‘धुलोमुक्त काठमाडौं’ प्राथमिकतामा, मंसिर २७ र २८ गते उपत्यकाका सडक सफा गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौंका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्ने छ । जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौँ अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिए । “काठमाडौं उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ”, शाक्यले भने । तत्कालीन काठमाडौँ नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार)सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ । रासस
ट्रम्पको कर कटौती विधेयक पास भएपछि सुनको भाउ निरन्तर ओरालो, १ सातामा ५ सय रुपैयाँले घट्ने अनुमान
काठमाडौं । सुनको भाउ दुई महिनायताकै सस्तिएको छ । अमेरिकी सिनेटरहरुले अमेरिकी राष्ट्रपति डोनाल्डले प्रस्ताव गरेको व्यापक कर कटौती सम्बन्धी विधेयक अनुमोदन गरेपछि सुन बजार ओरालो लागेको हो । गत शनिबार अमेरिकी सिनेटरहरुले कर कटौती सम्बन्धी विधेयक पास गरेको थियो । राष्ट्रपति बनेयता ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित मानिएको छ । उक्त विधेयक पास भएयता अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ । मंगलबार अन्तराष्ट्रिय बजारमा प्रति औंस १२ सय ८० अमेरिकी डलर रहेको सुनको भाउ बुधबार घटेर १२ सय ६६ डलर प्रति औंस पुगेको छ । नयाँ योजना अनुसार, कम्पनीहरुले तिर्नुपर्ने करमा व्यापक कटौती हुनेभएपछि विश्वमा लगानीकर्ताहरुले सुन बेचेर बिक्री गर्न थालेको रोयटर्सले जानकारी दिएको छ । विधेयकले ठुला व्यवसायी तथा उद्योगीहरुमाथी लाग्दै आएको कर कटौती गर्ने परिकल्पना गरेको छ । ठुलो करसम्बन्धी फेरबदलले लगानीकर्ताहरुमा उत्साह बढेको छ । अब लगानीकर्ताहरु स्टक बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । जसकारण लगानीको क्षेत्रमा ‘सेफ हेभन’ मानिएको सुन बजारबाट लगानी झिकेर अन्य क्षेत्रमा लगानी बढाइरहेका छन् । विश्वमा सन् १९७० पछि अर्थतन्त्रको प्रमुख माध्यम सुन बनेको छ। लगानीकर्ताका दृष्टिकोणबाट आर्थिक कारोबारमा स्टक,तेल,डलर, रियलस्टेट व्यवसायपछि लगानी सुरक्षित गर्ने अन्तिम र भरपर्दो क्षेत्र मानिन्छ । पछिल्लो समय अमेरिकाको केन्द्रीय बैंक फेडेरल बैंकले ब्याजदर बढाउने तयारीमा रहेको जानकारीमा आएपछि सुनको भाउ घटिरहेको छ । फेडेरल बैंकले ब्याजदर बढाउने बितिकै सुनमा लगानी घट्ने सम्भावना बढी हुन्छ । हाल फेडेरल बैंकले ०.५ प्रतिशत ब्याजदर राखेको छ । बैंकले ब्याजदर बढाएर ०.७५ प्रतिशतसम्म पुर्याउनेमा लगानीकर्ताहरु आशावादी छन्। अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ डिसेम्बरसम्ममा १२ सय ५० डलरसम्म पुग्ने अनुमान गरेका छन् । नेपाली बजारमा सुनको भाउ ५४ हजार ६ सय सम्म पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । महासंघका अनुसार गत आइतबार प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ बुधबार ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्ताे छ काठमाडौंका दश निर्वाचन क्षेत्रको तयारी, सबै स्थानमा सिसी टीभी क्यामराकाे प्रयाेग हुने
काठमाडौं । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । स्थानीय तहकाे निर्वाचनमा लामबद्ध मतदाता काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौँको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गर्नुभएको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने “दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।” पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पु¥याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्याउने तयारी छ । दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक/एक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौँका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । काठमाडौँमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा (क)मा १०७ र प्रदेशसभा (ख)मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या छ लाख ३० हजार ४६० छन् । आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बझुर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ । मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।” स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, “मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।” आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भन्नुभयो, “आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि प¥यो भने राम्रो हुँदन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो ।” दश निर्वाचन क्षेत्रको कहाँ कहाँ हुन्छ मतगणना काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । स्थानीय तहकाे निर्वाचनकाे मतगणाना स्थल काठमाडौँका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वारमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ । रासस