काँठमा नयाँ शहरः कतै उत्साह, कतै निरासा
काठमाडौं । उपत्यकाको काँठ क्षेत्रमा निर्माण गर्ने भनिएका चार वटा नयाँ शहरले कतै उत्साह त कतै निरासा उत्पन्न गराएको छ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको नेतृत्वमा एक लाख रोपनीको एउटा र बाँकी १०/१० हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माणको प्रारम्भिक कार्य अघि बढाएको छ । त्यसका लागि चार वटै शहर क्षेत्रमा जग्गा कित्ताकाँट देखि भौतिक संरचना निर्माणमा रोक लगाइएको छ ।‘नयाँ शहर निर्माण गर्ने भनिएको छ, प्राधिकरणका प्राविधिकहरुसँग छलफल गरिरहेका छौ, तर हामी जन प्रतिनिधी नै अझै अन्यौलमा छौं, नागरिकले के बुझेका होलान र’,चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले विकासन्युजसँग भने । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखाली नेतृत्वको समुहले भक्तपुरका चारवटै नगरपालिकाका मेयरहरुलाई नयाँ शहर निर्माणबारे ब्रिफिङ गरेका थिए । नगरपालिकाका मेयरहरुले शहर निर्माण गर्ने जिम्मा लिएको उपत्यका विकास प्राधिकरणले सिमाङ्कन मात्र गरेर छोडेकोले नागरिकका दैनिक काममै असहजता आएकाले तत्काल ठोस काम अघि बढाउन आग्रह गरेका थिए । जग्गा कित्ताकाँटमा रोक लगाइएकाले अंशबण्डा गर्न नपाएको, भूकम्प पीडितले समेत घर बनाउन नपाएको मिश्रले बताए । यद्यपी आफुहरु नयाँ शहर निर्माण मार्फत नयाँ सभ्यताको जग बसाउन सहयोगी भूमिकामा रहने मिश्रले स्पष्ट पारे । ‘नयाँ शहर बनाउने योजनाले तत्कालका लागि नागरिकका काममा केहि असहजता देखिएको छ तर पनि हामी व्यवस्थित शहरीकरणको योजनामा सहयोग गर्छाै, नयाँ शहरले नयाँ सभ्यताको विकासमा सहयोग गर्छ’, मेयर मिश्रले भने । उता, शङखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले पनि नयाँ शहरले केहि अन्यौलता बढाएको बताइन । ‘नयाँ शहरको घोषणा भएपछि जग्गाको भाउ बढेको छ तर कारोबार घटेको छ, नागरिकमा केहि अन्यौलता देखिन्छ तर हामी चिर्ने प्रयासमा छौं ।’ उनले नागरिकको गुनासोलाई संकलन गरेर सम्बोधनका लागि विकास प्राधिकरणमा पठाउने काम अघि बढाएको पनि जानकारी दिईन् । तारकेश्वर नगरपालिकामा भने नयाँ शहरले उत्साह थपिदिएको मेयर रामेशवर बोहराले बताए । ‘नयाँ शहर बन्ने कुराले नागरिक उत्साहित छन्, व्यवस्थित शहरीकरण, बाटो, बिजुली, ढल, खेल मैदान लगायतका संरचनाले दैनिक जीवन सहज बनाउने आशमा जनता उत्साहित छन्’, मेयर बोहराले भने । नगरपालिका कार्यालयमा आउने अधिकांश नगरबासीले नयाँ शहरबारे जिज्ञासा राख्ने गरेको पनि बताए । अंशबण्डामा केहि समस्या देखिएको भएपनि नागरिकले नयाँ शहरलाई उत्साहका साथ हेरिरहेको र नगरपालिकाले पनि प्राधिकरणलाई डीपीआर निर्माणको प्रक्रिया चाँडो अघि बढाउन अनुरोध गरेको मेयर बोहराले जानकारी दिए । तारकेश्वर नगरपालिका हुदै सिम्लेश्वर, झोर, फुलबारी मार्ग भई टोखा बाइपास सम्मको १० हजार रोपनी क्षेत्रमा नयाँ शहर बन्दै छ । यता, उपत्यका विकास प्रधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने योजना बन्नेक्रम जारी रहेको र योजना निर्माणमा नगरपालिका समेतलाई सहभागिता गराउने जानकारी दिए । सरकारले आगामी दश बर्ष भित्रै नयाँ शहर तयार पारिसक्ने तिवारीले जानकारी दिए । यसअघि प्राधिकरणले भक्तपुरको १० हजार क्षेत्रफलमा निर्माण हुने ‘काठमाडौं आग्नेय’ र ललितपुरको १० हजार क्षेत्रफलमा निर्माण हुने ‘काठमाडौं नैऋत्य’को नयाँ डिपीआर निर्माणको जिम्मा इआरएमसी एनइएमसी एडीए जेभी कम्पनीलाई जिम्मा दिइसकेको छ । कम्पनीले १ वर्ष भित्रमा काम सक्ने बताइएको छ । त्यसैगरी अरु बन्ने नयाँ शहरहरु ‘इशान काठमाडौं’ र ‘काठमाडौं उत्तर’को डीपीआरको लागि एक महिनाभित्रमा कम्पनी छनौट हुने प्राधिकरणका इन्जिनियर खोखालीले जानकारी दिए ।
नेसनल ट्रेडिङको खारेजीले भारतमा रहेको करोडौंको जग्गा गुम्ने
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेसनल ट्रेडिङ लिमिटेड खारेजी हुदै गर्दा भारतको कोलकोतामा उसको नाममा रहेको करोडौं मूल्यको जग्गा गुम्ने भएको छ । भारतमा जग्गा भाडामा लिएवापत नेसनलले मोहियानी हक पाउँछ । कम्पनीनै खारेज भएपछि मोहियानी हकवापत पाउने करोडौ मूल्य पर्ने जग्गा गुमाउने अवस्था आएको आपूर्ति मन्त्रालयले जनाएको छ । कोलकोताको सरकारी अड्डाहरु रहेको सो स्थानमा वि.सं. २०२६ सालमा ट्रेडिङले आफ्नो शाखा खोलेर हालसम्म सोही शाखामार्फत ट्रेडिङले भारतसँगको व्यापारअघि बढाउदै आएको आपूर्ति मन्त्रालयको उपसचिव लवराज जोशीले बताए । उनका अनुसार जग्गा भोगचलन गरेवापत नेसनलले मोहियानी हक वापत जग्गा पाउने छ । पश्चिम बंगालको कानुन अनुसार कुनै पनि एकै स्वामित्वको व्यक्ति वा सस्था एकै स्थानमा १० बर्षभन्दाबढी बसे मोहियानी हक लाग्छ । जसअनुसार ट्रेडिङले पनि जग्गावालाबाट निश्चित जमिन पाउने उनको भनाइ छ । ‘१० वर्षभन्दा बढी एकै ठाँउमा एकै स्वामित्वको कम्पनी हालसम्म रहेको हुनाले मोहियानी हक अन्तर्गत ट्रेडिङको जग्गा कोलकोता रहेको स्थानमा कम्पनीले जमिन पाउने भएको हो,’ उनले भने ‘जसमा सामान्य (१२/१२ को) आठदेखि १० कोठा हुने गरिको जमिन पाउने देखिएको छ ।’ जमिनको मूल्य करौडौं रुपैयाँ पर्छ । सामान्यतया त्यहाँ जग्गा खरिद गर्नै नसकिने उनको बुझाइ छ । उनका अनुसार पछिल्लो समय त्यहाँ ट्रेडिङ रहेको पुरानो घरलाई भत्काएर जग्गाधनीले सिटी सेन्टर बनाउने योजना अघि सारेको छ । ‘यदि सिटी सेन्टर बनाए पनि ट्रेडिङले मोहियानी हक अनुसारको १००० स्क्वायर बराबरको जमिन पाउने भएको छ,’ उनले थपे ‘जसमा उल्लेखित करिब १० कोठा निस्कनेछ ।’ ट्रेडिङ खारेज भएपछि सो जग्गा नेपाल सरकारको स्वामित्वमा आउछ आउदैन त्यो भन्न नसकिने उनको भनाइ छ । सम्झौता अनुसार स्वामित्व (मोही) परिवर्तन भएको खण्डमा मोहियानी हक नपाउने कानुन रहेको उनले बताए । त्यस्तै आपूर्ति मन्त्रालयका प्रवत्ता मुकुन्दप्रसाद पौड्यालले अहिले कलकत्तामा एक तलाको फ्लाट भएको ट्रेडिङको विल्डीङ रहेको बताए । ‘कोलकोता स्थित नेपालको महावाणिज्य दुतावसा नजिकै छ,’ उनले भने ‘अब ट्रेडिङ नै खारेजी हुने भएपछि उक्त जग्गा सम्बन्धमा अन्योले देखिएको छ ।’ मन्त्रालयका अनुसार उक्त जग्गा कोलकोताको केन्द्र भएको तथा नजिकै भारतीय सरकारी अड्डाहरु, समुद्रीक बन्दरगाहा लगायत रहेको कारणले पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण छ । सरकारले व्यापार गर्नका लागि वि.सं. २०१८ सालमा नेसनलको स्थापना गरेको हो । कम्पनी स्थापना गर्न चीनको सहयोग थियो । ट्रेडिङले चामल, चिनी, मल, कृषि उपकरण, विद्युतिय यन्त्र, सिमेन्ट, छड, मदिरा र ड्युटी फ्रिका वस्तुको खरिद बिक्री गर्दै आएको थियो । सोही क्रममा कम्पनीले पाँच दशकअघि भारत र नेपालको व्यापारलाई सहज बनाउन भारत स्थित कोलकोताको हारबोर्ड रोडमा आफ्नो शाखा स्थापना गरेको थियो ।
जीतबहादुर र लक्ष्मीबहादुरलाई २८ करोडको धक्का, एनसीसी बैंकको संस्थापक सेयर मूल्य १७० कि २१० रुपैयाँ ?
काठमाडौं । एनसीसी बैंकको ७० लाख कित्ता सेयर सेयर लिलामीमा राखेको जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ (एनबी समूह)लाई २८ करोड रुपैयाँको ध्रक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा प्रतिकित्ता ४० रुपैयाँ कम तोकेरे सोही बैंकको संस्थापक सेयर बिक्री गर्न नेपाल इन्स्योरेन्स कम्पनीले लिलामीको सूचना प्रकाशित गरेपछि श्रेष्ठ दाजुभाईलाई २८ करोड घाटाको जोखिम देखिएको छ । एनबी समूहले एनसीसी बैंकको संस्थापक सेयर प्रति कित्ता २१० रुपैयाँ न्यूनतम मूल्य राखेर ७० लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको भोलिपल्ट नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । एनबी समूहका लक्ष्मी, जेन र जीतबहादुर श्रेष्ठ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ मूल्य पाउने सम्भावनालाई कमजोर बनाएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ । लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटललिनले जनाएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो । एउटै कम्पनीकाे संस्थापक सेयर मूल्य देखिएकाे यति ठूलाे अन्तर संयाेग मात्र हाे वा कपाेर्रेट वार हाे ? भविष्यमा खुल्दै जाने छ ।