७ सय र २६ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी खोल्ने तयारीमा सरकार, अन्तिम तयारी हुँदै
काठमाडौं। सरकारले दूरसञ्चार सेवा चलाउन बोलकबोल मार्फत नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्ने तयारी गरेको छ। यसअघि नै सरकारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति–२०७३ कार्यान्वयन गर्दै सरकारले थप नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्न लागेको थियो तर हालसम्म पूरा कार्यान्वयन हुन नसक्दा करोडौं रुपैयाँ राजश्व उठ्ने फ्रिक्वेन्सी त्यत्तिकै खेर गइरहेको थियो। स्याटेलाइट फोन, टेलिफोन तथा इन्टरनेटलगायतका दूरसञ्चार सेवा चलाउन रेडियो फ्रिक्वेन्सी आवश्यक हुन्छ । सरकारले पहिलो चरणमा ७ सय र २६ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी खुला गर्न लागेको हो । बोलकबोल मार्फत नयाँ ब्यान्डमा फ्रिक्वेन्सी खुला गर्ने तयारी थालिसकेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्वर झाले बताए। उनले चाँडै नै यस विषयमा निर्णय हुने जानकारी दिए। प्राधिकरणले नयाँ ब्यान्डका फ्रिक्वेन्सी खुला गर्न प्राविधिक र मूल्य निर्धारण समिति बनाएर अध्ययन गराइरहेको छ। गत असार अन्तिम साता संशोधन भएको नीतिमा तीन महिनाभित्र नयाँ ब्यान्डका फ्रिक्वेन्सी खुला गर्न बोलकबोलका लागि आधार मूल्य (बेस प्राइस) तोक्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुरूप बोलकबोलका लागि आधार मूल्य तोक्ने प्रक्रिया अघि बढाइएको हो। दसैं लगत्तै प्राधिकरणले यी दुवै ब्यान्डको आधार मूल्य तय गर्ने भनिएपनि अहिलेसम्म केहि भएको छैन। ‘आधार मूल्य तय भएपछि हामी बोलकबोलमार्फत फ्रिक्वेन्सी बिक्री गर्छौं,’ झाले भने, ‘जसले बढी कबोल गर्छ उसैले फ्रिक्वेन्सी पाउँछ ।’ सरकारले हालसम्म ८ सय, ९ सय, १८ सय, २१ सय र २३ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी मात्र खुला गरेको छ। अहिले खुला गर्न लागिएको ७ सय मेगाहर्ज ब्यान्डलाई ‘गोल्डेन ब्यान्ड’ मानिन्छ । यो ब्यान्डको फ्रिक्वेन्सीमा सेवा विस्तार गर्ने कम्पनीले पूर्वाधारमा कम लगानी गर्दा पनि हुन्छ । फ्रिक्वेन्सी ब्यान्ड जति कमको भयो त्यत्ति नै कम लगानीमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ। दुवै ब्यान्डको बढाबढ सकिएपछि पहिलो कम्पनीले तोकेको मूल्य तिर्ने गरी नेपाल टेलिकमलाई भने बढाबढ बिनै फ्रिक्वेन्सी दिइने नीतिमा व्यवस्था गरिएको छ । उनका अनुसार ७ सय र २६ सय दुवै ब्यान्डमा फोरजीसम्मको सेवा सञ्चालन गर्न सकिन्छ। यी ब्यान्डको फ्रिक्वेन्सी बोलकबोल गर्दा अहिले सेवा नचलाएका कम्पनीलाई समेत आह्वान गर्ने तयारी प्राधिकरणले गरेको छ । दुई ब्यान्डका गरी ९ वटा प्याकेज रहेकाले तिनलाई ९ वटा कम्पनीसम्मलाई दिन सकिनेछ ।
एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्था मर्ज भएर एकिकृत कारोबार सुरु लगत्तै सेयर कारोबार खुल्ला गर्न निर्देशन दिएको थियो । तत्कालै सेयर कारोबार खुल्ला गर्न नसके पनि अधिकतम १५ दिनभित्रै सेयर कारोबार खुलाउनु पर्ने भनेको थियो । तर एनसीसी बैंकले एकिकृत कारोबार सुरु गरेको एक महिना भन्दा बढि समय भैसक्दा पनि सेयर कारोबार खुल्ला गरेको छैन् । एनसीसी बैंकले मर्जरपछि पुस १७ देखि एकिकृत कारोबार आरम्भ गरेको थियो । एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ भन्ने प्रश्नको जवाफमा बैंकको उच्च श्रोतले भन्यो-‘हामी अन्तिम तयारीमा जुटेका छौं, फागुन १५ गतेभित्रै सेयर कारोबार खुल्छ ।’एनसीसीमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएका थिए । मेगा(धेरै संस्था) मर्ज भएकाले पनि सेयर कारोबार खुल्ला गर्न समय लागेको बैंकको उच्च व्यवस्थापन श्रोतले बतायो । ‘हाम्रै मात्रै थियो भने सेयर कारोबार खुल्ला गर्नु कुनै असहज कुरा थिएन तर हामी धेरै संस्था मर्ज गरेर अघि बढेका छौं, ८६ हजार त सेयरधनी छन, यसको मिलान सहज थिएन’, श्रोतले भन्यो । बैंकले फागुन १२ देखि १५ गतेको बिचमा सेयर कारोबार खुल्ला गर्ने गरि तयारी गरिरहेको हो । उता, नेपाल धितोेपत्र बोर्डका प्रवक्ता निरज गिरिले चाडोँ सेयर कारोबार खुलाउन निर्देशन दिईसकेको बताए । ‘उनीहरुले सेयर कारोबार खुलाउने तयारी गरिरहेको बताएका थिए, हामीले चाँडै गर्नुस भनेर निर्देशन दिईसकेका छौं’, धितोपत्र बोर्डका प्रवक्ता गिरिले विकासन्युजसँग भने ।
मूल्य वृद्धि ३.२ प्रतिशतमा झर्यो, काठमाडौं सबैभन्दा सस्तो
काठमाडौं । गएको वर्षको पुसमा सबैभन्दा उच्च रहेको मूल्य वृद्धि यस वर्षको पुससम्म आइपुग्दा स्वात्तै तल झरेको छ । गत वर्षको पुसमा १२.१ प्रतिशत रहेको मूल्य बृद्धि एक वर्षमा ३.२ प्रतिशतमा ओर्लिएको हो । चालु आवको पुस महिनामा समग्र खाद्य मूद्रास्फीति ऋणात्मक रहेको छ । गत वर्षको ६ महिना लामो सीमा नाका बन्दका कारण आपूर्ति व्यवस्था सहज नहुँदा पुस महिनामा वर्षभरिकैभन्दा वस्तुहरूको मूल्य उकालो लागेको थियो । तर, अहिले आपूर्ति व्यवस्थामा सुधार आउनुका साथै भारतीय बजारमा समेत वस्तु तथा सेवाको मूल्य घटेका कारण नेपाल पनि वस्तुहरू सस्तो भएका हुन् । समीक्षा अवधिमा खाद्यन्नको मूल्य बृद्धि शुन्य दशमलव ७ प्रतिशतले ऋणात्मक रहेको छ । गएको वर्षको सो अवधिमा खाद्यन्न १५.२ प्रतिशत रहेको थियो । उक्त समूहअन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३.२ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा २ प्रतिशतले ऋणात्मक रहेको छ । त्यसैगरी मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएकोले छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ । यस वर्षको पुससम्मको अवधिमा गैर-खाद्य मूल्य वृद्धि ६.२ प्रतिशत रहेको छ । गएको वर्षको सोही अवधिमा गैर–खाद्य वस्तुका मूल्य बृद्धि ९.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षालगायतको मूल्यवृद्धि गएको वर्षको तुलनामा न्यून रहेको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा कम १.९ प्रतिशत मूल्य बृद्धि रहेको छ । तराईमा २.८ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र पहाडमा ५.७ प्रतिशत मूल्य बृद्धि रहेको छ । गएको वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.१ प्रतिशत, हिमालमा १० प्रतिशत, तराईमा १०.७ प्रतिशत र काठमाडौं उपत्यकामा १३.८ प्रतिशत रहेको थियो । गत वर्ष यस वर्षको पुस महिनाको तुलनात्मक मूल्य बृद्धि: वस्तु २०७३ पुस २०७२ पुस दालहन तथा गेडागुडी – ६.६ ४६.९ घ्यू तथा तेल – १३.९ ३१.३ मसला – ५.८ १७.६ मासु तथा माछा – १.७ १६.८ फलफूल – २ १ ३.१ खाद्य तथा खाद्यजन्य पदार्थ – १.२ १३.१ दुग्धजन्य पदार्थ तथा अण्डा – २.९ १२.९ तरकारी – ३.९ ११.४ स्रोतः नेपाल राष्ट्र बैंक