नेपालका खानीमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

काठमाडौं, २१ कात्तिक । सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका खानीहरुमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । चाइना जियोलोजीकल सर्भेका विज्ञहरुले गरेको अध्ययनले ती खानीहरुमा पेट्रोलियम पदार्थ रहेको ल्याब रिपोर्टले देखाएको हो । ‘चिनियाँहरुको अध्ययनले ती खानीहरुमा पेट्रोलियम पदार्थ रहेको रिपोर्ट तयार पारेको छ, तर त्यो रिपोर्ट आधिकारिक रुपमा नेपाललाई पठाएको छैन’, खानी विभागका एक अधिकारीले विकासन्युजसँग भने । विभागका ती अधिकारीले चाइना जिओलोजिकल सर्भेका विज्ञ सम्मिलित टोलीले तयार पारेको सो रिपोर्ट डेढ महिना अघि नै चीन सरकारलाई बुझाइसकेको अनौपचारिक जानकारी प्राप्त भएको पनि बताए । ‘चिनियाँ टोलीले चिनियाँ सरकारलाई डेढ महिना अघि नै रिपोर्ट बुझाएको जानकारी हामीले अनौपचारिक ढंगले पाएका छौं, तर हामीलाई औपचारिक रुपमा त्यसको पुष्टि हुने कुनै सूचना भने दिइएको छैन’, खानी विभागका महानिर्देशक राजेन्द्र खनालले विकासन्युजसँग भने । चाइना जिओलोजिकल सर्भेको टोलीले गत अप्रिलमा नेपालमा रहेका तीन वटा पेट्रोलियम खानीहरुको स्थलगत अवलोकन गरेको थियो । अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चिनियाँ टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् ।एक महिना भित्र नेपाललाई रिपोर्ट पठाउने भन्दै चीन गएको टोलीले रिपोर्ट भने अझै पठाएको छैन् । कसरी हुन्छ उत्खनन ? तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।

हवाई उड्डयनमा नयाँ कम्पनी थपिँदै, एभरेष्ट हेलिकोप्टर संचालन गर्न श्रीका दुईवटा हेलिकोप्टर खरिद

काठमाडौं २१, कात्तिक । हेलिकोप्टर सेवामा नयाँ कम्पनी आउने भएको छ । मनाङ हेलिकोप्टरबाट छुट्टिएर गएको लाक्पा शेर्पासहितको टिमले एभरेष्ट हेलिकोप्टर संचालनको अन्तिम तयारी गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वायुसेवाले जहाज ल्याउनको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाइसेको छ । अब, जहाज ल्याएपछि यसले आवश्यक प्रक्रिया पूरा गरेको अवस्थामा उडान संचालन अनुमति (एओसी) पाउँछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सात महिना अगाडि नै इजाजतपत्र (लाइसेन्स) पाएको यो वायुसेवा कम्पनीले प्राधिकरणबाट एओसी पाउने तयारीमा रहेको छ । यो वायुसेवा करीब अन्तिम तयारीमा रहेको र आवश्यक डकुमेन्ट जुटाउने क्रममा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । एभरेष्टल श्री एयरलाइन्सको दुई वटा एसए ३५० बीथ्री ई नामक हेलिकोप्टर खरिदको सम्झौतासमेत गरिसकेको छ । श्रीले आन्तरिक तथा वाह्य उडानमा नियमित उडानका जहाजबाटै सेवा दिने तयारी गरेकोले पनि यसले दुईवटा हेलिकोप्टर बेचेर जहाजमै लगानी गर्न खोजेको पनि प्राधिकरणको बुझाई छ । श्रीले एक महिना अगाडि नै दुई वटा हेलिकोप्टर एभरेष्ट हेलिलाई दिन औपचारिक सहमति गरेको स्रोतको भनाइ छ । हाल यो दुइवटा हेलिकोप्टरको उडान आवर नबढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा राखिएको छ । प्राधिकरणका अनुसार आन्तरिक उडानमा पछिल्लो समय हेलिकोप्टरको व्यवसाय निकै चर्को प्रतिस्पार्धामा गएको छ । एउटा हेलिकोप्टरलाई कम्तिमा २० करोडका दरले पनि दुई वटालाई ४० करोड र अन्य कम्पनी तथा कर्मचारी तथा पाइलट र इन्जिनयरको व्यवस्थापन गर्दा हेलि एभरेष्टले कम्तिमा दुई वटा हेलि संचालन गर्न ५० देखि ६० करोड खर्च गर्नुपर्ने पर्यटन मन्त्रालय स्रोतको भनाइ छ । यो वायुसेवाले प्राधिकरण अन्तर्गतको हवाई उडान सुरक्षा विभागमा अनुमतिको लागि आवेदन दिएको छ । यो वायुसेवाको आवेदनमा प्राधिकरणले आवश्यक मूल्यांकनको काम गरिरहेकोले आगामी एक सातासम्ममा उडान अनुमति पाउनसक्ने पनि प्राधिकरण स्रोतको भनाई छ । हाल नेपालमा हेलिकोप्टर सेवामा नै विभिन्न ८ वटा कम्पनी रहेका छन् । यी कम्पनीमध्ये श्री, सिम्रिक, फिस्टेल, एयर डाइनेस्टि, माउन्टेन, मनाङ, अल्टिच्यूड हेलिकोप्टर संचालमा रहेका छन् । यी हेलिकोप्टरका २ देखि ४ वटासम्म हेलिकोप्टर उडानमा रहेका छन् । थप हुने तयारीमा रहेको एभरेष्टले पनि हाललाई दुईवटै हेलिकोप्टर संचालनमा ल्याउने भएको छ ।

सामसङ ब्राण्डलाई अर्काे धक्का, २८ लाख वासिङ मेसिन बजारबाट फिर्ता

काठमाडौं, २० कात्तिक । ग्यालेक्सी नोट ७ पछि सामसङका वासिङ मेसिनमा गम्भिर समस्या देखिएको छ । वासिङ मेसिनमा प्रयोग गरिएको लिड नामक धातुले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने देखिएपछि सामसङले २८ लाख वासिङ मेसिन फिर्ता गरेको छ । सामसङले अमेरिकाबाट मात्रै ३४ मोडलका २८ लाख धान वासिङ मेसिन फिर्ता गरेको हो । अमेरिकी कञ्जुमर प्रडक्ट सेफ्टी कमिसनले वासिङ मेसिनमा प्रयोग गरिएको लिडका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर देखा परेको बताउँदै फिर्ता पठाएको हो । वासिङ मेसिनका कारण स्वास्थ्यमा समस्या आएको ७३३ वटा रिपोर्ट कम्पनीमै दर्ता भएको छ । यी वासिङ मेसिनहरु सन २०११ सालदेखि अमेरिकी बजारमा पठाइएका उत्पादन हुन् । ती समानको मूल्य औषतमा ४५० देखि १५०० डलरसम्म पर्छन् । गत सेप्टेम्बरमा मात्रै सामसङले २५ लाख ग्यालेक्सी नोट ७ स्मार्ट फोन बजारबाट फिर्ता लिएको थियो । तात्ने र पड्कने समस्या देखिएपछि कम्पनीले फोन पिर्ता लिएको थियो । नोट ७ पछि वासिङ मेसिनमा देखिएको समस्याले दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङको बजार थप ओरालो लाग्ने अनुमान गरिएको छ ।