जलेका नोटले बैंकलाई चुनौती, एउटै नोटमा फरक-फरक सिरियल नम्बर
काठमाडौं । ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ तुरुन्त पाइनेछ,’ एक हजार दरको नोटको मध्य मागमा उल्लेखित शब्द हुन् । नोटमा राष्ट्र बैंकका गभर्नरको पनि हस्ताक्षर छ । राष्ट्र बैंकले नोट जारी गर्दा प्रयोग हुने कागज पनि सही छ । नोटमा प्रयोग भएका विभिन्न किसिमका संकेतसहित पनि ठीक छन् । तर, नोट भने नक्कली हो । किनभने एउटै नोटमा फरक-फरक सिरियल नम्बर छन् । नोटको दायाँ भागमा सिरियल नम्बर ग ६१-३१६२६४ र बाँया भागमा ग ६२-४७२०६६ पनि उल्लेख छ । जेनजी आन्दोलनपछि एउटै नोटमा फरक-फरक सिरियल नम्बर रहेका नोटहरू बजारमा भेटिन थालेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता र निजी क्षेत्रका संरचनामा क्षति पुर्याए । विभिन्न माध्यममा सार्वजनिक भएका भिडियो र फोटोहरूलाई आधार मान्दा त्यहाँ राष्ट्र बैंकले जारी गरेका विभिन्न दरका नोटहरूमा पनि क्षति पुग्यो । केही नोटहरू जलेका छन् भने केही नोटमा आंशिक क्षति पुगेको छ । तर, अहिले आंशिक क्षति भएका नोटहरूलाई संकलन गरेर जोडेर बजारमा कारोबार गरिरहेको भेटिएका छन् । आधी-आधी (केही भाग मात्रै) जलेका नोटहरूलाई एक आपसमा टाँसेर बजारमा चलनचल्तीमा ल्याइरहेकाले सजग रहन बैंकहरूले आग्रह गरेका छन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल आंशिक क्षति भएका नोटहरूलाई जोडेर बजारमा चलनचल्तीमा ल्याइरहेको बताउँछन् । बजारमा कारोबार भइरहेका त्यस्ता नोटहरू बैंकमा समेत आउने तर डिटेक्टर मेसिनले समेत पहिचान गर्न नमिल्ने भएकाले नगद कारोबार गर्दा सजग रहन उनले आग्रह गरे । | उनका अनुसार फरक-फरक सिरियल नम्बर भएका नोटलाई जोडेर पसलमा चलनचल्तीमा ल्याइरहेको र विस्तारै त्यस्ता नोटहरू बैंकमा समेत आइपुग्ने जाेखिम छ । ‘नोट आधी मात्रै छ । आधी मात्रै जलेको वा क्षति भएको नोटमा अर्काे आधी जलेको वा क्षति भएको नोट टाँसेको छ । यस्ता नोट ठूल्ठूला बन्डलमा हाल्दा एउटै जस्तै देखिन्छन्,’ उनले भने, ‘बैंकको नोट डिटेक्टरले गन्दा फेक नोट आईडिन्टीफाई (पहिचान) गर्छ । तर, बैंकको फेक नोट डिटेक्टरले समेत यस्ता नोट पहिचान गर्न सक्दैनन् । किनभने नोटको कागज ओरिजिनल छ ।’ यस्ता जोडिएका नोटहरू सक्कली नोट भनेर बजारमा कारोबार भइरहेकाले सिरियल नम्बर जाँच गरेर मात्रै कारोबार गर्न सीईओ खनालले आग्रह गरे । आन्दोलनमा परेर वा अन्य कुनै कारण जलेका वा च्यातिएका नोट संकलन गरेर जोडेर चलाउने काम भइरहेको उनले बताए । यस्ता नोट बैंकको डिटेक्टरले समेत पत्ता लगाउन नसक्ने गरी बनाइएका हुने उनको भनाइ छ । ‘यस्ता नोट बैंकमा आइसकेको छैनन् । तर, यस्ता नोट बैंकमा आउन सक्ने सम्भावना छ । साथै बजारमा भने पसल-पसलमा यस्ता नोट कारोबार भइरहेका देखिन्छन् । त्यसैले नगद कारोबार गर्दा नोट भेरिफाई गरेर मात्रै कारोबार गर्नुपर्ने हुन्छ,’ सीईओ खनालले भने । जेनजी आन्दोलनपछि यस्ता नक्कली नोटको बिगबिगी बढेकाले यस्ता नोटहरू जाँच गरेर मात्रै कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बजारमा एउटै नोटमा फरक-फरक सिरियल नम्बर भए/नभएको जाँच गरेर मात्रै नगद कारोबार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
घर र व्यवसाय जलेपछि आफन्तको शरणमा, दाजुभाइले नै गुमाए तीन दशकदेखिको सम्पत्ति
काठमाडौं । अथक मिहिनेत र पसिना बगाएर कमाएको सम्पत्ति ध्वस्त गरिदिएपछि धुव्र थापाको मन भक्कानिएको छ । लामो संघर्षले प्राप्त सफलता र सम्पत्ति सपना झैं छिनभरमै सखाप भएको छ । वर्षौं लगाएर जोडेको बस्ने घर, कार्यालय, गाडी र गाडीको शोरुम जलेर ध्वस्त भएपछि उनी घरविहीनमात्रै भएका छैनन्, अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विकल्प उनका अगाडि छैन । थापाले दुःखी हुँदै भने, ‘घर, गाडी र गाडी शोरुम ध्वस्त भएपछि भविष्य चकनाचुर र अन्धकार भएको महसुस गर्दैछु, बोल्न सक्ने अवस्थामा छैन, दुःख बिसाउने चौतारी छैन ।’ ध्रुव थापा नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का निवर्तमान अध्यक्ष हुन् । उनले अटो मोबाइल क्षेत्रमा एक सफल व्यवसायीको छवि निर्माण गरेका छन् । १७ वर्षको कलिलो उमेरदेखि संघर्ष गर्दै आएका उनी एकाएक घरबारविहीन बने । भदौ २४ गतेको जेनजी आन्दोलनका नाममा प्रदर्शनकारीले उनको बस्ने घर, गाडीको शोरुम आगजनी गरेर नष्ट पारे । आफ्नै मिहिनेतले उनले व्यवसायीमा गर्विलो छवि निर्माण गरे । अटो व्यवसायीको नेतृत्व तहमा पुगे । पोखरामा एक सफल व्यवसायीको परिचय पस्किए । तर, जेनजीको आन्दोलनको टार्गेटमा उनै थापा परे । न उनी कुनै राजनीतिक दलसँग आवद्ध थिए । न कुनैसँग उनको व्यक्तिगत द्वन्द्व थियो । उनी आफ्नो कामलाई विश्वास गर्थे । संघर्षको स्वाद मीठो हुन्छ भन्ने बुझाइ उनको थियो । तर, उनको त्यो वर्षौंदेखिको संघर्ष छिनभरमै खरानी बन्यो । बरु थापा व्यवसायसँगै समाजसेवामा पनि अगाडि थिए । भूकम्प र कोभिड महामारीका बेला उनी निःशुल्क एम्बुलेन्सहरू प्रदान गरी मानवीय सेवामा तल्लीन रहे । तर, आज उनै घरविहीन भएका छन् । आफ्नो ३५ वर्षको मिहिनेत छिनभरमै खरानी बनाइदिएको उनको गुनासो छ । ‘आज आफू बस्ने घर र कार्यालय जलाइँदा मन पनि जल्दो रहेछ । जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भएका छन्, खण्डहर घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने महसुस हुँदैछ,’ निराश हुँदै थापाले भने । थापा दाजुभाइका जल्दै गरेका घर । तस्बिर : ध्रुव थापा । घर, शोरुमसँगै कामदार पनि जलिन् प्रदर्शनकारीले उनको पोखरा महानगरपालिका वडा नं ८ स्थित नयाँबजार मा रहेको उनको पाँचतले घर, कार्यालय, सोरुम र लेकसाइडस्थित कमर्शियल बिल्डिङ आगजनी गरेर पूर्ण रूपमा नष्ट गरेका छन् । उनको यसबाट करोडौंको क्षतिको भएको छ । उनले सम्पत्ति मात्रै गुमाएनन्, कार्यालयमा काम गर्ने एक जना कर्मचारीसमेत गुमाएका छन् । थापाको कार्यालयमा काम गर्ने सिन्धुपाल्चोककी ४० वर्षीया सञ्जु नगरकाेटीको कार्यालयभित्रै जलेर मृत्यु भएको छ । ‘आगजनी गर्दा हामी सबै कार्यालयमै थियौं, हामीसँगै भाग्यौं । तर, मोबाइल छुट्यो भनेर उहाँ फर्किनु भएछ, उहाँ माथि पुग्दासम्म तलबाट आगो पुगेपछि उहाँ बाहिर आउन सक्ने अवस्था बनेन, भित्र जलेर निधन भयो,’ भावुक हुँदै थापाले विकासन्युजसँग भने । यो घटनाले उनको परिवारमा ठूलो आघात पुर्याएको छ । विशेष गरी ती युवतीको बर्बरतापूर्ण मृत्युले थापा परिवारलाई स्तब्ध बनाएको छ । उनका सातवटा नयाँ सवारी साधन (गाडीहरू) पनि आगोमा परेर खरानी भएका छन् । उनले १५ करोड रुपैयाँसम्म क्षति भएको अनुमान गरेका छन् । उनले तीन दशकदेखिका महत्त्वपूर्ण कागजात, ग्राहक विवरणहरू डेबिट–क्रेडिट रेकर्डहरू र अन्य अमूल्य डेटा नष्ट भएकोमा चिन्ता व्यक्त गरे । ‘सबै जलेर ध्वस्त भयो, मसँग अब केही बाँकी रहेन । सब शून्य भयो, सबै खरानी भयो,’ भावुक हुँदै उनले भने । ससुरालीमा शरण घर र कार्यालय जलेर नष्ट भएपछि थापा अहिले घरबारविहीन भएका छन् । उनको परिवार अहिले ससुरालीमा बस्दै आएको छ । उनले अहिले आफूलाई घरबारविहीन महसुस गरिरहेका छन् । ‘बस्ने ठाउँ छैन, अब कहाँ गएर बस्ने ?,’ उनले भावुक भएर भने । थापाकी श्रीमती लायन्स क्लब नेपालकी ५४ वर्षको इतिहासमा पहिलो महिला काउन्सिल चेयरपर्सन (अध्यक्ष) हुन् । उनी पनि सामाजिक सेवामा सक्रिय छिन् । घटनाको दिन उनी पनि घरमै थिइन् र परिवारका अन्य सदस्यहरूसँगै सुरक्षित रूपमा बाहिर निस्कन सफल भए । राजनीतिक प्रतिशोधको आशंका थापाले यो घटनालाई आफ्नो दाजु बिन्दुकुमार थापाको राजनीतिक संलग्नतासँग जोडिएको हुन सक्ने अनुमान गरेका छन् । थापाका दाजु बिन्दुकुमार गण्डकी प्रदेशका सामाजिक विकास तथा कानुनमन्त्री हुन् । उनका अनुसार उनको दाजुलाई निशाना बनाएर सामाजिक सञ्जालमा समेत धम्कीहरू आइरहेको थियो । आफू राजनीतिमा संलग्न नभए पनि दाजुको राजनीतिक पृष्ठभूमिको कारण आफूलाई पनि निशाना बनाइएको हुन सक्ने आशंका उनको छ । ‘मेरो कर्मचारीलाई जिउँदै जलाइयो । उनको के दोष थियो ? के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?’ मन्त्री थापाको पोखरा लेकसाइडमा रहेको बगैंचा होटल र अर्को कमर्शियल बिल्डिङसहितको सम्पत्ति पनि पूर्ण रूपमा जलाइएर नष्ट गरिएको छ । उनको पनि ५० करोड रुपैयाँसम्म क्षति भएको थापाले जानकारी दिए । मन्त्री थापा पनि पोखराकै एक स्थापित रियलस्टेट व्यवसायी हुन् । जो नेपाली कांग्रेसमा बागी उम्मेदवार भएर पनि दोस्रो पटक चुनाव जितेका थिए । उनको पारदर्शी कार्यशैली र जनतामाझ राम्रो प्रभावका कारण राजनीतिक प्रतिद्वन्द्वीहरूले उनलाई निशाना बनाएको धुव्र थापाको बुझाइ छ । मन्त्री बिन्दु थापाले भने ‘हामीले सानै उमेरदेखि आफ्नै परिश्रमले सम्पत्ति आर्जन गरेको थियौं, आज त्यही घर र व्यवसाय जलेर नष्ट गरिएको छ ।’ मन्त्री थापाको होटलमा काम गर्दै आएकी दोलखाको बैत्यश्वर–८ घर भएकी स्वस्थानी खड्काको निधन भएको छ । उनको पनि आगजनीमा परेर मृत्यु भएको हो । ‘मेरो कर्मचारीलाई जिउँदै जलाइयो । उनको के दोष थियो ? के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?’ उनले भावुक हुँदै आक्रोश पोखे । उनका अनुसार २५ वर्षीया स्वस्थानी खड्का आफ्नो साथीसँग भवनभित्र थिइन् । उनी पोखरा कामकै सिलसिलामा आएकी थिइन् । ब्युटिसियनको काम गर्थिन् । रत्न राज्यलक्ष्मी कलेजमा स्नातक अध्ययन गरिरहेकी थिइन् । ‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन, कुनै प्रलोभनमा परेको छैन । यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने म जस्तोसुकै कठोर सजाय भोग्न तयार छु । तर, निर्दोष हुँदा पनि यसरी अपमानित हुनु र सम्पूर्ण उपलब्धि खरानी पारिनु अमानवीय मात्र होइन, घोर अपमान हो, अन्याय हो,’ मन्त्री थापाले भने । उनले जेनजीको नाममा नियोजित रूपमा आफूमाथि गरिएको यो विध्वंस कुनै आन्दोलन नभई अपराध भएको बताए । थापा परिवार पुस्तौंदेखि समाजसेवामा लागेको र देश निर्माणमा योगदान गरेको परिवार भएकोले उनीहरूलाई भ्रष्टाचार गर्नुपर्ने अवस्था नरहेको उनले धारणा राखे । उनीहरूले यो घटना योजनाबद्ध रूपमा भएको बुझेका छन् । ‘यो घटनाले नेपालमा लगानीको भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ । अब किन यहाँ लगानी गर्ने ? हामी सुरक्षित छैनौं,’ मन्त्री थापाले भने । उनले यो घटनाबाट पाठ सिक्दै देश र व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्नु पर्नेमा जोड दिए ।
गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
काठमाडौं । सिंगापुरका अर्बपति गोह चेंग लियाङ अहिले संसारमा छैनन् । उनले आफ्नो निधनअगाडि ठूलो निर्णय गरे । गोहले आफ्नो सम्पत्ति आफ्ना छोराछोरीलाई नभई आफ्ना ६ नाति–नातिनीलाई दिए । यसबाट उनका नाति–नातिनीहरू एकै रातमा अर्बपति बनेका छन्। गोह चेंग लियाङ निप्पन पेन्टका संस्थापक थिए । उनले किन आफ्ना सन्तानलाई नदिई नातिरनातिनिलाई किन दिए भन्नेबारे अहिले विश्वभर चासो र चर्चा पैदा गरेको छ । गोह चेंग लियाङ निप्पन पेन्टका दक्षिणपूर्व एसियाका संस्थापक थिए । गत अगस्टमा ९८ वर्षको उमेरमा उनको निधन भएको थियो । उनले आफ्ना १३.२ अर्ब डलर (१८६४३३.६ करोड रुपैयाँ) बराबरको सम्पत्ति आफ्ना ६ नाति–नातिनीलाई सिधै दिएका हुन् । आफ्ना छोराछोरीलाई भने यस सम्पत्तिबाट अलग राखेका छन् । यस निर्णयले उनका नाति–नातिनीहरू एकै रातमा अर्बपति बने । उनीहरूलाई निप्सी इन्टरनेशनलमा हिस्सेदारी दिइएको छ । यद्यपि दोस्रो पुस्ताका परिवारका सदस्यहरूले मतदान अधिकार भने आफ्नै हातमा राख्नेछन् । यसरी कम्पनीमा नियन्त्रण कायम रहनेछ र उत्तराधिकार योजना व्यवस्थित रूपमा अगाडि बढ्नेछ । गोह चेंग लियाङ सिंगापुरका ठूला व्यापारी थिए । उनले निप्पन पेन्टलाई एसियामा ठूलो कम्पनी बनाएका थिए । उनको निधनपछि सम्पत्ति कसरी बाँडिने भन्ने विषयमा धेरै अड्कलबाजी भएको थियो । तर उनले सम्पत्ति बाँड्ने तरिकाले धेरैलाई चकित पार्यो । सामान्यतया एसियाली व्यवसायमा सम्पत्ति दोस्रो पुस्तालाई दिइन्छ । तर गोह चेंग लियाङले त्यसो गरेनन्। उनले आफ्ना नाति–नातिनीलाई सिधै सम्पत्ति दिएका छन् । यसबाट उनका ६ नाति–नातिनी अर्बपति बनेका छन् । उनीहरूले निप्सी इन्टरनेशनलमा १ अर्ब डलरभन्दा बढीको हिस्सेदारी पाएका छन् । यो कम्पनी एशिया–प्यासिफिक क्षेत्रमा पेन्ट उत्पादन गर्ने सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो। गरिबीबाट अर्बपतिसम्मको यात्रा गोह चेंग लियाङको कथा गरिबीबाट अर्बपतिसम्म पुग्ने यात्राको कथा हो । उनले धेरै कम स्रोतसाधनबाट आफ्नो यात्रा सुरु गरेका थिए । उनले वुथेल्म होल्डिङ्स स्थापना गरेका थिए । यो कम्पनी निप्पन पेन्ट होल्डिङ अफ जापानको सबैभन्दा ठूलो सेयरधनी बन्यो । उनको नेतृत्वमा निप्सी एसियामा पेन्ट उद्योगको ठूलो शक्ति बन्यो । एक समयमा निप्पन पेन्ट होल्डिङ जापानको सबैभन्दा ठूलो पेन्ट कम्पनी थियो । यो एसियाकै सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक थियो । यद्यपि पछिल्ला वर्षहरूमा बजारमा उतार–चढावका कारण परिवारको सम्पत्ति केही घटेको थियो । तर गोह चेंग लियाङ आफ्नो मृत्यु हुँदासम्म सिंगापुरका दोस्रो सबैभन्दा धनी व्यक्ति बने रहे । वुथेल्म होल्डिङ्सले गत डिसेम्बरमा निप्पन पेन्ट होल्डिङ्समा रहेको ५५ प्रतिशत हिस्सेदारी गोहका ६ नाति–नातिनीलाई ट्रान्सफर गर्यो । यसले एकैपटक धेरै अर्बपति बनायो । अप्रिल गोहलाई सबैभन्दा ठूलो हिस्सा प्राप्त भयो । यसको मूल्य करिब ३.४ अर्ब डलर छ । अप्रिल कोलम्बिया विश्वविद्यालयको चाइना सेन्टर फर सोसल पोलिसीका फेलो हुन् । उनले वित्त (फाइनान्स) अध्ययन गरेकी छिन् । लैंगिक हिंसाविरुद्ध काम गरेकी छिन् । उनले आफ्ना दाजुभाइ–बहिनीको सम्पत्ति पनि व्यवस्थापन गर्छिन्। यसले परिवारको सम्पत्तिमा उनको भूमिका अझै महत्त्वपूर्ण बनाउँछ । शार्लोट, हेनरिटा र भिक्टोरिया– जो गोह हप जिनकी छोराछोरी हुन् – तिनीहरूले पनि करिब १.१ अर्ब डलर बराबरका सेयर पाएका छन् । शार्लोटले बालीमा एउटा फाउन्डेशन सह–स्थापना गरेकी छिन् । यो फाउन्डेशनले गरिब बालबालिकालाई छात्रवृत्ति, स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउँछ । गोहकी छोरी चियाट जिन लामो समयदेखि गोह फाउन्डेशनसँग संलग्न छिन् । यो फाउन्डेशन १९९५ मा शिक्षा र मेडिकल अनुसन्धानलाई सहयोग गर्नका लागि स्थापना गरिएको हो । उनका छोरा मार्टिन युएन–आन लाउ सस्टेनिर एग्रिकल्चरका सह–संस्थापक हुन् । यो एक भर्टिकल फार्मिङ स्टार्टअप हो जसलाई टेमासेकको समर्थन प्राप्त छ । छोराछोरीलाई प्रत्यक्ष रूपमा केही पनि दिएनन् यस सम्पत्ति ट्रान्सफरको सबैभन्दा विशेष पक्ष भनेको गोह चेंग लियाङका छोराछोरीलाई प्रत्यक्ष रूपमा हिस्सेदारी नदिइनु हो । यसको सट्टा उनीहरूले केही मतदान अधिकार र प्रभाव भने कायम राखेका छन् । गोह हप जिनसँग निप्सी इन्टरनेशनलमा ९१ प्रतिशत मतदान अधिकार छ । यसले सुनिश्चित गर्छ कि तेस्रो पुस्ताले सम्पत्ति पाएपछि पनि कम्पनीमा नियन्त्रण दोस्रो पुस्ताकै हातमा रहिरहनेछ । विशेषज्ञहरूका अनुसार यो उत्तराधिकारको राम्रो योजना हो । यसले कम्पनीमा नियन्त्रण कायम राख्छ र सम्पत्ति बाँडफाँट पनि सुनिश्चित हुन्छ । परिवारका सम्पत्ति विज्ञहरूका अनुसार एसियाली परिवारहरूमा प्रायः सम्पत्ति परिवारका प्रमुखसँगै बाँधिएको हुन्छ । नाति–नातिनीलाई प्रत्यक्ष रूपमा सम्पत्ति दिने चलन बिरलै देखिन्छ । यस्तो प्रायः त्यही परिवारमा हुन्छ जहाँ छोराछोरी पहिले नै आर्थिक रूपमा सुरक्षित हुन्छन् वा परिवारका प्रमुखले आफ्नो सम्पत्ति सिधै तेस्रो पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् । गोह चेंग लियाङ एक साधारण जीवन बिताउने व्यक्ति थिए । उनी आफ्नो निजी जीवनलाई सार्वजनिक दृष्टिबाट टाढा राख्थे । उनी मिडियामा पनि कमै देखिन्थे । उनलाई बोटिङ र माछा मार्ने रुचि थियो । उनको लग्जरी याचको ठूलो कलेक्शन थियो । ८४ मिटरको ‘ह्वाइट र्याबिट गल्फ’ उनको सबैभन्दा विशेष याच थियो । उनको परिवारका अन्य सदस्य पनि प्रायः मिडिया इन्टरभ्यू र सार्वजनिक बयानहरूबाट टाढा रहन्छन् ।