शिक्षा र संस्कार, घरघरबाटै सुधार

पदभार ग्रहणपछि पहिलो सम्बोधनमा प्रधानमन्त्रीको सुशीला कार्कीले भनिन्‌, ‘जेनजी आन्दोलनका क्रममा हाम्रा सार्वजनिक सम्पत्तिहरूमा तोडफोड र आगलागी भएको छ । निजी घर र व्यवसायिक प्रतिष्ठानहरूमा तोडफोड, लुटपाट र आगजनी भएको छ । यी कहालीलाग्दा घटनाले देशलाई नोक्सान मात्र भएको छैन, लाजमर्दो भएको छ ।’ यहाँ लाजमर्दो विषयले हामी नेपालीको चेतनास्तर कस्तो छ ? हामीले स्कूल र कलेजमा के सिक्यौं, घरमा के संस्कार सिक्यौं ? भन्ने विषयलाई संकेत गर्दछ ।  भदौ २३ र २४ गते देशभरि भएका घटनाले सम्पूर्ण नेपाली समाजलाई गम्भीर प्रश्नको अगाडि उभ्याइदिएको छ । राजधानीका महत्त्वपूर्ण सार्वजनिक स्थल- संसद, सिंहदरबार, अदालतदेखि निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूका घर र अफिससम्म जले, नेताहरूका आवासहरू क्षतिग्रस्त भए । जेनजी प्रदर्शनीका नाममा सुरु भएको यो आन्दोलन युवाहरूको हातबाट हिंसात्मक उन्मादमा परिणत हुनुले हाम्रो सामाजिक संरचना र संस्कारबारे गहिरो आत्मपरीक्षण गर्नुपर्ने बेला आएको छ । यस्ता घटनाको मूल कारण के हो भन्ने प्रश्न सबैको मुखमा छ । राजनीतिक असन्तोष, सामाजिक असमानता, वा नेतृत्वप्रतिको असन्तुष्टि यी कारणहरूलाई पूरै नकार्न सकिँदैन । तर गहिरिएर हेर्दा यसको जड हाम्रो शिक्षा प्रणाली, नैतिक मूल्यहरूको क्षय र घर–परिवारबाटै सुरु हुने संस्कारको कमजोरीमा भेटिन्छ । आजको पुस्ता आधुनिक प्रविधि, भौतिक चकाचौंध र तत्कालीन सुखमा त आकर्षित छ तर सहनशीलता, जिम्मेवारी र समाजप्रतिको दायित्व सिक्न भने असफल हुँदै गएको छ । शिक्षाले केवल रोजगारका लागि दक्षता मात्र दिनु हुँदैन, जीवनको आधारभूत मूल्यहरू पनि गढ्नुपर्छ । तर हाम्रो शिक्षण पद्धति नैतिक शिक्षा, चरित्र निर्माण र सामाजिक उत्तरदायित्वमा कमजोर हुँदै गएको छ । पुस्तकमुखी अध्ययन, परीक्षामुखी प्रतिस्पर्धा र अंक-केन्द्रित मूल्याङ्कनले विद्यार्थीहरूलाई केवल आत्मकेन्द्रित र व्यक्तिगत लाभ खोज्ने बनाएको छ । जब शिक्षा नै मानवता र सहअस्तित्वको पाठ दिन असफल हुन्छ, त्यस्तो समाजमा हिंसा, विनाश र अराजकता प्राकृतिक परिणामका रूपमा देखा पर्छ । यसैगरी, पारिवारिक संस्कारको क्षय अर्को मूल समस्या हो । घर नै जीवनको पहिलो विद्यालय हो । तर आधुनिक जीवनशैलीमा परिवारसँगको संवाद, अनुशासन र आपसी सम्बन्ध कमजोर हुँदै गएको छ । अभिभावकहरू व्यस्त जीवनशैलीमा सीमित हुँदा बालबालिकाले मोबाइल, टेलिभिजन र सामाजिक सञ्जालबाट मात्र पाठ सिक्छन् । यी माध्यमहरूले मनोरञ्जन र जानकारी दिन्छन्, तर सही-गलत छुट्याउने क्षमता भने दिन सक्दैनन् । यही खालीपनले युवालाई असन्तोष व्यक्त गर्न हिंसात्मक बाटो रोज्न प्रेरित गरेको हो । यसरी जब शिक्षा प्रणाली, पारिवारिक संस्कार र सामाजिक मूल्यहरू तीनवटै पक्ष कमजोर हुन्छन्, तब एउटा पुस्ता दिशाहीन हुन्छ । दिशाहीन युवाले आन्दोलनलाई पनि अवसरको रूपमा प्रयोग गरेर विनाशतिर मोड्न सक्छन् । संसद, अदालत वा सिंहदरबार जलेको घटनामा राजनीतिक नेतृत्व मात्र दोषी होइन, हरेक नेपाली परिवार पनि उत्तिकै जिम्मेवार छ । अब प्रश्न उठ्छ– यस्तो अवस्थाबाट समाजलाई कसरी सुधार्ने ? यसको उत्तर सजिलो छैन, तर स्पष्ट छ कि सुधार घरघरबाट सुरु हुनुपर्छ । अभिभावकहरूले आफ्ना सन्तानलाई अनुशासन, आदर, श्रमप्रतिको सम्मान र समाजप्रतिको दायित्वबारे शिक्षित गर्नुपर्छ । विद्यालयहरूले नैतिक शिक्षा, सामुदायिक सेवा र चरित्र निर्माणलाई पाठ्यक्रमको मुख्य हिस्सा बनाउनुपर्छ । सरकार र नेतृत्वले मात्र होइन, हरेक नागरिकले आ-आफ्नो ठाउँबाट मूल्य-आधारित समाज निर्माणमा योगदान दिनुपर्छ । देशलाई जलाउने होइन, निर्माण गर्ने संस्कार स्थापित गर्न अब ढिलो गर्न मिल्दैन । आज हामीले अनुभव गरेको विनाश हाम्रो आफ्नै कमजोरीको प्रतिफल हो । यदि हामी घर-घरबाटै सुधारको बाटो हिँड्न सक्छौं भने भोलिका दिनमा यस्ता विनाशकारी दृश्य दोहोरिन आवश्यक छैन । युवा पुस्तालाई दोष मात्र दिएर बस्ने होइन, उनीहरूलाई सही बाटो देखाउने जिम्मेवारी हामी सबैको हो । नेपालले धेरै आन्दोलन देखिसकेको छ, तर साँचो आन्दोलन भनेको मन र सोचको आन्दोलन हो । त्यसैले अबको अभियान ‘घरघरबाट सुधार’ हुनुपर्छ । यही बाटोले मात्र हामीलाई हिंसामुक्त, जिम्मेवार र समुन्नत समाजतर्फ डोऱ्याउन सक्छ । परिवर्तन ध्वंस र हिंसाबाट होइन, मत र अभिमतबाट गर्नुपर्छ । यस्तो परिवर्तन मात्र उत्पादनमूलक र दिगो हुन्छ ।

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि शनिबार नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।  अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि छुट्याइएको रकम पहिलो त्रैमासमा निकासा गर्ने निर्णय मन्त्रिस्तरबाट भएको हो । 'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत पहिलो त्रैमासिक कायम गरी विगत सातवटा त्रैमासमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैङ्कलाई सोधभर्ना उपलब्ध गराउन आज अर्थमन्त्रिस्तरीय निर्णय भएको छ', अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । नेपाल राष्ट्र बैङ्कले लामो समयदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सरकारबाट पाउन सकेको थिएन । यो रकम निकासा भएसँगै कर्जा विस्तारका लागि थप सहज हुने अनुमान गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जा रु पाँच करोडसम्म, महिला उद्यमशील कर्जा तथा स्टार्टअप उद्यम कर्जा २५ लाख रुपैयाँसम्म उपलब्ध गराउन सक्ने व्यवस्था छ ।  त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका युवा तथा शिक्षित युवा परियोजनाका लागि २० लाख रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जाका रुपमा पाँच लाख रुपैयाँ बराबर कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ ।  बैङ्क तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने यस्तो सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

गाउँमा भन्दा शहरमा चर्चित छ पक्कु, ब्राण्डमा जोड्दै प्रेसिडेन्ट

शंकर भण्डारी नेपालीहरूको महान चाड विजयादशमी अर्थात् दशैं । नेपाली आत्माको सामूहिक उत्सव नेपालीहरूको जीवनमा यो पर्व धार्मिक संस्कार मात्र होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुशीको साझा उत्सव हो । दशैं भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ । गाउँले चुलोको धुवाँ, घर आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, काँक्रामा परेको खर्सी, रङ्गीचङ्गी फूल, टीका र जमरा, देवीदेउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ, बाजागाजाको ताल, नाचगानको रमाइलो र आमाको हातबाट बनेका परिकार। गाउँमा हुर्केका पुस्तालाई दशैं भन्नासाथ बाल्यकालका मीठा स्मृतिहरू जाग्छन् । बिहानैदेखि भजनकीर्तन, देवीदेवताका नाममा आराधना, भाकलपूजा, भागवतपाठ, आँगनमै जमेको परिवार र छिमेकी, चौपारीमा हल्लिएको लिङ्गे पिङ । यी सबै क्षण केवल धार्मिक संस्कार थिएनन्, सामूहिकतामा खुशी बाँड्ने अवसर पनि थिए । दशैंको अर्थ नै परिवार, गाउँ, र समाजलाई एकसाथ बाँध्ने धागो हो । खसी–बोकासँग जोडिएको सामाजिक आयाम दशैं आयो भने गाउँघरमा खसी–बोका काट्ने दृश्य अझै पनि आँखाअघि झल्किन्छ । तर त्यो मासु सबैका लागि सजिलै उपलब्ध थिएन । धेरैले दुःख गरी पैसा जम्मा गरेर दशैंमा मात्रै एउटा खसी काट्न सक्थे । महिलाले भाकल छुनै नहुने, प्रसादका रूपमा मासु खान नहुनेजस्ता विभेदकारी परम्परा पनि प्रचलित थिए । तर त्यही समाजभित्रै परम्पराले दिएको एउटा अद्भुत खजाना थियो, मासुलाई लामो समयसम्म सुरक्षित राख्ने कला । आज फ्रिज, चिस्यान वा आधुनिक संरचना नभएको त्यतिबेला पुर्खाले प्रयोग गरेको उपाय नै थियो । तोरीको तेल वा घ्यूमा मसला हालेर मासु बिस्तारै आगोमा पकाउने र सुरक्षित राख्ने । यही बुद्धिमानीले जन्म दियो पक्कु भन्ने परिकारलाई । बाल्यकालमा दशैंसँग गाँसिएको पक्कुको सुवास अझै पनि जीवित छ । दशैं सकिए पनि तिहारसम्म पक्कु घरमा हुन्थ्यो । बिहान वा बेलुकी भाँडाबाट थोरै निकालेर तताउने, परिवारसँग बाँड्ने त्यो स्वाद मात्र होइन, त्यो सामूहिकता नै हाम्रो संस्कृतिको आत्मा थियो । पक्कु मासुको परिकारमा मात्रै सीमित नभई, त्यो परिवार, सामूहिकता, बचत र आत्मनिर्भर जीवनशैली पनि हो । परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने प्रेसिडेन्टको संकल्प समयसँगै शहरमा जनसंख्या बढ्यो, आधुनिक परिकार म:म:, पिज्जा, बर्गर, केएफसी जस्ता डिश र फास्टफुडले बजार ओगट्न थाले । तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा संकल्प जाग्यो । गाउँमा सीमित परम्परालाई शहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने । यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक ‘पक्कु फेस्टिवल’ आयोजना गर्‍यो । सुरुमा धेरै शंका उठे । शहरबासीलाई पक्कु मन पर्ला ? बर्गर र पिज्जामा रमाउने युवाले यसलाई स्वीकार्लान ? तर हाम्रो विश्वास दृढ थियो । यो परिकार मात्र होइन, आत्मीयता र भावनाको पुनर्जीवन पनि हो । पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे । दैनिक सातवटा खसी बराबरको मासु प्रयोग भयो । कतिपय दिन त माग धान्नै गाह्रो भयो । कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उहाँहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो । सबैभन्दा भावुक क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने, 'यो स्वाद आमाको हातको स्वाद जस्तै रहेछ । मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो । मलाई त्यो बालापन, गाउँघर र आमाको सम्झना आयो । मलाई गाउँ फर्किएझैं लाग्यो ।' त्यो एक वाक्यले पुष्टि गर्‍यो, हाम्रो प्रयास केवल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो । त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित गर्‍यो । पक्कु फेस्टिवल : परम्परा र आधुनिकताको संगम पहिलो अनुभवको सफलताले हिम्मत थप्यो । त्यसैले २०८२ सालमा पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको संगमको रूपमा जोड्न प्रयत्न गर्दै छ । यसपटक पनि पाँच दिन लामो फेस्टिवल हुनेछ । करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य रहेको छ । यसपटक पक्कुमा विविधता थपिएको छ । जस्ताेकि तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु, घ्यूमा बनेको विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा, अन्य रैथाने र परम्परागत साकाहारी परिकार । साथै पुरातात्विक चिनारीको प्रदर्शन, लिङ्गे पिङ, र सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ । हामीलाई विश्वास छ, खानामा संस्कृतिको आत्मा बस्छ । पक्कु केवल परिकार होइन, सामूहिकता, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो । हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ । हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो । पक्कु : अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध पक्कु फेस्टिवल केवल खानाको प्रदर्शनी मात्रै होइन । यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ । गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यसपटक १२ हजार भन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ । यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउनेछ । नेपालमा रहेका अन्य होटल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन् । प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ । अब पोखरा र विराटनगर जस्ता प्रमुख शहरमा पक्कु र सेकुवाको स्वाद पुर्‍याउने तयारी भइरहेको छ । दीर्घकालीन लक्ष्य अझ ठूलो छ, अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने । हाम्रो सपना छ, विदेशिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकून्, र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकून् । पक्कु : एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान पहिलो फेस्टिवलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस गर्‍यौं, गाउँमा खाएको पक्कुको स्वाद हजारौं पारखीहरूसँग बाँड्न सक्यौं । त्यो क्षणले देखायो, यो व्यवसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो । आज हामी निश्चिन्त भई भन्छौं, पक्कु फेस्टिवल केवल महोत्सव होइन, यो मौलिक स्वाद र नेपालीको पहिचान हो । परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो । हामीलाई विश्वास छ, यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ । यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान, व्यवसायी, सेयर सदस्य र उपभोक्ताको साझा सपना हो । त्यसैले म सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछु कि पक्कुको स्वाद लिन, यसको मौलिकता र कथा बाँड्न, र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न । पक्कु लगायत हाम्रा विभिन्न पर्वसँग जोडिएका परम्परागत खाना केवल एउटा परिकार होइनन्, यी त हाम्रो सामूहिक स्मृति, हाम्रो पहिचान, र हाम्रो भविष्य समेत हुन् । (लेखक टीआर भण्डारी (शंकर) पर्यटन व्यवसायी र प्रेसिडेन्ट ग्रुपका अध्यक्ष हुन्)