तरलता समस्या समधान गर्न राष्ट्र बैंकले दियो १० अर्ब, बैंकले लिए ४० करोड मात्र
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता कम भएपनि नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको बजारमा पठाउदा बैंकले ४० करोड रुपैयाँ मात्र लिएका छन् । आधा दर्जन वाणिज्य बैंकमा समस्या आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा थप तरलता प्रवाह गर्न लागेको थियो । एउटा बैंकले ४० करोड रुपैयाँ मात्र उठाएको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न विकास ऋणपत्र सोझै खरिद बोलकबोल उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाएको हो । पुस मसान्तमा बैंकिङ प्रणालीमार्फत अर्बौ रुपैयाँ करको रुपमा राज्यको ढुकुटीमा गएपछि अधिकाँश बैंकको कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी रेसियो) ८९ प्रतिशतको हारहारीमा पुगेको बैंकले बताएका छन् । राष्ट्र बैंकबाट प्राप्त रकम ऋण लगानी गर्न नपाउने भएपछि नलिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए । “अहिलेको समस्या तरलता व्यवस्थापनका लागि हैन, थप ऋण लगानीका लागि भएको हो” ती सीईओले भने “राष्ट्र बैंकबाटथ लिएको रकम ऋण लगानी गर्न नपाउने भएपछि पैसा नलिएको हो ।” अधिकाँश बैंकको सीसीडी रेसियो ७९ प्रतिशत पुगेकाले कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइसकेका छन् । केही बैंकहरुले कर्जा प्रवाह बन्द गरेको जानकारी दिएका छन् । बजारमा लगानीयोग्य पुँजी कम भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । अन्तरबैंक ब्याजदर नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “यदी तरलताको अवस्था कसिलो भएको भए अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघने थियो” उनले भने “अन्तर बैंक ब्याजदर स्थिर भएपछि पछिल्लो समयमा राष्ट्र बैंकले रिपो गर्न पाएको छैन् ।” रिपोमार्फत तरलता प्रवाह गर्न नपाएपछि केन्द्रीय बैंकले विकास ऋणपत्र धितोमा राखेर बजारमा पैसा पठाउन थालेको छ । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हारहारीमा अधिक तरलता रहेको छ । एक साता अघि पनि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै २८ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।
शिवम सिमेन्टले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोलायो विशेष साधारणसभा
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि शिवमले माघ २१ विशेष साधारणसभा बोलाएको छ । गत पुस २५ गते बसेको दोस्रो वार्षिक साधारणसभाले निर्णय नगरेपछि आईपीओ निष्कासन विशेष साधारणभा बोलाएको हो । शिवमको आईपीओ प्रतिकित्ता १ सय रुपैयाँ नपाइने भएको छ । उद्योगको हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र यसका लागि प्रवन्धपत्र संशोधन हुने भएको छ । कुल ४ करोड ४० लाख कित्ता मध्ये ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानियबासिन्दाका लागि समेत निष्कासन गर्ने भएको हो । कम्पनीले कुल जारी पुँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हो । अन्य सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् । गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । उसले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने पाउने छ । यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरेको छ । शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो ।चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।
रसुवागढी र सान्जेनको आईपीओ १ महिना पछि धकेलियो, फागुनको पहिलो साता २ अर्ब ५१ करोडको आउने
काठमाडौं । दुई जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अझै १ महिना ढिला हुने भएको छ । कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ निष्कासन फागुनको पहिलो साता मात्र हुने भएको हो । यसअघि माघको पहिलो साताभित्र आईपीओ निष्कासन गर्ने तयारी दुबै कम्पनीको थियो । प्रक्रियागत ढिलाइले आईपीओ निष्कासन १ महिना पर सरेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । एकैदिन आब्हानपत्र सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको उनले सुनाए । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा रसुवागढीको सिद्धार्थ क्यापिटल लिमिटेड र सान्जेनको नागरिक लगानी कोष रहेका छन् । दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानिय निकायका कर्मचारीलाई २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जसअनुसार रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । यी दुबै जलविद्युत कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र तेस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेका छन् । यस्तै सिद्धार्थ क्यापिटल, कर्मचारी संचय कोष र नागरिक लगानी कोषले आईपीओ भर्न हितग्राही खाता (डीम्याट एकाउन्ट) र बैंकमा खाता खोल्न अनुरोध गरेका छन् । धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ ।