कहाँ अड्कियो निजगढ विमानस्थल ? डिजाइन बन्नै २ बर्ष लाग्ने
काठमाडौं । निजगढ विमानस्थल आयोजनाले गत जेठमै डिपिआर निर्माणका लागि आवेदन दिने २२ वटा कम्पनीमध्ये ६ वटालाई छानेर नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । तर प्राधिकरणले अझै त्यो फाइल अगाडी बढाएको छैन् । एक बर्ष अघिदेखि सुरु भएको मुआब्जा वितरणको कामले पनि गति लिन सकिरहेको छैन् । हालसम्म करिब २० परिवारले १३ विगाह जमिनको ६ करोड मुआब्जा मात्रै लगेका छन् । बाँकी करिब एक सय विगाह जमिनको मुआब्जा लिन स्थानीयले नै अनिच्छा देखाईरहेका छन् । स्थानीयले मुआब्जाको दर बढाउनुपर्ने माग राख्दै आएका छन तर आयोजनाले मुआब्जाको दर बढाउन नसकिने बताउँदै आएको छ । उता, कोरियाली कम्पनील ल्याण्ड मार्क वल्र्डवाइड(एलएमडब्ल्यु)ले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन रिपोर्टको स्वामित्व लिने नीतिगत निर्णय पनि कार्यान्वयनमा आएको छैन् । कोरियाली कम्पनीसँग विस्तृत सम्भाव्यता अध्ययनको रिपोर्ट लिनका लागि पुर्व सम्झौता अनुसार ३५ लाख डलर तिर्नुपर्ने हुन्छ । पर्यटन मन्त्रालयले ३५ लाख डलर तिर्ने निर्णय गरेको छ तर कोरियाली कम्पनीले ब्याज र क्षतिपुर्ति समेत चाहिने भन्दै आएको छ । १४७३ परिवार सुकुम्बासीको पुनस्थापना कसरी गर्ने भन्नेबारे पनि कुनै योजना बन्न सकेको छैन् । ‘आजकै मितिबाट काम सुरु गरियो भने पनि डिजाइन बनाउन अझै २ बर्ष लाग्छ, अहिलेसम्म काम कहिले र कसरी सुरु हुन्छ, त्यसको टुंगो लागेकै छैन’, निजगढ विमानस्थल आयोजनाका प्रमुख हरि अधिकारीले भने । इआइए रिपोर्ट तयार भएर थप अध्ययनको चरणमा रहेको छ भने नेपाली सेनाले रुख काट्ने काम अघि बढाएको छ । उता, नेपाल नागरिक उड्यन प्राधिकरणले निजगढ निजगढ विमानस्थल आयोजनाको स्तर घटाएर पोखरा, भैरहवा र निजगढ विमानस्थल हेर्ने केन्द्रिय संरचना निर्माण गरिएको छ । निजगढ विमानस्थलको कार्यकारी आयोजनालाई घटुवा गरि आयोजना कार्यान्वयन ईकाइ मात्रै बनाइएको छ ।
मेची महाकाली रेलमार्गः ६१९ किलोमिटर डिपिआर फाइनल, ४२१ किलोमिटर धमाधम
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो । विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ ।‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार पर्ने गरि धमाधम काम भैरहेको छ’, उपाध्यायले भने । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । हाल भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रकचरको काम सम्पन्न भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनिे ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । त्यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनीहरुको छनौट अन्तिम चरणमा पुगेको छ भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ ।
नेपाली बजारमा प्याजको भाउ २० प्रतिशतले घट्यो, निर्यातमा भारतको अंकुश कायमै
काठमाडौं । चार दिनमा प्याजको भाउ २० प्रतिशतले घटेको छ । भारतमा प्याजको मूल्य सस्तिदा नेपाली बजारमा त्यसको प्रभाव परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत विहिबार थोक मूल्य अनुसार १ सय १६ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको प्याजको भाउ चार दिनमा २३ रुपैयाँले घटेको छ । अहिले थोक बजारमा प्याजको मूल्य ९३ रुपैयाँ प्रति किलो पुगेको छ । कालिमाटी तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाका अनुसार भारत मै प्याजको भाउ घटेकाले नेपाली पनि त्यसको प्रभाव देखिएको हो । उनले भने, ‘भारतमा ८५ भारु प्रति किलोमा पाने प्याजको मूल्य घटेर ५६ रुपैयाँ पुगेको छ ।’ नेपाली बजारमा ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । गत विहिबार एशियाकै ठुलो बजार भारतको महाराष्ट्रस्थित लसल गाँउमा प्याजको भाउमा २५ प्रतिशतले गिरावट आएको थियो । प्याजको आपूर्ति सहज बन्दै जाँदा त्यहाँको प्याजको मूल्य पनि घट्दै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । लसल गाँउको कृषि उत्पादन बजार समितिका अनुसार, ‘पछिल्लो दुई सातामा प्याजको आपूर्ति दोब्बरले बढेको छ । दुई सातामा प्याजको आपूर्ति १० हजार क्विन्टलबाट बढेर २० हजार क्विन्टल पुगेको छ ।’ टाइम्स अफ इण्डियाका अनुसार गत मंगलबार २७ सय भारु प्रति क्विन्टल पुगेको प्याजको भाउ घटेर विहिबार २५ सय भारु प्रति क्विन्टल पुगेको थियो । आगामी डिसेम्बरसम्म भारतीय बजारमा प्याजको भाउ २ हजार भारु प्रति क्विन्टलसम्म घट्ने अनुमान गरिएको छ । भारतको अंकुश कायमै भारतमा प्याजको आपूर्ति सहज बन्दै गएपनि त्यहाँको सरकारले न्युनतम निर्यात दर हटाएको छैन । जसको कारण डिसेम्बरको अन्तिमसम्ममा नेपाली बजारमा प्याजको भाउ घट्दै जानेमा संशय कायमै छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार व्यवसथापक मनोज धितालले डिसेम्बरको अन्तिम दिनसम्म प्याजको भाउ यकिन गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘प्याज र सुनको भाउको ट्रेण्ड उस्तै भइसक्यो । डिसेम्बर सम्म भारत सरकारले न्युनतम निर्यात मूल्य नहटाएसम्म प्याजको भाउमा खासै प्रभाव देखिने अवस्था छैन ।’ घरेलू बाजारमा ५ महिनामा प्याजको भाउ सात गुणाले बढेपछि भारतले गत मंसिर ७ गते यसको निर्यातको न्यूनतम मुल्य ८५० अमेरिकी डलर प्रति टन कायम गरेको थियो । अन्तर्राष्ट्रीय बाजारमा प्याज औषतमा ७ सय डलरसम्म पाइन्छ भइरहेको छ । त्यसैले बिक्रेताहरु यो भन्दा बढी मूल्य तिर्न तयार छैनन् । जुलाईमा भारतमा औषत १८६ डलर प्रति टनको मूल्यमा निर्यात भएको थियो । एशियाभरी प्याजको तनाव भारत विश्वकै सबैभन्दा धेरै प्याज निर्यात गर्ने मुलुक हो । भारतले प्याजको निर्यातमा कडाई गरेपछि नेपालसँगै बंगलादेश, मलेशिया लगायतका अन्य एशियाली मुलुकहरुमा प्याजको महंगिको मार खेपिरहेका छन् । गत वर्ष अत्याधिक आपूर्तिका कारण प्याजको भाउ निकै सस्तिएको थियो । यसपाली भारत र पाकिस्तानका किसानले गर्मीयाममा यसको उत्पादन कम गरेका थिए । भारतले प्याजको भाउ बढाएपछि सबै एशियाली मुलुकहरुले चीनमा विकल्प खोजिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपी चीनसँग पर्याप्त उत्पादन छैन ।