स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोडको एफपिओ जारी गर्ने, १ अर्ब ९३ करोडको बोनस सेयर थपिने
काठमाडौं, ७ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको पुँजी एफपिओबाट जुटाउने भएको छ । बैंकले आफ्नो वेवसाइडमा राखेको पुँजी वृद्धि योजनामा चालु आर्थिक वर्षभित्रै एफपिओ जारी गरी ३ अर्ब ३० करोड रुपैयाँ पुँजी वृद्धि गर्ने जनाएको छ । त्यस्तै बैंकले गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफासहित १ अर्ब ९३ करोड रुपैयाँ बराबरको बोनस सेयर थप्ने भएको छ । एफपीओ जारी गरेपछि यस बैंकमा नेपालीको सेयर हिस्सा वृद्धि हुने भएको छ । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको छ भने २५ प्रतिशत सेयर मात्र नेपालीको स्वामित्वमा छ । नेपाल राष्ट्र बैंक नीतिअनुसार २०७४ असार मसान्तभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेपछि चार्टर्डले सेयर संरचना नै परिवर्तन गर्ने गर्दै आफू भने ग्रुपले नयाँ पुँजी लगानी नगर्ने नीति लिएको देखिएको छ । परिवर्तित सेयर संरचनामा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको कति हुने र नेपालीको कति हुने भन्ने स्पष्ट छैन । बैंकले एफपिओ जारी गरि प्रिमियमसहित ३ अर्ब ३० करोड पुँजी जुटाउने जनाएको छ । बैंकसँग अहिले दुई अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकले यो चुक्ता पुँजीको ३३.३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । वोनस सेयर वितरणपछि चुक्ता पुँजी ९४ करोड रुपैयाँले बढ्छ । एफपिओ जारी पछि ३ अर्ब ३० करोड रुपैयाँ जम्मा हुने र चालु आर्थिक वर्ष २०७३÷७४को नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुर्याउने योजना बैंकले सार्वजनिक गरेको छ ।
बैंकले निक्षेपकर्तालाई ८ प्रतिशत व्याज दिन थाले, निक्षेपको व्याजदर मुद्रास्फिति दर नजिक
काठमाडौं, ७ कात्तिक । बैंकका बचतकर्ताले करिव ६ वर्षपछि निक्षेपको व्याज दर मुद्रास्फिति दरको हाराहारी पाउन थालेका छन् । व्यक्तिगत बचतकर्तालाई मुद्दती खातामा बैंकले ७.५ प्रतिशत व्याज दिन थालेका छन् । सिद्धार्थ बैंकले ६ महिने अवधिको मुद्दतीमा ७.५ प्रतिशत व्याज दिने योजनासहित निक्षेककर्तालाई बचत गर्न आह्वान गरेको छ । अन्य धेरै बैंकहरुले कात्तिकको पहिलो साता व्याजदर वृद्धि गरेको सूचना पत्रपत्रिकामा प्रकाशित गरेको छन् । अधिकांशले मुद्दति बचतमा ७ प्रतिशत व्याजदर तोकेका छन् । बैंकहरुले प्राथमिकताका ग्राहकलाई सार्वजनिक गरेको सूचनामा भन्दा १ प्रतिशतसम्म थप व्याज दिन सक्ने राष्ट्र बैंकको नियम छ । सामान्यतय वाणिज्य बैंकले भन्दा विकास बैंकहरुले निक्षेपकर्तालाई बढी व्याज दिन्छन् । त्यस्तै विकास बैंकले भन्दा वित्त कम्पनीले बढी र वित्त कम्पनीले भन्दा बचत तथा ऋण सहकारी संस्थाले बढी व्याज दिन्छ । विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछानेको अनुसार अन्तर बैंक व्याजदर ४ प्रतिशत नाघेको छ । जबकी एक वर्ष पहिले अन्तरबैंक व्याजदर १ प्रतिशतभन्दा कम थियो । बैंक तथा वित्तीय संस्थाको सेयर पुँजी वृद्धिसँगै लगानी वृद्धिमा परेको चापले बजारमा विगतमा रहेको अधिक तरलता हट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अधिक तरलताको समस्या समाधान भएको छ । निक्षेपकर्ताले उचित व्याज दर पाउने थालेका छन् । वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी अधिक हुँदा निक्षेपकर्ता मर्कामा परेका थिए । बैंकले कम व्याज दिँदा वित्तीय क्षेत्रमा जम्मा हुनुपर्छ बचत अनौपचारिक क्षेत्रमा गएको थियो । ‘बैंकले बढी व्याज अपर गरेपछि निक्षेप संकलन बढ्छ, बैंकमा लगानी योग्य पुँजी जम्मा हुन्छ । औपचारिक क्षेत्रमा लगानी बढ्छ । त्यसले समग्र आर्थिक वृद्धिमा सहयोग पुग्छ’ थापाले विकासन्युजसँग भने । बैंक तथा वित्तीय क्षेत्रमा २०६६/६७ सालमा जस्तै लिक्विडिटि क्रन्च (लगानी योग्य पुँजीको हाहाकार) हुने हो कि भन्ने आशंका देखिएको छ । तर त्यस्तो अवस्था नआउने थापा बताउँदछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले राख्र्ने पर्ने अनिवार्य रकम बाहेक अझै थप ३५ अर्ब रुपैयाँ लगानी योग्य अवस्थामा छ । बैंकहरुले निक्षेपको व्याज बढाएपछि निक्षेप वृद्धि हुन्छ । यतिबेला व्यक्तिगत निक्षेपकर्ताले भन्दा संस्थागत निक्षेपकर्ताले बढी व्याज पाउन थालेका छन् । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलका अनुसार कोषले वाणिज्य बैंकमा निक्षेप राख्दा कम्तिमा ८ प्रशित व्याज पाउन थालेको छ । ‘८ देखि ८ दशमलव २५ प्रतिशतसम्म व्याज चलेको छ’ विकासन्युजसँग कुरा गर्दै पोखरेलले भने । राष्ट बैंकका अनुसार चालु आर्थिकको प्रथम दुई महिनामा कर्जा लगानी ३ प्रतिशतले विस्तार भएको छ भने निक्षेप करिव १ प्रतिशतले विस्तार भएको छ । यो क्रम अझै केही महिना रहने हो भने बचतकर्ताले मुद्रस्फिति दर भन्दा बढी व्याज दर पाउनेछन् । राष्ट्र बैंकका अनुसार भदौंमा उपभोक्ता मुद्रास्फिति दर ७ दशमलव ९ प्रतिशतमा झरेको छ । ५ वर्षअघि वार्षिक मुद्रास्फिति दर १४ प्रतिशतसम्म पुगेकोमा क्रमशः घट्दै गएको छ । यद्यमी गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा कम रहदा मुद्रास्फिति करिव ९ प्रतिशत रहेको छ । सामान्यतय आर्थिक वृद्धिदर भन्दा मुद्रस्फिति दर कम हुनुपर्छ । भारतमा मै पनि पछिल्लो समय आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा रहदा उपभोक्त मुद्रास्फिति ४ प्रतिशतको हाराहारीमा छ ।
सेयर बजारमा मन्दीको संकेत, व्याजदर वृद्धि र आपूर्ति वृद्धिसँगै सेयर मूल्यमा गिरावट
काठमाडौं, ७ कात्तिक । गत साता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १ करोड ३५ लाख २२ हजार कित्ता सेयर सूचिकृत भयो, जसको अंकित मूल्य हो १ अर्ब ३५ करोड रुपैयाँ हो । नेप्सेका अनुसार एनएमबी बैंकको ९४ लाख ३१ हजार कित्ता, साङग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर ३३ लाख ७५ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार कित्ता सेयर सूचिकृत भएको हो । बजारमा सेयर आपूर्ति भएको बढ्दै गएको यो एउटा उदाहरण हो । अन्य तथ्याङ्कहरुले पनि बजारमा सेयर आपूर्ति निकै बढेको संकेत गर्छ । चालु आर्थिक वर्ष पहिलो तीन महिनामा मात्रै १० करोड कित्ता बराबरको हकप्रद सेयरलाई नेपाल धितोपत्र बोर्डले स्विकृति दिइसकेको छ । तीमध्ये अधिकांशले हकप्रद सेयर जारी गरिसकेका छन् । कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हिमालयन बैंकले कात्तिक २६ गतेदेखि ६४ लाख कित्ता हकप्रद सेयर हकप्रद सेयर निष्काशन गरेको छ । सिद्धार्थ बैंकले ७५ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । त्रिवेणी विकास बैंकले ४१ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । अरु १४ कम्पनीले ४ अर्ब रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । देवः विकास बैंक, कैलाश विकास बैंक, कामना विकास बैंक, अपि पावर कम्पनी, नेकोे इन्स्योरेन्स लगायतका कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति मागेका हुन् । त्यस्तै विभिन्न १० वटा कम्पनीले ७ अर्ब ५१ करोड मूल्य बराबरको आइपिओ जारी गरि पाउँ भन्दै बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिने कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल एसबिआई बैंकले फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भनेका छन् । अरुण कावेलीले ३० करोड बराबरको आइपिओ निष्काशनको अनुमति पाईसकेको छ । बजारमा सेयरको आपूर्ति बढेसँगै मू्ल्य घटिरहेको छ । पछिल्लो समय नेप्सेमा सूचिकृत अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले धमाधम हकप्रद सेयर घोषणादेखि निष्काशन गरिरहेका छन् । हकप्रद र नयाँ निश्काशन मात्र होइन, बोनस सेयरको रुपमा पनि धेरै सेयर बजारमा थपिदैछ । २८ वटा वाणिज्य बैंकले मात्र करिव २६ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछन् । राष्ट्र बैंकले तोकेअनुसार पुँजी वृद्धिको चापले गर्दा वाणिज्य बैंक मात्र होइन, विकास बैंक, माइक्रो फाइनान्स र वित्त कम्पनीहरुले पनि गत वर्षको सबै नाफा बोनस सेयरको रुपमा वितरण गर्दैछन् । नेप्सेमा सूचिकृत सबै बीमा कम्पनीहरु नाफामा छन् तर उनीहरुले पनि सेयरधनीलाई नगद लाभांश वितरण गर्न बीमा समितिले रोकेकोले बोनस सेयर नै वितरण गर्नुपर्ने वाध्यता छ । सूचिकृत कम्पनीहरुले गत वर्षको नाफाबाट ५० अर्ब रुपैयाँ भन्दा बढीको बोनस सेयर नेप्सेमा सूचिकृत गर्ने सम्भावना देखिएको नेप्सेका एक अधिकारीले बताए । पुँजी वृद्धिको लागि चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले अर्बौ रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने निश्चित छ । आपूर्ति बढेकाले मात्र होइन, बैंकको व्याजदर वृद्धिले पनि सेयर बजारलाई असर गरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर समेत बढेपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु बजारबाट बाहिरिएका छन् । त्यसको प्रभाव पनि सेयर बजारमा परेको देखिन्छ । यसरी बजारमा निरन्तररुपमा सेयरको आपूर्र्ति बढिरहेपछि सेयर बजारमा ओरालो लाग्न थालेको देखिन्छ । गत साता मात्र नेप्से परिसूचक ९ दशमलब २७ अंकले घटेर अन्तिम दिन १७९४ दशमलव ४७ अंकमा झरेको थियो । मूल्य घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । पाँच दिन खुलेको सेयर बजारमा जम्मा ३८ लाख ८८ हजार कित्ता सेयर ३ अर्ब १ करोड २८ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको हो । जबकी तीन तीन महिना अघि सातामा ६/७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेको थियो । मूल्य र कारोबार दुबै गिरावट हुनुले सेयर बजारमा मन्दीको संकेत गरेको जानकारहरु बताउँछन् । बजार सिद्धान्तमा माग र आपूर्तिले मूल्य श्रृंखला निर्धारण गर्छ । माग बढ्दा मूल्य बढ्छ भने आपुर्ति वृद्धि हुँदा मूल्य पनि घट्छ । अहिले सेयर बजारमा त्यहि माग र आपूर्ति श्रृंखलाको प्रभाव देखिइरहेको छ । अर्कोतिर बैंकको व्याजदर वृद्धिसँगै बैंकबाट ऋण लिएर सेयर कारोबार गर्ने लगानीकर्ता सेयर बजारबाट वाहिरीन थालेको अनुमान गरिएको छ । घरजग्गा कारोबार र मूल्यमा वृद्धि देखिएकोले सम्पत्ति बजारमा लगानी गरेर नाफा खोज्नेहरु सेयर बिक्री गरेर जग्गामा लगानी गर्न थालेको जानकारहरु बताउँछन् । यसले सेयर बजारमा थप गरावट आउने सम्भावना बढेर गएको छ ।