चौतर्फी दवावपछि दर्जनबढी उद्योगले सिमेन्ट र डण्डीको भाउ घटाए ५० पैसादेखि ५० रुपैयाँसम्म
काठमाडौं । चौतर्फी दवावपछि अन्ततः सिमेन्ट र डन्डीको भाउ घटेको छ । दर्जनबढी उद्योगहरुले ५० पैसादेखि ५० रुपैयाँसम्म सिमेन्ट र डण्डीको मूल्य घटाएका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारसम्ममा १४ ओटा उद्योगले २० किसिमका सिमेन्ट र डण्डीको मूल्य घटाएको जानकारी दिएको छ । विभागको अनुसार वृज सिमेन्ट ईण्डष्ट्रिजको ओपिसी, पिपिसी र पिएससी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँको दरले घटाएको छ । अर्घाखाँची सिमेन्टले बोराको ४५ रुपैयाँ घटाएको छ । भु–गर्व सिमेन्टको ओपिसी, पिपिसीमा बोराको ३० रुपैयाँको दरले भाउ घटाएको छ । शिवम् सिमेन्टको मूल्य भने सबैभन्दा पहिलेनै २२ रुपैयाँ ६० पैसा घटाएको हो । निर्माण सिमेन्टमा प्रतिबोरा १५ रुपैयाँ घटेको छ । अम्बे, दोभान, शुभ श्री जगदम्बा, मारुतीका विभिन्न ब्राण्डका सिमेन्टमा प्रतिबोरा २० रुपैयाँ घटेकोछ । नरायणी, सर्वोत्तम, अग्नि, घोराही लगायतका विभिन्न किसिमका प्रतिबोरा सिमेन्टमा १० रुपैयाँ घटाएको विभागले जानकारी दिएको छ । जगदम्बा स्टिलले डण्डीमा प्रतिकिलो ५० पैसा घटाएको छ । उल्लेखित विभिन्न उद्योगहरुको सिमेन्टको प्रतिबोरा घटेको मूल्य ६९५ देखि ८८७ रुपैयाँसम्म तोेकिएकोे छ । जसमा सबैभन्दा बढी मूल्य शिवम् सिमेन्टको छ भने कम मूल्य घोराही सिमेन्टको रहेको छ । विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले अधिकांश सिमेन्टहरुको मूल्य घटेको बताए । ‘अझै पनि घटाउन बाँकी सिमेन्ट उद्योगहरुले मूल्य घटाइरहेको छ,’ उनले भने ‘त्यस्तै दण्डीको मूल्य समेत घट्ने क्रममा छ ।’ बाँकी डण्डी उद्योगहरुले पनि मूल्य घटाउने उनको विश्वास छ । उद्योगीहरुले मूल्य घटाइसकेको अवस्थामा बिक्रेताहरुले घटाए नघटाएको सम्बन्धमा समेत विभागले अनुगमन सुरु गरिसकेको बताए । उनले भने, ‘विभागले सिमेन्ट र डण्डी बिक्रेता कम्पनीहरुलाई उद्योगीहरुले घटाएको मूल्यमा विक्री गर्न निर्देशन गरिसकेका छ ।’ सिमेन्ट र डन्डीको घटेको मूल्य र सम्बन्धि उद्योगहरुको सूचि हेर्नुहोस्ः–
विश्वास गुमाउँदै बुटवल पावर, सेयर मूल्यमा निरन्तर गिरावट, एफपीओ आधा मात्र बिक्री
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) काे सेयर मूल्य निरन्तर ओरालो लागेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेर आइतबार प्रतिकित्ता ५८० मा झरेको छ । एफपीओ निष्कासनपछि बीपीसीले लगानीकर्ताको विश्वास गुमाउँदै गएको छ । निरन्तर घटेपछि सेयर मूल्य एफपीओकाे मूल्यभन्दा ७९ रुपैयाँ मात्र बढी भएको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । २ महिनाका बीचमा बीपीसीका लगानीकर्ताले १६६ रुपैयाँ गुमाएका छन् । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गते(गत शुक्रबार)सम्म तोकिएको थियाे । साे अवधिसम्म कम्पनीकाे एफपीओका लागि जम्मा ९२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियाे । साे एफपीओमा अावेदन दिने मिति छिटोमा आइतबार सकिदै छ । यसकाे अन्तिम मिति फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।
५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने एभरेष्ट इन्स्योरेन्सको निर्णय, ६०० प्रतिशत हकप्रद नदिने
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेका सबै सेयर धनीहरुलाई थप ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल १२ करोड १५ लाख चुक्ता पुँजी रहेका कम्पनीका लगानी कर्ताले अब ५१ प्रतिशतले हुने १२ करोड ६४ लाख मू्ल्य बराबरको संस्थापक हकप्रद सेयर पाउनेछन् । तर त्यसका लागि नेपाल धितोपत्र बोर्ड र बीमा समितिले अनुमति भने दिनुपर्नेछ । संस्थापक हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २४ करोड ७९ लाख रुपैंयाँ कायम हुनेछ जसमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरको संरचना बन्नेछ । तर दुबै थरी सेयर धनी भने एउटै व्यक्ति हुनेछन् । २४ करोड ७९ लाख चुक्ता पुँजी कायम भएपछि कम्पनीलाई बीमा समितिले तोकिएको एक अर्ब पुँजी पुर्याउन थप ७५ करोड २१ लाख अपुग हुनेछ । कम्पनीले सो मात्रामा पुँजी जुटाउन ३०३ प्रतिशत हकप्रद सेयर जारी गर्न सक्नेछ । तर सोक्रममा कम्पनीले केहि मात्रामा बोनस सेयर समेत जारी गर्नुपर्ने अवस्था आउन सक्नेछ । संस्थापक लगानी कर्ता बिनै सञ्चालन हुँदै आएको एभरेष्ट इन्स्योरेन्सलाई बीमा समितिले पुस २८ गते पत्र लेखेर संस्थापक र साधारण सेयरधनीको अनुपात ५१ः४९ बनाउन निर्देशन दिएको थियो ।