वायुसेवा निगमको बोइङ किन्न ७ कम्पनी इच्छुक, ५ अर्ब पर्ने जहाज १२ देखि १६ करोड रुपैयाँमा बिक्री हुँदै
काठमाडौं । नेपाल वायुसेवा निगमले ९एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ आपसी समझदारीमा विक्री गर्ने भएको छ । निगमले २ पटकसम्म न्युनतम १७ करोड रुपैयाँ मूल्यांकन गरेर जहाज विक्री गर्ने तयारी गरेको थियो । उक्त मूल्य राखेर सार्वजनिक प्रस्ताव माग गर्दा एउटा पनि आवेदन नपरेको बोइङ किन्न अहिले भने संस्था, कम्पनी र व्यक्तिगतसम्मको सात वटा आवेदन परेको छ । निगमले आपसी छलफलबाट जहाज विक्री गर्ने भनेपछि दुइ साताको समय दिएर मागेको आपसी छलफलबाट विक्री गर्ने प्रस्तावमा भने नेपालकै वायुसेवा कम्पनीदेखि विदेशीसम्मले आवेदन दिएको वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो प्रस्तावमा १२ करोडदेखि १६ करोड रुपैयाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले आवेदन दिएका छन् । आवेदन दिएका कम्पनीलाई आगमी एक साताभित्रै आपसी छलफलमा आउन पनि निगमले सूचना जारी गरिसकेको छ । उक्त समय अब जम्मा चारदिन मात्रै बाँकी रहेको छ । यस अवधिमा सबैजसोले आफ्नो प्रस्तावमाथि छलफल गर्ने भएको पनि उल्लेख छ । निगमले दिएको जानकारी अनुसार आपसी छलफलबाट जहाज किन्न नेपालकै एक अमेरिकी र एक इजरायली कम्पनीले आवेदन दिएका छन् । सात वटा आवेदनमध्ये बाँकी नेपाली कम्पनीकै परेको छ । बीबी एयरवेज र हिमालयन एभिएसनले पनि प्रस्ताव पेश गरेका छन् । वायुसेवा निगमका अनुसार जहाज किन्न आवेदन दिनेमा अमेरिकाको एभिएसन सिस्टम इंक, नेपालकै हिमालय एभिएसन कन्सल्यान्ट, टीबीआई ग्रुप नेपाल, जनार्दन मान डंगोल, बीबी एयरवेज, अनु मानन्धर, एपीएस एयरपोर्ट सभिस एण्ड सप्लाईज इजरायलले आवदेन दिएको पनि उल्लेख छ । यसअघि मागिएको १७ करोड न्युनतमको मूल्य राखेर दिनुपर्ने प्रस्तावमा १२० दिनको बैंक ग्यारेन्टी राख्नुपर्ने सर्तले आवेदन नपरेको हुनसक्ने अनुमान निगमको छ । निगमका अनुसार आपसी छलफलबाट जहाज लैजान र जुन पक्ष सफल हुन्छ उसैले पाउने पनि उल्लेख छ । सकेसम्म धेरै मूल्य प्रस्ताव गर्नेलाई नै जहाज दिने प्रयास हुने पनि निगमको भनाइ छ । निगमको यो जहाज मर्मत खर्च अधिक लाग्ने भएपछि बनाएर बेच्ने भन्दा विक्री गर्ने र नयाँ थप गर्ने योजना बनाएको छ । निगमले हाल सोही सिट क्षमतको जहाज खरिद गर्दा कम्तिमा ५ अर्ब रुपैयाँ पर्छ । कवाडीमा विक्री हुँदा भने सोही जहाजलाई १६ करोड रुपैयाँसम्ममा नै विक्री गनुपर्ने भएको छ । निगमसँग साढे २ दशक पूराना २ वटा यस्तो जहाज मध्ये एउटा भने उडामै रहेको छ । एउटा मात्रै विक्री गर्न लागिएको हो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा अर्को २ वटा एयरवसको ए३२० नामक जहाज छ । यो बाहेक निगमले आगामी एक वर्ष भित्रमै थप २ वटा वाइडवडि नामक लामो दुरीमा उडा गर्न सक्ने क्षमतको जहाज ल्याउँदै छ ।
हकप्रद खारेज गर्ने साहाराको साधारण सभा रोकियो, राप्तीभेरी विकास बैंक कारवाहीमा
काठमाडौं । अब भने एउटा साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट खारेज गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले जेठ १२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णय कार्यान्वयन गर्नैपर्ने व्यवस्था अघि सारेको थियो । सोही दिन बिशेष साधारण सभा गरेको जनता बैंकलाई भने सो नियमले छोएको थिएन् । यसबिचमा साहारा विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने पुर्ववत निर्णय खारेज गर्न डाकेको बिशेष साधारण सभा रोकेको छ । साहारा विकास बैंकले पनि हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय उल्टाउन असार ३१ गते बिशेष साधारण सभा बोलाएको थियो तर सूचना प्रकाशित गरेर साधारण सभा नै रोकेको छ । साहाराले २०७३ पुस २९ गते सम्पन्न छैठौं साधारण सभाबाट एक बराबर २.५० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । उता, राप्तीभेरी विकास बैंकले भने असार १७ गते नेपालगञ्जमा बिशेष साधारण सभा गरेर हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय खारेज गरेको छ । राप्तीभेरीले २०७३ भदौ १७ गतेको साधारण सभाबाट एक बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । ‘बैंकले असार १७ गतेको साधारण सभाबाट हक प्रद सेयर निष्काशन गर्ने निर्णय खारेज गरेका छौं’, साहारा विकास बैंकका कम्पनी सचिव कमल प्रसाद रावतले विकासन्युजसँग भने । उता, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने राप्तीभेरी विकास बैंकको सेयर रजिष्ट्रेशन रोक्ने बताए ।‘हामीले बैंकलाई लेखेर हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन गरेर मात्रै अन्य काम अघि बढाउन भनेका छौं, त्यस्तो गरिएन भने उनीहरुलाई बोर्डले दिने अनुमति र सेवा सुबिधा बन्द गरिन्छ’, धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने । उनले हकप्रद सेयर जारी गर्ने साधारण सभाको निर्णय कार्यान्वयन नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का गर्नसम्मको चेतावनी पनि दिए ।‘एउटा साधारण सभाबाट हकप्रद निष्काशन गराउँछौं भन्ने अनि अर्काेबाट खारेज गर्ने कुराले लगानी कर्तालाई ठुलो अन्याय हुन्छ, हामी त्यसलाई हेरेर बस्न सक्दैनौं, निर्देशन कार्यान्वयन नगर्ने कम्पनीलाई कारवाही हुन्छ’, गिरीले भने ।
मेट्रो रेलको सम्भाव्यता अन्तिम चरणमा, यी हुन् सम्भावित तीन रुट
काठमाडौं । उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले संयुक्त रुपमा उपत्यकाभित्र मेट्रो रेल निर्माणको सम्भाव्यता अध्ययन गरिरहेका छन र त्यो अब अन्तिम चरणमा पुगेको हो । ‘ काठमाडौंमा कहाँ कहाँ मेट्रो निर्माण् गर्न सकिन्छ र आर्थिक रुपले पनि सम्भव छ भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ’, लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले विकासन्युजसँग भने । एसियाली विकास बैंकको आर्थिक तथा प्राबिधिक सहयोगमा बोर्ड र राष्ट्रिय योजना आयोगका भौतिक पुर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो । सोही समितिले सम्भाव्यता अध्ययनको रिपोर्टलाई अन्तिम रुप दिएको हो । गत बुधबार राष्ट्रिय योजना आयोगमा रिपोर्टबाट छलफल भएको थियो । अध्ययनले उपत्यकामा तीन वटा रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने रिपोर्ट तयार पारेको हो । ‘तीन वटा रुटमा मेट्रो रेल बनाउन आर्थिक र भौतिक रुपले पनि सम्भव छ भन्ने देखाएको छ’, रिपोर्टमाथीका छलफलमा सहभागी एक अधिकारीले भने । मेट्रो रेल अध्ययन गर्न गठित समितिका संयोजक समेत रहेको योजना आयोगका पुर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान श्रेष्ठले पनि अध्ययन अन्तिम चरणमा पुगेको बताए ।‘एडिबी र लगानी बोर्डले पुराना अध्ययनहरुलाई अद्यावधिक गरेर नयाँ रिपोर्ट तयार पारेका छन्, त्यसमा आर्थिक र भौतिक सम्भाव्यताको खोजी गरिएको छ’, श्रेष्ठले विकासन्युजसँग भने । यी हुन सम्भावित चार वटा लाइन अध्ययनले थानकोटदेखि भक्तपुरको जगातिसम्म, बुढानिलकण्ठदेखि रत्नपार्क हुँदै लगनखेल गोदाबरीसम्म र अर्काे लाइन रिङरोडमा रहनेछ । पर्याप्त जमिन तथा यात्रुको आवत जावतको अनुपातलाई हेरेर अध्ययन समितिले रिपोर्ट तयार पारेको हो । लगानी बोर्डले अब सम्बन्धीत क्षेत्रका जन निर्वाचित प्रतिनिधीहरुसँग समेत छलफल गर्ने योजना बनाएको छ । काठमाडौं महानगरपालिकाले भने तिलगङ्गाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलङ्कीसम्म ‘स्काई रेल’ निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन सम्पन्न गरिसकेको छ ।