सय रुपैंयाँ दरका १४ अर्बको सेयर आउँदै, के होला दोश्रो बजार ?
काठमाडौं । बजारमा लगानी योग्य पूँजीको चरम अभावले बैंकहरु ऋण प्रवाह गर्न नपाएको गुनासो गरिरहेका छन् । एनआइसी एसिया बैंकको ग्रोथ फण्ड र सिटिजन्स बैंकको सिटिजन म्युचुअल फण्डमा मात्रै होइन बुटवल पावर कम्पनीको एफपीओमा समेत लगानीकर्ताको खासै चासो देखिएन । यी कुनै पनि कम्पनीको सबै सेयर बिक्रि भएनन् । यसको सिधा अर्थ भनेको बैंकहरुसँग लगानी योग्य पुँजीको अभाव, सेयरको व्यापक आपुर्ति र लगानी कर्ताको कमजोर मनोबल नै हो ।ठिक यस्तै समयमा एक सय रुपैंयाँ मूल्य अंकित १४ अर्ब ३८ करोड मूल्य बराबरको सेयर आउँदैछ । १७ वटा कम्पनीले ३ अर्ब ८० करोड ११ हजार १ सय मूल्य बराबरको आइपीओ निष्काशनको अनुमति कुरिरहेका छन् । तीमध्ये १४ वटा जलविद्युत कम्पनी छन भने २ वटा लघुवित्त र एउटा बाणिज्य बैंकको एफपीओ छ । अर्काे तर्फ १६ वटा कम्पनीको १० अर्ब ६८ करोड मूल्य बराबरको हकप्रद सेयर आउँदैछ । ती कम्पनीहरु धितोपत्र बोर्डबाट निष्काशन अनुमतिको पर्खाइमा रहेका छन् । हकप्रद सेयर निष्काशनको तयारी गरेकामध्ये १४ वटा जलविद्युत कम्पनी छन । के भन्छन मर्चेण्ट बैंकर सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले भने म्युचुअफ फण्डबारे लगानी कर्तालाई बुझाउन नसक्दा पुरै फण्ड बिक्रि नहुने अवस्था आएको बताए । ‘म्युचुअल फण्डका बारेमा लगानी कर्तालाई राम्रोसँग बुझाउन सकिएन र प्रतिफल सुनिश्चित हुन्छ भन्ने मनोविज्ञान स्थापित गराउन नसक्दा कतिपय कम्पनीको म्युचुअल फण्ड पुरै बिकेन’, मर्चेण्ट बैंकर्स एसोसियनसका अध्यक्ष समेत रहेका तिमल्सिनाले भने । उनले बजारमा लगानी योग्य पुँजी अभावको अवस्था अब हट्ने भएकाले सेयर बजारमा पनि बढ्न सक्ने अनुमान पनि गरे । ‘बजारबारे ठ्याक्कै अनुमान गर्न सकिन्न तर तरलता अभावको समस्या अब समान हुँदै जाने भएकाले केहि आशावादी हुन सकिने ठाउँ छ’, तिमल्सिनाले भने । लगानी कर्ताको मनोबल घटेको छः छोटेलाल रौनियार सेयर इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नियामक निकायहरुको लापरवाहीका कारण सेयर बजारमा आपुर्तिको भेल आएको आरोप लगाए । उनले सेयर आपुर्तिको अनुपातमा नियामक निकायहरुले माग बढाउन कुनै चासो नदिएकाले सेयर बजारका लगानी कर्ता निरास बन्दै गएको उनले बताए । ‘लगानी कर्ताको मनोबल टुटेको छ । नियामकहरुले केहि गरेनन् । बैंक र बीमा कम्पनीहरुको पुँजी ह्वात्तै बढाएर सेयरको आपुर्ति वृद्धि गरिदिए तर माग बढाउन कुनै उपाय ल्याएनन’, रौनियारले भने । आठ अर्ब पुँजीका बाणिज्य बैंक, २ अर्ब पुँजीका जीवन बीमा कम्पनी, एक अर्बका निर्जीबन कम्पनी, विकास बैंक, फाइनान्स, लघुवित्त, जलविद्युत कम्पनी र नयाँ बीमा कम्पनीहरुका कारण बजारमा सेयरको आपुर्ति माग भन्दा धेरै देखिन्छ । त्यसमा पनि पछिल्लो समय लगानीका लागि स्वर्णिम क्षेत्र मानिने जलविद्युत कम्पनीहरुको आइपीओ पनि ठुलै संख्यामा आउन लागेको देखिन्छ । ‘आपुर्ति बढाईयो तर माग बढाउन ध्यान दिइएन, अनलाईन कारोबार नहुने, बैंकले ब्रोकर लाइसेन्स नपाउने तर सेयरको आपुर्ति भने बढिरहने अनि कसरी बढ्छ सेयर बजार ? रौनियारले प्रतिप्रश्न गरे । उनले ५० जना ब्रोकरको कब्जाबाट सेयर बजारलाई मुक्त नबनाएसम्म सेयर बजार उभोँ नलाग्ने ठोकुवा समेत गरे । मार्जिन लेण्डिङमा गरिएको कडाईले पनि सेयर बजार घटाउन सहयोग गरेको उनले बताए ।
मेलम्चीको सुरुङ खन्ने सिएमसी डी रेभेनाले तनहुँ जलविद्युतको बाँध बनाउने !
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर लामो सुरुङ खनिरहेको इटालीको सिएमसी डि रेभेनाले तनहुँ जलविद्युतको बाँध बनाउने पाउने देखिएको छ । लट १ अन्र्तगत आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी (कफर) बाँध निर्माणका लागि सीएमसीले सबैभन्दा कम दर पेश गरेपछि ठेक्का पाउने संभावना बढेको हो । प्राविधिक प्रस्ताव मू्ल्याँकनपछि गत शुक्रबार खोलिएको वित्तीय प्रस्तावमा सीएमसीको सबैभन्दा कमदर देखिएको हो । सीएमसीपछि चाइना गेजुवा गु्रप लिमिटेड र जयप्रकास एसोसियट्स लिमिटेडले न्युन दर पेश गरेका छन् । सीएमसीले सस्तो दर प्रस्ताव गरेपनि उसको दरलाई आयोजना प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले तय गरेको अनुमानित लागत भन्दा बढी देखिएको छ । अनुमानित लागत बढी भएपछि पुनः बोलपत्र आब्हान हुने संभावना रहन्छ । वित्तीय प्रस्ताव खोल्दा सबैभन्दा सस्तो सीएसीको देखिएको तनहुँका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके बताउछन् । “वित्तीय प्रस्ताव खोल्दा सबैभन्दा सस्तो सीएसीको देखिएको छ” उनले भने “त्यसको मूल्याँकन नगरी भन्न सकिन्न् ।” तनहुँले वित्तीय प्रस्तावको मूल्याँकन गरेर सहमतिका लागि एसियाली विकास बैंक (एडीबी) मा पठाउने उनले जानकारी दिए । यस्तै लट २ अन्र्तगत विद्युतगृह, सुरुङ निर्माणका अतिरित्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको प्रस्तावको अध्ययन भइरहेको छ । गत अक्टुबरसम्म ठेक्का सम्झौता गरेर आयोजनास्थलमा ठेकेदार परिचालन गर्ने लक्ष्य थियो । ठेकेदार छनौटमा लामो समय लागेपछि यो कार्ययोजना प्रभावित भएको छ । यस्तै लट २ अन्र्तगत विद्युतगृह, सुरुङ निर्माणका अतिरित्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हान गरेको छ । यसका लागि परेको प्रस्तावको मूल्याँकन भइरहेको छ । प्याकेज १ मा एसियाली विकास बैंक (एडीबी) र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) को लगानी हुने छ । यस्तै प्याकेज २ मा विद्युतगृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ । यस्तै लट ३ मा प्रसारणलाइन तथा सवस्टेशन निर्माण र १७ गाविसमा विद्युत्ीकरणको पुर्वाधार तयारीको योजना छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जाइकाको १८ करोड ४० लाख डलर, इआईबीले साढे ८ करोड र बाँकी ८ करोड ७० लाख डलर सरकार र नेपाल विद्युत प्राधिरकरणले लगानी गर्ने प्रारुप तयार गरिएको छ । आयोजना नेपाल विद्युत प्राधिकरणको सत्प्रतिशत स्वामित्वमा छ । विद्युत प्राधिकरणसंग विद्युत खरिदविक्रि सम्झौता (पीपीए) हुन बाँकी छ । सरकारले जलासय अर्धजलासय आयोजनाको पीपीए दर निर्धारण गरेको छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सरकारले तनहुँलाई विद्युत उत्पादन अनुमतिपत्र(लाइसेन्स) दिइसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली तनँहुको दमौलीबाट ३९ किलोमिटर लामो २२० केभी प्रसारणलाइनको निर्माण गरी भरतपुर पूयाइने छ । यस्तै आयोजनाले तनहँुका १८ गाविसमा विद्युतीकरणको पुर्वाधार पनि निर्माण गर्ने छ । जलासययुक्त आयोजना तनहँुले सुख्खायाममा पनि दैनिक ६ घण्टा पुर्ण क्षमतामा र बाँकी समय कम क्षमतामा विद्युत् उत्पादन गर्ने छ । सरसकारसंगको सम्झौताअनुसार आयोजनाको ठेक्का सम्झौतालगायत अन्य कामको जिम्मा लगानीकर्ता एडीबी र जाईकाले गर्ने छन् । यस्तै परामर्शदातामा जर्मनीको ल्याह्मेयर इन्टरनेश्नल छ । उसले १ वर्ष बोलपत्र तयारी, ६ वर्ष आयोजना निर्माण र ५ वर्ष सञ्चालन गरी १२ वर्षसम्म काम गर्ने छ । सुख्खायामको विद्युत् माग पुरा गर्न सरकारले तनहुँ आयोजना बनाउने तयारी गरेको हो ।
हिमाल पावरको साढे ४९ करोड लाभांशले बीपीसीको नाफा ३५७ प्रतिशत बढ्यो
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को चालु आर्थिक वर्षको ६ महिनामा नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अधिमा १३ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । हिमाल पावर लिमिटेडबाट गत आर्थिक वर्षमा गरेको नाफाबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश प्राप्त गरेपछि नाफा बढेको बीपीसीले जानकारी दिएको छ । ६० मेगावाटको खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । समीक्षा अवधिमा कम्पनीले हिमालबाट प्राप्त हुने लाभांश बाहेक आफैले सञ्चालन गरेका आयोजनाबाट उत्पादन भएको बिजुली बिक्री २ प्रतिशत बढेर ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ छ । संचित कोषमा २ अर्ब ८६ करोड रुपैयाँ वचत रहेको कम्पनीले जनाएको छ । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।