आयो १ अर्ब २० करोडको सिद्धार्थ इक्वीटी फण्ड, यस्ता छन् विशेषता
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब २० करोडको सिद्धार्थ इक्वीटी फण्ड ल्याएको छ । सिद्धार्थले आफ्नो तेश्रो म्युचुअल फण्डका रुपमा १० वर्षे इक्वीटी फण्ड ल्याएको हो । असोज २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिने यो फण्डमा १० रुपैंयाँ मूल्यका न्युनतम एक सय ईकाईदेखि अधिकतम २ करोड ४० लाख मुल्यको २४ लाख ईकाईका लागि आवेदन दिन सकिन्छ । फण्डको १५ प्रतिशत सिद्धार्थ बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी ८५ प्रतिशत अर्थात १अर्ब २ करोड मूल्य बराबरको १० करोड २० लाख ईकाईमा भने अन्य संस्था तथा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । यसअघि नै २ वटा म्युचुअल फण्डहरुको सफल कार्यान्वयन गरिहरेको कम्पनीले यसपाली तीन गुणा आवेदन पर्ने अपेक्षा गरेको छ । ‘हामीले अघिल्ला २ वटा म्युचुअल फण्डहरुमा राम्रो प्रतिफल दिईरहेका छौं, तेश्रो फण्डका लागि मागको तीन गुणा बढि आवेदन पर्ने अपेक्षा गरेका छौं’, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले भने । कम्पनीले पहिलो पटक ५० करोड रूपैयाँको म्युचुअल फण्ड ल्याएको थियो । साढे ४ वर्षे अवधीमा सो म्युचुअल फण्डले १२४.५ प्रतिशत प्रतिफल दिईसकेको छ । त्यस्तै, कम्पनीले साढे २ वर्ष अघि ल्याएको एक अर्बको दोश्रो म्युचुअल फण्डले ४१ प्रतिशत प्रतिफल लगानीकर्तालाई दिईसकेको छ । सिद्धार्थ इक्वीटी फण्डले औषतमा २५ प्रतिशतका दरले प्रतिफल दिने प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले दावी गरे । ‘म्युचुअल फण्डमा हामी अब्बल सावित भैसकेका छौं, २५ प्रतिशतको औषत प्रतिफल दिन कुनै समस्या हुन्न’, तिमल्सिनाले विकासन्युजसँग भने ।
विश्व बैंकको वार्षिक गभर्नस बैठक सुरु हुदै, नेपालले भूकम्प पीडितलाई घर बनाउन थप ३० अर्ब माग्ने
काठमाडौं । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व वैंकसंग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ । विश्व बैंकको वार्षिक गभर्नस बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने भएको हो । बैंकले हालै शासकीय सुधारलगायत अन्य क्षेत्रमा १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । बैंकको वार्षिक बैठकमा भाग लिन अर्थसचिव डा. शान्तराज सुवेदी अमेरिका जादैछन् । यो वैठकमा विश्व बैंकको सहायतामा सञ्चालित परियोजनाको प्रगतिका बारेमा विश्लेषण हुनुका साथै भूकम्प पीडितलाई घर बनाउनका लागि शुन्य ब्याज दरमा ऋण माग्ने सचिव सुवेदीले बताए । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विशेष कारणवस नजाने भएपछि नेपालको नेतृत्व गर्दे सचिव सुवेदीले बैठकमा भाग लिने भएका हुन् । उनकाअनुसार विश्व बैंक थप सहयोग गर्न सकरात्मक भएको छ । उसले शुन्य ब्याज दरमा थप रकम ऋण दिने संकेत समेत गरेको उनले जानकारी दिए । बैंकले झण्डै ३५ अर्ब रुपैयाँ अनुदान दिइसकेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार हालसम्म ५० हजार २५१ निजी आवास निर्माण सम्पन्न भएका छन् । यस्तै १ लाख ३० हजार २३४ घर निर्माणधिन अवस्थामा छन् । हालसम्म ९ लाख ९६ हजार १६२ घरको सर्वे भएको छ । यसमध्ये लाभग्राहीको सूचीमा ७ लाख ६५ हजार ६१८, ६ लाख ४० हजार २७० संग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता वापत ६ लाख ९ हजार ९४० लाई वितरण भइसकेको छ । यस्तै दोस्रो किस्ता ७९ हाजार ११४ र तेस्रो किस्ता ७ हजार ९९४ लाई वितरण गरिएको प्राधिकरणले जनाएको छ ।
निर्माण व्यवसायी महासंघको निर्णय, गौचनको हत्यारालाई कार्वाही नभएसम्म सरकारी ठेक्कामा भाग नलिने
काठमाडौ । व्यवसायी शरदकुमार गौचनको हत्यारालाई पहिचान गरेर कानूनी कार्वाही नगरेसम्म निर्माण व्यवसायीले सरकारी ठेक्कापटट्मा भाग नलिने भएका छन् । अध्यक्ष गौचनको सोमबार दिउसो गोली हानी हत्या भएपछि नेपाल निर्माण व्यवसायी महासंघको कार्यकारी समितिको आकास्मिक बैठकले हत्यारलाई कार्वाही नगरेसम्म सरकारी बोलपत्रमा भाग नलिने निर्णय गरेको हो । महासंघले गौचनको हत्यारा पहिचान गरी कार्वाही गर्न सरकारको ध्यानकर्षण गरेको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी गौचनको हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । लेनदेनको कारण गौचनको हत्या भएको अनुमान गरिएको छ । गोली प्रहार गर्नु अघि उनको गाडीको सिशामा इट्टा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन बानेश्वर स्थित ओमशान्ती चोकबाट प्रयामार्गबाट मीनभबनको बाटो हुदै निस्कदै गरेका थिए ।