बालेनका रहस्यमय पक्षहरू

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन विश्वमै सबैभन्दा छोटो अवधिमा सफल भएको आन्दोलनमध्ये पर्दछ । साथै छोटो अवधिको सर्वाधिक विनाशकारी आन्दोलन पनि हो । अन्य आन्दोलनमा उपलब्धिको मात्र चर्चा हुने गर्दथ्यो भने अहिले क्षतिको पनि चर्चा भइरहेको छ । त्यसकै आधारमा क्षतिमा मुख्य जिम्मेवार को भन्ने प्रश्न उठाइएको छ । देशको सत्ता नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नियन्त्रणमा चलिरहेको थियो । उनीविरुद्ध युवा जनमत र जन आक्रोश पैदा गराउने काम काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरिरहेका थिए । बालेन र केपी दुबै एक अर्कालाई तल पार्न प्रयत्नशील थिए । तर दुवै आ-आफ्नो पक्षमा झन् कडा भइरहेको थिए । यस बीचमा जेनजी आन्दोलन भएको थियो । केपीको जिम्मेवारी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव हेर्दा उनमा हठ छ । उनले आफूले गरेको काममा कहिल्यै पश्चाताप गर्दैनन् । उनी विरोधीलाई स्वीकार गर्दैनन् । विरोधीमाथि क्रुरतापूर्वक प्रस्तुत हुन्छन् । आफूले गरेका सबै काम ठीक छन् भन्नेमा उनी ढुक्क हुन्छन् । आँटेको काम सम्पन्न गर्न सक्छु भन्ने अदम्य साहस र आत्मबल उनमा छ । गलत भए दोष अर्को पक्षलाई लगाउँछन् । दोष अरुमाथि थोपर्ने वाककलामा उनी अब्बल छन् । केपी ओलीले आफू शक्तिमा नहुँदा नेपालको सार्वभौमसत्ता र अखण्डता जोखिममा पर्ने भन्दै आफ्नो महत्त्व स्थापित गर्दै आएका छन् । यो उनको वास्तविकता हो या जनतामा भ्रम पारेर आफूप्रतिको सद्भाव कायम गराउने रणनीति हो भन्ने प्रमाणित परीक्षण भएको छैन । ओलीले आफू भ्रष्टाचारको विरोधमा रहेको भनेर गर्ने गरेका दाबी भने फेक प्रमाणित भइसकेका छन् । उनले आफू निकटका व्यक्ति विरुद्धको आरोपमा जसरी प्रतिवाद गरे पनि भ्रष्टाचारमा संलग्न रहेको तथ्य, तर्क र प्रमाणबाट देखिएका छन् । केपी ओलीको कारण नेकपा एमालेभित्र र सर्वसाधारण जनतामा निकै ठूलो आक्रोश पैदा भएको पाइन्थ्यो । संगठनमा दमनकारी चरित्र र शासन प्रणालीमा भ्रष्टाचार उनको विशेषताका रुपमा बुझिए । जनतामा निराशा र आक्रोश पैदा हुनुमा केपी ओलीकै क्रियाकलाप जिम्मेवार छन् भन्ने देखिन्छ । बालेनको भूमिका के केपी ओली त्यति धेरै कुशासनका नाइके थिए जति जनमानसमा परेको छ ? वा उनीविरुद्ध जनभावना सिर्जना गर्न बालेनले एम्लिफायर (साउण्ड बक्स) को काम गरेका हुन् ? बालेन एकोहोरो पुराना दल विरुद्ध लागिरहनु र त्यसमा एक जना ओलीलाई तारो बनाउनुले ओली जति भ्रष्ट र क्रूर छन्, त्यसलाई जनमानसले धेरै गुणा बढी बुझ्ने अवस्था सिर्जना भएको हुन सक्छ कि सक्दैन ? यी प्रश्नमा घोत्लिनुपर्दछ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेनले आफू भ्रष्टाचार नगर्ने, राष्ट्रवादी तर केपी ओली भ्रष्टाचारीको नाइके भएको भनेर स्थापित गर्ने प्रयत्न गरे । भ्रष्टाचार नगर्ने र राष्ट्रवादी भएको दाबी ओली र बालेन दुवैको उस्तै छ। केपीले भारतले प्रयोग गरेको लिपुलेक नेपालको नक्सामा राखेर प्रयोगमा ल्याए भने बालेनले ग्रेटर नेपालकै नक्सा आफ्नो कार्यकक्षमा राखे भन्ने सार्वजनिक भयो । केपीले भारत विरोधी विभिन्न वक्तव्यहरू दिए । बालेनले काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्धसमेत लगाए । बालेनले भ्रष्टाचारको विरोध गरे पनि वास्तविकता के हो भन्ने प्रमाणित परीक्षण भएको छैन । बालेनले विभिन्न कर्मचारी र पदाधिकारीहरूलाई भ्रष्टाचारको आरोप लगाएको सार्वजनिक भएको छ । आमसर्वसाधारणले त्यसैलाई विश्वास गरेको पनि देखिन्छ । केपी ओली संघ सरकारको प्रमुख भएको, शासनको दायरा व्यापक भएको, साथै दलको समेत नेता भएको कारण दल भित्रबाट सूचना चुहिने सम्भावना हुन्छ । त्यस कारण उनी विरुद्ध खोजीनीति र उजागर पनि धेरै भए । बालेनबारे त्यही स्तरमा खोजी नीति हुन उनी पनि मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्नुपर्दछ । बालेनले ओलीभन्दा बठ्याइँ गरेर बचिरहेको पनि हुन सक्छ । अहिले आफ्ना मानिसलाई प्रयोग गरेर भ्रष्टाचार गरिरहेको, आफू प्रत्यक्ष संलग्न हुनबाट बचेको र कुनै बेला उनका मानिसको चरित्र उदांगो भयो भने उल्टै त्यही व्यक्तिलाई कारबाहीको लागि सहयोग गरेर आफू भ्रष्टाचारविरुद्ध शून्य सहनशील भएको देखाउने प्रयत्न गर्न सक्छन् । अर्थात् केपी आफ्ना मान्छे बाहेक विरुद्ध क्रूर थिए भने बालेन आफ्ना मानिस विरुद्ध पनि क्रूर हुन सक्छन् । अहिलेसम्मको तथ्यले बालेनले कुशासन र भ्रष्टाचारलाई अँगालेका छन् भन्ने आधार, प्रमाण भेटिएको छैन । यसको अर्थ उनी स्वच्छ नै छन् भनेर निर्क्यौल निकाल्न सकिँदैन । पर्याप्त नखोजिएको र नभेटिएको हुन सक्ने सम्भावना बाँकी छ । उनी पारदर्शी र अन्तरक्रियात्मक भएको भए शंका बाँकी राख्न जरुरी हुँदैन थियो । तर उनी रहस्यको पात्र भएको हुनाले वास्तवमा देखिए र बुझिए जस्तै असल हुन वा भित्री नियत फरक छ भनेर पर्खनुपर्ने हुन्छ । बालेन कति क्रूर र तानाशाही छन् भन्ने ओली जस्तो देखिएको छैन । यसका लागि उनीबाट पीडित व्यक्तिहरूको खोजी गरेर तथ्य प्रमाण हेर्नुपर्छ । जेनजी आन्दोलनपछिको सरकार निर्माणमा बालेनको प्रभाव देखिएको हुँदा उनीमाथि खोतल्ने व्यक्ति र प्रयत्न अब बढ्नेछन् । देखिएका बालेन बालेन काठमाडौंको मेयर भएपछि सार्वजनिक राजनीतिक सम्वादमा सामेल भएका छैनन् । उनी धेरैको पहुँचबाट टाढा छन् । उनका प्रतिनिधिले डिल गर्ने गरेका देखिन्छ । उनले साइत हेरेर फेसबुक स्टाटस लेख्छन् । उनको स्टाट्समा विकासको कुनै भिजन, योजना वा समस्या समाधानको बाटो हुँदैन । अरूको विरोध गर्ने र लोकप्रियता कमाउने उद्देश्य झल्किन्छ । उनले हार्ने स्टाटस लेख्दैनन् । काठमाडौं महानगरपालिका कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गर्दछन् । त्यहाँ पनि थोरै बोल्छन् र जित्ने कुरा मात्र बोल्छन् । अरूलाई दोषी देखाउने कुरा मात्र बोल्छन् । भ्रष्टाचारको आरोप लगाएर उनले कार्यालयबाट लखेटेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पछि उपप्रमुख, वडाध्यक्ष र कर्मचारीले नगर प्रहरीसँग लडाइ गरेर भित्र्याए । त्यतिखेर बालेन हारेका थिए । उनले घटनामा प्रतिक्रिया जनाउँदा त्यसमा काउण्टर जवाफ आउने प्रबल सम्भावना थियो । त्यतिखेर उनले ढुंगेधारा पुनर्उत्थानको भिडियो पोष्ट गरे । अहिले जेनजी आन्दोलन र सरकार गठनको विषयमा बालेन माथि विभिन्न प्रश्न उठेका छन् । त्यसैले उनी प्रतिक्रिया नजनाइ बसेका छन् । आफ्नो निर्णयले काठमाडौंमा देशभरका २० हजार विद्यार्थीले छात्रवृत्ति पाएको तथ्यांक पोष्ट गरेका छन् । उनले जन समर्थन घट्न सक्ने परिस्थितिमा जल्दा बल्दा विषयमा टिप्पणी गर्दैनन् । परिस्थितिलाई मोडेर अप्रासङ्गिक विषयमा प्रस्तुति गर्दछन् । जसले गर्दा विरोधीलाई थप सक्रिय हुने अवसर मिल्दैन भने समर्थकले उनलाई भेटेको महसुस गर्न पाउँछन् । नदेखिएका बालेन र भविष्य जेनजीको भोटिङमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले बहुमत प्राप्त गरिन । जबकि उनलाई सायदै कुनै जेनजीले चिन्दथे । २४ गतेको जेनजी आन्दोलनमा समर्थन जनाएर उनी उपस्थित भएकी थिइन् । एकै दिनमा उनी जेनजी माझ लोकप्रिय भएकी होलिन् र ? जेनजी समूहमा सबैले चिनेको र खोजेको अनुहार बालेन शाह थियो । यसै अनुमान गर्दा उनलाई ९० प्रतिशत मत आउनुपर्ने देखिन्छ । तर सुशीलाभन्दा केही कम मत प्राप्त भयो । बालेन दिनभर सम्पर्कविहीन भए । सुशीलाको बहुमत पुगेपछि उनलाई आफ्नो समर्थन रहेको स्टाटस लेखे । सम्पर्कविहीन हुनुको कारण भने पछिसम्म खुलाएनन् । प्रधानमन्त्री सुशीला कार्की बालेनको अघोषित कानुनी सल्लाहकारको भूमिका थिइन भन्ने चर्चा न्याय वृत्तमा व्याप्त थियो । गृहमन्त्री ओम प्रकाश अर्याल त बालेनका औपचारिक कानुनी सल्लाहकार नै थिए । आजभोलि बालेन भारत र अमेरिकाबाट परिचालित पात्र हो भनेर आशंकाहरू सार्वजनिक भएका छन् । त्यसो त कोही एक्कासि लोकप्रिय वा शक्तिशाली भयो भने विदेशीबाट परिचालित हो भन्ने अनुमान नेपालमा त्यतिकै लगाइन्छ । तथापि नेपाल विदेशी शक्तिको लागि चासो भएको मुलुक अवश्य हो । त्यसैले विदेशी शक्ति उपयुक्त पात्रको खोजीमा जहिले पनि हुन्छन् । तर उनीहरुले आफैले पात्र उत्पत्ति गर्न भने सम्भव कुरा होइन । लोकप्रिय हुन सक्ने सम्भावना देखिएको पात्रमा लगानी गर्छन् । अमेरिका र भारतको नेपालप्रतिको दृष्टिकोण सम्पूर्ण रूपले समान छैन । मानौं अमेरिका चौतारा जान चाहन्छ । भारत सिन्धुली जान चाहन्छ । धुलिखेलसम्म दुवैले सहकार्य गर्न सक्छन् । चीनको तुलना गर्दा भारत अमेरिकाको मित्र हो । दक्षिण एसियामा अमेरिकी प्रभावको प्रतिरोधमा भारत पनि एक शक्ति हो । बाह्यशक्तिले कलिलो युवा बालेनलाई राजधानीको मेयरबाट सुरु गरेर मुलुकको प्रत्यक्ष कार्यकारी बनाउने मनसाय राखेको हुन सक्छ । तर शक्ति केन्द्रले बालेनलाई प्रयोग गर्न खोजेको हो भन्दैमा त्यो दीर्घकालसम्म सफल हुन्छ भन्ने छैन । पहिलो त, बालेनले जनसमर्थनको निरन्तरता नपाएर बीचमै रोकिन सक्छन् । दोस्रो, बालेन उल्टो बाह्य शक्तिलाई प्रयोग गरेर आफू अघि बढ्न पनि सक्छन् । अहिले अवसर पाउँदा पनि बालेनले सरकारको नेतृत्व गर्न नचाहेको घटनाबाट उनी अझै पनि धेरै उजागर हुनबाट बच्न खोजेको संकेत मिल्दछ । त्यस्तै उनले दल गठन गरे भने पनि देखिने अध्यक्ष पद नलिने अड्कलबाजी गरिएका छन् । देशभरका स्वतन्त्रलाई समेटेर नयाँ पाटी बनाउने बालेनको सोच बुझिन्छ । तर साम्पाङले माथिल्लो पोर्टफोलियो दाबी गरेपछि दल गठनको योजना अन्योलमा छ । अब उनी सबै दलको विरोध गर्दै आफ्‌नो लोकप्रियता बढाउने रणनीतिमा जान सक्छन् । (लेखकको निजी विचार हो ।)

सिभिल अस्पताल अर्थात् संकटको सारथी

काठमाडौं । नयाँ बानेस्वरस्थित संसद भवनबाट चार कदम हिँड्दा पुगिन्छ– सिभिल अस्पताल ।  यो अस्पताल जहिल्यै राजधानीको राजनीतिक गतिविधि मात्र नभई विपद र आन्दोलनको पहिलो आश्रयस्थल बन्छ ।  संसद भवन अगाडि हुने आत्मदाहका प्रयास होस् वा केही दिनअघिको जेनजीहरूको प्रदर्शनमा घाइते भएकाहरू हुन् सबैभन्दा पहिले सिभिल अस्पतालमै पुग्छन् ।  सकेको उपचार सिभिल आफैले गर्छ भने ट्रमाका केशहरू ट्रमा सेन्टरमा रिफर गरिदिन्छ । हालैको जेनजी आन्दोलनमा समेत सयौं घाइते एकै पटक सिभिल अस्पताल पुगे । अस्पतालको करिडोरदेखि आकस्मिक कक्षसम्म भीडभाड भयो, कल्पनाभन्दा बाहिरको घटना एक्कासि हुँदा अस्पतालका कर्मचारी र चिकित्सक पनि आत्तिए  । ओपीडी सेवा बन्द गरी सबै कर्मचारी, चिकित्सक घाइतेको उपचारमा लागे ।  सामान्यदेखि विक्षिप्त अवस्थामा अस्पताल पुगेका ४ सय ६१ जनाको उपचार सिभिलले गर्यो भने ६ जनाका मृत्यु भयो । ५० जनाको शल्यक्रिया गरेको अस्पतालले जानकारी दिएको छ । ४ सय ४५ जना घर फर्किसकेका छन् भने एक जना अहिले पनि आईसीयूमा उपचाररत छन् । दुई जना वार्डमा उपचाररत छन् । कतिपय बिरामीहरू अहिले फलोअपमा छन् ।  हरेक आन्दोलनको साक्षी  सन् २००९ सालदेखि सेवा दिँदै आएको अस्पतालको मुख्य उद्देश्य निजामती कर्मचारी र उनको परिवारलाई सेवा दिनु थियो । तर, अन्य बिरामी पनि अस्पतालमा आउँदा उनीहरूलाई फर्काउन सक्ने अवस्था थिएन । केही वर्षपछि यो अस्पतालले सर्वसाधारणलाई समेत सेवा दिन सुरु गरेको थियो ।  त्यसपछिका हरेक विपतमा सिभिल उपचारमा तल्लीन छ । योभन्दा अगाडि बानेश्वरमा भएका सामान्यदेखि ठूला घटनाका घाइतेलाई निको बनाएको रेकर्ड सिभिलसँग छ । त्यस्ता आन्दोलन र प्रदर्शनमा घाइते भएका कतिलाई उपचार गर्यो भन्ने यकिन रेकर्ड त छैन तर सिभिल हरेक आन्दोलन र प्रदर्शनको साक्षी बन्दै आएको छ ।  अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मी भन्छन्, ‘अस्पताल बिरामीलाई सेवा दिन खोलिएको हुन्छ, को आन्दोलनकारी, को प्रदर्शनकारी, हाम्रा लागि सबै बिरामी एउटै हुन्, सेवामा हामीले तल-माथि गर्दैनौं ।’   गत चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनमा पनि धेरै जना घाइते भए । ती सबै घाइतेहरू सबैभन्दा पहिले सिभिल अस्पतालमा पु¥याइएको थियो । अस्पतालले सकेजति आफै उपचार गरेको थियो भने गम्भीरलाई ट्रमा सेन्टरमा पठाएको थियो ।  त्योभन्दा अगाडि बानेश्वरमै शिक्षक र प्रहरीबीच झडप भयो । त्यो बेला पनि सिभिल अस्पताल नै उपचार गर्ने पहिलो अस्पताल बन्यो ।  कर्मचारीको नजरमा भदाै २३  गत भदौ २३ गते सिंहदरबारमा संसदीय समितिको बैठक चलिरहेको थियो । सिभिल अस्पतालका निर्देशक एवं स्त्रीरोग विशेषज्ञ डा. चन्द्रमोहनलाई त्यो बैठकमा निम्तो थियो । पौने ११ बजेको थियो । सडकमा युवाहरूको जमात बाक्लो भइसकेको थियो ।  भीड हेर्दा मन दोधार भइरहेको थियो । यो आन्दोलनले कतै ठूलो रूप त लिँदैन ? यस्तो अवस्थामा जाने कि नजाने भन्नेमा मन दोधार थियो । तर, उनी निस्किए । बैठकमा स्वास्थ्य सचिव अस्पतालका निर्देशकहरू थिए । उनले बैठकमा सडकको अवस्थाबारे जानकारी गराए । सम्भावित जोखिम पनि सुनाए ।   उनी भन्छन्, ‘बाहिरको अवस्था हेर्दा डरलाग्दो छ, हामीलाई एम्बुलेन्स आवश्यक पर्न सक्छ, सबैले सक्दो सहयोग गर्नुपर्छ ।’ यति कुरा राखेर उनी  निस्कँदासम्म  प्रदर्शन सुरु भइसकेको थियो ।  बाटोभरि मानिस भएकाले गाडीमा आउन सम्भव थिएन । उनी एम्बुलेन्समार्फत अस्पताल पुगे । त्यो बेलासम्म बानेश्वर एरिया पुरै रणभूमिमा परिणत भइसकेको थियो, अस्पतालको प्रांगण घाइतेहरूले भरिएको थियो । सुरुमा डा. रेग्मी आफै अन्यौलमा परे, स्कुल ड्रेसमै विद्यार्थीहरू रगतले लतपतिरहेका थिए । कसैको टाउकोमा, कसैको छातीमा गोली लागेको थियो । तर, त्यो बेला हरेस खाएर भाग्ने अवस्था थिएन । उनले अस्पतालका सबै कर्मचारीलाई उपचारमा लाग्न निर्देशन दिए ।  सिभिलले ‘डिजास्टर म्यानेजमेन्ट प्लान’अन्तर्गत रिजर्भ जनशक्ति तुरुन्तै परिचालन गर्यो । अस्पतालमा भएका बिदामा बसेका कर्मचारी, चिकित्सकलाई बोलाइयो । घाइतेको संख्या ठूलो आउन थालेपछि सबै जनालाई इमर्जेन्सी उपचारमा केन्द्रित ग¥यो ।  डा. रेग्मी भन्छन्, ‘हामीले अस्पतालको जुन ठाउँ खाली छ, त्यसलाई प्रयोगमा ल्यायौं । बिरामीहरू रेस्ट गर्ने, बस्ने सबै ठाउँ तुरुन्त खाली गरेर इमर्जेन्सीमा कन्भर्ट ग¥यौं र उपचार सुरु ग¥यौं । सम्पूर्ण जनशक्ति नै उपचारमा केन्द्रित भयो ।’ यस्तो बेलामा सिभिलका कर्मचारीले मात्र काम गर्न सक्ने अवस्था थिएन । निर्देशक डा. रेग्मीले बैठकमै सम्भावित जोखिमको बारेमा भनिसकेका थिए । सिभिलका कर्मचारीले चार सय जनालाई हेर्न नसक्दा बाहिरका अन्य चिकित्सक नर्स र अन्य स्वास्थ्यकर्मीको टोली आयो । स्वास्थ्य मन्त्रालय र अन्य स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीको टोली आउँदा उपचार सम्भव भयो ।  निर्देशक रेग्मीले दुई वर्ष सिभिलमा एक डाक्टरका रूपमा काम गरे । ६ महिनादेखि अहिले निर्देशकको रूपमा काम गरिरहेका छन् । उनले आफूले २३ गतेको जस्तो दृश्य कहिल्यै देखेको अनुभव सुनाए ।  ‘यहाँ काम गर्दा मात्र होइन, यो क्षेत्रमा लागेको अहिलेसम्म पनि यस्तो देखेको थिइनँ । पहिलो पटक एक्कासि यस्तो हुँदा मेरो मानसपटलमा अहिले पनि असर परिरहेको छ,’ उनले भने ।  जहिल्यै पूर्वतयारी काठमाडौं उपत्यकामा कुनै राजनीतिक दल, समूह वा कुनै पीडितहरूले आन्दोलनको घोषणा गर्दा सिभिललाई छटपटी हुन्छ । अझ बढी छटपटी संसद भवन वरिपरि गरिने प्रदर्शनमा हुन्छ । संसद भवन, तीनकुने, माइतीघर हरेक नागरिकको न्याय माग्ने ठाउँ बनेको छ ।  सिंहदरबार र संसद भवन नजिकै हुँदाको प्रभाव अस्पताललाई पनि परेको डा. रेग्मी बताउँछन् । उनले विगतमा भएका केही घटनाले सिभिललाई तयारी गर्न सिकाएको जानकारी दिए ।  उनी भन्छन्, ‘काठमाडौंमा केही आन्दोलन वा प्रदर्शन हुँदैछ भने हामी अघिल्लो दिनबाटै तयारी सुरु गर्छौं, यो घटनामा पनि हामी अघिल्लो दिनबाट तयारीमा रहनुपर्छ भन्ने मानसिकतामा थियौं, तर यो हदसम्मको हुन्छ भन्ने कल्पना भने थिएन ।’ डा. मोहनचन्द्र रेग्मी अस्पतालभित्रै बुट र अश्रुग्यास  भदौ २३ र २४ गते भएको आन्दोलनले ठूलो धनजनको क्षति भयो ।  प्रहरी अस्पतालभित्रै प्रवेश गर्यो । अस्पतालभित्रै प्रहरीका बुटहरु बजारिए । उपचारमा खटिएका चिकित्सक नर्सहरूलाई समेत केही समय उपचारमा समस्या भयो । अवस्था निकै जोखिमपूर्ण थियो । अस्पतालभित्र स्वास्थ्यकर्मी नै असुरक्षित भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘प्रदर्शनकारी साथीहरू वरिपरि हुनुहुन्थ्यो । हामीले पछाडिको गेट खुला गरेर धेरै ठूलो संख्यामा प्रदर्शनकारीहरूलाई पछाडिबाट बाहिर निस्किन लगायौं नत्र भने क्षति अझ धेरै ठूलो हुन्थ्यो,’ अस्पतालका निर्देशक डा. रेग्मी भन्छन्, ‘हामीले यसो नगरेको भए अवस्था अझै खराब हुन्थ्यो, त्यतिबेला हामी कसैसँग प्रश्न गर्ने अवस्थामा थिएनौं । जे भएपनि हामीले सयौंको जीवन बचायौं । तर म कामना गर्छु कि विद्यालय, अस्पताल जस्ता पवित्र संस्था चाहिँ द्वन्द्वको मारमा नपरेको भए हुन्थ्यो ।’  उनी अब फेरि यस्तो अवस्था नआओस् भनेर कामना समेत गर्छन् । अस्पताललाई धम्की  अस्पतालमा कहिलेकाँही काम गर्दागर्दै पनि अप्ठ्यारो स्थिति आउने चिकित्सक बताउँछन् । कहिलेकाहीँ आन्दोलनरत पक्ष र सरकार पक्षबाट पनि दबाब भएको जस्तो महसुस सिभिल अस्पतालका चिकित्सकले गरेका छन् ।  बिरामीका गोली, छर्राहरू निकाल्न ढिलो भयो, ढिला ग¥यो भन्ने हल्ला फैलिन्छ । यस्तै बेला  गलत सूचना प्रवाह हुने सम्भावना पनि उत्तिकै हुन्छ । निर्देशक डा. रेग्मी दिग्भ्रमित गर्न खोज्ने विषयवस्तुको गहिराइमा नपुगी सूचना दिँदा कहिलेकाहीँ काम गर्न अप्ठ्यारो हुने गरेको सुनाउँछन् । ‘प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा अस्पताल के बन्न सक्दो रहेछ भन्ने कुरा हामीले यो पटक देख्यौं,’ डा. रेग्मी भन्छन्,‘ धम्कीको पनि महसुस गर्यौं । यही अस्पताल भित्रै पनि आगजनी हुने स्थिति थियो, तर सम्झाई–बुझाई, गर्दा उहाँहरूले मान्नुभयो ।’ आपतकालीन स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने  आन्दोलनमा मात्र होइन, अन्य समयमा पनि अस्पतालमा बिरामीको भीड लाग्छ । हरेक दिन ओपीडीमा ८÷९ सय बिरामी उपचारका लागि पुग्छन् । विपतमा बढी नागरिकको भरोसा हुने सिभिल अस्पताललाई अब राष्ट्रिय आपतकालीन स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने सोच निर्देशकको छ । उनी यो विषयमा कुरा गरिरहेको बताउँछन्  । सिभिल अस्पतालमा रहेको इमर्जेन्सीको टिम सबै डब्लुएचओको प्रोटोकलअनुसार तालिमप्राप्त छ । बेलाबेला रिफ्रेसर ट्रेनिङहरू भइराखेको हुन्छ । अस्पतालले अबको केही दिनपछि यो घटनालाई प्राथमिकतामा राखेर तालिम र त्यसको रिफ्रेसर ट्रेनिङ दिने योजना बनाएको छ ।  चिकित्सक मानसिक रूपमा विक्षिप्त भदौ २३ र २४ गते भएको आन्दोलनले चिकित्सक मानसिक रूपमा विक्षिप्त भएका छन् । रक्ताम्य अवस्थामा घाइतेको उपचार गर्दा मानसिक रूपमा समेत असर परेको उनीहरूको भनाइ छ । जेनजी आन्दोलनमा घाइतेहरूको छाती, टाउकोमा बढी गोली लागेको थियो । कसैको टाउको हेर्नै नसिकने अवस्थामा थियो । विद्यालय पोशाकमा कलिला विद्यार्थीहरू कोही छटपटाइरहेका थिए भने कोही बेहोस अवस्थामा थिए ।  निर्देशक डा. रेग्मी अहिलेसम्म पनि स्वास्थ्यकर्मी र कर्मचारीमा मनोवैज्ञानिक असर परिरहेको बताउँछन् ।  ‘यत्रो आन्दोलन देख्यौं, आँखा अगाडि मान्छे मरिरहेका देख्यौं, भौतिक क्षति भएको पनि देख्यौं,’ डा. रेग्मी भन्छन्, ‘अहिले अवस्था सामान्य छ, जनजीवन पनि सरल भइसकेको छ तर त्यो दुश्य भुल्न अझै धेरै समय लाग्छ, सबै साथीहरूलाई त्यही भएको छ, मलाई पनि त्यो दृश्यले अहिले पनि सताइरहन्छ ।’ यसरी स्थापना भएको थियो सिभिल नेपालमा सेना, प्रहरी सबैका आ-आफ्ना अस्पताल थिए । तर, निजामती कर्मचारीहरूको लागि अस्पताल थिएन । आवश्यकता भए पनि अस्पताल नहुँदा सरकारले जनवादी गणतन्त्र चीन (पीआरसी)सँग अनुरोध गर्यो । सिभिल सर्भिस अस्पताल निर्माणका लागि चीन तयार भयो । चीनले १३२ शैय्याको अत्याधुनिक अस्पताल निर्माण गरेर सन् २००८ मा नेपाल सरकारलाई हस्तान्तरण गर्यो ।  सिभिल अस्पताल सरकारी अस्पताल हो । यो नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्छ ।  यसको प्यारेन्ट मिनिस्ट्री संघीय मामिला मन्त्रालय हो । यसको समिति छ । समिति अन्तर्गत अस्पताल सञ्चालन हुन्छ । समितिमा मुख्यसचिव समितिको अध्यक्ष, अर्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सचिव समितिको सदस्य रहने व्यवस्था छ । कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।   यो निजामती कर्मचारीको अस्पताल भनेर चिनिन्छ तर यसले बढी सेवा पब्लिकलाई नै दिँदै आएको छ । निर्देशक डा. रेग्मी भन्छन्, ‘कर्मचारीहरुलाई खास हामीले त्यति चाहेजति प्राथमिकता दिएर सेवा गर्न सक्या छैनौं । यहाँ पब्लिक ९० प्रतिशत र कर्मचारीहरू १० प्रतिशत उपचारका लागि आउँछन् ।’  अस्पताल सुचारु हुँदा कर्मचारीको भनिए पनि यसको स्थापनाकालको दुई÷तीन वर्षपछि नै यसले पब्लिकलाई सेवा दिन सुरु गरेको थियो । यो अस्पताल ७० रोपनी जग्गामा छ । यसले सबै किसिमको सेवा उपलब्ध गराउँछ । तर विशिष्टीकृत सेवा प्रदान गर्ने केही विधाहरूमा भने जनशक्तिको पनि अभाव छ ।  सिभिल अस्पताललाई अति विशिष्टीकृत सेवाको केन्द्र बनाउने योजना छ । यसका लागि हालसालै करिब २०० बेड थप्ने गरी डीपीआर तयार भएको छ । जसमा नेपालमै अन्यत्र उपलब्ध नहुने सेवा, क्यान्सर स्क्रिनिङ, जेनेटिक मेडिसिन, त्यस्तै अब यो मुटुको रोगको अपग्रेड गरेर मुटुको, फोक्सो र मुटुको ट्रान्सप्लान्टेसन गर्ने, त्यो लेभलको सेवा उपलब्ध गराउने गरी कार्ययोजना रहेको छ ।    

चार मन्त्रीको पदभार ग्रहण, यस्ता छन् पहिलो निर्णय

काठमाडौं । सोमबार चारवटा मन्त्रीले शपथपछि पदभार ग्रहण गरेका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल र  मदन परियारले सोमबार मन्त्रीको पदभार ग्रहण गरेका हुन् ।  सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । खरेलले सूचना तथा सञ्चार मन्त्रालय र परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  कसले के गरे पहिलो निर्णय ? उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको  व्यवस्था गरिने निर्णय गरेका छन् । त्यससँगै उनले सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् भने अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने निर्णय गरेका छन् । अनिलकुमार सिन्हा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र काठमाडौं उपत्यकासँगै देशका सातवटै प्रदेशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।  सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेल ६ महिनामा कुनै कायापलट नहुने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले ६ महिनामा धेरैले राखेजस्तो अपेक्षा काम नहुने धारणा राखेका हुन् । ‘मसँग धेरैले धेरै अपेक्षा राखेका छन्, ६ महिनामा केही पनि हुन सक्दैन । सोचेजस्तो कायापलट हुँदैन,’ उनले भने।  उनले फागुनसम्म तीन काम गर्न सकिने धारणा राखे । ‘फागुन २१ मा चुनाव भ्रष्टाचार नियन्त्रण गरे सुशासन कायम गर्ने र जनतालाई त्यसको महसुस गराउने । भ्रष्टाचार नियन्त्रण पनि ५ महिनामा हुँदैन । यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा निर्मम छ भन्ने महसुस गराउँछ । हामी खरानी टकटक्याउँदै जीवन र धरोहरको पुन:निर्माण गर्नेछौं,’ उनले भने ।  जगदिश खरेल यस्तै, उनले मन्त्रीको नामबाट कुनै पनि हस्तक्षेप नहुने पनि बताएका छन् । उनले देशको प्रशासन संयन्त्रलाई विश्वास गर्ने बताउँदै देश र जनतालाई काम गरेर अगाडि बढ्न निर्देशन दिए ।  यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए । उनले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।  डा. मदन परियार मन्त्री परियारले भने, ‘सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ । त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ । अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो । किसानका समस्याहरू समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ ।’  यस्तै, नवनियुक्त शिक्षामन्त्री डा. महावीर पुनले पनि पदभार ग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् । डा. महावीर पुन मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा उनले हस्ताक्षर गरेका छन् । सुरुमा उनले हस्ताक्षर गर्न आनाकानी गरे पनि पछि भने तयार भएका थिए ।