लेखा समितिमा एमाले-माओवादी भिडन्त, पशुपति चौलागाई कि हरिबोल गजुरेल ?
काठमाडौं, २८ पुस । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति कसले लिने भन्नेमा एमाले र माओवादी केन्द्रबिच हानथाप सुरु भएको छ । एमालेले लेखा समिति प्रतिपक्षीले लिने अन्तराष्ट्रिय मान्यता अनुसार आफुले पाउनु पर्ने बताउँदै आएको छ । उता, माओवादी केन्द्रले भने आफ्नो भागमा परेको समिति भन्दै आफैंसँग राख्नुपर्ने सर्त अघि सारेको छ । अन्यथा एमालेले आफ्नो भागको एउटा समिति छोड्नुपर्ने सर्त माओवादी सर्त छ । दुई दलबिच सभापति कसले लिने भन्ने विवाद नमिलेपछि पुस २७ गतेका लागि सभापति छान्न डाकिएको बैठक सारिएको थियो । एमालेले पशुपति चौलागाईलाई सभापतिका रुपमा अघि सारेको छ भने माओवादी केन्द्रले पुर्व मन्त्री समेत रहेका नेता हरिबोल गजुरेललाई अघि सारेको छ । यी दुईबिच बुधबार चुनावी प्रतिष्पर्धा हुने तय भएको थियो तर सभामुखले सहमतिका लागि प्रयास गर्न भन्दै बैठक स्थगित गरेकी थिइन् । एमाले संसदिय दलका प्रमुख सचेतक भानभुक्त ढकालले एमाले सत्तासिन हुँदा लेखा समितिको सभापति छोड्ने गरि हाललाई आफ्नो पार्टीले सभापति पाउनुपर्ने बताए ।‘हिजो प्रतिपक्षी हुँदा माओवादीलाई दिएकै हो, अहिले हामी प्रतिपक्षमा छौं, भोली सत्ता पक्ष भयौं भने छोड्न तयार छौं तर अहिले हामीलाई नै सभापति दिनुपर्छ ।’ उनले आफ्नो पार्टीले पशपुति चौलागाईलाई सभापतिका रुपमा अघि सारेको पनि जानकारी दिए । सहमतिमै सभापति चयन हुने र नेतृत्व एमालेले पाउने दावी पनि उनले गरे । हाल रिक्त रहेको सार्वजनिक लेखा समिती, संबिधान कार्यान्वयन र अनुगमन समिति र महाअभियोग सिफारिस समितिमा तीन दलले भाग बण्डा गर्नुपर्ने धारणा पनि राखे ।
३३ किलो सुनको मालिक को हो ? अर्थमन्त्री भन्छन्-‘ह्वेल माछा भए पनि छोडिन्न’
काठमाडौं, २७ पुस । ‘३३ केजी सुनको मालिक को हो ? यो पहिलो पटक थियो कि अन्तिम पटक, हाम्रा कर्मचारी सरकारको काम गर्दैछन कि अर्कैको ?’ बुधबार यस्तै प्रश्न गर्दै थिए प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा । शर्माको छेवैमा थिए उप प्रधानमन्त्री बिमलेन्द्र नीधि र कृष्णबहादुर महरा । उप प्रधानमन्त्री तथा गृहमन्त्री निधी, उप प्रधान तथा अर्थमन्त्री महरा र पर्यटन मन्त्री जीवन बहादुर शाहीका अगाडी सांसद मात्रै होइन स्वयं कर्मचारी पनि प्रश्न गरिरहेका थिए । आखिर ३३ किलो सुनको असली मालिक को हो ? व्यवस्थापिका संसदको अर्थ समितिमा मंगलबारदेखि सुरु भएको थियो ३३ किलो सुन काण्डको बहस जसले बुधबार पनि निरन्तरता पायो । तीन जना मन्त्री, अर्थ सचिव, राजश्व सचिव, पर्यटन सचिव, भन्सार विभागका प्रमुख, नागरिक उड्यन प्राधिकरणका प्रमुख र प्रहरीका दुई जना उच्च अधिकारी विज्ञान राज शर्मा र नवराज ढकाल समेत उपस्थित थिए बैठकमा । प्रधानमन्त्री कार्यालयका सचिवले मात्रै होइन सबै जसो सांसदहरुले सुनकाण्डको जरो फेला पार्नु पर्ने बताइरहेका थिए । काभ्रेका एमाले सांसद बिदुर सापकोटाले आफूसँग ३५ किलो सुन बोक्ने गाडी नम्बर, सवारी चालक र सुन पुर्याइएको घरको ठेगाना रहेको बताएका थिए । ‘३५ किलो सुन बोक्ने गाडीको नम्बर र त्यो सुन कसको घरमा गयो मलाई त्यो पनि थाहा छ, गाडीको ड्राइभर यतिबेला ज्यानको सुरक्षा खोज्दै भागेका छन्, मैले यस्तो सूचना छ कारवाही गर्नुस भन्दा पनि सुनुवाई भएन, यो कस्तो देश हो ।’ अर्का सांसद हरि ज्ञवालीले सोधे–‘भरियाले सुन बाटोमा फेला पारेको हो र ? नत्र यत्रो परिमाणको सुनको असली मालिक त होला नि ?’ सांसद कमल केडियाले सुन तस्करी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पर्यायवाची शब्द जस्तै बनेकाले नेपालीको बदनामी सुरु भएको बताए । सांसद कमला पन्तले पनि सुन तस्करीमा संलग्न उच्चस्तरिय गिरोहको खोजी आत्यावश्यक रहेको बताइन् । पूर्व मन्त्री तथा सांसद सिपी मैनालीले सुन तस्करी रोक्न राजनीतिक प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिए । सांसद अब्दुल रज्जाकले सुन तस्करीमा वर्तमानदेखि पूर्व मन्त्री समेत जोडिएको भन्दै सबैलाई कारवाहीको माग गरे । उनले भने–‘सुन तस्करीमा अहिलेका मात्रै होइन पुराना मन्त्रीको नाम पनि आइरहेको छ, सबैलाई कारवाही गर्नुपर्छ ।’ अर्थमन्त्री भन्छन–ह्वेल माछा भएपनि छोडिन्न बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सुन तस्करीमा संलग्न भूरादेखि ह्वेल माछासम्मलाई नछाड्ने घोषणा गरे । ‘यो काण्डमा सरकार गम्भिर भएको छ, भूरा माछा होस वा ह्वेल माछा नै किन नहोस, जत्रो सुकै माछा भएपनि कारवाही हुन्छ ।’ सिआइबीलाई स्वतन्त्र छानविको सुबिधा उप प्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधीले सुन पक्रन सफल भएको सिआइबीलाई त्यसको छानविन गर्न दिएको बताए । उनले बिना कुनै हस्तक्षेप सिआइबीलाई काम गर्न दिने र सुन तस्करीको जराे समाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले छानविन र प्राप्त उपलब्धि बारे तत्काल जानकारी दिँदा अपराधीलाई भाग्न सहज हुने भन्दै हाललाई कुनै जानकारी दिने नसकिने समेत स्पष्ट पारेका थिए । उच्चस्तरिय छानविन समिति गठन गरः समिति अर्थ समितिले सुन काण्डको छानविनका लागि उच्चस्तरिय अधिकार सम्पन्न छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बीमा कम्पनीहरुको गाँठो फुकाउने बीमा समितिका अध्यक्षको भनाई, बीमकले भने-‘तपाई सपना देख्नुहोस्, हामी पुरा गर्छौ’
चिरञ्जीवि चापागाई काठमाडौं, २७ पुस । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवि चापागाईले बुधबार पदभार ग्रहण गरेका छन् । बुधबार नै बीमा कम्पनीहरुको कार्यकारी प्रमुखहरु तथा यस क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले नयाँ अध्यक्षलाई बधाई तथा शुभकामना दिएका छन् । नवनियुक्त अध्यक्षको स्वागतका लागि बीमा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले बीमा कम्पनीहरुको समस्याका गाँठा फुकाई दिने बताए । ‘कम्पनीहरु समस्याबाट गुज्रिरहेको मैले पाएको छु । केही बीमा कम्पनीहरुको धेरै वर्षदेखि लेखापरिक्षण समेत हुन नसकेको, साधारणसभा समेत हुन नसकेको जानकारी पाएको छु’ नवनियुक्त अध्यक्षले भने-‘बीमा कम्पनीहरुमा के के गाँठो छन् । तिनीहरुलाई फुकाउने प्रयास गर्नेछु ।’ बीमा क्षेत्रको प्रमुख चुनौति नै बीमा सेवाको पहुँच वृद्धि गर्नु रहेको उनले बताए । ‘१९९४ मा नेपाल बैंकको स्थापना भयो । २००४ सालमा बीमा कम्पनी खुलेको रहेछ । बीमा भन्दा बैकिङ क्षेत्र १० वर्ष मात्र जेठो हो । तर बैकिङ क्षेत्र निकै फराकिलो भएको छ । बीमा क्षेत्रको पहुँच करिव ७ प्रतिशत मात्र रहेछ’ अध्यक्ष चापागाईले प्रश्न गर्दै भने-‘बीमा क्षेत्र किन यति धेरै पछाडि पर्यो ? हामी सबैले यसमा समिक्षा गर्नुपर्दछ । बीमा समितिले यसबारे विस्तृत अध्ययन गर्नेछ ।’ बीमा समितिले बीमा सेवा विस्तारमा जोड दिने बनाउँदै उनले भने-‘बीमा कम्पनीहरु मार्फत नै सरकारले, बीमा समितिले बीमाको पहुँच विस्तारका कार्यक्रम गर्नेछ । त्यसमा बीमा कम्पनीहरुको भूमिका प्रभावकारी हुनुपर्छ ।’ उनले बीमा कम्पनीहरुको गतिविधि पारदर्शी र विश्वसनीय हुनु पर्नेमा जोड दिए । ‘बीमा कम्पनीहरुको संस्थागत सुशासन राम्रो हुनु पर्नेछ । त्यसमा हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैनौं’ उनले भने । अध्यक्ष चापागाईले समितिको भूमिका सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘कुनै पनि क्षेत्रको नियमक निकाय सशक्त हुनुपर्छ । आजै मैले बीमा समिति भित्र अन्तरक्रिया गरेँ । २७ वटा बीमा कम्पनी रहेछन् । केही पाइपलाईनमा पनि होलान्’ उनले भने-‘म सशक्त नियामक निकाय राष्ट्र बैंकबाट आएको थिए । बीमा समिति पनि सशक्त निकाय होला भन्ने अपेक्षा गरेको थिएँ । तर बीमा समिति संशक्त पाईन ।’ समितिमा कार्यरत कर्मचारीको क्षमता विकास र सशक्तिकरणमा आफूले जोड दिने बताए । उनले बीमा क्षेत्रको कानुनी पक्ष संशक्त नपाएको पनि टिप्पणी गरे । ‘बीमा क्षेत्रको कानुनी पक्ष दह्रिलो रहेनछ । त्यसमा गर्नु पर्ने काम हामी गर्नेछौं’ उनले भने । बीमा समितिबाट इजाजतपत्र लिएर काम गरिरहेका अधिकर्ता र सर्भेयरहरुलाई त्यसको अधिकतम सदुपयोग गर्न र सेवा प्रदान गर्न आग्रह गरे । ‘इजाजतपत्र लिएर झोलामा राख्ने काम बन्द गर्नुहोस्, बीमा समितिले अर्को निर्णय गर्न नपरोस्’ उनले भने । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष विजयबहादुर शाहले नयाँ नियुक्त अध्यक्षसँग बीमा क्षेत्रले धेरै अपेक्ष गरेको बताए । ‘नयाँ अध्यक्षको कार्यकालमा बीमा क्षेत्रले नयाँ उचाई प्राप्त गरोस्, वीमा क्षेत्र अझ समृद्ध होस्, यो क्षेत्र अझ व्यवसायिक होस्, बीमाका नयाँ क्षेत्र पहिचान हुन्, बीमा क्षेत्रका समस्या समाधान होऊन्, अन्यौलताहरु कम हुँदै जाउन र बीमा क्षेत्र यस्तो होस, जहाँ हामी सबैले गर्व गर्न सकौँ’ उनले भने- ‘तपाई सपना देख्नुहोस्, हामी पुरा गर्न तयार छौं ।’ बीमक संघका अध्यक्षको भनाईले आफूलाई मलाई उत्साहित बनाएको चापगाईले बताए । ‘बीमा समिति बीमक संघसँग मिलेर काम गर्छ । बीमा सर्भेयस् संघ, बीमा अभिकर्ता संघ, इन्स्यारेन्स प्रोफेशनल्स सोसाईटी लगायत सबैसँग छलफल गरेर, सहकार्य गरेर यो क्षेत्रको समस्या समाधान गर्न प्रयास गर्नेछौं’ उनले भने-अब बीमा समितिको निर्णय प्रक्रिया समावेशी प्रकृतिको हुनेछ ।’