पश्चिमी प्रतिबन्धपछि हङकङमा रुसी सुनको बाढी

सात महिनामै ११२.७ टन आयात

काठमाडौं । रुसबाट हङकङतर्फ सुनको आयात रेकर्ड गतिमा बढेको छ ।

यसले पश्चिमी प्रतिबन्धका कारण पहिले लन्डन जाने रुसी सुनको व्यापार चीन तथा एसियाका अन्य बजारतर्फ मोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

बहुमूल्य धातुमा लगानी गर्ने कम्पनी बुलियनभल्टले हङकङको जनगणना तथा तथ्यांक विभागको तथ्यांक विश्लेषण गर्दै सन् २०२६ को पहिलो सात महिनामा हङकङले रुसबाट ११२.७ टन सुन आयात गरेको जनाएको छ ।

यो परिमाण सन् २०२५ को पूरै वर्षमा आयात गरिएको ९२.१ टनको अघिल्लो रेकर्डभन्दा पनि बढी हो । सन् २०२१ मा भने हङकङले रुसबाट केवल ३.३ टन सुन आयात गरेको थियो। त्यो रुसले युक्रेनमा आक्रमण गर्नुअघिको अवस्था थियो ।

विश्लेषकहरूले सीएनबीसीसँग कुरा गर्दै सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसका सुन उत्पादकहरू प्रमुख पश्चिमी बजारबाट बाहिरिएसँगै रुसी सुनको व्यापारको मार्ग परिवर्तन भएको बताएका छन् ।

यस वर्षको पहिलो सात महिनामा हङकङले आयात गरेको गैर–मौद्रिक सुनमध्ये करिब १५ प्रतिशत रुसी सुन रहेको छ । सन् २०२१ मा यो हिस्सा केवल ०.६ प्रतिशत थियो ।

गेटहाउस एडभाइजरी पार्टनर्सकी वरिष्ठ परामर्शदाता भिटा स्पिभाकले भनिन्, ‘युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि हङकङ रुस–चीन व्यापारको महत्त्वपूर्ण केन्द्रका रूपमा उदाएको छ ।’

‘अधिकांश सुन मुख्यभूमि चीनतर्फ जान्छ, किनभने चीनले रुसी सुनमाथि प्रतिबन्ध लगाएको छैन,’ उनले थपिन् ।

उनका अनुसार सुनको व्यापारमा हङकङले प्रतिबन्ध छल्न सकिने अवसर मात्रै दिँदैन, यसले विश्वकै सबैभन्दा ठूलो सुन उपभोग गर्ने बजारमा प्रत्यक्ष पहुँच पनि उपलब्ध गराउँछ ।

लन्डन बुलियन मार्केट एसोसिएसन (एलबीएमए) ले मार्च २०२२ मा रुसका सबै ६ वटा सुन तथा चाँदी प्रशोधन केन्द्रलाई आफ्नो ‘गुड डेलिभरी’ सूचीबाट हटाएको थियो । 

त्यसपछि अमेरिका, बेलायतलगायत पश्चिमी मुलुकहरूले रुसी सुनमाथि विभिन्न प्रतिबन्ध लगाए । यससँगै पहिले रुसी सुनका प्रमुख गन्तव्य रहेका पश्चिमी बजारहरू लगभग बन्द भए ।

युद्धअघि रुसको सुन उद्योग लन्डनमा निकै निर्भर थियो । बुलियनभल्टका अनुसार सन् २०१९ देखि २०२१ सम्म बेलायतमा रुसले गरेको सुन निर्यात उसको खानीबाट हुने कुल सुन उत्पादनको करिब दुईतिहाइ बराबर थियो ।

बुलियनभल्टका अनुसन्धान निर्देशक एड्रियन एसले भने, ‘हङकङको आधिकारिक तथ्यांकले रुसी सुनको आयातमा स्पष्ट रूपमा तीव्र वृद्धि देखाउनु पुटिनले सीसँग पटक–पटक धन्यवाद व्यक्त गर्दै आएको सहयोग र द्विपक्षीय व्यापारको एउटा उदाहरण हो ।’

उनले थपे, ‘रुसबाट बेलायत तथा पश्चिमी प्रतिबन्ध लगाएका अन्य देशतर्फ हुने सुन निर्यात भने स्वाभाविक रूपमा लगभग ध्वस्त भएको छ ।’

किन बढ्दैछ रुसी सुनको प्रवाह ?

हङकङ रुसका लागि स्वाभाविक वैकल्पिक बजार बनेको छ । विश्वकै सबैभन्दा ठूलो सुन उपभोक्ता चीनमा सुन प्रवेश गर्ने प्रमुख नाकाका रूपमा हङकङ लामो समयदेखि रहँदै आएको छ । पछिल्लो समय उसले सुन भण्डारण, क्लियरिङ र कारोबारसम्बन्धी पूर्वाधार पनि तीव्र रूपमा विस्तार गरिरहेको छ ।

स्टोनएक्सकी ईएमईए तथा एसिया बजार विश्लेषण प्रमुख रोना ओ’कोनेलले भनिन्, ‘चीनतर्फ जाने सुनका लागि हङकङ सधैं महत्त्वपूर्ण प्रवेशद्वार रहँदै आएको छ ।’

उनका अनुसार पछिल्ला वर्षमा सांघाईले सुन बजारमा आफ्नो हिस्सा बढाए पनि हङकङ अहिले विश्वस्तरीय सुन कारोबार केन्द्र बन्ने दौडमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । पूर्वाधारका हिसाबले भने हङकङ करिब ६ महिना अगाडि रहेको उनले बताइन् ।

ऐतिहासिक रूपमा हङकङ चीनमा सुन आयात गर्ने प्रमुख प्रवेशद्वार थियो । तर पछिल्लो समय बेइजिङले सेन्जेन र बेइजिङसहित अन्य आयात केन्द्र पनि खोलेपछि हङकङको हिस्सा घटेको एसएन्डपी ग्लोबलले जनाएको छ ।

रुसबाट सुनको प्रवाह बढिरहेको समयमा चीन स्वयं पनि ठूलो मात्रामा सुन खरिद गरिरहेको छ ।

चीनले सुनलाई ‘रणनीतिक खनिज’को दर्जा दिएको छ । उसले सर्वसाधारणका लागि भौतिक सुनलाई मूल्य सुरक्षित राख्ने माध्यमका रूपमा समेत प्रवद्र्धन गर्दै आएको छ । साथै चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले आफ्नो सुन सञ्चिति पनि निरन्तर बढाइरहेको छ ।

एसएन्डपी ग्लोबलको तथ्यांकअनुसार सन् २०२६ को पहिलो ६ महिनामा चीनको आधिकारिक सुन सञ्चिति ४० टनभन्दा बढीले बढेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा खरिद गरिएको सुनको परिमाणभन्दा दोब्बरभन्दा बढी हो ।

एसएन्डपी ग्लोबल रेटिङ्सका ग्रेटर चाइना कर्पोरेट्स कन्ट्री लिड चाल्र्स चाङले सीएनबीसीसँग भने, ‘पीबीओसी होस् वा चिनियाँ उपभोक्ता, उनीहरूले ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन् भन्ने हामीलाई थाहा छ ।’

उनका अनुसार अनिश्चितता उच्च भएका बेला उपभोक्ताहरू आफ्नो बचत सुरक्षित राख्न चाहन्छन् र त्यसका लागि सुनलाई एउटा माध्यमका रूपमा हेर्ने गर्छन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)

Share News