सेयर बजार घट्न थालेपछि धितोपत्र बोर्डले भन्यो–राजनीतिक अस्थिर छ, बुझेर मात्र लगानी गर्नुस
काठमाडौं । सेयर बजार निरन्तर घट्न थालेपछि नियामक धितोपत्र बोर्डले कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएका छ । बोर्डले धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने भन्दै अनावश्यक प्रचारप्रसार र कसैको वहकाउमा नलागी बजार र कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएको हो । पछिल्लो समयमा सेयर बजार अस्थिर हुने र घट्ने क्रम बढेपछि लगानीकर्तालाई बोर्डले सचेत गराएको हो । आइतबार नै बजार झण्डै ३३ अंकले घटेर नेप्से परिसुचक १ हजार ५१० मा झेरको थियो । कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेपछि उकालो लाग्नु पर्ने बजार लगातार ओरालो लागेपछि बोर्डले कम्पनीको लाभांश, व्यवस्थापन परिवर्तन, भावी योजना, अद्यावधिक वार्षिक प्रतिवेदन, क्रेडिट रेटिङको स्तर, नेटवर्थ, खुदनाफा र नोक्सान, जोखिम पक्ष जस्ता वित्तीय संचकाँक र साधारणसभाको निर्णय हेर्न लगानीकर्तालाई आग्रह गरेको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले बजारका लगानीकर्तालाई सन्देश दिदै धितोपत्र बजारमा देशको समग्र आर्थिक र राजनीतिक प्रभाव हुने भन्दै अहिले बजार घट्नुमा पछिल्लो समयमा विकासित राजनीतिक घटनाक्रम रहेको संकेत गरेको छ । पछिल्लो समयमा विकासित भएको राजनीतिक घटनाक्रमले बजार ओरालो लागेको निश्कर्ष बोर्डको छ । यसैगरी बोर्डले धितोपत्रमा हुने लगानी जोखिमलाई न्यन गर्न लगानी विविधिकरण गर्न सुझाएको छ । धितोपत्र बजारको जानकारीका लागि बोर्ड, नेपाल स्टक एक्सचेन्ज, अर्थ मन्त्रालया, नेपाल राष्ट्र बैंक र बीमा समितिका वेभसाइट निरन्तर हेर्न आग्रह गरिएको छ । बजारमा उतारचढाव आउन सक्ने भएकाले उपयुक्त सूचना लिएर संयमित तथा विवेकशील भई लगानी गर्न बोर्डले जानकारी गराएको छ ।
जीवन बीमा गर्ने नेपालीको संख्या ४५ लाख, बार्षिक ३५ करोड बीमा शुल्क, साढे ८ करोड दावी भुक्तानी
काठमाडौं । पौने तीन करोड नेपालीमध्ये ४५लाखले मात्रै जीवन बीमा गरेका छन् । बीमा समितिका अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा जीवन बीमा लेखको संख्या ४५ लाख २ हजार ६७ वटा पुगेको जनाएको हो । बीमा समितिले एक जनाले एक भन्दा बढि बीमा पोलिसी लिएको हुन सक्ने बताउँदै ठ्याक्कै संख्या भने एकिन गर्न कठिन हुने बताउँदै आएको छ । आर्थिक बर्ष २०७२/७३ मा कायम रहेको बीमा लेखको संख्या भन्दा यो ६ लाख २२ हजार २ सय ६७ ले बढि हो । एक बर्षमा १६ प्रतिशतले बढि बीमा लेखा बिक्रि भएको छ । सो आवमा जम्मा ३८ लाख ६९ हजार ८ सय जनाले मात्रै जीवन बीमा गरेका थिए । आव २०७२/७३ मा ३५ हजार ८ सय ५ वटा दावी वापत ६ करोड ९ लाख ५६ हजार भुक्तानी गरिएको थियो । सो आवमा जम्मा २३ करोड ८८ लाख २५ हजार बीमा शुल्क संकलन गरेको थियो । आव २०७३।७४ को असार मसान्तसम्ममा भने ५९० वटा दावीका लागि एक करोड १० लाख ३९ हजार रुपैंया दावी भुक्तानी गर्न बाँकी रहेको छ । ९ वटा जीवन बीमा कम्पनीहरुले सो आर्थिक बर्षमा ५९ हजार ६ सय ६४ वटा दावी वापत ३४ करोड ८७ लाख ५२ हजार बीमा शुल्क आर्जन गरेको देखिन्छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच कम भएकाले नै नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिन सुरु गरिएको बताए ।‘बीमाको पहुँच न्युन भएकाले नै नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिन लागिएको हो, बीमा बजार अब डबल डिजिटमा बढाउनु पर्छ’, समितिका निर्देशक पौडेलले विकासन्युजसँग भने ।
बैंकिङ प्रणालीमा तरलता कम हुने संकेत, एक महिनामा ४० प्रतिशत घट्यो
काठमाडौं । एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) ४० प्रतिशत घटेको छ ।बैंकिङ प्रणालीमा हाल ४२ अर्ब रुपैयाँ मात्र तरलता रहेको छ । गत भदौ २९ गते ७० अर्ब रुपैयाँ बढी तरलता थियो । झण्डै एक महिनाको अवधिमा २८ अर्ब रुपैयाँ घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसले विस्तारै बजारमा तरलता अभाव हुने संकेत गरेको छ । भदौको तुलनामा तरलता कम भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । “तरलताको अवस्था तलमाथि भइरहन्छ, तर अहिले कम देखिएको छ” उनले भने “बैंकको लगानी बढेर वा आयात बढेरे यस्तो देखिएको छ, हेर्न बाँकी छ ।” तरलता बढी भएको भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । यसअघि २ पटक गरेर केन्द्रीय बैंकले ६ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बजारमा तरलता कम नभएको बताउछन् ।