ऊर्जामन्त्रीले भनेः अब लोडसेडिङ हुदैन, तराइमा विद्युत आपूर्ति सुचारु
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आउदो हिउँदमा विद्युत्भार कटौती (लोडसेडिङ) नहुने बताएका छन् । केही कार्ययोजनामा आएको अवरोधले केही चुनौति थपिए पनि आउदो हिउँमा लोडसेडिङ नहुने उनले सपष्टपारेका छन् । बुधबार ऊर्जा विकासको भावी योजनासहित श्वेतपत्र मन्त्रालयमा सार्वजनिक गर्दै ऊर्जामन्त्री शाहीले अब औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ हटाइने स्पष्टपारे । “उद्योगमा मात्र दैनिक ३ घण्टा लोडसेडिङ भइरहेको बताउदै अब केही समयमा हटाइने छ” उनले भने “ आउदै हिउँदमा लोडसेडिङ हुदैन् ढुक्क हुनुस ।” उनले सौर्य ऊर्जा उत्पादन गर्ने, विद्युतगृहमा सुधार गरी उत्पादन बढाउने र भारतबाट आयात गरेर आउदो हिउँदमा मुलुकलाई गत वर्षको जस्तौ लोडसेडिङ मुक्त बनाइने उनले जानकारी दिए । उनले ऊर्जा मिश्रणमा जोड दिने, नेट मिटररिङ र स्मार्ट मिटर जडान गर्ने, चुहावट नियन्त्रण र प्रसारणको गुणस्तरमा सुधार ल्याई गुणस्तरिय विद्युत आपूर्ति गरिने उनले बताए । २५ मेगावाटको सोलारको काम अघि बढाउने र एलईडी चिम ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिदै उनले कानुनी प्रक्रिया पु¥याएर सबै काम गर्ने उनले स्पष्टपारे । बाढीबाट अवरुद्ध बिजुली सेवा पनि सुचारु भइसकेको मन्त्री शाहीले जानकारी दिए । तराइका केही स्थानबाहेक सबै क्षेत्रमा विद्युत आपूर्ति सुचारु भइसकेको र बाँकी क्षेत्रमा पनि आपूर्तिका लागि काम भइरहेको बताए । विद्युत आपूर्ति सुचारु गर्न प्राधिकरणले द्रुत गतिमा काम गरिरहेको उनको भनाई छ । कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको बताउदै उनले आन्तरिक सुधारमा जोड दिने बताए । काम गर्दा घुस माग्ने र ढिला सुस्ती गर्ने कर्मचारीमाथि तत्काल कार्वाही गर्ने मन्त्री शाहीले चेतावनी दिए । यस्तै जनताको गुनासो सुन्नका लागि अघिल्लो मन्त्रीले सुरु गरेको हटलाइन सेवालाई अझ बढी प्रभावकारी बनाइने उनले जानकारी दिए । कर्मचारीको सरुवा बढुवामा राजनतिक शिफारिश र दवाव आउने जानकारी दिदै उनले शक्तिकेन्द्र धाउने कर्मचारीमाथि कार्वाही गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिवको प्रश्न-हाम्रो आफ्नै रेल कहिले गुड्छ ?
काठमाडौं । ‘भारतको बिजलपुरादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल त भारतले बनाइदिँदैछ, त्यहाँ त रेल गुडाउँला तर हाम्रो आफ्नै रेल चाँही कहिले गुड्छ ?’, भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बुधबार गत आर्थिक बर्षको प्रगति समिक्षा बैठकमा भने । उनले रेल मार्गको निर्माणलाई राज्यले नै उच्च प्राथमिकतमा राखिसकेको बताउँदै तिब्र गतिका साथ काम गर्ने योजना अघि सार्न पनि रेल विभागलाई निर्देशन दिए । ‘हामीले रेललाई उच्च प्राथमिकतामा राखेका छौं, तर अहिलेकै गतिमा ट्रयाक मात्रै खोल्ने हो भने ४०/५० बर्षसम्म ट्रयाक मात्रै खोलेर बस्नुपर्ने अवस्था आउँछ, ५/७ बर्षमा आफ्नै रेल गुडाउने योजना बनाउनुस’, सचिव कार्कीले भने । उनले बार्षिक ३/४ अर्बको बजेट विनियोजन गरेर आफ्नै रेल गुडाउने सपना पुरा नहुने भन्दै ठुलो काम र बजेटको योजना ल्याउन पनि भनेका थिए ।‘३÷४ अर्बको बजेटले रेल गुड्दैन, प्राथमिकता अनुसारको बजेट र कार्यक्रम ल्याउनुस, मन्त्रालयले सहयोग गर्छ’, कार्कीले भने ।छलफलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विर बहादुर बलायरले बिजलपुराबाट जनकपुर आउने रेललाई बर्दिबाससम्म चाँडै ल्याउने गरि काम अघि बढाउन निर्देशन दिएका थिए । मन्त्री बलायरले भने–‘३५ किलो मिटर रेल भारतले बनाई दियो, अब ३४ किलोमिटर हामीले बनाएर भएपनि बर्दिबासम्म रेल ल्याउनु पर्छ, हाम्रो आफ्नै रेल छ भनेर संसारलाई चिनाउनु पनि पर्छ ।’ उनले रेल मार्ग निर्माणका लागि आवश्यक जनशक्तिको जोरजाम गर्नुपर्ने आवश्यकता महशुस भएपनि संघियता कार्यान्वयनको चरणमा रहेकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन नसकिएको बताए । रेल विभागले हाल ९४५ किलोमिटर लामो मेची महाकाली रेल मार्गको बर्दिबास देखि लालबन्दीसम्मको ३० किलोमिटर खण्डमा ट्रयाक बेल्ड निर्माण गरिरहेको छ भने चालु आर्थिक बर्षमा लालबन्दीदेखि निजगढसम्मको काम अघि बढाउँदै छ । बर्दिबासदेखि बुटवलसम्मको ३७२ किलो मिटर डिपिआर तया भैसकेको छ भने बर्दिबास देखि काकडभिट्टाको २४७ किलोमिटर क्षेत्रमा डिपिआर निर्माण भैरहेको छ ।
अपी पावरले ४८ मेगावाट क्षमताका २ आयोजना बनाउँदै
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४८ मेगावाट क्षमताको दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अपीले ४० मेगावाटको माथिल्लो चमेलिया र ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेकाले चाँडै सम्पन्न हुदै छ । २ आयोजना सम्पन्न भएपछि अपीको जडित क्षमता साढे ५६ मेगावाट पुग्ने छ । नौगाड र चमेलिया सुदुरपश्चिमको दार्चुला जिल्लामा पर्छ । चेमिलया आयोजनाको संभाव्यता अध्ययनका लागि कम्पनीले ऊर्जा मन्त्रालयबाट सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको छ । यस्तै माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७३/०७४ को वित्तीय विवरणमा उल्लेख छ । नाफा घट्यो गत आवमा कम्पनीको नाफा घटेको छ । गत असारसम्म कम्पनीले ७ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा अपीको नाफा ८ करोड ८ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढेर गत आवमा १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी १२ कारोड २० लाख रुपैयाँ थियो । अपीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । आयोजना बनाउन अपीले हकप्रद सेयर निष्कासन गरेको छ । अपीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ छ ।