रवर्तन प्रवद्र्धन गर्न रेगुलेटरी स्यानबक्स सञ्चालनमा ल्याइने विषय मौद्रिक नीतिमा आएको छ । आगामी दिनमा प्रविधि विकासको विषयमा राष्ट्र बैंकले सधैँ सहजीकरण गर्नेछ । सबैको भूमिकाले भुक्तानी प्रणालीको डिजिटाइजेशनमा सहयोग पुगेको छ । आइएमई र खल्तीको मर्जरले सिनर्जी इफेक्ट ल्याएर सबैलाई फाइदा पुग्नेछ । सबै जना पढेका छैनन्, जाजरकोटका जनताले बुझ्न सक्ने किसिमको एप बनाउनुपर्छ । काठमाडौंको दरबारमार्गमा बसेर मात्रै भुक्तानी प्रणालीको काम हुँदैन । (नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आइएमई पे र खल्तीको एकीकृत कारोबार कार्यक्रममा राखेको विचार)