८ वटा नयाँ जीवन बीमा कम्पनीको प्रीमियम ६७ करोड, कसको बजार कति ?

काठमाडौं । लाइसेन्स लिएर धमाधम बजार विस्तार गरिरहेका नयाँ जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्मको वित्तिय विवरण पेश गरेका छन् । ती कम्पनीहरुले सेवा आरम्भ गरेदेखि पुस मसान्त अवधीमा ६७ करोड ८७ लाख ६ हजार प्रीमियम संकलन गरेका हुन् । कम्पनीहरुले हालसम्म जम्मा ७२ हजार १ सय १९ वटा बीमा गराएका छन् । बीमा समितिमा पेश गरेको विवरण अनुसार युनियन लाइफ आक्रामक बजारीकरणमा लागेको छ भने आईएमई, सन नेपाल, रिलायबल, सिटिजन लगायतका कम्पनीले पछ्याईरहेका छन् । युनियन लाइफले पुस मसान्त अवधीमा २५ करोड ३८ लाख रुपैंयाँ प्रिमियम संकलन गरेको छ भने आइएमई लाइफले ११ करोड ४९ लाख प्रिमियम संकलन गरेको देखिन्छ । त्यस्तै, सन नेपाल लाइफले पनि १० करोड २७ लाख रुपैंयाँ प्रीमियम संकलन गरिसकेको छ । रिलायबलले ९ करोड २८ लाख प्रीमियम संकलन गर्दा सिटिजनले ७ करोड ६१ लाख प्रीमियम संकलन गरेको छ ।  सानिमा लाइफले भने जम्मा १६ लाख ३२ हजार रुपैंयाँ मात्रै प्रीमियम संकलन गर्न सफल भएको छ । सानिमाले म्यादी जीवन बीमा गराएको छैन् भने शाखा सञ्जाल पनि हालसम्म विस्तार गरेको छैन् । युनियन लाइफले देशभर ३६ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ भने आईएमईले ४० वटा र ज्योती लाइफले ३८ वटा शाखा विस्तार गरेका छन् । सिटिजनले २५ वटा शाखा खोल्दा रिलायबलले पनि २४ वटा शाखा पुर्याएको छ । करिब ३५ हजार पोलिसी बेचेपछि मात्रै बीमा कम्पनीहरु नाफा घाटा बराबरको अवस्थामा आईपुग्ने बताइन्छ ।

अमेरिकन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर स्वीकृत, न्युनतम ४० देखि ७० रुपैयाँसम्म

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी(मेटा लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले न्युनतम ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने जानकारी दिएको छ । नियामक निकाय बीमा समितिले स्वीकृति दिएपछि अमेरिकन लाईफले नयाँ बोनस दर सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७३/०७४ देखि हालसम्म बीमांङकीय मूल्याँकनअनुसार नाफामा सरिक हुने सबै जीवन बीमा लेखका लागि उक्त अवधिको प्रति वर्ष प्रति १ हजारमा नयाँ बोनस दर कायम गरेको कम्पनीले जनाएको छ । अमेरिकन लाईफकाअनुसार सावधिक जीवन बीमाअन्र्तगत १ देखि १५ वर्षसम्म वार्षिक प्रतिहजार ४५, १६ देखि २० सम्म ५५ र २१ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ । यस्तै ३ किस्तामा भुक्तानी योजनाअनुसार ४०, ५० र ६० बोनसदर कायम गरिएको छ । शिक्षा संरक्षण योजनाअन्र्तगत ४५,५५ र ७० रुपैयाँ बोनस कायम गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले मृत्युदावी, समपर्ण मूल्य दावी, चुक्तामूल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमालेखहरुमा लागु हुने जानकारी दिएको छ । शाखा कार्यलयनको रुपमा नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएको अमेरिकन लाइफले कम्पनीको रुपमा कारोबार गर्नुपर्ने भएको छ । समितिले पुँजीवृद्धिको नयाँ योजना ल्याएपछि अमेरिकनले कम्पनी स्थापना गर्न लागेको छ । उसले पुँजीवृद्धिको नयाँ योजना ल्याएको छ । आउदो असारसम्म जीवन बीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीले बढाएर २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

१० लाखको शर्त मानेसँगै अदुवाको अबरोध हट्यो, मंगलबार मात्रै ३६४ टन भारत निकासी

काठमाडौं। भारतले शुक्रबारदेखि तेस्र्याएको १० लाख भारूको शर्त आयातकर्ताले मानेसँगै अदुवाको अबरोध हटेको छ । मंगलबारदेखि झापाको काँकडभिट्टाबाट अदुवा निर्यात सुरु भएको हो । शुक्रबार नेपालको अदुवा खरिद गर्ने भारतीय व्यापारीले त्यहाँको भन्सारमा १० लाख भारु जम्मा गरेपछि मात्र नेपाली अदुवा निर्यात गर्न पाउने शर्त भारत सरकारले अघि सारेको थियो । नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका कार्यबाहक अध्यक्ष तोम राजबंशीले मंगलबारदेखि भारततर्फ अदुवा निकासी हुन थालेको जानकारी दिए । उनले दिउसो १२ बजेदेखि निकासी सुरु भएको बताए । ‘मंगलबार २६ ट्रक अदुवा बोकेको गाडी भारत पास भइसकेको छ,’ उनले भने ‘यद्यपि उक्त शर्त अनुसार ३ महिना मात्र भारतीय सरकारले निकासीको सुबिधा दिएको  बताएको छ ।’ हाल अदुवाको सिजन भएकोले दैनिक मात्रामा अदुवाको निकासा हुने उनको भनाइ छ। व्यवसायीहरुका अनुसार एउटा ट्रकमा करिब १४ टन अदुवा अट्छ । जसअनुसार २६ ओटा ट्रकमार्फत ३६४ टन अदुवा निकासी भएको छ । उक्त परिमाण अनुसार करिब ९१ लाख रुपैयाँ बराबरको अदुवाको निकासी मंगलबार भएको  छ । संघका अनुसार गएको दुई हप्तादेखि भारतले अदुवा निर्यातमा अबरोध गरेको थियो । नेपालबाट भारतमा अदुवा आयात गर्न भातरको बाणिज्य मन्त्रालयसँग त्यहाँका आयाकर्ताले कोटा लिन पर्ने कानुन बनेसंगै निर्यातमा अबरोध देखिएको हो । संघकाले अझै १२४ ट्रकको हाराहारीमा अदुवा अलपत्र अवस्थामा रहेको जनाएको छ  । जसमध्ये २५ देखि ३० ट्रक बिग्रिसकेको छ । मुलुकभर अहिले करिब ६ हजार ट्रक अदुवा निकासीको पर्खाइमा रहेको संघको भनाइ छ ।