केयुकेएल, खानेपानी बोर्ड र बीमा कम्पनीमा १४६ जनालाई जागिर खुल्यो, आवेदन दिने समय १ महिना
काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरण सम्बन्धि र एक बीमा कम्पनीले गरी १४६ जनालाई रोजगारी दिने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न तहका लागि शुक्रबार जागिर खुलाएका हुन् । केयुकेएलले उपप्रवन्धकदेखि सिनियर प्लम्बरसम्मका लागि ९१ र बोर्डले प्रशासकिय अधिकृतदेखि कानुन सहायकसम्म गरी १९ जनाका लागि शुक्रबार जागिरका लागि सुचना प्रकाशित गरेका छन् । सुचना प्रकाशित भएको मितिले ३० दिन अर्थात कात्तिक अन्तिमसम्म म्याद तोकिएको केयुकेएलले जनाएको छ । अधिकृत स्तरका लागि २१ वर्ष पुरा गरी ४५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पुराभई ४० वर्ष ननाघेको हुनु पर्ने व्यवसथा गरिएको छ । केयुकेएलले परीक्षा दस्तुर उपप्रवन्धक ९ औ तहका लागि १ हजार २ सय र सिनियर प्लम्बरका लागि ४ सय रुपैयाँ तोकेको छ । यस्तै बोर्डले पनि सुचना प्रकाशित भएको १ महिनाभित्र आवेदन दिन भनेको छ । पुरुषका हकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिला आवेदक २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । परिक्षा दस्तुर प्रशासकिय अधिकृत ७ औ तहकाका लागि १ हजार र कम्प्युटर सहायक ५ औं तहका लागि ८ सय रुपैयाँ तोकेको छ । यस्तै बीमा कम्पनीले मुख्य व्यवस्थापकदेखि सहायकसम्म गरी विभिन्न ३६ पदपूर्तिका लागि जागिर खुलाएको छ । १० तहका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र ४ तहका लागि १८ वर्षपुरा भई ३५ वर्ष ननाघेका हुनुपर्ने व्यवस्था गरेको छ । दरखास्त पेश गर्ने अन्तिम मिति कात्तिक २३ गते तोकेको कम्पनीले जनाएको छ ।
विना सूचना विद्युत आपूर्ति बन्द गरे ५ लाख जरिवाना
काठमाडौं । विना सुचना विद्युत आपूर्ति बन्द गर्ने प्रवद्र्धकमाथि कार्वाही हुने भएको छ । व्यवस्थापिका संसदबाट हालै पारित भएको विद्युत नियमन आयोग ऐनमा विना सुचना तथा अनुमति विना विद्युत आपूर्ति बन्द गरेमा ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघिको विद्युत ऐनमा यस्तो व्यवस्था थिएन् । ऐनको दफा १९ मा यस्तो व्यवस्था गरिएको छ । आयोगले गरेको जरिवनामा चित्त नबुझे प्रवद्र्धकले उच्च अदालत पाटनमा पुनरावेदन गर्न पाउने व्यवस्था ऐनमा गरिएको छ । आयोजनाका प्रवद्र्धकलाई बढी जिम्मेबार बनाउन ऐनमा यस्तो व्यवस्था गरिएको हो । यस्तै आयोगले ग्रीड र वितरण संहिता स्वीकृत, विद्युतको खरिदबिक्री दर निर्धारण गर्दा, विद्युत खरिदमा सम्झौता दिदा, प्रसारणलाइन तथा वितरण दस्तुर लगायत महशुल दस्तुर निर्धारण गर्दा शुल्क लिने व्यवस्था ऐनमा गरिएको छ । यस्तै अनुमतिप्राप्त संस्थाको खरिदबिक्री गर्दा आयोगलाई शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ । आयोगले विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स), विद्युत महशुल निर्धारण, विद्युत खरिदबिक्री दर (पीपीए) का अतिरित्त प्रसारणलाइन शुल्क निर्धारणलगायतका काम गर्ने जिम्मेबारी दिएको छ । सरकारले आयोग गठनको तयारी गरेको छ ।
तीन वटा नयाँ शहरको डीपीआर बनाउन छानिए १६ कम्पनी, यी हुन् काठमाडौंमा बन्ने नयाँ शहर
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरमा बन्ने तीन वटा नयाँ शहरको डीपीआर बनाउने कम्पनीहरुको प्रारम्भिक छनौट भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले एक लाख रोपनीमा निर्माण हुने एउटा शहर र १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने दुई वटा शहरहरुको डीपीआर बनाउन प्रारम्भिक छनौटमा परेका कम्पनीहरुसँग विस्तृत प्रस्ताव(आरएफपी) मागेको हो । ‘उपत्यकामा निर्माण हुने चार वटा नयाँ शहररुको डीपीआर बनाउन प्रस्ताव गरेकामध्ये तीन वटा शहरको डीपीआरका लागि प्रारम्भिक छनौट गरेर आरएफपी मागेका छौं’, नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीले विकासन्युजसँग भने । आयोजनाले असोज ९ गते एक लाख रोपनीमा निर्माण हुने नयाँ शहरका लागि पाँच वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर विस्तृत प्रस्ताव मागेको थियो । एक लाख रोपनीमा निर्माण हुने शहरको डीपीआर निर्माणका लागि आयोजनाले ग्लोबल टेण्डर आव्हान गरेको थियो । आवेदन दिएकाहरुबाट पाँच वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आरएफपी मागेको आयोजना प्रमुख खोखालीले बताए । त्यस्तै, आयोजनाले ललितपुर र भक्तपुरमा १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर बनाउन पनि ११ वटा कम्पनी छनौट गरेको छ । यी कम्पनीहरुले आफ्नो प्राबिधिक क्षमता, वित्तीय प्रस्ताव, कामको अनुभव लगायतका विवरण पेश गरेर अब्बल ठहरिएका हुन् । अब यी कम्पनीहरुले तोकिएको अवधीभित्र आफ्नो प्रस्ताव पेश गर्नेछन् । उपयुक्त कम्पनीलाई डीपीआर निर्माणका लागि जिम्मेवारी दिईनेछ । यी चार वटै प्रस्तावित नयाँ शहरको भौतिक विकास योजना तथा डीपीआर निर्माणका लागि कित्ता काट र नयाँ भौतिक संरचना निर्माणमा रोक लगासकेको छ । यी नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । यी शहरहरुलाई आइटीसँग जोडेर स्मार्ट सिटी बनाउन पनि सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । उनले यी चार वटा नयाँ शहरले आधुनिक नेपालको जग बसाल्ने दावी पनि गरेका छन् । कहाँ कहाँ बन्दैछन नयाँ शहर ? इशान काठमाडौं प्राधिकरले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । काठमाडौं आग्नेय उपत्यमा निर्माण हुने दोश्रो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ । यसको नाम काठमाडौं आग्नेय अर्थात पुर्व दक्षिण राखिएको छ । यो शहर भक्तपुर क्षेत्रमा मात्रै पर्छ । पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । काठमाडौं नैऋत्य काठमाडौं उपत्यकाको दक्षिण पश्चि क्षेत्रमा फैलिने यो शहर पनि १० हजार रोपनी क्षेत्रफलको हुनेछ । यसले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्व्तिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।