मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा

काठमाडौं । टेस्लाको सेयर सोमबारको प्रारम्भिक कारोबारमा ६ प्रतिशतले बढ्यो जब कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले करिब १ अर्ब डलर बराबरको टेस्लाको सेयर खरिद गरेको खुलासा गरे । यो खरिदलाई मस्कले कम्पनीको भविष्यप्रति देखाएको पछिल्लो ठूलो विश्वासको संकेतका रूपमा हेरिएको छ । यो सेयर खरिद मस्कको २०२० को सुरुवातपछिको पहिलो खुला बजार खरिद हो– जुन टेस्लाका लागि महत्त्वपूर्ण समयमै आएको हो । कम्पनी हाल आफैलाई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्स पावरहाउसमा रूपान्तरण गर्ने महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न दौडिरहेको छ, यद्यपि कार बिक्री सुस्ताउँदै गएको चुनौती पनि छ । यो कदमले मस्कको टेस्लामा अझ बढी नियन्त्रण चाहने लक्ष्यलाई पनि बलियो बनाएको छ । यसअघि करिब एक हप्ताअघि मात्रै कम्पनीको बोर्डले मस्कका मागलाई सम्बोधन गर्ने गरी १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति योजना प्रस्ताव गरेको थियो, जसले कम्पनीका वित्तीय र सञ्चालन लक्ष्यहरूलाई उच्च स्तरमा राखेको छ । सोमबारको नियामक विवरण अनुसार मस्कले शुक्रबार २५.७ लाख सेयर खरिद गरेका थिए, प्रति सेयर ३७२.३७ देखि ३९६.५४ डलरसम्म तिरेर ।  ‘यो मस्कले पुनः टेस्लामा पुरै ध्यान केन्द्रित गर्न लागेको स्पष्ट संकेत हो... वर्षको कमजोर सुरुवातपछि टेस्ला-मस्कको कथा पुनः सही ट्रयाकमा फर्किएको देखिन्छ,’ हग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले भने । मस्कले निरन्तर टेस्लामा आफ्नो सेयर हिस्सेदारी र मतदान शक्ति बढाउन माग गर्दै आएका छन् । उनले पहिले भनेका थिए कि यदि उनले २५ प्रतिशत मतदान शक्ति पाउन सकेनन् भने एआई र रोबोटिक्सका उत्पादनहरू टेस्लाबाहिर बनाउने उनको प्राथमिकता हुनेछ । एलएसईजीका तथ्यांकअनुसार डिसेम्बरसम्म मस्कसँग करिब १३ प्रतिशत सेयर हिस्सेदारी थियो । सोमबार लगातार तेस्रो दिन टेस्लाको सेयर बढिरहेको भए पनि यो वर्ष हालसम्म यसको मूल्य २ प्रतिशत घटेको छ, जसले यसलाई ‘म्याग्निफिसेन्ट सेभेन’ ठूला टेक कम्पनीहरूबीच कमजोर प्रदर्शन गर्ने सेयर बनाएको छ । टेस्लाको पछिल्लो त्रैमासिक नतिजामा कम्पनीको नाफामा दबाब जारी रहेको देखिएको छ किनभने विद्युतीय कारको माग सुस्त भएको, लागत बढेको र प्रतिस्पर्धा तीव्र भएको छ । तर, टेस्लाको बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले शुक्रबार भनेका थिए कि मस्कको राजनीतिक गतिविधिले बिक्रीमा असर गरेको भन्ने चिन्ता निराधार छ । उनका अनुसार मस्क केही महिना ह्वाइट हाउसमा व्यस्त रहेपनि अहिले पुनः कम्पनीमा ‘फ्रन्ट एन्ड सेन्टर’ अर्थात् पूर्ण रूपमा सक्रिय भएका छन् । इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति

असोजमा ०.१२ प्रतिशत घट्यो बैंकको ब्याजदर, ९ बैंकले घटाउँदा २ बैंकले बढाए

काठमाडौं । वाणिज्य बैंकहरुले असोजमा पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ३.९६ प्रतिशत ब्याजदर थियो । भदौ महिनाका लागि विभिन्न ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले साउनको तुलनामा असोजमा ब्याजदर घटाएका छन् । यस्तै, लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनको तुलनामा असोजमा ब्याजदर बढाएका छन् ।  ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने असोजमा ब्याजदर स्थिर राखेका छन् । 

विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नजिक, २९.९ प्रतिशत बढ्यो रेमिट्यान्स

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेको थियो । असारको तुलनामा साउनमा ४.८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ र  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चिति मध्ये राष्ट्र बैंकमा असारमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा साउनमा ४.० प्रतिशतले वृद्धि बढेर २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा साउनमा १२.० प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम छ । साउनमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । साउनमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । चालु आवको साउनमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो । समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रुपैयाँ रहेको थियो ।