सबैभन्दा धेरै खर्च गर्नुपर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नै खर्च गर्न सक्दैन, एक महिनाभित्र विकास खर्च ४० प्रतिशत पुर्याइने

काठमाडौं। तुलनात्माक रुपमा सबैभन्दा धेरै खर्च हुनुपर्ने सरकारी मन्त्रालयमध्ये भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयले चालु आवको ६ महिना बितिसक्दा पनि पूँजिगत खर्च २५ प्रतिशतबाट माथि लैजान सकेको छैन। हालसम्म मन्त्रालयले विकास खर्चवापतको कुल रकममा ५० प्रतिशत खर्च गरिसक्नुपर्ने हो । तर त्यसो हुन नसकेपछि मन्त्री रमेश लेखकले संसदको विकास समितिमा गएर स्पष्टिकरण दिनु परेको छ। मन्त्री लेखकले हालसम्म विकास खर्च २४ प्रतिशतमा रहेको र अबको एक महिनाभित्र त्यसलाई बढाएर ४० प्रतिशत पुर्याउन व्यापक गृहकार्य भइरहेको बताए । राष्ट्रिय गौरवका आयोजनालाई प्रमुख प्राथमिकतामा राखेको भन्दै उनले मध्यपहाडी लोकमार्ग, तराइको हुलाकी मार्ग र उत्तर दक्षिण जोड्ने विभिन्न जिल्लाका रोडलाई मूख्य प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको बताए। उनले नेपालको अहिलेको सबैभन्दा चर्को समस्या भनेको गुणस्तरीय निर्माण र समयमै  निर्माण सम्पन्न गर्न नसक्नु नै रहेको बताए। त्यसको न्युनिकरणका लागि मन्त्रालयले भरपुर काम गरिरहेको उनले बताए। अन्य मन्त्रालयभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फरक रहेको भन्दै लेखकले रणनैतिक महत्व राखेका पुलहरु, फास्ट ट्रयाक तथा निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा काम चाँडै अगाडि बढाइने बताए। टेण्डर पश्चात प्राइस भेरिएसन गर्नेलाई कार्वाहि माग, ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने व्यवस्थापिका संसदको विकास समितिका अधिकांस सदस्यले विकास निर्माणका काममा सरकारी कर्मचारी र ठेकेदारको मिलेमतो रहेको भन्दै सरकारी कर्मचारीलाई विभागिय कार्वाहि र गलत काम गर्ने ठेकेदारलाई कालो सूचिमा राख्न माग गरे । ठेकेदार कम्पनीहरुले सरकारी कर्मचारीसँगको मिलेमतोमा टण्डरको प्राइसमा भेरिएसन गराएर आफ्नो स्वार्थ पूर्तिका लागि काम नगरेको भन्दै त्यस्ता ठेकेदारलाई कुनैपनि हालतमा कालो सुचीमा समावेस गरेर कार्वाहिको दायरामा ल्याउनु पर्नेमा सांसदहरुले जोड दिएका थिए ।  

एक बर्षभित्रै देशै भरका पुलहरुको बिमा गराउन निर्देशन

काठमाडौं । एक बर्षभित्रै देशभरका पुलहरुको बीमा हुने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले पुल तथा अन्य भौतिक संरचनाहरुको एक बर्षभित्रै बीमा गराउन निर्देशन दिएको हो । ‘राष्ट्रिय यातायात सञ्जालका लागि महत्वपूर्ण पुलहरु तथा अन्य भौतिक पूर्वाधारहरुको बीमा १ वर्षभित्र गराइ सक्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई निर्देश गर्दछ ।’ समितिको निर्देशनमा भनिएको छ । सडक विभागका अनुसार हाल देशभर २ हजार पुल सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र करिब तीन हजार पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउनेछन् । पुलहरुको दिर्घ जिवन र लगानीको उचित प्रतिफल वितरणका लागि पनि बीमा अनिवार्य रहेको समितिको ठहर छ । समितिको बैठकमा सांसदहरुले हावाले उडाउने कस्तो पुल बनाएको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई र्याख र्याख्ती पारेका थिए । पुलनहरु निर्माणकै चरणमा भत्किने, पुल निर्माण भैसकेपछि नदिले धार परिवर्तन गरेर अन्यत्रै जाने लगायतका समस्यहरुको दिर्घकालिन समाधान खोज्न पनि समितिले निर्देशन दिएको छ । ‘बाढिले पुल बगाउनुलाई स्वभाविक भन्न सकिएला तर हावाले टेको खस्दा निर्माणाधीन पुल खस्नु, बनाउँदा बनाउँदै संरचनागत समस्या सृजना हुनु, पुल पनि बनिसक्नु अनि खोलाले अन्यत्रै धार परिवर्तन गर्नुलाई के भन्ने ?’ सांसदहरुले उठाएका प्रश्नहरुलाई सस्ंलेषण गर्दै विकास समितिले आफ्नो निर्देशनमा भनेको छ । समितिले आगामी ५० बर्षसम्मको सवारी चापलाई धान्ने गरि पुलहरुको निर्माण गर्न पनि भनेको छ । त्यस्तै, नगरेर कालो सूचिमा राखिएका निर्माण व्यवसायीको सूचि एक हप्ता भित्रै उपलब्ध गराउन पनि समितिले सडक विभागलाई निर्देशन दिएको छ ।

१२ बाणिज्य बैंकको नाफा तीन अर्ब ११ करोडले बढ्यो, ६ महिनामा कमाए ८ अर्ब ७० करोड

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १२ वटा बाणिज्य बैंकहरुको नाफा ३ अर्ब ११ करोडले वृद्धि भएको छ । पुस मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेका १२ वटा बाणिज्य बैंकहरुको नाफा ३ अर्ब ११ करोड ४१ लाखले वृद्धि भएको हो । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा जम्मा ५ अर्ब ५९ करोड ८ लाख नाफा कमाउन सफल यी बैंकहरुले चालु आवको सोही अवधीमा भने ८ अर्ब ७० करोड ४९ लाख नाफा कमाउन सफल भएका हुन् । पुस मसन्तसम्मको वित्तिय विवरण प्रकाशित गरेका १२ बैंक मध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै नाफा कमाएको छ भने सबै भन्दा थोरै सेञ्चुरी बैंकको नाफा छ । धेरै नाफा कमाउने बैंकको दोश्रो नम्बरमा प्रभु बैंक छ भने तेश्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । थोरै नाफा कमाउने बैंकको दोश्रो नम्बरमा मेगा बैंक परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पुस मसान्तसम्म्मा एक अर्ब ६४ करोड नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले एक अर्ब ७ करोड नाफा आर्जन गरेको थियो । गत आवको ६ महिनामा ४० करोड ५ लाख नाफा कमाएको प्रभु बैंकले चालु आवको सोही अवधीमा एक अर्ब ११ करोड नाफा कमाएको छ । बैंकको नाफामा राइट ब्याकको हिस्सा ठुलो रहेको देखिन्छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ९१ करोड ७७ लाख नाफा कमाएको छ । गत आवमा बैंकले ७६ करोड २७ लाख नाफा कमाएको थियो । सेञ्चरी कमर्सियल बैंकले २२ करोड ३९ लाख नाफा कमाएको छ । जबकी बैंकले गत आवको सोही अवधीमा पनि जम्मा १६ करोड ६ लाख नाफा कमाएको थियो । सानिमा बैंकले आफ्नो नाफा ४० करोड ८० लाखबाट बढाएर ६६ करोड २५ लाख पुर्याउन सफल भएको छ । नेपाल बंगलादेश बैंकले आफ्नो नाफा ३६ करोड ८५ लाखबाट वृद्धि गरेर ५४ करोड ६ लाख पुर्याएको छ । मेगा बैंकले पुस मसान्तसम्ममा ३७ करोेड ९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा २२ करोड ३५ लाख नाफा कमाउन सकेको थियो । | प्राइम कमर्सियल बैंकले ६ महिनामा ५५ करोड ९७ लाख कमाएको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा ४६ करोड ९२ लाख नाफा कमाउन सफल भएको थियो । सिद्धार्थ बैंकले ७४ करोड ९४ लाख नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले जम्मा ४८ करोड ७४ लाख मात्रै नाफा गरेको थियो । एनआइसी एसिया बैंकले ७२ करोड १४ लाख नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा ५० करोड २० लाख नाफा कमाएको थियो । सिटिजन्स बैंकले ६० करोड ७६ लाख नाफा कमाएको छ । बैंकले गत आवको पुस मसान्तसम्ममा जम्मा ४१ करोड ८४ लाख नाफा कमाएको थियो । बैंक अफ काठमाण्डु लुम्बिनीले ६ महिनामा ६० करोड १४ लाख नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले जम्मा ३२ करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।