आइफोन ८ प्लसको ब्याट्रीमा देखियो गम्भिर समस्या
बेइजिङ । एप्पल इंकको नयाँ आइफोन ८ प्लस सार्वजनिक भएको महिना दिन नबित्दै ब्याट्री फुलेको समाचार आएको छ । चीनको प्रान्तिय सञ्चारमाध्यम द पेपरले नयाँ आइफोनको ब्याट्री फुलेको जानकारी दिएको छ । यस्तै केस ताइवान र जापानमा भएपछि एप्पलले अनुसन्धान थालेको छ । बीहिबार द पेपरको अनलाइनमा लेखिएअनुसार एक लिउ थर गरेका आइफोनका ग्राहकले आफुले खरिद गरेको नयाँ आइफोन ८ प्लस फुलेको बताएपछि यो केसको खुलासा भएको हो । त्यहाँ कुनैपनि पड्किएको वा दाग लागेको निशान भने थिएन । लिउले द पेपरलाई बताए अनुसार उनले अनलाइन मार्केट जेडी डट कमबाट सो आइफान किनेका थिए । उनले सो नयाँ आइफोन चार्ज पनि नगरी फिर्ता गरेका थिए । iPhoneが昨日より膨らんでる。Apple、早く回収しにきて! pic.twitter.com/sRx6orgxi6 — まごころ (@Magokoro0511) September 25, 2017 लिउले खिचेको तस्विरमा आईफोन ८ प्लसको पछाडी खुल्ला छ जसमा सिमकार्ड राख्ने ठाँउ लगायत आन्तरिक भाग पनि देखिन्छ । 届いたiPhone8plus、開けたら既に膨らんでた pic.twitter.com/eX3XprSzqv — まごころ (@Magokoro0511) September 24, 2017 एप्पलका प्रवक्ताका अनुसार कम्पनीले वस्तुस्थितीमाथी अनुसन्धान गरिरहेको छ अरु टिप्पणीहरु पनि लिइरहेको छ । एप्पलको दसौं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको आइफोन ८ को बजारमा त्यती राम्रो फिडब्याक पाइएको छैन । यो फोन सार्वजिनक भए लगत्तै सेयरमा कम्पनीले थुप्रो नोक्सान बेहोर्नु परेको रोयटर्सले जानकारी दिएको छ । एप्पलका पछिल्ला फोनहरुको तुलनामा नयाँ आइफोनको प्री-अर्डर पनि कम रहेकोमा लगानीकर्ताहरु चिन्तित छन् । यद्दपी केही पारखीहरु भने आगामी नोभेम्बरतिर एप्पलको नयाँ प्रिमियम आइफोनको प्रतिक्षा गरिरहेका छन् । चीन स्मार्टफोनको विश्वकै ठुलो बजार हो जहाँ एप्पलले आफ्नो व्यापारमा बढाउन खोजिरहेको छ । चीनमा एप्पलले स्थानीय स्मार्टफोन कम्पनिहरु हुवावे टेक्नोलोजी कम्पनी लिमिटेड तथा ओप्पो जस्ता सस्ता र धेरै फिचर भएका फोनसँग प्रतिश्पर्दा गरिरहेको छ ।
तिहार अगावै कारोबार सुरु गर्ने तीन वटा जीवन बीमा कम्पनीको तयारी
काठमाडौं । तिहार अगावै तीन वटा जीवन बीमा कम्पनीले कारोबार आरम्भ गर्ने भएका छन् । बीमा समितिबाट लाइसेन्स लिएका स्टार लाइफ( नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स), सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्न लागेका हुन् । यस अघि नै युनियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले कारोबार आरम्भ गरिसकेका छन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट स्टार लाइफले धन्तेरासका दिन देखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ । त्यस्तै, सिटिजन लाइफले लक्ष्मी पुजाका दिनदेखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ भने सानिमा लाइफले पनि तिहार अगावै कारोबार आरम्भ गर्ने भनेको छ । ‘तीन वटा कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्ने भनेर अनुमति मागेका छन, हामी ती कम्पनीहरुको पुर्वाधार, जनशक्ति, प्रबिधी र बीमा पोलिसीको अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक उच्च अधिकारीले भने । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदिपजंग पाण्डे, बिरेन्द्र बहादुर बस्नेत, कैलाश प्रसाद सिरोहिया, विकास जबरा, सुधिरबाबु खत्री, आङ छिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, ताराचन्द खेतान, पशुपति मुरारका र रामेश्वर थापाको लगानी छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा भवानी भक्त जोशी, भाइकाजी श्रेष्ठ, सुदर्शनराज पाण्डे, शेरबहादुर पाण्डे, नरेश बहादुर मल्ल, नेपाल सेयर मार्केट्स र देवी प्रकाश भट्टचनको लगानी रहेको छ । सानिमा लाइफमा भने बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र बिरेन्द्र प्रसाद महतोको लगानी रहेको छ ।
ई-पेमेन्टले सहज बन्दै बिजुलीको महशुल, उपभोक्ताले फेर्दैछन् राहतको सास
काठमाडौं । ‘ग्राहकले १ सय रुपैयाँ बिल तिर्नको लागि २ सय रुपैयाँ खर्च गरेर प्राधिकरण धाउन नपर्ने भएको छ, घण्टौं लाइन बस्नुपर्ने बाध्यता पनि हटेको छ ।’, यो भनाई हो नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक सजन कुमार श्रेष्ठको । प्राधिकरणले गत भदौं ५ गतेदेखि विद्युत महशुल संकलनका लागि ईसेवा, प्रभु बैंक, सिएफएस रेमिट, पे पोइन्ट नेपाल, नेपाल इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र सिटी मनि ट्रान्सफरसँग सम्झौता गरेको थियो । प्राधिकरणले पाइलट प्रोजेक्टका रुपमा सुरु गरेको इपेमेन्ट सेवाबाट उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएको दावी प्राधिकरणले गरेको हो । उपभोक्ताको लामो लाइन तथा समयको बचतलाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरणले यो सेवा ल्याएको थियो ।‘प्राधिकरणको सेवालाई छिटो, छरिटो र प्रबिधी मैत्री बनाउन ईपेमेन्ट सुरु गरेका हौं, अब यसलाई व्यापक मात्रामा विस्तार गरिनेछ’, उप प्रबन्धक श्रेष्ठले भने । सेवा आरम्भ भएको डेढ महिनामै उपभोक्ताको ध्यान खिच्न सफल भएको छ । उनका अनुसार दैनिक प्रति दिन ४ सय देखि ५ सयको हारारीमा इपेमेन्टका ग्राहकको संख्या बढिरहेको छ । प्राधिकरणले पाइलट प्रोजेक्टका रुपमा इपेमेन्ट सेवालाई निःशुल्क बनाईदिएको छ । इपेमेन्ट सेवा दिने कम्पनीमध्ये हिमालयन बैंक, सीएफएस रेमीट, सीटी एक्सप्रेस मनी ट्रान्सफर, नेपाल इन्भेष्ट र महालक्ष्मि बैंकले भने खासै प्रभावकारी ढंगले कार्य गर्न नसकेको उपप्रवन्धक श्रेष्ठले जानकारी दिए । हाल यो सेवा उपत्यकाको १७ ठाउँमा र अन्य पोखरा र भरतपुरमा विस्तार भइसकेको छ । यो उपत्यकाको रत्नपार्क, नक्साल, कृतिपुर, साँखु चावहिल, चक्रपथ भक्तपुरलगायतका स्थानमा सेवा सुचारु भएको छ । साथै, नेपालगञ्जमा पनि यो सेवा विस्तार गर्ने तयारी भईरहेको प्राधिकरणले जनाएको छ । यो सेवाबाट बिजुलीको महशुल भुक्तानी गर्न ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्तालाई नजीकैको सहकारी संस्थाबाट भुक्तानी गर्दा प्रभावकारी हुने प्राधिकरणको भनाइ छ । उपभोक्ताले यसको प्रयोग गर्न सिक्दै गरेको हुनाले इपेमेन्ट डीजीटल बिलीङ्ग सीस्टमले प्राधिकरणको महशुल बुझाउने शाखामा १० प्रतिशतको हाराहारीमा ग्राहकको लाइन घट्दै गएको छ । ग्राहकले सेवा उपभोग गर्न सिक्दै गरेको हुनाले विस्तारै प्रविधि तर्फ अघि बढ्दै गरेको देखिएको छ । उपभोक्ताले अधिक्तम ३ महिना र न्युनतम १ महिनामा बिल भुक्तानी गर्न पर्ने नियम छ । यो सेवा उपभोग गर्दा मोबाइलमा एप डाउनलोड गरेर घरमै बसेर पनि भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्दा एक पटकमा १ लाख सम्मको मात्र गर्न सकीने नियम प्राधिकरणले लागु गरेको छ । यसको लागि ग्राहकको बैंक वा अन्य सेवा प्रदायक संघसस्था सँग लिङ्क हुनपर्नेछ । ग्राहकले आफ्नो आइडी कन्ज्युमर नम्बर तथा आफुले भुक्तानी गर्ने अफिस शाखा भने थाहा पाउन जरुरी हुने प्रधिकरणका उपप्रवन्धक श्रेष्ठले बताए ।