२०२५ मा बिटकोइनलाई ठूलो झट्का, २०२६ मा पनि गिरावटको जोखिम ?
काठमाडौं । बिटकोइन क्रिप्टोकरेन्सीका लागि सन् २०२५ मिश्रित वर्ष रह्यो । यस वर्ष विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटकोइनले ‘अल–टाइम हाई’ को रेकर्ड बनायो । तर यही वर्ष यसमा ठूलो गिरावट पनि देखियो । जानकारहरूका अनुसार सन् २०२५ मा बिटकोइनको इतिहासमै सबैभन्दा ठूलो ‘ह्वेल’ (ठूला लगानीकर्ता) बिक्री देखिएको छ । ठूला लगानीकर्ताहरूले एकै पटक ठूलो परिमाणमा बिटकोइन बिक्री गरेपछि बजारमा तीव्र दबाब सिर्जना भएको थियो, जसका कारण मूल्यमा उतारचढाव आएको विश्लेषकहरूको भनाइ छ । अनचेन विश्लेषक अली चार्ट्सले बताएअनुसार तथ्यांकले देखाउँछ कि पछिल्लो एक वर्षदेखि ठूला बिटकोइन लगानीकर्ताहरू लगातार बिक्री गर्दै आएका छन् । अली चार्ट्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै पछिल्ला १२ महिनामा ह्वेल अर्थात् ठूला लगानीकर्ताले १ लाख ६१ हजार २९४ बिटकोइन बेचेको जानकारी दिए । ती बिटकोइनको मूल्य करिब १५ अर्ब अमेरिकी डलर बराबर थियो । उनका अनुसार यस्तो अवस्था प्रायः बजारमा ठूलो गिरावट आउनु अघि वा गिरावटको क्रममा देखिन्छ, न कि मूल्य पहिले नै घटिसकेपछि । यस वर्ष बिटकोइनले धेरैपटक नयाँ उचाइ छोए पनि यसको चाल अस्थिर रह्यो । ठूला लगानीकर्ताको भारी बिक्रीका कारण पटक–पटक मूल्यमा अचानक ठूलो गिरावट देखियो । हाल बिटकोइन ८७ हजार अमेरिकी डलरभन्दा तल कारोबार भइरहेको छ । तर बजारमा फेरि बिक्रीको दबाब बढेसँगै लगानीकर्ताको भरोसा कमजोर बनेको छ । सबै ठूला लगानीकर्ताले भने बिटकोइन बिक्री गरिरहेका छैनन् । मध्यम आकारका लगानीकर्ता भने वर्षभरि नै शुद्ध खरिदकर्ता बनेका छन् । यस्ता मध्यम आकारका लगानीकर्तालाई ‘शार्क’ भनिन्छ । शार्क भनेका १०० देखि १ हजार बिटकोइन राख्ने लगानीकर्ता हुन् । शार्कहरूको खरिदले ह्वेलहरूको बिक्री दबाबलाई केही हदसम्म कम गर्न मद्दत गरेको छ । यसका कारण बजारको प्रभाव बिस्तारै पुराना ‘ह्वेल’बाट हटेर व्यापक सहभागीहरूतर्फ सर्दै गएको जनाइएको छ । सन् २०२५ मा ह्वेल अर्थात् ठूला लगानीकर्ताले जसरी बिटकोइन बिक्री गरेका छन्, त्यसअनुसार सन् २०२६ का संकेत सकारात्मक देखिँदैनन् । २०२५ मा भएको बिक्रीले बिटकोइनको तीव्र प्रवृत्तिलाई कमजोर बनाएको छ । यदि यही क्रम २०२६ सम्म पनि जारी रह्यो भने विश्लेषकहरूका अनुसार बिटकोइनका लागि दिगो पुनरुत्थान हासिल गर्न कठिन हुन सक्छ । अर्थात् बिटकोइन क्रिप्टोकरेन्सीमा गिरावटको अवस्था कायम रहन सक्छ ।
पूर्वाधार र प्रचार अभावले सिजनमा सीमित नेपालको पर्यटन
काठमाडौं । नेपालमा पर्यटनको सम्भावना वर्षभरि भएपनि व्यवहारमा भने सिजनमै सीमित हुँदै आएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मनसुन र हिउँदको समयमा पर्यटन आगमन घट्ने गरेको छ । उक्त समयमा होटल र ट्राभल व्यवसाय पनि सुस्त हुने गरेको छ । बोर्डको तथ्यांकअनुसार नेपालमा वार्षिक १० देखि १२ लाखको हाराहारीमा विदेशी पर्यटक एयरलान्समार्फत नेपाल आउने गरेका छन् । नेपालमा पर्यटनको पहिलो पिक सिजन अक्टोबर–नोभेम्बर र दोस्रो पिक सिजन मार्च–अप्रिललाई लिने गरेको छ । यो सिजनमा नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिन्छन् । मनसुन सिजन र हिउँद सिजनमा पर्यटनको आगमन घट्ने गरेको छ, जसलाई ‘लो सिजन’ भन्ने गरिन्छ । बोर्डको तथ्यांकअनुसार २०२५ को ११ महिनामा १० लाख ६० हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सबैभन्दा धेरै अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल घुम्न आएका छन् । सबैभन्दा कम पर्यटक जुलाईमा ७० हजार ७११ भित्रिएका छन् । पर्यटनसँग सम्बद्ध सरोकारवालाहरूले नेपालमा बाह्रै महिना पर्यटन सिजन नहुनुका कारण प्राकृतिक, संरचनात्मक, नीतिगतलगायत कारण बताउँछन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले १२ महिना पर्यटक भित्र्याउन नसक्नुको प्रमुख चुनौती खराब मनसुन र पूर्वाधारको अभाव औंल्याए । पूर्वाधारमा सुधार भएको अवस्थामा नेपालमा बाह्रै महिना पर्यटक भित्र्याउन समस्या नभएको उनले बताए । उनले भने, ‘पर्यटकीय हिसाबले सबै क्षेत्रमा सबै थोक छ, तर सबै ठाउँमा पूर्वाधारको सुविधा छैन, उदाहरणको लागि विन्टर सिजनमा बेस क्याम्प जाँदा होटलहरूमा हिटर सिस्टम मात्रै भयो भने पर्यटक आगमन घट्दैन ।’ थपलियाका अनुसार बखायाममा नेपालको मौसम एकदमै खराब हुने भएकाले त्यो समयमा पर्यटकलाई प्रमोट गर्न गार्हो हुने र पर्यटक आगमन घट्ने गर्छ । ‘मनसुनमा हामी नेपालीहरू नै हिँड्न डराउनुपर्ने स्थिति छ, यो बेला कहाँ पहिरो खस्छ, कहाँ बाढी जान्छ थाहा नै हुँदैन । बर्खा याम अलि जोखिमपूर्ण नै भएकोले हामीलाई प्रमोट गर्न अलि गाह्रै छ,’ उनले भने । सिजनको समयमा मौसम पनि राम्रो हुने र विदेशी पर्यटकलाई पनि त्यो समय मन पर्ने हुँदा स्वभाविक रूपमा पर्यटनको संख्या बढ्ने गरेको उनको भनाइ छ । यद्यपि ‘लो सिजन’ मा पर्यटकलाई आकर्षण गर्न सक्ने खालको विभिन्न कार्यक्रम गर्न सके पर्यटक भित्र्याउन सम्भावना भएको थपलियाले बताए । उनका अनुसार लो सिजनमा ४० हजारको हाराहारीमा भारतीय पर्यटकहरू नेपाल हुँदै कैलाश मानसरोवरको यात्रा गर्छन् । त्यो संख्या बढाउन सकेको खण्डमा पनि लो सिजमा पर्यटन व्यवसायीलाई अप्ठ्यारो नहुने उनले बताए । थपलिया भन्छन्, ‘४० हजार पर्यटक अहिले पनि कैलाश मानसरोवर जानको लागि आउँछन् । उनीहरू नेपालमा कम्तीमा चार रात बस्छन्, त्यो समयमा राम्रै खर्च गर्न सक्ने क्षमताको पर्यटक हुन्छन् ।’ पूर्वाधारमा सुधार र मनसुनमा हुने प्राकृतिक विपत्तिको समयमा सरकारले पर्याप्त तयारी गरेको खण्डमा नेपालमा बा¥है महिना पर्यटन सिजन हुने थपलियाले बताए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके पनि नेपालको कमजोर पूर्वाधारकै कारण पर्यटकको संख्या चाहेर पनि बढाउन नसकेको तर्क गर्छन् । पर्यटनसम्बन्धी प्रचार–प्रसार सरकारी निकायबाट जुन तहमा हुनुपर्ने त्यो नहुँदा पनि नेपालमा पर्यटनको सिजन बाह्रै महिना हुन नसकेको उनी बताउँछन् । ‘निजी क्षेत्र, चर्चित ब्लगरहरूले युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालबाट नेपालबारे प्रचार प्रचार गरिरहेका हुन्छन्, तर सरकारी निकायबाट न्यून हुने गरेको छ,’ उनले भने, ‘जति हामीले प्रचारप्रचार गर्न सक्यौं त्यति नै पर्यटक भित्रिने सम्भावना बढ्दै जान्छ । पर्यटनसँग सम्बन्धित टुरिस्ट प्रहरी, स्वंयसेवकलगायतलाई अधिकतम खटाउने, तालिमहरू दिएर संवेदनशील बनाउनु आवश्यक रहेको पनि उनले औंल्याए । ‘नेपाल आउने पर्यटकहरलाई कस्तो व्यवहार गर्ने, कसरी स्वस्थ वातावरण बनाउने भनेर पर्यटक प्रहरीलगायत पर्यटनसँग सम्बवद्धलाई तालिम दिएर संवेदनशील बनाउनुपर्छ,’ उनले भने । अध्यक्ष चुके गर्मी महिनामा आउने पर्यटक चिसो ठाउँमा जान सक्ने र जाडोमा आउने पर्यटकलाई पनि घुम्नको लागि पर्याप्त ठाउँहरू भएको बताउँछन् । उनले सरकारी निकायलाई मात्रै दोष नदिएर सरकार, गैरसरकारी संघसंस्था र होटल व्यवसायीहरू सबै लागि प¥यो भने जुनसुकै समयमा पर्यटन आउने वातावरण बनाउन सकिने दावी गरे । मनसुनको सिजनमा पर्यटकलाई नयाँ अनुभव दिन सक्ने चुके बताउँछन् । उनले पछिल्लो समय मौसविद्हरूले गर्ने मौसम पूर्वानुमान मिलिरहने भएकोले त्यसलाई आधार मानेर यात्रा गर्न सक्ने भएकाले पर्यटकलाई पनि त्यही किसिमले सूचनाहरू प्रचारप्रसार गर्नुपर्ने औंल्याए । ‘मौसमसम्बन्धी सही जानकारी दिएको खण्डमा पर्यटकहरूले त्यसलाई हेरेर मनसुनमा पनि आफ्नो कार्यक्रमको सेड्युल बनाउँछन्,’ उनले भने । १२ महिना नै पर्यटन गन्तव्य बनाउने बोर्डको रणनीति नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले सिजनबाहेकको बाँकी महिनामा पनि पर्यटन गतिविधि विस्तार गर्ने तीव्र रूपमा अघि बढाएको बताए । उनका अनुसार नेपाललाई ‘अफ सिजन’ नभएर ‘अल सिजन’ गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको छ । ‘हामीले अब अफ–सिजन भन्ने शब्द नै प्रयोग गर्न छोडेका छौं, अहिले ‘लो सिजन’ भन्छौं । शब्दबाटै करेक्सन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘पहिले–पहिले अफ–सिजनमा होटल बन्द हुन्थे, स्टाफहरू छुट्टीमा हुन्थे। अहिले त्यो अवस्था छैन । व्यवसाय बन्द गरेर बस्नु पर्ने अवस्था छैन ।’ जाडो मौसमा पनि पर्यटन गतिविधि बढाउन विन्टर स्पोर्ट्स र विन्टर ट्रेकिङलाई अघि बढाउँदै आएको उनको भनाइ छ । ‘युरोपमा घाम नलाग्ने, अत्यधिक चिसो हुने बेला नेपालका घाम लाग्ने मिडहिल र हिमाल नजिकका क्षेत्रहरू आकर्षक हुन्छन् । त्यसैले यो समयमा पनि नेपालमा पर्यटक आउन सक्ने अवस्था छ,’ लामिछाने भन्छन् । घान्द्रुक, घोरेपानी, इलामजस्ता स्थानहरू जाडोयाममा पनि घाम लाग्ने र चिसो कम महसुस हुने भएकाले उपयुक्त गन्तव्य बन्न सक्ने उनी बताउँछन् । उनका अनुसार बोर्डले पछिल्लो दुई–चार वर्षदेखि व्यवसाय नै बन्द गर्नुको सट्टामा विभिन्न प्याकेजहरू बनाएर बेच्न व्यवसायीहरूलाई प्रोत्साहन गर्दै आएको छ । मनसुनलाई पनि अवसरका रूपमा प्रयोग गर्न सकिने लामिछानेको तर्क छ । ‘मिडहिलमा मनसुन टुरिजम, रेन टुरिजम गर्न सकिन्छ, मध्यपूर्वका धेरै पर्यटकले जीवनमा पानी परेको देखेकै हुँदैनन्, बर्खामा भिज्नु, छाँगाछहरा हेर्नु, हुस्सुमा हिँड्नु उनीहरूका लागि ‘लाइफ–टाइम एक्सपेरियन्स’ हो,’ उनी भन्छन् । धान रोपाइँ, खेतबारीका गतिविधि, हरियाली र वर्षायामको प्राकृतिक सौन्दर्यलाई पनि पर्यटन उत्पादनका रूपमा प्रवद्र्धन गर्नतर्फ बोर्ड सकारात्मक रहेको उनले बताए । लामिछानेले बोर्डले पर्यटक ल्याउने, प्रडक्ट बेच्नेभन्दा पनि पर्यटक आउने माहोल बनाइदिने रहेको उनको भनाई छ । उनका अनुसार बोर्डले व्यवसायीलाई एजुगेट गर्ने, पर्यटकको आकर्षण के मा छ, के गर्दा उपयुक्त हुन्छ भनेर त्यसअनुसार गरिरहेको छ । यही अवधारणालाई आत्मसात् गरेको उनी बताउँछन् । ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’ भन्ने भिजन राखिएको छ । ‘सुरक्षित, भरपर्दो र दिगो गन्तव्य बनाउँदै जीवनपर्यन्त अनुभूति दिने पर्यटन विकास गर्नु नै हाम्रो लक्ष्य हो,’ उनको भनाइ छ।
एसियाको वर्ष समीक्षा : २०२५ मा कसको अवस्था सबैभन्दा राम्रो र कसको सबैभन्दा खराब ?
काठमाडौं । कस्तो वर्ष रह्यो त यो ? धेरैका लागि त यो सकेसम्म छिटो सकियोस् भन्ने चाहना स्वाभाविक नै थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ नीतिहरूको प्रभावदेखि एसियाभरि भएका प्राकृतिक तथा मानव निर्मित विपत्तिसम्म । नयाँ नेताहरूले ऐतिहासिक ‘ग्लास सिलिङ’ तोडेकोदेखि पुराना नेताहरूलाई अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) सम्म पुर्याइने वा अनुपस्थितिमै मृत्युदण्ड सुनाइने घटनासम्म । सीमापार क्षेप्यास्त्र प्रहार । दक्षिण एसिया र प्रशान्त क्षेत्रमा आतंकवादी आक्रमण । दीर्घकालीन भ्रष्टाचारका चुनौती र रियल इस्टेट क्षेत्रका समस्या । साथै ठगीमा परेका र दास बनाइएका मानिसहरू । २०२५ अन्त्यतिर आइपुग्दा हामी फर्केर हेर्छौ– कसको वर्ष खराब रह्यो र कसको राम्रो । सबैभन्दा खराब वर्ष : एसियाका साइबर ठगी पीडितहरू यो वर्ष दक्षिणपूर्वी एसियाबाट उत्पन्न हुँदै विश्वभर फैलिएको साइबर अपराधको बढ्दो तुफान देखियो । म्यानमार, लाओस र कम्बोडियाबाट मुख्यतः सञ्चालन हुने आपराधिक गिरोहहरूले विश्वभरका पीडितबाट अर्बौं डलर ठगे। यहाँ अपराधी स्वयं पनि पीडित नै छन् । नक्कली रोजगारीका प्रस्तावमा फसाइएर ती देशहरूमा लगिएका थिए । सयौं हजार मानिसहरू इच्छाविपरीत थुनिए, जहाँ उनीहरूलाई ठगी केन्द्रहरूमा काम गर्न बाध्य पारियो । उनीहरूमध्ये धेरैजसो थाइल्यान्ड हुँदै गएका थिए। जनवरी २०२५ मा चिनियाँ अभिनेता वाङ सिङलाई नक्कली अभिनयको कामको प्रलोभन देखाएर अपहरण गरी एउटा ठगी केन्द्रमा काम गर्न बाध्य पारिएको घटनाले विश्वको ध्यान खिच्यो । ट्रम्प प्रशासनले समेत यसमा चासो देखायो । अमेरिकी अभियोजक जेनिन पिरोले भनिन्, ‘यी ठगी केन्द्रहरूले मेन स्ट्रिट अमेरिकाबाट चिनियाँ संगठित अपराधको खल्तीमा पुस्तान्तरणीय सम्पत्ति सारिरहेका छन् ।’ कमजोर सरकार र व्यापक भ्रष्टाचारका कारण दक्षिणपूर्वी एसियामा अर्बौं डलरका यस्ता आपराधिक सञ्जालहरू लगभग दण्डहीन रूपमा सञ्चालन भइरहेका छन् । कैदीहरू मुक्त गर्ने र केन्द्रहरू बन्द गर्ने प्रयास हुँदाहुँदै पनि यस्ता खालका घटनाहरू भइरहेका हुन् । यदि यी रोकिएनन् भने यी सञ्जालहरूले एआई र डीपफेक प्रयोग गर्दै अझै परिष्कृत अपराध गर्नेछन् । त्यसैले भाग्ने र उद्धार हुने आशा अत्यन्तै कम भएका एसियाका साइबर ठगीमा दास बनाइएका पीडितहरूले २०२५ मा एसियाको सबैभन्दा खराब वर्ष भोग्ने दुर्भाग्यपूर्ण उपाधि पाएका छन् । खराब वर्ष : माटो, हावा, पानी र आगोका सिकार वर्षको अन्त्यतिर एसियाका विशाल भूभागमा मृतक संख्या झनै बढेको देखियो । २०२५ भरि नै भूकम्प, आँधी, बाढी जस्ता प्राकृतिक विपत्तिका कारण अत्यधिक मानिसहरूले ज्यान गुमाए, जसलाई मानव भ्रष्टाचार र अकुशलताले अझै गम्भीर बनाएको देखियो । मार्च २८ मा म्यानमारमा गएको भूकम्पले ३ हजार ६०० भन्दा बढीको ज्यान लियो, करिब २ लाख मानिस विस्थापित भए र टाढाको बैंककसम्म निर्माणाधीन गगनचुम्बी भवन ढल्दा दर्जनौंको मृत्यु भयो । श्रीलंका, थाइल्यान्ड, इन्डोनेसिया, भियतनाम, मलेसिया र फिलिपिन्समा बाढी, पहिरो र आँधीले लाखौंलाई प्रभावित गर्यो र १ हजार ६०० भन्दा बढीको ज्यान गयो । यसमा आगलागी पनि थपियो । वर्षको अन्त्यतिर हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट अपार्टमेन्टमा भएको भयावह आगलागीले संसारभर टेलिभिजन पर्दामा डरलाग्दा दृश्य देखायो । काम नगर्ने फायर अलार्म र कमजोर निर्माण सामग्रीले कम्तीमा १६० जनाको ज्यान गएको यो घटनालाई सहरकै सबैभन्दा घातक आगलागीमध्ये एक बनायो । मिश्रित वर्ष : जेनजी आन्दोलन मीम, ह्यासट्याग र रिल्ससहित जापानी एनिमे तथा मंगा शृंखला ‘वन पिस’ बाट चर्चित ‘जोली रोजर’ झन्डा फहराउँदै परिवर्तनको चाहना बोकेका जेनजी युवाहरूका लागि २०२५ मिश्रित रह्यो । १९९७ देखि २०१२ बीच जन्मिएका यी युवाहरू नेपाल, इन्डोनेसिया, फिलिपिन्स, माल्दिभ्स र नयाँ आसियान सदस्य राष्ट्र तिमोर–लेस्टेसम्म सडकमा उत्रिए, जहाँ भ्रष्टाचार, नातावाद र आर्थिक असमानताविरुद्ध प्रदर्शन भए । नतिजा भने मिश्रित नै रहे यद्यपि एसियाभर उनीहरूको असन्तोष साझा थियो । जेनजीले नेपालमा सरकार ढाल्न सफल भए । अघिल्लो वर्ष बंगलादेशमा पनि यही पुस्ताले सरकार पतनमा मुख्य भूमिका खेलेको थियो । अन्य देशमा २०२५ मा साना–साना सहमति हासिल भए । तर वर्षको अन्त्यसम्म आइपुग्दा प्रश्न उही रह्यो— इन्टरनेट युगमै हुर्किएको पहिलो पुस्ता जेनजीले यो ऊर्जा कायम राखेर रचनात्मक परिवर्तनका लागि दिगो आन्दोलन बनाउन सक्छ कि सक्दैन ? भ्रष्टाचार जरा गाडिएका प्रणाली सुधार्ने, यथास्थितिप्रतिको युवाको गहिरो निराशा कम गर्ने र थप आर्थिक अवसर सिर्जना गर्ने राजनीतिक शक्तिको आशा अझै बाँकी छ । ‘वन पिस’ का पात्र मन्की डी. लुफीको भनाइ सापटी लिँदै– ‘जोखिम नलिए भविष्य निर्माण गर्न सकिँदैन ।’ राम्रो वर्ष : एसियाको ‘बाँसजस्तो आर्थिक रणनीति’ वर्षको अन्त्यतिर सुस्त भए पनि बढ्दै गरेका एसियाली अर्थतन्त्रहरूमा लचिलोपन देखियो । ट्रम्पका ‘लिबरेसन डे’ ट्यारिफहरू सामना गर्न क्षेत्रका नेताहरूले उच्च हावामा झुक्ने बाँसजस्तै लचकदार रणनीति अपनाए । यसले ‘बाँसजस्तो आर्थिक रणनीति’ लाई सफल बनायो । व्यावहारिकताका लागि परिचित एसियाली देशहरूले नयाँ विश्व आर्थिक यथार्थलाई व्यवस्थापन गर्न सके । परिणामस्वरूप अमेरिकी ट्यारिफहरू प्रारम्भिक प्रस्तावभन्दा घटे, व्यापार संरचना पुनर्संयोजन भए र नयाँ आर्थिक रणनीतिहरू विकसित भए । यसको उदाहरण भारत, क्यानडा र अस्ट्रेलियाबीच प्रविधि र नवप्रवर्तनमा भएको सहकार्य सम्झौता हो, जसले एसियाली देशहरूको आफ्नै ‘आर्ट अफ द डिल’ झल्काउँछ । एशियाली विकास बैंकका अनुसार आर्थिक पुनःसमायोजनले विकासशील एसियालाई करिब ५ प्रतिशतको वृद्धिदर कायम राख्न सहयोग गर्यो । यसले एसियालाई विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने क्षेत्रको रूपमा कायम राख्यो । सबैभन्दा राम्रो वर्ष : चिनियाँ ‘सफ्ट पावर’ यदि प्रविधि र सिर्जनात्मक सामग्री नै नयाँ सफ्ट पावर हुन् भने २०२५ ले ‘मेड इन चाइना’ पनि यस दौडमा बलियो प्रतिस्पर्धी हुन सक्ने देखायो । बेइजिङले अमेरिका र कोरियासँगै सफ्ट पावर महाशक्तिको सूचीमा स्थान बनायो । वर्षको सुरुवात जनवरीको अप्रत्याशित घटनाबाट भयो( कम लागतको एआई मोडल ‘डीपसिक’ सार्वजनिक । जसले च्याटजिपिटी र अमेरिकी प्रविधि प्रभुत्वमा मोहित संसारलाई चकित पार्यो । वर्षको अन्त्यतिर ‘लाबुबु’ ले विश्वभर तहल्का मच्चायो, यहाँसम्म कि न्यूयोर्कको प्रसिद्ध मेसी’ज थ्यांक्सगिभिङ डे परेडमा समेत देखियो । लाबुबु हङकङका कलाकार तथा लेखक कासिङ लुङद्वारा सिर्जित ‘द मन्स्टर्स’ समूहको पात्र हो । यसैगरी, बीवाइडी विद्युतीय सवारीदेखि अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने एनिमेटेड फिल्म ‘ने झा २’ (करिब २ अर्ब डलर कमाइ), एनबीए कोर्टमा देखिएका ली–निङ जुत्ता र एसिया तथा अमेरिकाभर तीव्र गतिमा खुलिरहेका लकइन कफी पसलसम्म २०२५ मा चिनियाँ सफ्ट पावरले आफ्नो अद्भूत क्षमता देखायो । त्यसैले यसले एसियामा सबैभन्दा राम्रो वर्षको उपाधि पाएको छ । २०२६ सबैका लागि अझ राम्रो, सुरक्षित र शान्तिपूर्ण रहोस् । (सीएनबीसीबाट अनुदूति तथा सम्पादित)