फागुन अघि काठमाडौं धुलो मुक्त नहुने, मेलम्चीले तत्काल सडक पिच नगर्ने

काठमाडौं । धुलोमुक्त हुने राजधानी बासीको सपना फागुन महिना अघि पुरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने काम ९० प्रतिशत सम्पन्न गरेको भएपनि खनिएका सडकमा कालोपत्रे गर्ने काम भने भर्खरै १३ किलोमिटर मात्रै सम्पन्न गरेको छ । न्युनतम ४ मिटर देखि ७ मिटर चौडाई भएको ११० किलोमिटर सडक खनेर मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले पाइप बिछ्याएको थियो । तर सो मध्ये १३ किलोमिटर मात्रै कालोपत्रे भएको छ । बाँकी ९७ किलोमिटर सडकमा भने फागुनपछि मात्रै कालोपत्रे हुनेछ । ‘हामीले ठेक्का त गत साल नै लगाएका थियौं तर जाडो महिनामा पिच गर्न नमिल्ने भएपछि फागुनपछि मात्रै काम अघि बढ्छ’, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिाला प्रसाद ढकालले भने । आयोजनाले ११० किलोमिटर सडक पिच गर्न ८८ करोडको ठेक्का लगाएको थियो । पाइप बिछ्याउने तथा प्रेसर जाँच्ने काम ढिला भएकाले पिच गर्न पनि ढिलाई भएको उनले बताए । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाईले वितरण प्रणालीको ६७० किलोमिटर र थोक वितरण सञ्जालका लागि ७६ किलोमिटर पाइप बिछ्याउने योजना रहेको छ । सोमध्ये थोक वितरण प्रणालीको ६५ किलोमिटर र खुद्रा वितरण प्रणालीको ६२५ किलोमिटर पाइप बिछ्याईसकेको छ । बाँकी रहेको पाइप बिछ्याउने काम आगामी २ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । मेलम्चीले भत्काएको ७ मिटर बढि चौडाई भएका सडक भने सडक विभागले खानेपानी मन्त्रालयबाट बजेट लिएर कालोपत्रे गर्नेछ । ६७० मिटर सडकमध्ये ५६० किलोमिटरमा भने पाइप बिछ्याउँदा नै पिच गर्ने वा पुर्ने व्यवस्था गरिएको थियो । ‘साना पाइप बिछ्याउने ठाउँमा त्यतिबेलै सडक पुर्ने वा कालोपत्रे गर्ने व्यवस्था थियो । सोही अनुसार पाइपलाई पुर्णरुपमा पुरेर फिनिसिङ गरिसकिएको छ’, ढकालले भने ।

पोष्टर, पम्प्लेट नहटाए निर्वाचन आयोग र राजनीतिक दललाई ‘अवहेलना मुद्दा’

काठमाडौं । राजधानीका भित्ता र गल्लीहरुमा टाँसिएका पोष्टर र पम्प्लेटहरु नहटाए निर्वाचन आयोग र राजनीतिक दलहरुलाई अवहेलनाको मुद्दा लाग्ने भएको छ । मंसिर २१ गतेको निर्वाचन सकिए लगत्तै राजधानीका भित्ता र चोकहरुमा निर्वाचन आयोगले टाँसेका पम्प्लेट र होर्डिङ बोर्ड नहटाए अदालतको अवहेलना गरेको मुद्दा लाग्ने भएको हो । ‘निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि टाँसेका पोष्टर र लगाएका होर्डिङ बोर्ड मंसिर २२ गते नै हटाई सक्नुपर्नेछ, राजनीतिक दलहरुले त पोष्टर, पम्प्लेट टाँस्नै नपाउने अदालतको आदेश छ, अन्यथा अवहेलनाको मुद्दा लाग्छ’, अधिवक्ता पदम बहादुर श्रेष्ठले विकासन्युजसँग भने । निर्वाचन आयोगले बागबजारको भित्तामा टाँसेको पोष्टर सर्वाेच्च अदालतले बि.स २०७२ साल भदौ १६ गते जारी गरेको परमादेश जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा अनधिकृत रुपमा पोष्टर, पम्प्लेट नटास्न र टाँसिएका त्यस्ता सामग्री तत्काल हटाउन भनेको थियो । सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधिश कल्याण श्रेष्ठ र न्यायधिश ओमप्रकाश मिश्रको संयुक्त इजलासले त्यस्तो फैसला गरेको थियो । सैनिक मञ्चको बारमा निर्वाचन आयोगले लगाएको ब्यानर शहरको सौन्दर्य हराएको र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता श्रेष्ठले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनकै मुद्दामा बहस गरेपछि अदालतले परमादेश जारी गरेको थियो । अदालतको परमादेश कार्यान्वयन नगरेको भन्दै श्रेष्ठले फैसला कार्यान्वयन निर्देशनालयमा पनि उजुरी दिए । निर्देशनालयले २०७४ वैशाख १३ गते फैसला कार्यान्वयन गर्न पत्राचार गरेको थियो । अझैसम्म पनि सर्वाेच्च अदालतको फैसाला कार्यान्वयन नभएको र अनधिकृत रुपमा पोष्टर तथा पम्प्लेट राख्ने क्रम बढेपछि अधिवक्ता श्रेष्ठले अवहेलनाको मुद्दा हाल्ने तयारी गरेका छन् । ‘अदालतले हालसम्म टासिँएको पोष्टर, पम्प्लेट निकाल्न र नयाँ टाँस्न नदिन भनेको छ, तर त्यसको कार्यान्वयन भैरहेको छैन, अब अवहेलनाको मुद्धा दायर गर्छु’, अधिवक्ता श्रेष्ठले भने । फोहर मैला व्यवस्थापन ऐन २०६८ ले अनधिकृत रुपले पोष्टर, पम्प्लेट र भित्ते लेखन गर्नेहरुलाई एक रुपैंयाँ देखि २५ हजार रुपैंयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि गरेको छ ।

निष्क्रिय कर्जा घटाएर नाफा बढाउदै छौं -गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक

सन् १९९६ मे महिनामा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेरका गोविन्द गुरुङ अहिले सिभिल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । एघार वर्ष हिमालयन बैंकमा, तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको पदमा साढे तीन वर्ष र मेगा बैंकमा नायब महाप्रबन्धकको पदमा साढे दुई वर्ष र सन् २०१२ अक्टोबरमा सिभिल बैंकमा वरिष्ठ कार्यकारी अधिकृतको रुपमा काम सुरु गरेका थिए । उनी गत जुलाईदेखि सिईओको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । दुई दशक बैंकिङ क्षेत्रमा बिताइसकेका गुरुङले सिभिल बैंकलाई सबल र सक्षम बनाउने अठोट कसेका छन् । बैंकको समग्र गतिविधिमा केन्द्रित रहेर सीईओ गुरुङसंग विकासन्युजले गरेका कुराकानीको अंशः गोविन्द गुरुङ, सीईओ-सिभिल बैंक लिमिटेड अन्य बैंकको तुलनामा आजका दिनसम्म सिभिल कुन पोजिसनमा छ ? निक्षेप, कर्जा लगानी र नाफाको हिसाबले बैैकको पोजिसन राम्रो छ । सिभिल नयाँ बैक भएकाले निक्षेप लागत (कस्ट अफ फण्ड), पूँजी परिचालन लगायत विभिन्न तवरले अरु पुराना बैंकसँग तुलना गर्दा चुनौती बढी नै छ । यद्यपी हामी योजनावद्ध ढंगले अगाडी बढेका छौं । हाम्रो पूँजीवृद्धि योजना सफल रुपमा अघि बढेको छ । अहिले हामीसँग ५ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी छ । ४० प्रतिशत हकप्रद सेयर आइसकेको छ । आगामी पुस २७ गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेका छौं । त्यसपछि हाम्रो पूँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । त्यसबाहेक हामीले पूँजीवृद्धिलाई नै ध्यानमा राखेर पाँचवटा संस्थासंग मर्जर र प्राप्ति (एक्विजिसन) समेत गरेका छौं । ३ वर्षअघि एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तिय संस्थालाई मर्जर गरेका थियौं । राष्ट्र बैंकबाट पुँजी वृद्धिको सर्कुलर आएपछि हामीले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सियल कम्पनी लिमिटेड (आएलएफसीएल ) लाई मर्ज गर्‍यौं । युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई एक्वायर गर्यौ । त्यसपछि पुँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको हो । आईएलएफसीएललाई गाभेपछि हामीसंग ५६ करोड २८ लाख रुपैयाँ संचित कोषमा थप भएको छ । गत असार मसान्तमा नाफा ३३ करोड ८१ लाख रुपैयाँ पुगेको थियो । ४० प्रतिशत हकप्रद सेयर निष्कासन, संचित कोषको रकम र असार मसान्तको खुद नाफा समेत जोडेर यो वर्ष पुँजी ८ अर्ब रुपैयाँ पुग्दैछ । यसरी हामी पूँजीगत क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढेका छौं । व्यवसायको आकारका हिसाबले पनि आज राम्रो स्थितिमा छौं । आजको दिनसम्म ३५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप परिचालन र करिब साढे ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौ । अहिलेको अवस्थामा हाम्रा लागि यो आकारको कारोबार राम्रो हो । लाभदायिकताको हिसाबले हेर्दा यो वर्षको पहिलो त्रैमासिकमा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं । उमेरमा हामी २८ औं कान्छो बैंक भए पनि नाफाको दृष्टिकोणबाट हेर्दा चार वटा बैंकभन्दा अगाडी अर्थात २४ औं स्थानमा पुगेका छौं । शाखा सञ्जालको कुरा गर्दा पूर्व मेचीदेखि महाकालीसम्म हामीसँग अहिले ५३ वटा शाखा, ९ वटा शाखारहित बैंकिङ सेवा तथा ३८ वटा एटिएम सेवा छ । यसपाली हामी २५ वटा थप शाखा विस्तार गर्दैछौं । बैंकिङ क्षेत्रमा सबैभन्दा महत्वपूर्ण पाटो नियन्त्रण र परिपालन नै हो । यसमा हाम्रो बैंक सहज ढंगले सञ्चालन भइरहेको छ । परिपालनमा हामी निकै जोड दिइरहेका छौं । संस्थागत सुशासनामा पनि हामीले सबै किसिमका जोखिमलाई कम गर्ने उद्येश्यका साथ कार्यक्रम अगाडी बढाइरहेका छौं । हाम्रा सम्बन्धित सञ्जाल पनि नेपालका ठुला पुराना बैंकहरु सरह छन् । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा जनशक्ती पनि हो । अहिले हामीसँग ५३६ जना दक्ष जनशक्ती छन् । सबैको कार्य सम्पादन राम्रो छ । त्यसलाई अझ परिष्कृत गर्दै लैजानका लागि हामीले प्रशिक्षणमा बढी जोड दिएका छौं । यी सबै कारणले हाम्रो स्थिती राम्रो छ । भोलीका दिनमा अग्रणी बैंकका रुपमा अघि बढ्न यी आधारहरुले सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं । बैंकको निष्क्रिय कर्जा घट्नुको सट्टा बढेको देखिन्छ । यसको कारण के होला ? यसपछाडी दुईवटा कारण छन् । पहिलो कारण हामीले पाँच वटा कम्पनी मर्ज गर्र्यौं । तिनै संस्थामा भएको निष्क्रिय कर्जाले गर्दा बढ्नमा योगदान पुगेको छ । त्यसमा पनि मर्जरबाट एक थरी निष्क्रय कर्जाको रुपमा आएका थिए । विकास बैंक र वाणिज्य बैंकको काम गर्ने तरिकाबीचको अन्तर अर्को कारण हो । स्थापनाकालदेखि सिभिलले कारोबार बढाउन पुराना बैंक तथा वित्तिय संस्था मर्ज गरेर ल्याउँदा केही खराब कर्जाहरु आएका छन् । प्रमुख कारण चाँही कारोबार बढाउने चाप नै हो । निष्क्रिय कर्जा अनुपात बढ्दा हाम्रो लाभदायिता पनि प्रभावित भएको छ । हिजोको दिनमा हामी २८ औं पोजिसनमा थियौं भने अहिले २४ औंमा पुगेका छौं । निष्क्रिय कर्जाको मार खेप्नु नपर्ने हो भने हामी अझैं अगाडी हुन्थ्यौं । यही त्रैमासिकको मात्र हेर्ने हो भने हामीले थप ३१ करोड रुपैयाँ प्रोभिजनिङ गर्यौं । ३१ करोड रुपैयाँ निष्क्रिय कर्जा असुली गरेका थियौं । यद्यपी प्रोभिजनिङका कारण यसको सुविधा उपभोग गर्न पाएनौं । राइट ब्याकको उपभोग गर्न पाएको भए हामी निकै अगाडी बढ्थ्यौं । हामीले प्रोभिजनिङमा १ अर्ब ८६ करोड राख्या छौं । बैंकको रिजर्भमा मात्र पुरा रकम छ जसले एनपिएलाई पुर्णरुपमा थेग्न सक्छ । बैंकको समग्र वित्तिय पोजिसन अत्यन्तै राम्रो अवस्थामा छ । हामीले केन्द्रिय बैंकको मापदण्ड अनुसार हकप्रद सेयर पनि जारी गरेका छौं । आगामी असार मसान्तसम्ममा खराब कर्जा घटाएर कतिमा झार्दै हुनुहुन्छ ? गत असारसम्म यस्तो कर्जा ४ प्रतिशत मात्र थियो । यो त्रैमासिकमा बढेर ४.६५ प्रतिशत पुगेको छ । त्यसैले गर्दा पनि प्रोभिजनिङ बढेको हो । आगामी असार मसान्तसम्ममा यसलाई २ प्रतिशतमा झार्ने योजना छ । निष्क्रिय कर्जा असुली लिगल मिटिगेसन सिस्टमबाट जाने भएकाले समय लाग्छ । आगामी वर्षसम्म बैंकको नाफा कति पुर्याउने लक्ष्य छ ? यसरी आधिकारिक रुपमा रणनीतिक कुरा भन्न सकिदैन । आन्तरिक बोर्डमा छलफल गर्ने पाटो फरक हो । तर गत वर्षको तुलनामा राम्रो गर्ने लक्ष्य लिएका छौं । सिभिल सेयरको मूल्य अन्य बैंकको भन्दा निकै कम छ । यस्तो कसरी हुन गएको हो ? कान्छो बैंक भएपछि पाउने प्रतिफल पनि कम हुन्छ, त्यसैले पनि सेयरको मूल्य कम भएको होला । एकातर्फ सेयर बजार घट्दो क्रममा रहेको अवस्था छ । सेयरमा विश्वास कम भएर वा लगानी कम भएर सेयरको परिसुचक नै तल छ । भर्खरै मात्र हामीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेका कारण सेयर मूल्य समायोजन (एडजस्टमेन्ट) हुँदा सेयरको मुल्य घटेको हो । हकप्रद निष्कासन गर्नुअघि सेयरको मूल्य २३० रुपैया थियो । अहिले धेरै बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री नभएर लिलाममा गइरहेको छ । सिभिल बैंकको पनि लिलामी गर्नुपर्ने संभावना कतिको छ ? सबै बैंकको केही सेयर लिलाममा गइरहेकै छन् । यसमा दुईवटा कारण छन् । पहिलो रकम नपुगेर हकप्रद सेयर हाल्ने कमै छन् । हाम्रो ६० हजार भन्दा बढी सेयर सदस्य छन् । पैसा हाल्ने ईच्छा हुँदाहुँदै पनि थाहा नपाएर हकप्रद खरिद गर्न नपाउने धेरै छन् । हामीले पनि लिलाममा जानुपर्छ की भन्ने आँकलन चाँही गरेका छौं । हकप्रद किन्नेले बोनस सेयर पाउछन ? हकप्रद सेयर किन्नेले बोनस अवश्य नै पाउँछ । किनभने हामीले राष्ट्र बैंकमा वित्तीय विवरण पठाइसकेका छौं । अहिले त्यो विचाराधिन छ । हकप्रद सेयर बन्द गरेपछि बल्ल हाम्रो वार्षिक साधारणसभा आउँछ । यसको अर्थ जो जसले हकप्रद सेयर हालेका छन् उनीहरुले बोनस पाउने निश्चित नै छ । सेयर संख्या बढिरहे पनि बैंकले नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी पनि घट्दै गएको छ । आगामी दिनेमा तपाईलाई चुनौती छैन र ? सिभिल बैंक इपिएस बढ्नेमा सबैभन्दा अगाडी रहेको छ । यो एउटा मोमेन्टम तयार भएको छ । यसलाई व्यवस्थापन गर्दै दिगो रुपमा अगाडी बढाउनुपर्ने चुनौती त छँदै छ । कारोबार यही हिसाबले बढ्दै गयो भने यसले इपिएसलाई पनि दिगोरुप बढाउँदै जानेछ । गत साल यही समयमा ‘तरलता अभाव’ सुरु भइसकेको थियो । यसपालीको अवस्था के छ ? आजका दिनसम्म त यस्तो समस्या छैन । चुनावसम्म त्यती समस्या नदेखिने हामीले अनुमान गरेका छौं । २र३ अर्ब पूँजी पनि बढेकै छ । मुद्रास्फिती कम हुनु, सरकारको खर्च तथा आय स्थिर भएको र घरायसी आम्दानी बढ्नु नै कारण हो । त्यस्तै चुनावमा अनौपचारिक माध्यमबाट आउने रकम पनि बैंकिङ च्यानलबाट आउने सम्भावना छ । स्थानीय तहका लागि २३८ अर्ब रूपैयाँ बजेट छुट्याए अनुसार खर्च हुन लागेको छ । यसले गर्दा वित्तिय प्रणालीमा त्यो पैसा पनि आउछ । यी सबै कारणले गर्दा तरलता माघसम्म सहज हुन्छ । त्यसपछि प्रादेशिक सरकार बन्ने क्रम सुरु हुन्छ, जुन हाम्रा लागि थप अवसर हो । किनभने चालु आर्थिक वर्षमा विकास निर्माण शिर्षकमा ३ खर्ब ३५ अर्ब रुपैयाँ विकास खर्चलाई विनियोजन गरिएको छ । अहिले जम्मा ६ प्रतिशत मात्र खर्च भएको छ । २४१ अर्ब चाँही सरकारकै ढुकुटीमा थन्किरहेको छ । यो रकम बढ्दै गएर समयमा नै सरकार नबन्ने र बनेपछि पनि प्रभावकारी ढंगले खर्च गर्न नसक्ने अवस्था रह्यो भने चाँही ितरलता अभाव जटिल नबन्ला भन्न सकिदैन । सिभिलको पूँजी पर्याप्तता १९ प्रतिशत हारहारीमा छ । परिचालनतर्फ बैंकले किन ध्यान दिदैन ? पूँजी ४०० प्रतिशतले बढ्ने र कारोबार नबढ्ने समस्या छ । हाम्रो ८ अर्ब रुपैयाँ पूँजीलाई हेरेर नाफा बढाउन ८० अर्ब रुपैयाँको कर्जा लगानी हुनुपर्छ । यसमा पनि कतै १५० प्रतिशत पूँजी आवश्यक होला भने कतै ६० प्रतिशत होला । तर सरदरमा ८० अर्ब रुपैयाँको कारोबार गर्नुपर्ने हुन्छ । अब ३२ अर्ब रुपैयाँ कारोबार गरिरहेको बैंकले तत्काल कारोबार बढाएर ८० अर्ब रुपैयाँको पुर्याउन सक्दैन् । यो क्रमिकरुपमा बढ्दै जान्छ । अन्य बैंक भन्दा सिभिलले आफना ग्राहकलाई दिने फरक सुविधा के हो ? सिभिलको मुख्य पहल सेवामा नै केन्द्रित छ । सिभिलले चुस्त र दूरुस्त रुपमा सेवा दिन्छ । अर्को कुरा हामी नयाँ बैंक भएकाले डिपोजिट बढाउनका लागि अधिकतम लाभ दिइरहेका छौं । आजको दिनमा तपाईले हेर्नुभयो सिभिलको सेभिङ रेट उच्च छ । हामीले कम मार्जिनमा काम गरेर डिपोजिटरलाई अधिकतम लाभ दिइरहेका छौं । हामीले क्रेडिटलाई पनि डिजिटल प्रविधि मार्फत सेवा प्रदान गरेका छौं । हामीले मास्टर कार्डमा क्रेडिटको सुविधालाई समेटेका छौं । हामी अन्य सेवालाई पनि प्रविधि मार्फत प्रदान गरिरहेका छौं । अरु बैंकमा जानुपर्यो भने छुट्टै क्रेडिट कार्ड लिनुपर्ने बाध्यता छ । तर सिभिल बैंकमा एउटै कार्डलाई डेबिट र क्रेडिट दुवै कार्डको रुपमा प्रयोग गर्न सकिन्छ । आधार ब्याजदर यहाँहरु ११.५५ प्रतिशतमा देखिएको छ । यहाँहरुले पाउने कर्जा धेरै महंगो छ । कहिलेदेखि घट्छ ? निक्षेमा उच्च ब्याजदर दिएको कारण आधार ब्याजदर बढी देखिएको हो । आजको दिनमा हाम्रो निक्षेप लागत भनेको सवा ८ प्रतिशतको हाराहारीमा छ । यसकारण आधार दर बढी भएको हो । कर्जा लिने ग्राहकलाई यसले मार पारेको छ । तर कर्जा पनि प्रतिस्पर्धी ढंगले गइरहेका छौं । महंगो भनेर धेरै महंगो पनि छैन । कहिलेदेखि सेवाग्राहीले सस्तोमा कर्जा पाउलान् त ? यसका लागि त हाम्रो निक्षेप लागत घट्नुपर्छ । जसका लागि हामीले बचतमा नै जोड दिइरहेका छौं । त्यो हुँदै गएपछि स्वचालित ढंगले कर्जाको दर चाँही घट्दै जान्छ । त्यसबाहेक हाम्रो सञ्चालन खर्च गर्नुपर्ने कुरा पनि छ । यसको एउटै उपाय भनेको कारोबार बढाउनुपर्ने हो । यसले सम्पूर्ण सञ्चालन खर्चलाई घटाउदै लैजान्छ । यद्यपी यो तुरुन्तै हुने कुरा होइन । आगामी वर्ष बैंकले सेयरधनीलाई दिने प्रतिफल कतिसम्म बढ्ला ? ठ्याक्कै यतिउती भन्न मिल्दैन । तर पुँजी बढेकाले गर्दा सबै बैंकको चाँही प्रतिफल विगतका तुलनामा कम नै हुने देखिन्छ । सेयर पनि घटिरहेको छ । ठुलो बैंकको कुरा गर्दा पनि २ अर्ब कमाउँदा २ अर्ब पुँजीलाई नै बाड्नुपर्ने देखिन्छ । त्यसकारण प्रतिशतका हिसाबले घट्छ नै । हामी जस्तो नयाँ बैंकको चाँही बढ्न पनि सक्छ । हाम्रो क्यापिटल बढेकाले त्यही अनुपातमा त नबढ्ला । सिईओ भएपछि कतिको तनाव बेहोर्नुपरेको छ ? सिईओ भएपछि स्वभाविकरुपमा तनाव त हुने नै भयो । त्यही तनाव लिएर सबै सेयरहोल्डरलाई राम्रो प्रतिफल दिनुपर्छ भनेर नै यो पोजिसनमा आएको छु । प्रोफेसनल तनाव भन्दा पनि बजारले पार्ने प्रभावका कारण बढी तनाव दिएको हुन्छ । जस्तो सरकारले समयमा बजेट खर्च गरेन भने अर्को समस्या देखिन्छ । जुन मेरो नियन्त्रणभन्दा बाहिरको कुरा भयो । मलाई व्यवस्थापन नै गर्न गाह्रो हुन्छ । त्यसपछि मैले कि त कारोबार वा कर्जा लगानी खुम्च्याउनुपर्ने हुन्छ । कर्जा खुम्च्याउदा लक्ष्य नपुग्ने हुन्छ । बाहिरी कारणले गर्दा आउने समस्याले बढी प्रभाव पर्छ । त्यो सबै सिईओमा लागू हुने कुरा हो । त्यस्तै अन्तराष्ट्रिय व्यापारमा अवरोध आयो भने पनि समस्या देखापर्छ । हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरामा व्यवस्थापन मात्र गर्न सकिन्छ । त्यसलाई परिवर्तन गर्न भने सकिदैन । व्यवस्थापन गर्नका लागि नै हामी बसेका छौं ।