एक करोडमा बन्दैछ रानीपोखरीको बालगोपालेश्वर मन्दिर, ६ करोड २९ लाखमा नयाँ स्वरुप
काठमाडौं, २९ पुस । पुरातत्व विभागले एक करोड खर्चेर रानी पोखरीको बालगोपालेश्वर मन्दिर बनाउने भएको छ । काठमाडौं महानगरपालिकासँग भएको पुर्व सम्झौता अनुसार विभागले एक करोडको लागतमा आधुनिक निर्माण सामग्रीको प्रयोग बिनै बालगोपालेश्वर मन्दिर निर्माण गर्न लागेको हो । पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेका अनुसार विभागले यसै साता ठेक्का आव्हान गर्दैछ । ‘एक करोडको लागतमा बालगोपालेश्वर मन्दिर बनाउने तयारी अन्तिम चरणमा पुगेकोे छ, यहि साता ठेक्का निकाल्छौं’, विभागका सिडिई घिमिरेले भने । काठमाडौं महानगरपालिकाले यस अघि नै ६ करोड २९ लाखको लागतमा रानी पोखरी पुर्ननिर्माण अघि बढाएको थियो । तर सिमेन्ट, छड र नयाँ निर्माण सामग्री प्रयोग गरेको भन्दै युनेस्कोले आपक्ति जनाएको थियो । युनेस्कोको आपक्ति पछि बालगोपालेश्वर मन्दिर भने पुरातत्व विभाग आफैंले बनाउन लागेको हो । ‘पोखरीको बिचमा बन्ने भएकाले मन्दिर बलियो नै बनाउनु पर्छ, हामी इतिहास पनि जोगाउने र बलियो पनि बनाउने योजनामा छौं ।’, घिमिरेले भने । पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर बनाउनेछ भने बाँकी सबै संरचना काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्नेछ । महानगरले यस अघि लगाएको ठेक्का अनुसार नै रानीपोखरीका अन्य संरचनाको निर्माण हुने पनि घिमिरले जानकारी दिए । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीको वियोगलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।
भृकुटीमण्डपमा नेपाली मोह, दैनिक बिक्छन् १५ सयदेखि २ हजार जोर जुत्ता
काठमाडौं, २९ पुस । भृकुटीमण्डपको खुल्ला चौरमा निर्माण गरिएको अस्थायी ट्रसमा एउटा गेट छ । त्यो गेटबाट भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरुको संख्या ठुलै देखिन्छ । त्यो हो बिग सेल मेलाको प्रवेश र एक्जिट गेट । त्यहाँ पुस पुस १४ गतेदेखि नेपाली जुक्ता चप्पलको बिग सेल मेला लागिरहेको छ । मेलामा शिखर, कोशेली, बिएफ डिअर हिल, क्रसरोड, टाकुरा, सफ्टच, इजी, स्काई, फुटल्याण्ड, शुल्याण्ड जस्ता चर्चित नेपाली ब्राण्डका जुत्ता चप्पल पाइन्छन् । नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा दैनिक ३ देखि ५ हजार अवलोकन कर्ता आईरहेका छन् । मेला हेर्ने मात्रै आइरहेका छैनन् मानिसहरु, जुत्ता चप्पल किनिरहेका पनि छन् । ‘यहाँ आउने मध्ये ५० प्रतिशत भन्दा धेरैले जुत्ता किन्ने गरेका छन’, फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसनका अध्यक्ष तथा कोशेली सुजका प्रबन्ध निर्देशक रबिन कुमार श्रेष्ठले भने । बिग सेल मेलामा निःशुल्क प्रवेशको सुबिधा उपलब्ध छ । १५० रुपैंयाँ देखि १० हजार रुपैंयाँ मूल्यका जुत्ता चप्पल रहेको भएपनि उपभोक्ताको रुचीमा भने एक हजार देखि १५०० मूल्यका जुत्ता पर्छन् । अधिकांश कम्पनीले ३० देखि ३५ प्रतिशतसम्म छुट दिएका छन् । त्यसमा केहि कम्पनीले ७५ प्रतिशतसम्मको छुट समेत दिईरहेका छन् । मेलामा सहभागी सबै जसो कम्पनीहरुले जाडो यामलाई लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु ल्याएका छन् । मेलाको २ साता बितिसक्दा पनि उपभोक्ताहरुको चाप घटेको छैन् । नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु मेलाको प्रमुख उद्धेश्य भएको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाई बताउँछन् । नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिदै आएको छ । शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर ब्राण्डले सहभागीता जनाएका छन् । मेलामा अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ । नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सुबिधा पनि छ । राष्ट्रिय नाचघर जमलमा मुख्य सोरुम सहित आप्mनो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले द्रुत गतिमा सेवा विस्तार गरिरहेको छ । हाल महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चोक र बुद्धमल बालाजुमा गरी ५ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ ।
बचत गर्न नयाँ बैंकमा फाइदा, ऋण लिन पुराना बैंकमा फाइदा
काठमाडौं, २९ पुस । बैंकबाट ऋण लिदै हुनुहुन्छ ? वा आफुसँग भएको पैसा डिपोजिट गर्ने सोँचमा हुनुहुन्छ ? ख्याल गर्नुहाेस्-तपाईका लागि निक्षेप राख्न र ऋण लिन छुट्टा छुट्टै बैंक उपयुक्त हुन सक्छन् । यतिबेला निक्षेप राख्न नयाँ बाणिज्य बैंक उपयुक्त देखिएका छन् । नयाँ बाणिज्य बैंकहरुले उच्च ब्याज दरमा निक्षेप आव्हान गरिरहेका छन् । तपाईले नयाँ बैंकमा मुद्दति निक्षेप राख्नुभयो भने दुई अंकसम्मको ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ । तर तपाईलाई ऋण लिन भने पुराना बाणिज्य बैंक उपयुक्त देखिन्छन् । पुराना बैंकले न्युन ब्याजदरमा ऋण अफर गरिरहेका छन् । यी हुन धेरै ब्याज दिने बैंक अधिकांश नयाँ बैंकले मुद्दति निक्षेपमा उच्च ब्याजदर दिईरहेका छन् । जसमा सिभिल बैंक, जनता बैंक, मेगा बैंक लगायत पर्छन् । यी सबै नयाँ बैंक हुन् । जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । मेघा बैंकले १० प्रतिशत ब्याज नै दिने भनेको छ । त्यस्तै सिभिल बैंकले १११ दिने मुद्दति खातामा ११ दशमलव १ प्रतिशत व्याज दिने योजना अघि सारेको छ । पुराना र स्थापित बैंकहरुले भने निक्षेपकर्तालाई ८ प्रतिशतभन्दा कम व्याज दिदै आएका छन् । ऋण लिन पुराना बैंक पैसा बचत गर्न नयाँ बैंक फाइदा जनक छ । तर ऋण लिन पुराना बैंक बैंकबाट फाइदान हुन्छ । नयाँ बैंकले नयाँ कर्जाको लागि १४/१५ प्रतिशत व्याज लिन थालेका छन् । तर पुराना बैंकले ९ प्रतिशतभन्दा कम व्याजदरमा पनि कर्जा दिईरहेको छन् । पुराना बैंकहरुले एक अंकको ब्याजदरमा ऋण दिइरहेका छन् । यसरी एक अंकको ब्याजदरमा ऋण दिने बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ७ दशमलव २५ प्रतिशतमा घर कर्जा दिदै आएको छ । साथै घर बनाउन कर्जा लिन ग्राहकलाई २० हजार अनुदान समेत दिने स्कीम ल्याएको छ । राष्ट्रिय बाणिज्य बैंकले व्यवसायिक कर्जा साढे ७ देखि ८ प्रतिशतमा दिईरहेको छ भने हाउजिङ तथा रियल स्टेट कर्जा ९ देखि १० प्रतिशतमा दिईरहेको छ । बैंकले साढे ७ प्रतिशत ब्याजदरमा अटो लोन दिईरहेको छ । नेपाल बैंकले पनि न्युन ब्याजदरमा ऋण प्रवाह गरिरहेको छ । बैंकले ९ प्रतिशतमा घर कर्जा दिईरहेको छ भने व्यवसायिक ऋण साढे ८ प्रतिशतमै दिईरहेको छ । नयाँ बैंकले नयाँ कर्जाको व्याज १४/१५ प्रतिशत पुर्याएका छन् । ग्लोबल आईएमई बैंकले शुक्रबार जारी गरेको व्याजदरको सम्बन्धी सूचनामा कर्जाको अधिकतम व्याज १५ दशमलव ५ प्रतिशत पुगेको जनाएको छ । व्याजदर महँगो भएको समयमा बैंकतथा वित्तीय संस्थाहरुले कर्जा प्रोसेशिङ शुल्क १ देखि २ प्रतिशतसम्म लिन थालेका छन् । नयाँ बैंकहरु निक्षेप आकर्षित गर्ने होडबाजीमा लागिरहेका बेला स्थापित तथा पुराना बाणिज्य बैंकहरुले कम ब्याजदरमा धमाधम ऋण प्रवाह गरिरहेका छन् ।