मुद्दति निक्षेपको ब्याज बढेर १२.२५ प्रतिशत पुग्यो, सेयरमा लगानी भन्दा बैंकको मुद्दतिमा फाइदा

काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याज दर बढाएर  १२.२५ प्रतिशत पुर्याएका छन् । मुद्धति खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकबीच व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउन होडबाजी चलेको हो । केही दिनअघि मात्र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत बनाएको एक साता नबित्दै ग्लोबल आईएमई बैंकले १ वर्षका लागि स्पेशल ब्लक डिपोजिट भन्दै वार्षिक १२.२५ प्रतिशत ब्याज दिने गरी मुद्धति निक्षेप योजना ल्याएको छ । यसैगरी ग्लोबलले यो योजना बिहीबारदेखि नै लागु हुने जानकारी दिएको छ । यसैगरी सिभिल बैंकले बिहीबार बढाएर १२.२२ प्रतिशत पुर्याएको छ ।तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्दति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । गत वर्ष लगानीयोग्य पुँजी नभएपछि बैंकले महंगो ब्याजमा व्यक्तिगत निक्षेप लिएका थिए । त्यसबेला यस्तो निक्षेपको ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो ।सेयर बजार निरन्तर घटिरहेकाले त्यहाँबाट पाउने प्रतिफल ८ प्रतिशत भन्दा कम रहेका बेला लगानीकर्तालाई मुद्दति निक्षेपमा लगानी गरेर बढी प्रतिफल पाउने देखिएको छ । बैंकको बढ्दो ब्याज दर, बढी सेयर आपूर्ति र राजनीतिक अस्थिरता कायम रहेकाले सेयर बजार निरन्तर ओरालो लागेको छ । सिभिलले २२२ दिनका लागि यो योजना ल्याएको हो । न्युनतम ३ लाख रुपैयाँ हुनुपर्ने र यसको ८० प्रतिशतसम्म कर्जा पाउने सिभिलले जानकारी दिएको छ । अधिकाँश बैंकले छोटो अवधिका लागि भन्दै निक्षेप तान्न बढी ब्याज दिने योजना ल्याएका हुन् । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल गत वर्ष बढी ब्याज दिएर लिएको निक्षेप परिपक्व हुदै गएकले त्यसलाई लक्षित गरेर यो योजना ल्याएको बताए । “बजारमा पुँजीको अभाव हैन, निक्षेप रोक्नका लागि यस्तो योजना ल्याएको हो” उनले भने । मुद्धति निक्षेपमा कम ब्याज दिदै आएको स्ट्याण्डर्ड चाटर्ड बैंकले समेत बुधबार बढाएर १० प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएको छ । कुमारी बैंकले पनि १ सय दिनका लागि व्यक्तिगत मुद्धती खातामा ११ प्रतिशतसम्म ब्याज दिने योजना आइतबार ल्याएको छ । यस्तै सेन्चुरी कर्म्शियल बैंक ११, लक्ष्मी बैंकले ११ प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएका हुन् । यसअघि माछापुच्छे् बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याइसकेका छन् । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् । तरलता अभावको सम्भावना कायमै भएकाले गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनु पर्ने बाध्यता भएको बैंकरले भनाइ छ । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ । केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी ४० अर्ब रुपैयाँ छ । पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको राष्ट्र बैंकको भनाई छ । केही बैंकमा लगानी योग्य पुँजी देखिइसकेको बैंकरको भनाई छ । सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईयो ) १५ प्रतिशत भन्दा कम ब्याजमा कर्जा दिन नसक्ने बताउछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ । प्रभु बैंकले आधार ब्याज दर ९.८० र नविल बैंकको ७ प्रतिशत तल रहेको छ ।

सम्भावित लोडसेडिङ टर्यो, भारतले दिनेभयो १४५ मेगावाट बिजुली

काठमाडौं । भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिने भएको छ ।   भारतको नयाँ दिल्लीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्चस्तरिय टोलीबीच बुधबार भएको द्विपक्षिय वार्तामा एनभीभीएनले थप ३ महिना अर्थात आउँदो मार्चसम्म बिजुली दिन सहमत भएको हो । एनभीभीएनले अर्को सम्झौता नभएसम्मका लागि पुरानो दरमा बिजुली दिन सहमत भएको छ । बिजुली आयात निरन्तरता दिनका लागि घिसिङ बुधबार दिल्ली गएका थिए । आगामी ३ महिनाका लागि बिजुली दिन सहमत भएको घिसिङले जानकारी दिए । ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदै छ । नेपाल र भारतको सचिव स्तरिय संयुक्त स्थायी समितिको बैठक स्थगत भएपछि विद्युत प्राधिकरणले गत मंगलबार बिजुली आयातको म्याद पुनः ३ महिना थप गर्न एमभीभीएनलाई अनुरोध सहितको पत्र पठाएको थियो । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । यो सस्तो दर हो । भारतबाट १४५ मेगावाट बिजुली आयात निरन्तरता नभए लोडसेडिङ हुने थियो । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।

विद्यार्थीसँग चर्को शुल्क असुल्दै निजी विद्यालय, अनुमति बिना कक्षा सञ्चालन

काठमाडौं । उपत्यकाका ठुला निजी विद्यालयहरुले अवैध रुपमा भर्ना शुल्क असुलेको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा विद्यार्थीबाट अत्याधिक मूल्य असुलेको पाइएको हो । विद्यालयले जिल्ला शिक्षा कार्यालयले स्विकृत गरेको मूल्यका आधारमा मात्र भर्ना लिन पाउछन् । तर, ललितपुरको रातो बंगला स्कुल, प्रिमियर ईन्टरनेशन र जेम्स स्कुलले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृती नलिई मनपरी भर्ना शुल्क असुलेको पाइएको छ । रातो बंगला स्कुलले यस आर्थिक वर्षमा भर्ना शुल्क बापत ७५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ धरौटी लिएको देखिएको छ । त्यस्तै अतिरिक्त कक्षाअन्तर्गत २१ हजार ४ सय ६० रुपैयाँ देखि २६ हजार सात सय ५० रुपैयाँ लिएको पाइएको छ । उक्त शुल्क अत्याधिक रहेको विभागको निश्कर्ष छ । विभागले गत पुस ६ गते रातो बंगलालाई प्रमाण सहित पेश हुन ७ दिनको समय दिएको शिक्षा विभागका अधिकृत रामप्रसाद शर्माले बताए । उनका अनुसार विद्यालयले जिल्ला शिक्षा कार्यालयको स्विकृती बिना नै बढी शुल्क लिएको पाइएको हो । उनले भने, ‘विद्यालयले दुई तिहाई अभिभावकको स्विकृतीका आधारमा जिल्ला शिक्षा कार्यालयमा भर्ना शुल्क प्रस्ताव गर्नुपर्छ । यद्यपी रातो बंगलाको हकमा यस्तो गरेको पाइएन ।’ त्यस्तै रातो बंगलामा कानुनले तोकेको १० प्रतिशत छात्रावृत्ति पनि प्रदान नगरेको पाइएको छ । प्रिमियर ईन्टरनेशनलले पनि जिल्ला शिक्षा कार्यालयको स्वीकृतीपत्र र शुल्कको संरचना देखाउन नसकेको विभागले जनाएको छ । विभागले विद्यालयलाई शुल्कको लागि अभिभावकको बैठक राखी गरिएको सिफारिस र जिल्ला शिक्षा कार्यालयको स्वीकृती पत्र पेश गर्न निर्देशन दिएको छ । अनुमति बिना नै कक्षा सञ्चालन रातो बंगलाले प्रि प्राइमरी कक्षाको अनुमति नलिई सञ्चालनमा ल्याएको पाइएको छ । विद्यालयले अनुमतिका लागि आवेदन दिएको स्पष्टिकरण दिएको विभागका अधिकृत श्री प्रसाद अधिकारीले जानकारी दिए । विभागले विद्यालय सञ्चालकलाई प्रि प्राइमरी कक्षा वैधानिक निकायबाट स्वीकृती लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । स्वीकृतीबिना नै शुल्क वृद्धि ललितपुरको जेम्स स्कुलले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृती नै नलिई कक्षा १ मा मनपरी शुल्क बढाएको पाइएको छ । विद्यालयले कक्षा १ को शुल्क चार हजार ३ सय २५ बाट पाँच हजार १ सय ९० पुर्‍याएको छ । त्यस्तै वार्षिक शुल्कको मासिक शुल्क दोब्बर हुनुपर्नेमा बढी देखिएको विभागको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै विद्यालयले खेलकुद, पुस्तकालय र मर्मत लगायत विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिएको छ । विभागले स्पष्टीकरण सहित हाजिर हुन विद्यालयलाई निर्देशन दिएको छ ।