काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड रुपैंयाँ लगानी गर्ने भएको छ । नेपाल पुर्वाधार विकास कम्पनी र चाइना रेल वे कम्पनीबिच भएको सम्झौता अनुसार कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने भएको हो । चाइना रेल वे कै प्राबिधिकहरुकै संलग्नतामा डिपिआर पुनरावलोकनका क्रममा सुरुङ मार्गको लागत ४८ अर्ब पुग्ने देखिएको थियो । चाइना रेल वे कम्पनीले कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने सम्झौतामा करिब ६ महिना अघि नै हस्ताक्षर गरिसकेको छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले शनिबार सुरुङ मार्गमा लगानी गर्नेबारे छलफल गरेको थियो । ‘रेलमार्ग निर्माणबारे अध्ययन गर्न आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले सुरुङ मार्ग निर्माणबारे थप छलफल गरेको छ, रेलमार्ग भन्दा पहिले नै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने सहमति भएको छ, अब काम अघि बढाउँछौं’, नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । चाइना रेलवे कम्पनीका प्राबिधिकहरुको टोलीले सुरुङमार्गको डिपिआर, वातावरणिय प्रभाव मुल्यांकन रिपोर्ट, अनुमानित लागत सबैको एक महिना लगाएर गहिरो अध्ययन गरेको थियो । २ पटक स्थलगत अध्ययन गरेर चिनियाँ टोलीले सबै प्रतिवेदन चिन लगेको छ र चाइना निर्यात आयात(एक्जिम) बैंकसँग ऋणका लागि प्रस्ताव पेश गरिसकेको छ । ‘चाइना एक्जिम बैंकसँग ऋणका लागि आवेदन दिईसकेको जानकारी पाएका छौं, चाइना रेलवे कम्पनीले ८० प्रतिशत सेयर लगानी गर्छ, नेपालीको तर्फबाट २० प्रतिशत लगानी पुर्वाधार विकास कम्पनीले गर्छ’, ठकुरीले भने । उनका अनुसार चिनियाँ प्राबिधिकको सल्लाहपछि सुरुङ मार्गको एलाइनमेन्ट केहि ठाउँमा परिवर्तन गरिएको छ । त्यस्तै सुरुङ मार्गको लम्बाई नबढ्ने गरि केहि स्थान पनि बदलिएको छ । चाइना रेलवे कम्पनीका प्रतिनिधीसँग छलफल गर्दै नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरी लगायत ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडाँ उप महानगरपालिकामा जोडिने काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लम्बाई ५७.३७५ किलोमिटरको हुनेछ । ५० मिटरको राइट अफ वे हुने यो सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमति किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुनेछ । नेपाल पुर्वाधार विकास कम्पनी २०६८ भदौं २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता (पिपिए) गरि अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर औपचारिकता पाएको थियो । कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङ मार्ग निर्माणको अन्तिम स्विकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐन अन्तर्गत सरकारले पूर्वाधार विकास कम्पनीलाई यो परियोजना सुम्पेको हो । कम्पनीले निर्माण पश्चात ३० वर्षसम्म सञ्चालन गरेर सुरुङ मार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नु पर्ने सम्झौतामा छ । २०७० कात्तिक २५ गते सुरुङमार्गको शिलान्यास भएको थियो । सुरुङ मार्गले ५८ किलोमिटरको हुने डिपिआर रिपोर्टम उल्लेख छ । विभिन्न तीन स्थानमा करिब ४.५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकको आईपीओ नआउने
काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आईपीओ) नआउने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) मा सरकारी बैंकले सेयर निष्कासन गर्नलाई वाध्यकारी व्यवस्था नगरेपछि तत्काललाई आईपीओ नआउने भएको हो । सरकारी बैंकले आईपीओ जारी गर्नुपर्ने वाध्यत्मक अवस्था नभएकाले निष्कासन नगर्ने बैंकका डेपुटी सीईओ भुपेन्द्र पाण्डेले बताए । “३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्छ भन्ने थियो”उनले भने “बाफियाको नयाँ संसोधनले सरकारी बैंकले सेयर जारी गर्नु नपर्ने भन्ने व्यवस्था गरेको छ । त्यसकारण अब बाणिज्य बैंकको सेयर कहिले आउँछ भन्ने कुरा सरकारी निर्णयमा भरपर्छ ।” बैंकको एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभ्ने काम गरिरहेको उनले बताए । “यतिबेला हामी बैंकको इमेज बनाउन लागिपरेका छौं” उनले भने पहिलो प्राथमिकता भनेको आईपीओ भन्दा पनि बैंकलाई अझ मजवुत बनाउने हो ।” तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको थियो । वाणिज्य व्यवस्थापनले आईपीओ निष्कासन मापदण्डलगायत अन्य कामका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थले हालसम्म यसको कुनै निर्णय गरेको छैन् । एनआईडीसी गाभ्ने (मर्जर) सम्बन्धमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । आउदो माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।
गुरु न्यौपानेको राष्ट्र बैंकमा बयान- सावित्रादेवी न्यौपाने मेरी श्रीमती हैनन र म उनलाई चिन्दिन
काठमाडौं । गुरुप्रसाद न्यौपानेले जनता बैंकको सञ्चालक हुदा अवैधरुपमा किनेको साधारण सेयरलाई वैधता दिन सावित्रादेवी न्यौपाने आफनो श्रीमती नभएको र उनलाई आफूले नचिन्ने बयान दिएको खुलासा भएको छ । जनता बैंकको सञ्चालक हुदा भित्रभित्रै श्रीमती सावित्राको नाममा सेयर किनेको उजुरी परेपछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण माग गर्दा उनले सावित्रा श्रीमती नभएको र आफूले उनलाई नचिनेको जानकारी गराएका थिए । संस्थापक सेयरधनी गुरुको श्रीमती सावित्रादेवी हुन भन्ने रेकर्ड बैंकमा छ । आफनी श्रीमतीलाई हैन र चिन्दिन भनेर झुठा विवरण पेश गरेपछि कानून विपरित श्रीमतिको नाममा खरिद गरिएको साधारण जफत गर्न जनता बैंक व्यवस्थापनलाई निर्देशन दिएको राष्ट्र बैंक प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । बैंकको सञ्चालक हुदा र सञ्चालकबाट हटेको १ वर्षसम्म सोही बैंकको सेयर परिवारका कुनै पनि सदस्यको नाममा खरिद गर्न नपाउने व्यवस्था भएको उनले बताए । “गुरु न्यौपानेले सावित्रादेवीलाई श्रीमती नभएको र नचिन्ने जस्ता झुटा विवरण दिएपछि जफत गर्न निर्देशन दिएको हो” उनले भने । गुरु न्यौपानेले आफु सञ्चालक हुदा श्रीमतिको नाममा भित्रभित्रै अवैधरुपमा जनता बैंकको सेयर खरिद गरेपछि राष्ट्र बैंकमा उजुरी परेको थियो । सावित्रादेवीको नाममा रहेको सेयर पछि बोनस र हकप्रद गरी ८५ हजार १ कित्ता पुगेको थियो । यता उच्च अदालत पाटनले प्रारम्भीक सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलालीको काम यथास्थानमा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी दिएको छ । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । सोही व्यवस्था विपरित गुरुले श्रीमतीको नाममा सेयर खरिद गरेको प्रमाणीत भएको छ ।