सर्वोच्चले उल्टायो मन्त्रिपरिषद्को निर्णय, २ वर्षपछि नेसनल ट्रेडिङको महाप्रबन्धकमा फर्किए पूर्णशंकर बसी

काठमाडौं । सर्वोच्च अदालतले नेसनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकबाट बर्खास्त गरिएका पूर्णशंकर बसीलाई पुनर्बहाली गर्न फैसला गरेको छ । सरकारले गरेको बर्खास्ती न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो । आइतबार न्यायधीश ओमप्रकाश मिश्र र अनिलकुमार सिन्हाको संयुक्त इजलासले बसीको रिटमा सुनुवाई गर्दै उनको माग अनुसार फैसला जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । बसीले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न अन्तरिम आदेश माग गर्दै दुई वर्ष अगाडी सर्वोच्चमा रिट दिएका थिए । आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र गैरकानुनीरुपमा हटाएको जिकिर उनले गरेका थिए । दुई वर्षअगाडी मन्त्रीपरिषदले ‘अयोग्य’ ठहर गर्दै बसीलाई पदच्यूत गरेको थियो । मन्त्रिपरिषदको निर्णय विरुद्ध बसी सर्वोच्च पुगेका थिए । किर्ते गरेको आरोपका आधारमा २०७२ असोज २२ मा सुशिल कोइराला नेतृत्वको सरकारले बसीलाई पदबाट बर्खास्त गरेको थियो । मन्त्रिपरिषदले उनलाई किर्ते गरेको आरोपमा बर्खास्त गरी सत्यनारायण मेहतालाई नियुक्त गरेको थियो । खाद्य संस्थानमा ११ औं तहको कर्मचारीबाट अवकाश पाएपछि उनले बज्रयोगिनी ट्रेडर्समार्फत एकल सञ्चालकको रुपमा कारोबार सुरु गरेका थिए । सोही बेलामा उनले चामलका लागि टेन्डर भर्दा स्टाण्डर्ड चार्टर्ड बैंकको ६० लाख रुपैयाँ बराबरको फर्जी भौंचर पेश गरेको आरोप थियो । सरकार परिवर्तन हुनु एक दिन अगाडी मन्त्रीपरिषदले आफूलाई बर्खास्त गरेको बसीले जानकारी दिए । उनले भने, ‘मलाई स्पष्टिकरण लिएको ९ महिनापछि नै पदबाट हटाइएको थियो ।’ २०७१ माघ १२ मा उनलाई तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादूर थापाले संस्थानमा महाप्रबन्धकका रुपमा भित्र्याएका थिए । मन्त्रीपरिषदले उनलाई चार वर्षको कार्यकाल रहने गरी महाप्रबन्धकको जिम्मेवारी दिएको थियो । सर्वोच्चको निर्णयपछि अब उनले करिब १६ महिना कार्यकाल चलाउनेछन् । यसैगरी उनले दुई वर्ष अवधिमा महाप्रबन्धकले पाउनुपर्ने तलबभत्ता पनि पाउने मन्त्रालयले जानकारी दिएको छ । आफुलाई हटाएर नेसनल ट्रेडिङलाई डुबाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले नेसनल ट्रेडिङको  सम्पती लिलाम गर्दै बेचेकोमा सरकारको आलोचना गरेका छन् । उनले भने, ‘व्यापारिक संस्थानको क्लोजिङ गर्ने समयमा लिलामीका कामहरु भइरहेका छन् । भएका कर्मचारीहरुलाई पनि हटाइएका छन् ।’ सर्वोच्चको आदेशपछि बसीलाई प्रकृयागत हिसाबले मन्त्रालयले महाप्रबन्धकको जिम्मेवारी दिने तयारी गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार मन्त्रीपरिषदबाटै निर्णय गराएर बसीलाई पुनर्बहाली गराउनुपर्ने प्रावधान छ । आफूलाई तीन वर्षको नियुक्ती दिएपनि पुरा कार्यकाल काम गर्न नदिएको भन्दै सत्यनारायण मेहताले फेरि महाप्रबन्धकको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन् । उनले भने, ‘सर्वोच्चले किर्ते गरेको प्रमाण नहेरी बसीलाई पुनर्बहाली दिएको छ । मन्त्रिपरिषदको निर्णय मात्र हेर्ने हो भने मेरो पनि कार्यकाल अझै बाकी छ ।’ करोडौं अनियमितताको आरोपपछि भर्खरै मेहतालाई महाप्रबन्धकबाट स्वैच्छिक अवकाश दिएर हटाइएका थिए । मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महाप्रबन्धकको जिम्मेवारी उपसचिव लवराज जोशीलाई दिएको थियो । ‘नेशनल ट्रेडिङ डुबाउने मेहतालाई पुनःमहाप्रबन्धक बनाउन मन्त्री शिवकुमार मण्डलको चलखेल’

मंसिर अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास, चीनले कालोपत्र गरिदिने

काठमाडौैं । मंसिर महिनाको अन्तिम साता बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको शिलान्यास हुने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले मंसिरको अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास गर्ने कार्यतालिका तयार भएको बताएका हुन् । ‘अहिले निर्वाचनको आचार संहिता लागेको छ, ठुला आयोजना शिलान्यास गर्न मिल्दैन, निर्वाचन सकिए लगत्तै म आफ्नै हातले शिलान्यास गर्नेछु’, मन्त्री गिरीले बुधबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा भने । बाहिरी चक्रपथ विकास आयोजनाले शिलान्यास भएको २ बर्षभित्रै जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर सडकलाई पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न लागिएको हो । यसको अनमानित लागत ६ अर्ब रहेको छ । ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे १० लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले बुधबार चावहिलस्थित अम्बे अपार्टमेन्टबाट महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो । मंगलबार साँझ नयाँवानेश्वरस्थित इन्द्रणी फुडल्याण्डबाट विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल नायब सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेल र केसीको बयानका आधारमा महानिर्देशक पाण्डेलाई अख्तियारले बुधबार बिहान निवासबाटै पक्राउ गरको हो । अधिकृत पौडेल र नायव सुब्बा केसीलाई मंगलबार साँझ पक्राउ गरेको विभागका सुचना अधिकृत तथा निर्देशक मोहन अधिकारीले बताए । विकास न्युजसंग कुरा गर्दै अधिकारीले भने “पाण्डे सर आज कार्यलय आउनु भएको छैन, मैले पनि पक्राउ परेको सुनेको छु ।” म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता समेत विभागबाट रोक्का राखेकोमा सर्वोच्च अदालतबाट रोक्का फुकुवा गरी नियमानुसार काम गर्न दिनु भनि आदेश भईसकेको अवस्थामा शाखा अधिकृत पौडेल र नायव सुब्बा केसीले रोक्का फुकुवा नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा १० लाख रुपैयाँ घुस लिदालिदै पक्रिएको अख्तियारले जनाएको छ । घुस लेनदेन सम्बन्धी विषयमा विभागका महानिर्देशक पाण्डेको समेत संलग्नता प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको आधारमा हिरासतमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । महानिर्देशक पाण्डलेले मंसिरदेखि अवकास पाउदै थिए ।