३ लाख भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने

काठमाडौं । ३ लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता नपाउने भएका छन् । २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि दोश्रो किस्ताका लागि आवेदन दिनै पर्ने व्यवस्थाका कारण तीन लाख भन्दा बढि भूकम्प पीडित दोश्रो किस्ता पाउनबाट बञ्चित भएका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २०७४ कात्तिक २९ गते बसेको प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति बैठकले पुस मसान्त भित्रै दोश्रो किस्ताका लागि आवेदन नदिए प्रक्रियाबाटै बाहिरीनुपर्ने निर्णय गरेको थियो । प्राधिकरण श्रोतका अनुसार २०७३ पुस मसान्त अघि ५ लाख भन्दा बढि भूकम्प पीडितले पहिलो किस्ता रकम लिईसकेका थिए । हाल पहिलो किस्ता लिनेहरुको संख्या ६ लाख ६९ हजार ५ सय ४२ पुगेको छ । हालसम्म करिब एक लाख ५० हजार भूकम्प पीडितले मात्रै दोश्रो किस्ता लिएका छन् । करिब ५० हजार ७ सय ९८ भूकम्प पीडितले दोश्रो किस्ता पाएका छन् । दोश्रो किस्ताका लागि आवेदन दिनेहरुको संख्या जम्मा २ लाख २० हजार ३ सय ९५ रहेको छ । प्राधिकरणको सो निर्णय नसच्चिए तीन लाख भन्दा बढि भूकम्प पीडितले घर बनाउन दोश्रो किस्ता पाउने छैनन् । ‘पुननिर्माणको आफ्नै गति छ, समय सिमा पनि छ, पहिलो किस्ता लिएर घरको जग समेत नहाल्नेहरुलाई सधैभरी कुरेर बस्न सकिँदैन, त्यसैले सिमा तोकेर दोश्रो किस्ताका लागि आव्हान गरेका थियौं, सो अवधीमा धेरै प्रगति भएको छ’, प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्म कुमार भुषालले विकासन्युजसँग भने । उनले वृद्ध वृद्धा मात्रै रहेको परिवार, अपांगता भएको परिवार र सरकारी ढिला सुस्तीका कारण दोश्रो किस्ताका लागि आवेदन दिन नपाएकाहरुका लागि भने सोच्न सकिने बताए । तर पैसा लिएर पनि घर निर्माणको कुनै काम अघि नबनाउनेहरुका लागि भने केहि गर्न नसकिने उनले बताए । ‘पैसा लिएर घर नबनाई सुतेर बस्नेहरुलाई प्राधिकरणले कुरेर बस्न सक्दैन्, यद्यपी अन्तिम पटकलाई भनेर थोरै समय थपिन पनि सक्छ, तर त्यसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा पुनः निर्देशक समितिको बैठक बस्नु पर्छ’, प्रवक्ता भुषालले भने ।    

३ वर्षमा नाफा ३ सय प्रतिशत बढाउने नेको इन्स्योरेन्सको योजना

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आउदो ३ वर्षमा नाफा ३ गुणा बढाउने भएको छ । कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा ३ सय प्रतिशत बढाएर ५९ करोड ७० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा उसले २० करोड ८५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । चालु आवमा कम्पनीले नाफालाई बढाएर ३२ करोड ४१ लाख, आव ०७५/०७६ मा ४५ करोड ९ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण सार्वजनिक गरेको छ । कम्पनीको नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ७४ पैसा पुर्याउने लक्ष्य लिएको छ । गत आवमा कम्पनीको ईपीएस २९.२५, आगामी वर्ष २७.५६ र आव ०७५/०७६मा ३३.३४ रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । यस्तै नेकोको आम्दानी पनि बढेर ३ वर्षमा ९६ करोड ४१ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गत आवमा कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढेर ५४ करोड ४३ लाख, आगामी वर्ष ७४ करोड ५६ लाख रुपैयाँ पुग्ने छ । जगेडा कोष बढेर ३३ करोड ३१ लाख रुपैयाँ पुर्याउने उसको लक्ष्य छ । यसैगरी नेकोले बीमा शुल्क आर्जन बढाएर १ अर्ब ४८ करोड रुपैयाँ पुर्याउने भएको छ । गत आवमा कम्पनीले ७४ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चालु आवमा बढाएर ९४ करोड ९३ लाख र आगामी वर्ष ०७५/०७६ मा १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७१ करोड २८ लाख रुपैयाँ छ । आगामी ३ वर्षमा यसलाई बढाएर १ अर्ब ५५ करोड रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ । चुक्तापुँजी बढाउन नेकोले आउदो माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।  

सेयर बजार घटेका बेला राम्रो प्रतिफल दिने म्युचअल फण्डमा पनि लगानीकर्ताको आकर्षण कम

काठमाडौं । सेयर बजार घटिरहदा राम्रो प्रतिफल दिने सामूहिक लगानी कोष (म्युचअल फण्ड) मा लगानीकर्ताको आकर्षण कमी आएको छ । एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब रुपैयाँको २० करोड इकाई म्युचअल फण्ड बिक्री नभएपछि म्याद थप गरेका छन् ।                         दुबै बैंकको म्युचअल फण्ड निष्कासनको म्याद सोमबारसम्म थियो । एनआईसी एसियाले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सिटिजन्सले पनि १ अर्ब रुपैयाँकै सिटिजन्स म्युचअल फण्ड १ निष्कासन गरेका हुन् ।सिटिजन्सको सोमबारसम्म ६० करोड रुपैयाँको मात्र म्युचअल फण्ड खरिदका लागि १४ हजार आवेदन परेको छ । यस्तै एनआईसी एसियाको यही हारहारीमा आवेदन परेको एनआईसी एसिया क्यापिटल लिमिटडले जनाएको छ । राम्रो प्रतिफल दिने भएपनि म्युचअल फण्डमा लगानीकर्ताको आकर्षण कम देखिएको सीबीआइएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् । “ आकर्षक प्रतिफल हुदाहुदै खरिद नहुदा हामी अचम्म परेका छौ” उनले भने “निर्धारित समयमा पुरै बिक्री नभएपछि आउदो १७ गतेसम्म म्याद थप गरेका छौ ।” यस्तै एनआईसी क्यापिटलका सीईओ जनकराज ढुङेलले पनि म्युचअल फण्ड पुरै बिक्री नभएकाले म्याद थप गरिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले २१ गतेसम्म समय थपेको बताए । राम्रो प्रतिफल दिने भएपनि लगानीकर्ताको आकर्षण कम देखिएको उनले स्वीकारे । यसअघि सानिमा बैंक र सिद्धार्थ बैंकले निष्कासन गरेको म्युचअल फण्ड पनि लगानीकर्ताको चासो कम देखिएको थियो । सिटिजन्स र एनआईसी दुबै म्युचअल फण्डको अवधि ७ वर्ष छ । एनआईसी एसियाले वार्षिक औसत १६ प्रतिशत र सिटिजन्सले वार्षिक औसत २२ प्रतिशत भन्दा बढी लाभांश दिने प्रक्षेपण गरिएको छ । ग्रोथ फण्डको योजना व्यवस्थापक एनआईसी क्यपिटल लिमिटेड र सिटिन्जन्सको सीबीआइएलले गरेका छन् । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । अन्तिम वर्ष फण्ड बिक्री गरेर रकम लगानीकर्तालाई बितरण हुनेछ । सिटिजन्स म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ । सीबीआईएलले कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख सिटिजन्स बैंकलाई सुरक्षति गरी साढे ८ करोड इकाई बिक्रीका लागि खुला गरेको छ । फण्डको नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार गर्न सकिने छ । इकाइ अंकित मूल्यका आधारमा लाभांश वितरण गर्ने र संचित नाफालाई पुनः लगानीका लागि उपयोग गरिने जानकारी दिइएको छ । यस्तै एनआईसी एसिया ग्रोथ फण्डले वार्षिक १६.१३ प्रतिशतसम्म प्रतिफल दिने भएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ ।