नेपालीसँग रहेको भारु ५०० र १००० साट्न सरकारलाई निर्देशन, भारत सकारात्मक: अर्थमन्त्री

काठमाडौं, २ मंसिर । व्यवस्थापिका संसदको अर्थ समितिले नेपाली नागरिकसँग रहेको ५०० र १००० दरका भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । अर्थ मन्त्री कृष्ण बहादुर महरा र नेपाल राष्ट्रका गभर्नर डा. चिरञ्जिवी नेपालको उपस्थितीमा बसेको अर्थ समितिको बैठकले भारत सरकारसँग समन्वय गरेर नेपाली नागरिकसँग रहेको बैध भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । ‘नेपाली नागरिकले दुःख गरेर जोडेको पाँच सय र एक हजार दरका बैध नोट साट्ने व्यवस्था मिलाउनु नेपाल सरकारको कर्तव्य हो, जनताले आर्जन गरेको रकमको सुरक्षाका लागि सटहीको व्यवस्था मिलाउन नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइन्छ’, समिति बैठकको निर्णय सुनाउँदै सभापति प्रकाश ज्वालाले भने । समितिको बैठकमा बोल्ने सबै जसो सांसदहरुले नेपाली नागरिकसँग रहेको पाँच सय र एक हजार दरका बैध भारतीय नोट साट्ने व्यवस्था गर्न सरकारले ढिलाई गरेको आरोप लगाएका थिए । पुर्व अर्थमन्त्री डा. रामशरण महतले नोट सटहीका लागि सरकारले आवश्यक लबिङ गर्न ढिलाई गरेको आरोप लगाएका थिए । त्यस्तै, पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले पनि भारु नोट सटहीका लागि सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए । दुबै जना पुर्व अर्थमन्त्रीले २५ हजारको सिमा नतोकी श्रोत खुलेको रकम सटहीको व्यवस्था गर्नुपर्ने बताएका थिए । बैठकमा अर्थमन्त्री कृष्ण बहादुर महराले भारतीय अर्थमन्त्रीसँग आफुले फोनमा कुरा गरेको र नेपालको चाहना अनुसार नोट सटहीको सुबिधा दिन उनी तयार रहेको जानकारी गराएका थिए ।‘भारतीय अर्थमन्त्रीले नेपाली नागरिकको हितलाई मध्यनजर गर्दै ५०० र १०० दरका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आफु तयार रहेको बताउनुभएको छ’, अर्थमन्त्री महराले बैठकमा भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरिहेको जानकारी गराएका थिए । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले रिजर्भ बैंक अफ इण्डियाका गभर्नर अजित पटेलसँग दैनिक २/३ पटक कुरा गरिरहेको जानकारी गराएका थिए । आरबिआईका गभर्नर पटेलले नेपालमा रहेका ५०० र १०० दरका भारतीय नोट साट्ने कुरा आफ्नो हातमा मात्रै नरहेकाले उच्चस्तरमा कुटनीतिक लबिङ गर्न सुझाएको पनि बताएका थिए । नेपालको बैंकिङ प्रणालीमा सो दरका भारतीय नोट ३ करोड ६० लाख ९० हजार मात्रै रहेको पनि उनले जानकारी गराएका थिए ।

बोइङको मूल्यांकन ढिलाइले कवाडीको भाउ पनि नआउने, मूल्यांकन गर्न काठमाडौं ल्याइएको जहाज तीन सातादेखि विमानस्थलमै थन्कियो

काठमाडौं २, मंसिर । नेपाल वायुसेवा निगमको तीन साता अगाडि सिंगापुरबाट काठमाडौं ल्याइएको एउटा बोइङ जहाजको मूल्यांक ढिलो भएको छ । निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेच्ने निर्णय गरेपछि चार महिनादेखि यो जहाज ग्राण्उडेड भएको (थन्किएको) छ । निगमले कवाडीमा बेच्न लागेको यो जहाज काठमाडौंमा नै ल्याएर मूल्यांकन गर्ने भनेर तीन साता अगाडि झिकाएको भएपनि प्रविधिक कारण मूल्यांकन हुन नसकेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार निगमले बिक्री गर्ने निर्णय गरेको यो जहाजको मूल्यांकनमा ढिलाइ भएको छ । हामीले विदेशी कन्सल्यान्ट ल्याएर मूल्यांकनको जिम्मा दिने भनेकोले पनि ढिलाई भएको कंसाकार ले स्वीकार गरे । जहाज जति धेरे समय थन्कायो त्यति घाटा हुने स्वीकार गर्दै कंसाकारले भने हामीले चाहेर पनि छिटो गर्न सकेका छैनौ । अझै कति समय लाग्छ र कति रुपैयाँको मूल्यांकन हुन्छ भन्ने अुनमान पनि नभएको कंसाकारले बताए । यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम गर्ने भनेर विमानस्थलमा थन्किरहेको छ । उडान गर्न इन्जिनको क्षमता छैन, विक्री गर्न मूल्यांकन  भएन वायुसेवा निगमको इन्जिनियरिङ विभागका एक कर्मचारीका अनुसार यो जहाजको उडान गर्न इन्जिनको क्षमता सकिएकाके छ । सिंगापुरबाट उडाएरै काठमाडौं ल्याउँदा यो जहाजको इन्जिनको उडान आवर सकिएको छ । यो जहाजको इन्जिन आवर सकिएको, जहाज इन्जिन बाहेक सम्पूर्ण मर्मत (सीचेक) गर्ने समय भएको र जहाजका दुबै इन्जिनको आयु सकिएकोले नयाँ राखेर उडान गर्न नसकिने भएकै कारण निगमले विक्री गर्ने निर्णय गरेको हो । जहाजको छिटो मूल्यांकन गरेर विक्री गरेर अलिअली पैसा आउनेमा निगमका उच्च तहका कर्मचारीको रुचि नमिल्दा जहाज टर्किस एयरको कवाडिमा बेचेझै यसलाइृ पनि बेच्नुपर्ने अवस्थामा पुगेको निगमकै कर्मचारी बताउछन् । उडाउन पनि मिल्दैन, थन्काउँदा पनि घाटा जहाज उडान गर्ने नमिल्ने भएकोले पुनः उडानमा ल्याउन अब संभव छैन । जहाज थन्काएर राख्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई, पार्किङ शुल्क तिरिरहनु पर्ने भएकोले नउडाउँदा र जहाज थन्काउँदा पनि घाटा नै रहेको निगमको भनाइ छ । प्राधिकरणले वायुसेवाको उडान, अवतरण, ल्याण्डिङ, पार्किङमा शुल्क लिने गरेको छ । यो जहाजले मासिक लाखौ शुल्क तिरेर पार्किङ गरिरहेको उल्लेख छ । निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउँँने अनुमान गरिएको भनि लामो समय थन्काएर राख्दा बाहिरी बडिको मात्रै पैसा आउने भएकोले उल्लेख रकम नहुने उल्ले छ । सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ । सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेको जहाज काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिएको छ । अब यसलाइृ अन्त कतै लान नसकिने पनि निगमको भनाइ छ । निगमले भएकै अर्को एउटा वोइङ संचालन गर्ने र एयरवसकै थप दुई जहाज खरिद गर्ने भएको छ । हाल निगमसँग एउटा बोइङ र दुईवटा एयरवसका जहाजले अन्तर्राष्टिय उडान गरिरहेका छन् ।

एभरेष्ट बैंकले ७० प्रतिशत बोनस सेयर दिने, बोनसपछि ३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं, १ मंसिर । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको २४७ औ बैठकले ७० प्रतिशत बोनस दिएपछि करिव ३३.३३ प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदन आवश्यक हुन्छ । बैंकले गत आर्थिक वर्षको नाफाको साथै विगतका वर्षको संचितिबाट उक्त नाफा वितरण गर्न लागेको हो । बैंकको सेयर बुधबार प्रति कित्ता ३७ सय ९५ रुपैयाँमा कारोबार भएको छ । २ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको थियो । राष्ट्र बैंकको नियम अनुसार बैंकले हरेक वर्ष नाफाको कम्तिमा २० प्रतिशत संचित कोषमा जम्मा गर्नुपर्छ । त्यस आधारमा बैंकले गत वर्षको नाफाबाट बढीमा ५० प्रतिशत नाफा बोनस सेयर दिन सक्थ्यो । तर एभरेष्ट बैंकले अघिल्ला वर्षहरुको नाफाबाट केही फ्रि रिर्जभ राख्दै आएकोले सोही कोषबाट यस वर्ष बढी बोनस दिने निर्णय गरेको बैंक उच्च स्रोतले बतायो । हाल यस बैंकको संचित कोषमा ५ अर्ब ८६ करोड रुपैयाँ छ । आगामी असार मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ । ७० प्रतिशत बोनस सेयर जारी गरेपछि पनि बैंकको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ मात्र हुनेछ । बोनस सेयर निश्काशनपछि ३ बराबर १ अर्थात करिव ३३ प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । त्यसमा चालु अावकाे नाफाले बैंककाे सेयर पुँजी ८ अर्बभन्दा बढी हुनेछ । बैंककाे याे निर्णयसँगै मर्जर तथा एक्विजशनकाे सम्भावना टरेर गएकाे छ ।